उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिकामा पञ्चावती माध्यमिक विद्यालय रहेको छ । त्यो नेपालकै पुरानोमध्ये एक माध्यमिक विद्यालय हो । राष्ट्रिय जीवनमा ख्याति पाएका धेरै महानुभावहरूले सो विद्यालयबाट शिक्षा लिनु भएको छ । म पनि सोही विद्यालयको विद्यार्थी रहन पाएकोमा गर्व गर्छु । सो विद्यालयमा २०३७ सालदेखि २०३९ सालसम्म क्रमशः ८, ९ र १० कक्षामा पढ्ने विद्यार्थीहरू यही २०८० साल वैशाख १ र २ गते सोही स्थानमा भेला भएर विद्यालयमा एउटा कार्यक्रमको आयोजना गर्यौं । त्यसको लेखाजोखा यस आलेखमा गरिएको छ ।
कसरी पुनर्गठित भयो ब्याच २०३९
उदयपुरगढीस्थित पञ्चावती माध्यमिक विद्यालयमा आजभन्दा त्रिचालीस वर्षअघि केही विद्यार्थीहरू कक्षा आठमा पढिरहका थिए । ती विद्यार्थीहरूमध्ये केही (७ जना) पञ्चावती मा.वि. मा नै अध्ययनरत थिए भने बाँकी छिमेकी निम्नमाध्यमिक विद्यालयहरूमा सात कक्षा पास गरेर आएका थिए । तीन वर्ष पढेपछि यो समूह २०३९ सालको एस.एल.सी. ब्याचको रूपमा प्रस्तुत हुँदै थियो । तर अघिल्लो वर्षको एस.एल.सी. नतिजा निकै निराशाजनक भएकाले एस.एल.सी. पास प्रतिशत बढाउन टेस्टको रिजल्टमा कडाइ गरियो र १८ जनामात्र पास हुन पुगियो । ती १८ जनामध्ये केवल २ जना मात्र दोस्रो दर्जामा उत्तीर्ण हुन सके ( म र बालकृष्ण भट्टराई) । जम्मा विद्यार्थी संख्यामा मलाई अलमल छ (जम्मा त्रिसठ्ठी जनामा १८ जना पास भएका हुन् भन्ने मलाई झझल्को लागेको छ, अरू साथीहरू ४५ जनाले मात्र टेस्ट परीक्षा दिएको दाबा गर्नुहुन्छ) ।
एस. एल. सी. पास गरेको लामो समयपछि मेरो मनमा ती साथीहरूको स्थितिको बारेमा जानकारी लिनुपर्यो भन्ने सोच आयो । फोन नम्बर खोजखाज गरी कसैकसैलाई फोन पनि गरेको थिएँ । कोरोनाकाल पछि सूचनाप्रविधिको महत्त्व थाहा भयो । यसैबाट प्रेरित भएर हुनुपर्छ २०७९ सालको भदौमा मैले 2039 Batch, Panchawati HS नामको म्यासेन्जर ग्रुप बनाएँ । साथीहरू जोडिदै जानु भयो । दैनिक जसो आधा घण्टा कुरा पनि हुन थाल्यो । यसरी २०३९ सालको ब्याचको पुनर्गठन भयो ।
को को अँटाउँछ यो ग्रुपमा ?
साठीभन्दा बढी संख्यामा आठ कक्षामा भर्ना भएका हामीहरूमध्ये १८ जनाले एसएलसी दिन पाउने भयौ र २ जनामात्र पास हुन सफल भयौं । एसएससी पास गरेकालाई ब्याच मान्ने हो भने दुई जना मात्र हुने भयौं, एसएलसी दिनेलाई गन्ने हो भने १८ जना हुने भयौं । यसो गर्दा स्वनिर्णयको आधारमा एक वर्ष रोकिने कुमार खतिवडा छुट्ने हुनुभयो, त्यो उचित थिएन । अनि हामीले पास र फेलको कुराले सँगै पढ्नुको इतिहास मेट्न नसक्ने तथ्यलाई आत्मसात गर्यौ र २०३७ सालमा कक्षा आठमा भर्ना भएर २०३९ सालसम्म पञ्चावती मा.वि. मा अध्ययन गर्ने सबै साथीहरू यस समूहमा आबद्ध हुन सक्ने र आबद्ध गराउने निर्णय गर्यौं ।
यो समूहमा आबद्ध हुन योग्य सबै साथीहरूलाई सम्झन मेरो एकल दिमागले भ्याउन सकेको छैन । साथीहरूले सम्झनु भएमा जोड्दै जाने, कसैलाई छुटेको लागेमा जोडिदैं जाने गर्नुभएमा यसले क्रमशः पूर्णता पाउँदै जान्छ । विद्यार्थी पुनर्मिलन कार्यक्रम गरेर नेपालटार आइपुग्दा म पनि त सँगै पढेको थिएँ नि भनेर साथीले भन्दा आफैंलाई लाज पनि लाग्यो । म बिर्सनु ईश्वरको बरदान हो भन्ने ठान्छु र यस्ता घटनालाई सामान्यरूपमा लिने कोसिस गर्छु ।
साथीहरूको सक्रियता प्रशंसनीय
म्यासेन्जर ग्रुपमा जोडिएका साथीहरूले गफ गर्न थालेपछि उहाँहरूको सक्रियता र प्रतिबद्धता पनि बढ्यो । यसरी भर्च्युअल गफ गर्ने मात्र हैन, प्रत्यक्ष भेटघाट र कुराकानी गर्नुपर्छ भनेर कार्यक्रम बनाउन थाल्नुभयो । फागुनमा नै भेटघाट गर्ने कि भन्ने कुरा उठे पनि सबैजसो साथीहरूको सहमतिले कार्यक्रम २०८० साल वैशाख १ र २ मा भेटघाट कार्यक्रम गर्ने तय भयो ।
सुरूमा आफूआफू मात्र भेट गर्ने गरी कार्यक्रमको रूपरेखा बनाइयो । त्यसपछि आफ्ना सबै गुरूहरूको प्रतिनिधिको रूपमा त्यो समयका प्रधानाध्यापक श्री नारायण बहादुर कार्की (संविधानसभा सदस्य समेत रहिसक्नुभएका उहाँलाई यसपछि श्रद्धाका साथ नारायणसर भनी सम्बोधन गर्ने अनुमति माग्छु) लाई समेत अतिथिको रूपमा निम्त्याउने रहर पलायो । उहाँको आउने टुङ्गो भएपछि गाउँपलिकाका अध्यक्ष, उपाध्यक्ष र विद्यालयका प्रधानाध्यापकलाई पनि निमन्त्रणा गर्ने आँट पलायो । उदयपुरगढीमा पुग्नु भएका सो विद्यालयका पूर्व विद्यार्थी तथा परराष्ट्रविद् श्री मधुरमण आचार्यलाई पनि हामीले निमन्त्रणा गर्यौं । नजिकै रहनु हुने श्री कृष्ण भण्डारी (कृष्ण सर) लाई छुटाउने कुरै भएन । तर अलि ढिलो हुन गएको हाम्रो निम्तो गाउँपालिका उपाध्यक्ष श्री जीतबहादुर खड्का र कृष्ण सरले मात्र स्वीकार गर्न सक्नुभयो । कार्यक्रम हुने दिन श्री मधुरमण आचार्यको पूर्वतर्फ जाने कार्यक्रम भएकाले साँझमा नै हामीबिच आएर कुराकानी गर्नुभयो ।
साथीहरूले कार्यक्रमको रूपरेखा बनाउनु भयो, उदयपुरगढीमा बस्ने खाने व्यवस्था मिलाउनु भयो । नारायण सरलाई ल्याउने र पुर्याउने कामको जिम्मा कुमार खतिवडाजीले गर्नुभयो । खाने बस्ने व्यवस्थापनमा ईश्वरजी खटिनुभयो । प्रत्यक्ष भेट गर्ने वेदबहादुर सुवेदीको चाहना, सुमित्रा मगरको कार्यक्रम गरेरै छोड्ने हुटहुटी, ईश्वर राईको समन्वय र तालमेल, कुमार खतिवडाको निर्णायक सहयोगबाट कार्यक्रम सम्पन्न हुनसक्यो ।
के कार्यक्रम गरियो त ?
२०८० साल वैशाख १ गते दिउँसो हामी (म, प्रेम कार्की, मोहन ढुङ्गाना, वेद बहादुर सुवेदी, रङ्गध्वज तामाङ, ईश्वर राई र खड्ग कटुवाल) सर्वप्रथम नेपालटारमा जम्मा भयौं । नेपालटारबाट दुईवटा अटोमा उदयपुरगढी आइपुग्यौं । हामी पुगेको केही समयपछि कुमार खतिवडा, सुमित्रा मगर र पुष्कर वर्मा आइपुग्नु भयो । पुष्कर भण्डारीको होटल/होमस्टेमा झोला राखेर हामी पञ्चावती माई मन्दिर र पुरानोगढी घुम्न गयौं । साँझमा एकछिन नाचगान पनि भयो ।
भोलिपल्ट बिहान आफनो अनुकूल अनुसार समूहमा नै घुमघाम गरियो । कुमार खतिवडाबाट प्राप्त टी-सर्ट र क्यापका कारण उदयपुरगढी नेपाल दूरसञ्चार संस्थानको “ब्रान्ड एम्ब्यासडरहरू” को बजार भएको थियो । खानापछि हामी पञ्चावती माध्यमिक विद्यालयमा भेला भयौं । गाउँपालिका उपाध्यक्षज्यूसँग केही बेर कुराकानी गर्यौं । करिब ११ बजेतिर नारायण सर पनि आइपुग्नु भयो । अनि हामीले पहिला कक्षा १० पढेको कोठामा हाम्रो कार्यक्रम सुरू भयो ।
अलि लामो बोल्न पाइने भएकाले उद्घोषणको काम म आफैंले लिएँ (अरूको पनि रहर त थियो होला नि, म अलि स्वार्थी भएँ) । सबै अतिथिहरूलाई खादा लगाएर स्वागत गर्यौं, नारायण सरलाई दोसल्ला र ढाका टोपी लगाइदिएर सम्मान पनि गर्यौ र विद्यार्थीहरूकोतर्फबाट केही उपहार पनि दियौं । सबै विद्यार्थीहरूले एसएलसीपछिको आफ्नो जीवनयात्रा संक्षेपमा सुनायौं । कृष्ण सर र गाउँपालिका उपाध्यक्षको मन्तव्य सुन्यौ र नारायण सरबाट आशिर्वाद र सन्देश पायौं । विकृत हुँदै गएको राजनीति अनि भद्रता गुमाउँदै भद्रगोल हुँदै गएको समाज उहाँको चिन्ता चासोका विषय थिए । हामीलाई आफ्नो शक्ति र भूमिका अनुसार सुधारको प्रयास गर्न उहाँले निर्देश गर्नुभयो । त्यसपछि सँगै खाजा खाएर छुट्यौं ।
पञ्चावती माध्यमिक विद्यालयलाई मायको चिनो केही दिन पाए हुन्थ्यो जस्तो लागिरहेको थियो । पानी तताउने इलेक्ट्रिक एयरपोट दिने सल्लाह भयो । यसको मद्दतले उदयपुरगढीको चिसोमा शिक्षकहरूलाई तातो पानी खान सजिलो होला । टी ब्यागको व्यवस्था गर्ने हो भने त कालो चिया पनि खान मिल्छ । हाम्रो मन हेरेर यो सानो उपहार स्वीकार गर्नु होला भन्ने आशा राखेका छौं ।

सर्जिकल स्ट्राइक र डोजर आतङ्क
बालकृष्ण भट्टराई बिरामी पर्नुभएको हुनाले वैशाख १ गते उदयपुरगढी आउनु भएन । मैले उहाँलाई तत्काल स्वस्थ्यलाभ गर्नुहोस् र भोलि बिहान “सर्जिलक स्ट्राइक” दिनुस् भन्ने आशयको म्यासेज पठाएँ । “सर्जिकल स्ट्राइक” को शाब्दिक अर्थ जे भए पनि त्यसको आशय भोलि बिहान कुनै तरिकाले आइपुग्नुस् भन्ने नै थियो । नभन्दै उहाँ नारायण सरलाई लिन गएको मोटरमा २ गते बिहान उदयपुरगढी आइपुग्नुभयो र कार्यक्रममा सरीक हुनुभयो ।
कार्यक्रमको टुङ्गो लागिसकेपछि एकजना साथीले भरतपुरमा डोजरले काम गर्दै गरेको फोटो ग्रुपमा राख्नुभयो र कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी दिनुभयो । डोजर, ती साथी र अनुपस्थितिको सम्बन्ध त मलाई अझै स्पष्ट हुन सकेको छैन, तर डोजरको फोटो राखेर उहाँ आउनु भएन ।
अर्को एक जना साथी पनि फार्म हाउसमा डोजर लगाउनु परेको भएर नआउनु भएको गाइँगुइँ सुनिएको छ । खै जे होस्, डोजर आतङ्कले हाम्रो दुई जना साथी छुटायो ।
परिवारका सदस्य गुमाउनु पर्दाको शोकको कारण दुई जना साथी आउन सक्नुभएन । कोही बिरामी हुनुहुँदो रहेछ । कसैले सामाजिक काममा प्राथमिकता दिनुभयो । अर्को पटक सबैलाई अनुकूल परिस्थिति पर्नेछ भन्ने आशा गरौं । उहाँहरूको बाध्यताको म सम्मान गर्छु । मलाई थाहा छ, जिन्दगी यस्तै छ ।
साथ र सहयोग
हामी पूर्वविद्यार्थीहरू सकेसम्म पतिपत्नी नै कार्यक्रममा आउने कुरा गरेका थियौं । यसै अनुसार म र मुना कार्यक्रममा सहभागी भयौं । मुनाले पनि कार्यक्रममा मन्तब्य राखिन् । प्रेम कार्कीजीका छोरा भरत कार्की पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । मैले पोस्ट गरेका सबै फोटा (सेल्फीबाहेक) सबैजसो उहाँले नै खिच्नुभएको हो । मोबाइल र एसेसरिजको व्यापारमा संलग्न उहाँमा फोटोग्राफीको ज्ञान पनि रहेछ । कुमार खतिवडासँग जानुभएका रामेश्वर कार्कीले पनि लजिस्टिक सहयोग गर्नुभयो र कार्यक्रममा मन्तव्य पनि राख्नुभयो । मुना पोखरेल, भरत कार्की र रामेश्वर कार्कीबाट हाम्रो कार्यक्रममा रौनक थपिएको थियो भन्न ढाँट्नुपर्दैन ।
अब के त ?
न्यूनतम लक्ष्य – हरेक वर्ष यसैगरी भेटघाट कार्यक्रम सञ्चालन गर्ने र यो समूहका सबै साथीहरूलाई समूहमा आबद्ध गर्न प्रयत्न गर्ने । यो भेटघाटलाई क्रमशः पारिवारिक भेटघाटमा विकासित गर्ने र आपसी सम्बन्ध र सद्भावालाई सुदृढ गर्ने ।
मध्यम लक्ष्य – वार्षिक भेटघाटको क्रममा विद्यालय परिवारलाई समेत आमन्त्रण गर्ने (प्रधानाध्यापक वा विव्यस अध्यक्ष) र विद्यालयलाई शैक्षिक सामग्री तथा अन्य सहयोग प्रदान गरी सहयोग गर्ने । हामीले अध्ययन गरेको विद्यालयको श्रीवृद्धिसँग प्रत्यक्ष सरोकार राख्ने उदयपुरगढी गाउँपालिकासँगको सम्बन्ध पनि सुदृढ र विस्तार गर्ने ।
उच्च लक्ष्य – यो भेटघाट कार्यक्रमले अरू ब्याचका साथीहरूलाई पनि यस्तै (निस्सन्देह योभन्दा राम्रो पनि) कार्यक्रमको आयोजना गर्न प्रेरित गर्नेछ । आफूलाई माया गर्ने जमात देखेर विद्यालयलाई पनि उत्साह र प्रेरणा मिल्ला । सबै ब्याचहरूको सहकार्यबाट विद्यालयको एलुमलाई गठन पनि हुन सक्ला । पञ्चावती सद्भाव समाज जस्ता यो विद्यालय, अझ यो क्षेत्रकै विकासको लक्ष्य लिएको संस्थासँग सहकार्य पनि हुनसक्छ । यसबाट उदयपुरगढीको पर्यटन प्रवर्द्धन होला । सो क्षेत्रको समग्र विकासमा पनि केही हुटहुटी जगाउला ।
हेरौ, समय र परिस्थितिले कहाँसम्म जाने अनुमति दिन्छ ।