१. पृष्ठभूमि
शान्ता चौधरीको जन्म २०३७ सालमा दाङको डाँडागाउँमा कमैया परिवारमा भएको हो । उनले आठ वर्षको उमेरदेखि कमलरीको रुपमा स्थानीय जिमिन्दारको घरमा काम गर्न थालिन् । अठार वर्षसम्म स्थानीय सात जना जमिनदारहरुको घरमा कमलरी बसेर उनी २०६३ सालमा मुक्त भइन् । सरकारले २०५७ सालमा कमैया प्रथाको विधिवत अन्त गरे पनि गाँस, बास र कपासको जोहो गर्ने व्यवस्था नहुँदा थप पाँच वर्ष उनले कमलरी बस्नुप¥यो । कमलरीबाट मुक्त भएपछि ज्याला मजदूरी गरी जीवन निर्वाह गर्न थालिन् ।
कमलरी रहँदै शान्ता चौधरीले कमैया, सुकुम्बासी, भूमिहीन, हरुवा—चरुवाका हकहितका लागि आन्दोलनरत रहिन् र नेतृत्व तहमा पनि पुगिन् । यही वर्गीय मुक्ति अभियान र जनआन्दोलन २०६२÷६३ को क्रममा उनी नेपालका ठूला राजनैतिक दलहरुको सम्पर्कमा पनि आइन् । यसै पृष्ठभूमिमा उनी २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद् (संसद) पनि बनिन् ।
बाल्यकालमा शिक्षाको अवसरको कल्पनामात्र गर्नसक्ने अवस्थामा रहेकी शान्ता सभासद् बन्दासम्म निरक्षर थिइन् । उनी सभासद् बनेपछि आफ्ना छोरासँग लेखपढ, सयोगीबाट कम्प्युटर र चालकबाट ड्राइभिङ सिकिन् । त्यही शिक्षाको सार, अनुभवको भर र दृढ ईच्छाशक्तिको आडमा शान्ताले संसदको प्राकृतिक स्रोत तथा साधन समितिको सभापति र संविधानसभाको प्राकृतिक स्रोत, आर्थिक, राजस्व बाँडफाँट समितिको सदस्य पदको जिम्मेवारी समेत निर्वाह गरिन् । उनले संविधानसभावको अवसानपछि ‘कमलरीदेखि सभासद्सम्म’ पुस्तक लेखिन् जसलाई सांग्रिला पुस्तक प्रा.लि.ले प्रकाशन ग¥यो ।
२. जीवन—दर्शन
हरेक मानिस एउटा दर्शनमा आधारित भएर बाँच्छ । परिवार, समाज, संस्कार, अध्ययन, अनुभव, भावना, कल्पना र मनोविज्ञानका विभिन्न अवयवहरु मिलेर मानिसको समग्र चिन्तन शैलीको निर्माण हुन्छ, जसलाई जीवन—दर्शन भन्न सकिन्छ । जीवन—दर्शन हरेक मनिसको सोचाइ, बोलाइ र गराइको आधारभूमिको रुपमा रहन्छ । सचेत व्यक्ति आफ्ना जीवनका मूल्य र मान्यता घोषित रुपमा व्यक्त गर्दछन् । शान्ता चौधरीले पनि उनको पुस्तकमा उनका भोगाइ, सोचाइ र गराइका सन्दर्भहरु आत्मकथाको रुपमा व्यक्त गरेकी छन् । ती अभिव्यक्तिमा प्रच्छन्न रुपमा उनले आफ्नो जीवन—दर्शनको झलक दिएकी छन् ।
३. शान्ता चौधरीको जीवन—दर्शनको महत्व
शान्ता एक निम्नवर्गीय सामान्य नेपाली नागरिक हुन् । त्यही पृष्ठभूमिबाट उनी नेपालको संविधानसभाको सभासद् बनिन् । यो उनको जीवनको ठूलो उपलब्धि हो । उनी कमलरीबाट सभासद् भएकीले यो उपलब्धि अझ गरिमामय भएको छ । कमलरीबाट सभासद् बनेकी शान्ताको जीवनको आयाम ठूलो छ । दन्त्यकथा झै अविश्वसनीय लाग्ने जीवनयात्राकी उनी जीवन्त पात्र हुन् ।
नेपाली समाज आम गरिबीबाट पीडित छ र आर्थिक असमानता पनि तीव्र छ । असमानताको खाडल बढिरहेको छ । यस परिस्थितिले नेपाली युवालाई प्रतिशोध वा पलायनको दुई अतिवादी बाटोमा लाग्न प्रेरित गरेको छ । यी नकारात्मक मार्गमा लाग्न प्रोत्साहन गर्ने व्यक्ति र शक्तिको पनि नेपाली समाजमा कमी छैन । यो प्रतिकूल परिवेशलाई सम्यक दृष्टिले विष्लेषण गरी सकारात्मक बाटोमा लैजाने नेतृत्वको भने खाँचो र खडेरी छ । प्रतिशोध र पलायनको ताप र धरापबाट मुक्त गराई निम्न वर्गीय नेपाली जनमानसलाई सकारात्मक परिवर्तनको प्रकाश शान्ता चौधरीले देखाएकी छन् ।
शान्ताको लेखन स्वैरकल्पनाको उपज होइन । यो कोरा उपदेश वा अर्ती मात्र पनि होइन । यो उनले जीवनमा कार्यान्वयन गरेको सोच हो । उनले सिकेका, जानेका र मानेका मात्र होइन आफूले अजमाएका मन्त्र र सूत्र पनि उनले यसमा प्रस्तुत गरेकी छन् ।
जीवनसम्बन्धी सकारात्मक र अनुकरणीय सोचलाई प्रचार र प्रवद्र्धन गर्नु आवश्यक हुन्छ । शान्ता चौधरीकोे जीवन—दर्शन सकारात्मक र अनुकरणीय भएकाले यस लेखमा सो बारे चर्चा गरिएको छ । यो लेख उनको ‘कमलरीदेखि सभासदसम्म’ पुस्तकमा आधारित रहेको छ ।
४. शान्ता चौधरीको जीवन — दर्शन
४.१ व्यक्तिगत र सार्वजनिक जीवनबीच समन्वय
शान्ता चौधरी सामन्तवाद र पुँजीवाद बीचको संक्रमणकालीन नेपालका नारीहरुको प्रतिनिधि पात्र हुन् । अनुशासित र कर्तव्यपरायण पात्रको रुपमा उनी छन् । कमलरी बसेका घरको मानिसहरु, आमाबुबा र पतिप्रतिको कर्तव्य उनले पालना गरेकी छन् । आफ्नो शरीरलाई कष्ट र मनलाई दुःख पर्ने भए पनि उनले विद्रोह गरेकी छैनन् । उनी आठ वर्षको उमेरमा आमाको पछि लागेर कमलरी बस्न गइन् । बिहेको सोचाइ नभएको अवस्थामा पनि परिवारको योजना मुताबिक सानै उमेरमा विबाह गरिन् । पतिको अवज्ञा उनले आन्दोलनमा सरीक हुनका लागि मात्र गरेकी छन् । पति उनीप्रति रुष्ट हुनुको कारण पतिलाई उक्साउनेहरु हुन् भन्ने उनको निष्कर्ष छ । जमिनदार, सन्तान, घरपरिवार, नातेदारहरुप्रतिको कर्तव्य निर्वाहमा उनी प्रतिबद्ध देखिन्छिन् ।
व्यक्तिगत कर्तब्यलाई निर्वाह गरेर मात्र उनले सार्वजनिक जीवनमा प्रवेश गरेकी छन् । कमलरीको रुपमा दिनमा दुई भारी घाँस काट्नु पर्ने दायित्व विहानै पूरा गरेर दिउँसो कमैया मुक्ति आन्दोलनमा सरीक हुने शान्ताले व्यक्तिगत, व्यवसायिक र सार्वजनिक जीवनबीच उदाहरणीय समन्वय राखेकी छन् । मजदूर आन्दोलनका कारण उद्योग बन्द भएर स्वयम् मजदूरहरुको बिचल्ली भएको समाचार आइरहँदा शान्ताको आन्दोलनको शैली अरु स्मरणीय हुन आउँछ ।
४.२ सहृदयी र सहयोगी भावना
उनी सभासद् भएपछि भूमिहीनहरुको समस्यालाई भूमिहीनहरुकै मुखबाट संसदको प्राकृतिक स्रोत तथा साधन समितिमा व्यक्त गर्ने वातावरण मिलाइन् । त्यस समयमा उनले कथित सम्भ्रान्त सभासद्वाट भूमिहीनमाथि दुब्र्यवहार भएको देख्नुप¥यो । त्यस समयमा उनले आँसु थाम्न सकिनन्, समितिको बैठकमा नै उनी रोइन् । यसबाट उनी सहृदयी भएको पुष्टि हुन्छ ।
उनमा सहयोेगी भावना प्रवल छ । कमलरीको रुपमा गाउँमा रहँदा उनी जसरी सहकर्मीहरुसँग मिलेर बसेकी थिइन्, सभासद् बन्दासमेत ती वर्ग र समूहसँग उनको सम्बन्ध र सम्पर्क समान छ । सभासद् भएपछि पाएको रकम उनले आमा र दिदीहरुमा खर्च गरेकी छन् । उनीहरुले आफूबाट अझै धेरै आशा राखेको हुनसक्ने तर आफूले कुनै सहयोग गर्न नसकेको पश्चात्ताप उनमा छ ।
आफूजस्तै कमैयाको जीविका र तिनका सन्तानको भविष्यको चिन्ताले उनलाई कमैया मुक्ति आन्दोलनमा संलग्न गराएको देखिन्छ ।
४.३ संघर्षशीलता
शान्ताले बाँचेको दास जीवन सभ्य समाजका लागि स्वीकार्य होइन । तर त्यो परिवेशमा त्यसको विकल्प पनि देखिएको थिएन । दासता विकल्पहीन वृत्तिको रुपमा चलिरहेको थियो । कमारा कमारी अमलेखको इतिहासले सय वर्ष आयु पुरा गर्न लागेको समयमा पनि नेपालको त्यो भेगमा कमैयाका नाममा दासप्रथा कायम थियो । भाग्य र परम्पराको नाममा यसले निरन्तरता पाइरहेको थियो । स्वयम् कमैयाहरुले पनि मुक्तिको जुक्ति सशक्त रुपले खोज्न सकेका थिएनन् ।
शान्ता पनि कमैया परिवारमा जन्मेकी थिइन, कमलरीको भाग्य लिएर । उनले त्यो भाग्य भोगिन तर त्यो चरम विभेद र शोषण उनलाई सह्य भएन । उनमा अनुभव र शिक्षाको अभाव थियो तर विकृति र शोषण सहने लाचारी थिएन । हो, यी समस्याको समाधानको लागि आवश्यक पर्ने शैक्षिक योग्यता, अनुभव र व्यवहारिक ज्ञानको उनमा अभाव थियो तर यी कमजोरीका नाममा शोषित हुन उनलाई स्वीकार थिएन । उनले कमैया प्रथाको अन्त्य खोज्न थालिन्, विभिन्न आन्दोलनमा सरीक भइन र राजनैतिक दलसँग ऐक्यबद्धता जनाइन् ।
किताबको माध्यमबाट समाजको अध्ययन गर्ने र विदेशमा भएका आन्दोलनबाट प्रेरणा लिई नेपालमा आन्दोलन गर्ने प्रवृत्ति शान्तामा पाइन्न । उनले आफैँ भोगेर समाज चिनेकी छन् र आफ्नै आवश्यकताले आन्दोलनमा होमिएकी छन् । उनको पाठशाला उनको जीवन नै हो ।
उनी परिवर्तनका लागि अन्तःप्रेरणाबाट निर्देशित देखिन्छिन् । भविष्यको सुन्दर तस्बीर उनको मनमा थिएन, तर वर्तमान उनलाई स्वीकार्य थिएन । दोश्रो जनआन्दोलनले उनको संघर्षमय जीवनलाई अर्थ दिएको छ । यो संयोग नमिलेको भए उनी के हुन्थिन् के गर्थिन्, यो सम्झदा कहाली लाग्छ । तर यति भन्न सकिन्छ, उनी अगाडि बढिरहन्थिन् ।
४.४ जहाँ इच्छा, त्यहाँ उपाय
कमलरीबाट सभासद् बन्ने अनि छोराबाट कखरा सिकेर किताब लेख्ने शान्ता चौधरीको मान्यता हो, जहाँ इच्छा, त्यहाँ उपाय । उनले कमलरी नाम दिइएको त्यो दास जीवनमा पनि आशा र विश्वासका झिल्का फेला पारिन् र त्यसलाई शिशिर बसन्तका कथाका शिशिरले झै पछ्याउने सुर गरिन् ।
दासतालाई पनि उनले कर्तव्य सम्झेर पूरा गरेकी छन्, कतै चुक हुन दिएकी छैनन् । चुक हुन दिने स्वतन्त्रता उनलाई थिएन पनि । तर आफूले चाहेको काममा उनी लागेकी छन् । दिउँसोका लागि तोकिएको काम विहानको काममा खप्टेर उनी किशोर वयमा फिल्म हेर्न कुदिन् भने परिपक्व भएपछि कमैया मुक्ति आन्दोलनमा सरीक भइन् ।
कमैया मुक्ति आन्दोलनमा लाग्दा उनी एक्ली वृहस्पति झै थिइन् । जिमिन्दार र सामन्त त यस आन्दोलनका विपक्षी भए । जीविकाको विकल्पको अभावका कारण अरु कमैयाहरुबाट पनि उनले सहयोग पाउन गाह्रो प¥यो । उनको विद्रोही र हक्की स्वभावका कारण उनीसँगको संगत र हिमचिमलाई नै निषेध गरिएको थियो । घर परिवारबाट पनि उनलाई आन्दोलनमा नलाग्न भनिएको थियो । आमाबाबु छोरी सोझी कमलरी बनोस् भन्ने चाहन्थे, पतिलाई पनि उनको बाह्य गतिविधि मन परेन । तर आमाबाबुमा चेतनाको कमी र पतिमा अन्य पक्षको उक्साहटका कारण त्यो भावना आएको हो भन्ने उनको विश्लेषण थियो । पतिबाट मानसिक र शारीरिक प्रताडना पनि पाइन तर आफू भलो त जगत भलो भन्ने चिन्तनका साथ एक दिन उनले पनि कुरा बुझ्नेछन् भन्ने विश्वासमा आफ्नो बाटो छोडिनन् । उनको यात्रा अनवरत छ र त्यसले गन्तब्य फेला पारेको छ । उनको जीवनमा अभाव र प्रतिकूलताले अप्ठेरो पारेको छ तर अवरोधको सामथ्र्य राख्न सकेको छैन ।
४.५ बैगुनीलाई गुनले मार्नु
कमलरीका लागि सारा समाज नै शत्रु थियो । कमैया र कमलरीको शोषणबाट त त्यो समाज चलिरहेको थियो । शान्ता चौधरी त्यसको अपवाद थिइनन् । उनले पनि कमलरी रहँदा विभिन्न मानसिक र शारीरिक यन्त्रणा भोगिन् । एक किसिमले कमलरीको जीवन सश्रम काराबास नै त थियो । जमिनदार, उनकी पत्नी र परिवारका सदस्यहरु उनलाई दुःख दिन प्रतिस्पर्धा गरिरहे झै देखिन्थे । झन् उनी आन्दोलनमा लागेपछि त परिवार पाउने स्नेह पनि दाउमा लाग्यो । तर उनी गाउँको सिस्ने खोला झै अघि बढिरहिन् ।
सभासद् भए पछि उनले सबैलाई गुन लगाउने सोच बनाएकी छन् । आफ्नो गाउँको विकास उनको पहिलो प्राथमिकतामा छ । गाउँमा बिजुली पु¥याउन प्रयास गरिन्, कमलरीका शिक्षाका लागि बजेट छुट्याउन पहल गरिन् अनि सिस्ने खोलामा पुलका लागि अनवरत संघर्ष गरिन् । परिवारका सदस्यहरुको स्नेह र प्रेम पाउन उनले अथक मिहिनेत गरेकी छन् । आफूलाई काममा दलाउने जमिन्दारहरुसँग पनि उनले वैरभाव देखाएकी छैनन् । बरु, मोटर पर्खेर बसेका एक जना जमिनदारलाई उनले आफ्नो मोटरमा लगेर सहयोग गरेकी छन्— सभासद् भएपछि । पुराना कुरा बर्सौसम्म मनमा राखेर बस्दा कसैलाई फाइदा नहुने उसको निष्कर्ष छ । गाउँका मानिस विभिन्न कारणले विभिन्न कालखण्डमा उनीसँग रिसाए पनि उनको मनमा कसैसँग वैरभाव देखिँदैन ।
४.६ वर्गीय दृष्टिकोण, व्यक्तिगत विश्लेषण
शान्ताले भोगेको समाज मूलतः दुई वर्गमा बाँडिएको छ— जमिनदार वर्ग र कमैया । मध्यमवर्गको चर्चा उनले पुस्तकमा गरेकी छैनन् । कमैया परिवारमा जन्मेर आठ वर्षको उमेरमा जमिनदारको घरमा कमलरी बस्न गई २६ वर्षमा मुक्त भएकी उनलाई समाजका अरु वर्ग र तहका मानिसहरुसँग सम्पर्क गर्ने अवसर मिलेन पनि होला ।
उनले समाजलाई जमिनदार वर्ग र कमैया गरी दुई वर्गमा बाँडेर विश्लेषण गरेकी छन् । तर जमिनदार वर्ग मूलतः शोषक वर्ग भए पनि यस वर्गका मानिसका विभिन्न प्रवृत्ति र मनोवृत्तिको विश्लेषण उनले गरेकी छन् । एकजना जमिनदारकी छोरीसँग कमलरी बस्दै उनको मित्रता भएको थियो भने अर्कीसँग सम्बन्ध पछिसम्म राम्रो हुन नसकेको उनको ठम्याइ छ । कतिपय महिला कठोर र पुरुष नरम भएका दृष्टान्त पनि पुस्तकमा पाइन्छ । निम्न वर्गका मानिसहरुले नै उनीहरुको हितमा हुने आन्दोलनको विरोध गरेको प्रसंग पनि पुस्तकमा पाइन्छ ।
वर्गका आधारमा समाजको विश्लेषण गर्ने र वर्गीय एकतामा जोड दिने माक्र्सवादी दृष्टिकोण छ । तर वर्गीय एकताका लागि शिक्षा र चेतना आवश्यक हुने उनको ठम्याइ छ ।
वर्गीय दृष्टिकोण एउटा व्यापक दृष्टिकोण हो । कुनै पनि वर्गका अमूक व्यक्तिको मूल्याङ्कन गर्दा भने व्यक्तिगत र विशिष्ट ढंगको विश्लेषणको आवश्यकता पर्दछ । विभिन्न मूल्य, मान्यता र दृष्टिकोण अनि ती पक्षको सघनताको मात्रा व्यक्ति÷व्यक्तिमा फरक पर्दछ । माक्र्स र एंगेल्स धनी वर्गका मानिस भएर पनि गरिबका पक्षमा लेखे, बोले र संघर्ष गरे । कतिपय तल्लो वर्गका मानिसहरु वर्गीय प्रेम दर्शाउन असफल रहेका छन् । शान्तामा वर्गीय चेतना छ र अमूक व्यक्तिप्रतिको धारणा भने उसको व्यक्तिगत चरित्रमा आधारित देखिन्छ ।
उनको संघर्ष व्यक्तिका विरुद्ध होइन, प्रवृत्तिका विरुद्ध छ । उनले यो संघर्षलाई मनबाट सडक, सदन र संविधानसभासम्म पु¥याएकी छन् ।
४.७ रक्तहीन क्रान्तिको पक्षपाती
आमूल परिवर्तन तथा परिवर्तनको बाहक सामाजिक, राजनैतिक परिघटनालाई क्रान्ति भन्न सकिन्छ । यसले आर्थिक, सामाजिक र राजनैतिक अवस्थामा परिवर्तन ल्याउँछ । त्यसैले तत्काल प्रचलित सामाजिक, राजनैतिक प्रणालीबाट फाइदा पाइरहेको वर्गले क्रान्तिलाई रुचाउँदैन । परिवर्तनले विशेष सुविधा पाइरहेका वर्गलाई सामान्यस्तरमा ल्याउँछ र अर्को वर्गलाई विशेष सुविधा सम्पन्न वर्गमा रुपान्तरण गर्छ । त्यसैले परिवर्तनबाट नोक्सानी ब्यहोर्नु पर्ने वर्गले क्रान्ति र परिवर्तनको विरोध गर्छ । परिवर्तनकारी क्रान्तिकारीहरु र परिवर्तन विरोधीहरुबीचको संघर्ष र प्रतिरोधको श्रृंखलाबाट क्रान्ति घटित हुन्छ । यो संघर्ष र प्रतिरोधको स्वरुप कतिपय स्थान र समयमा हिंसात्मक पनि हुनसक्छ ।
‘प्रेम र युद्धमा सबै चिज जायज हुन्छ’ भन्ने पश्चिमेली लोकोक्ति छ । यसैले क्रान्तिले हिंसात्मक रुपमा लिएको अवस्थामा सर्वसाधारण जनताले समेत अकल्पनीय त्रासदी भोग्नु र देख्नुपर्छ । नेपालको दश बर्से ‘जनयुद्ध’ पनि यसको अपवाद रहेन । त्यही समय शान्ता आन्दोलनमा संलग्न हुन थालेकी थिइन् ।
शान्ता क्रान्तिकी हिमायती मात्र थिइनन्, उनी त क्रान्तिकी एक अभियन्ता नै थिइन् । तर उनलाई हिंसात्मक क्रान्तिमा भने कुनै रुचि रहेन । दमन, शोषण वा उत्पीडन कुनै व्यक्तिले मात्र चलाएको परिपाटी थिएन, यो नेपाली समाजको विकासक्रममा देखा परेको एउटा विकृति थियो । जन्मदै शोषित र शोषक हुनुपर्ने परिपाटीमा परिवर्तन ल्याउनु आवश्यक थियो तर यसका लागि कसैको घाँटी रेटेर सम्भव थिएन । शोषक मरेर शोषण सिद्धिने प्राक्कल्पना यथार्थपरक थिएन । कालगतिले नै कति शोषक मरे तर शोषण सकिएन । त्यसैले शोषणको अन्त्यका लागि आर्थिक सामाजिक संरचनामा नै परिवर्तन हुनुपर्ने शान्ताको ठहर छ । यस्तो परिवर्तनका लागि शान्ता हिंसाको आवश्यकता ठान्दिनन् ।
४.८ कर्म गर फलको आश नगर
शान्ताले कमलरी जीवनमा अनेक दुःख खेपिन् । कमलरी रहँदै उनी कमैया मुक्ति आन्दोलमा पनि भइन् । मालिकलाई कामबाट सन्तुष्ट पारेर उनी आन्दोलनमा जान्थिन् । उनी संलग्न आन्दोलनका माग थियो कमैया प्रथाको अन्त्य र विपन्न वर्गका मानिसलाई जीविकाको हक । एक्काइसौँ शताब्दीमा पनि उनी मानिस भएर बाँच्न पाउने हकका लागि लडिरहेकी थिइन् । तर त्यो कसरी कार्यान्वयन हुनसक्छ भन्न सक्ने अवस्थामा उनी थिइनन् । विकृति र विसंगतिको अन्त्यपछि स्वतः स्वच्छ समाजको निर्माण हुनेछ भन्ने उनको विश्वास थियो ।
शान्ताले कमैया मुक्ति आन्दोलनको नेतृत्व गरेकी छन् । तर यसमा उनको चासो र स्वार्थ देखिन्न । उनी नचाहँदा नचाहँदै पनि ती पदमा पुगेकी छन् । सभासद् मनोनित हुँदा समेत आफू होइन त्यही नाम भएको अरु व्यक्ति होला भन्ने धारणा बनाउँछिन् । संविधानसभा संसदयका समितिको सभापति र सदस्य पद पनि उनी प्रारम्भमा अस्वीकार गर्छिन् तर नेताहरुको आग्रहमा स्वीकार गर्छिन् ।
४.९ आफूलाई जित, संसार जितिन्छ
मानिसका मनमा उब्जने लाज, डर, पराजयबोध, हीनता जस्ता भावनामाथि विजय पायौँ भने सफलता सहजै प्राप्त हुन्छ भन्ने भनाइ छ । शान्ताले पनि यही शैली अवलम्न गरेकी छन् ।
जन्मदै शान्ता विपन्नताको जालोमा परेकी थिइन् । त्यही विपन्नताले उनलाई कमलरी नामको दासतामा पु¥यायो । उनी शिक्षाबाट बञ्चित भइन् । गाउँमा बसेकी उनले हेरेर जान्ने अवसर पनि पाइनन् । तर हिम्मत र उत्साहको सहयोगले उनी आफैँले कल्पना गर्न नसकेको उचाइमा पुगिन् ।
शान्ताले औपचारिक कार्यक्रम देखेकी थिइनन् र परिचय दिन जानेकी थिइनन् । अरुले भनेको कुराबाट सिकेर परिचय दिन खोज्दा उनले अरुकै नाम र ठेगाना आफ्नो परिचयको क्रममा बताइन् । यसमा उनलाई कति लज्जा भयो होला । तर पछि परिचय दिने मात्र होइन, संविधान सभाका समिति संचालन गर्ने जिम्मेवारी पनि पूरा गरिन् । सभासद् भइसक्दा पनि औपचारिक र स्तरीय पोशाक नभएका कारण उनको पटक पटक अपमान भएको छ तर उनले त्यसकालाई सहजतापूर्वक सहन गरेकी छन् ।
४.१० नारी अस्मिताप्रति सजग
कमलरीमाथि यौन शोषण समेत हुने गर्दथ्यो । यसका विरुद्धमा कमलरीहरु बोल्न सक्दैनथे । युवावयमा प्रवेश गरेपछि शान्तामा पनि यौन शोषणको डर पस्यो । उनकै आँखा अगाडि कैयौ यौन शोषणमा परेका कमलरी भएकाले त्यो डर स्वभाविक पनि थियो । तर उनले यसका विरुद्ध आफूलाइ मानसिक रुपमा तयार पारिन् र आफ्नो अस्मिता जोगाउन सफल भइन् । हक्की र आँटिली युवतीको रुपमा उनले आफूलाई प्रस्तुत गरिन् । यही स्वभावका कारण उनलाई कम ज्यालामा कठोर काम लगाइयो । तर उनले त्यसलाई स्वीकार गरिन् । नारी अस्मिताप्रति सजग भएकाले नै उनले सानो उमेरमा विवाह गर्न स्वीकार गरेकी थिइन् ।
५. उपसंहार
शान्ता चौधरीले कम उमेरमा लामो जिन्दगी भोगेकी छिन् । त्यसैले उनका अनुभवहरुको आयाम ठूलो छ । उनको जीवनी र जीवन दर्शनको अध्ययन र चिन्तनबाट सिक्ने र जान्ने पर्याप्त विषयहरु छन् । उनको बाँकी जीवनले पनि नेपाली जनमानसमा यस्तै सकारात्मक प्रेरणा दिनेछ भन्ने विश्वास गर्न सकिन्छ ।
समाप्त
