समय परिवर्तन हुँदै जाँदो रहेछ । प्रविधिमा परिमार्जन भइरहँदो रहेछ । मान्छेले पनि आफ्ना गतिविधि बढाउँदै रहेछ । बढाउन नसकेमा परिवर्तन गर्दोरहेछ । समय, प्रविधि र मानिसका गतिविधिसँगै उसका ठेगाना पनि परिवर्तन हुँदै जाँदा रहेछन् । ठेगानाका स्वरुपमा पनि परिवर्तन हुँदो रहेछ । मैले पनि आज नयाँ डिजिटल ठेगाना पाएको छु । अनि त्यसैको सन्दर्भमा लेखिरहेको छु ।
मानिसको बसोबास गर्ने घरद्वार भएको ठेगाना उसको स्थायी ठेगाना । मानिस गतिशील प्राणी हो । आफ्नो घरमा बसेर सधैं जीवन नधानिएला, विकास र प्रगति नहोला । त्यसैले कुनै प्रयोजनका लागि घरबाट टाढा गएर केही समयका लागि बसोबास गर्न थाले सो स्थान अस्थायी ठेगाना । मानिसको गतिलाई आत्मसात गर्दै सूचना प्रविधिले नयाँ ठेगानाको आविष्कार गरेको छ, डिजिटल ठेगाना । सधैं सधैं आफूसँग रहिरहने डिजिटल ठेगाना । यस ठेगानामा मानिस जहाँ पुगे पनि सम्पर्क हुनसक्ने । यो ठेगानाबाट जहिले पनि सम्पर्क गर्न सकिने । डिजिटल ठेगाना भएपछि कतै नभुलिने, कतै नछुटिने । अहिले त झन् स्मार्टफोनको जमाना छ । यो ठेगाना सधैं आफूले बोकेर हिड्न सकिने ।
यसअघि मसँग इमेल ठेगानाहरु मात्र थिए, डिजिटल ठेगानाको नाममा । एउटा जिमेलमा आफूले खोलेको, अर्को म काम गर्ने संस्थाले म र संस्था दुवैका सजिलाका लागि खोलिदिएको । जिमेलमा व्यक्तिगत सूचना र खबर आदानप्रदान हुन्छन् । अफिसको मेलमा अफिस सम्बन्धी । अहिले अवकाश भइसकेकाले अफिसको मेल कुनै नियमित पाठ्यसामग्री प्राप्त गर्ने स्रोत मात्र बनेको छ । सूचनाको भर केवल जिमेल माथि नै छ । साच्चि, फेसबुक पनि त अब एउटा ठेगाना नै बनेको छ । मानिसका हरेक गतिविधिसँगको ठेगाना । स्वभाविकै हो, मसँग यो ठेगाना पनि छ ।
जिमेलले दिने धेरै सुविधामध्ये एउटा ब्लगिङको सुविधा पनि हो । आफूले चाहेको कुरा लेखेर प्रकाशन गर्न यसले एउटा ब्लग साइट उपलब्ध गराउँछ । मेरो ब्लग साइटकाे नाम हो kedarji.blogspot.com । यसमा मैले केही अन्यत्र प्रकाशित रचना, केही अप्रकाशित रचना र केही व्यक्तिगत विचार राख्ने गरेको थिएँ । अवकाशपछि ब्लगलाई अलि नियमितता र निरन्तरता दिएँ । सीमित साथीहरुबाट मात्र त्यसबारे प्रतिक्रिया पाए पनि आफ्नो फुर्सदलाई अलि रचनात्मक बनाउने मनसायले ब्लगलाई निरन्तरता दिन खोजेको छु । निरन्तरको अभ्यासबाट मैले राम्रो लेख्न सकें, साथीहरुको मन तान्न सकें र मेरो ब्लगको पाठक बनाउन सकें भने यो फुर्सदको सार्थकता हुने ठानी अहिले केवल लगानी मात्र गरिरहेको छु । यस लगानीबाट आर्थिकको त कुरै भएन गैर आर्थिक प्रतिफलको पनि आश गरेको छैन । बस् अत्मसन्तुष्टिको आश हो, त्यसको भ्रम रहुन्जेल शायद कायम रहन्छ ।
ब्लगबाट अघि बढेर मैले अब आफ्नो वेब पेज पनि पाएको छु । kedaracharya.com.np । ब्लगमा अलमलिएको बाउलाई वेब पेज खोलिदिएको छ, छोराले । धन्यवाद दिनैपर्छ । नमागी पाएको कुरा हो, त्यसैले मन फुरुङ्ग पनि भएको छ । वार्षिक नवीकरण शुल्क पनि तिर्नुपर्छ रे । यसको उपयोगमा रस बस्यो भने त्यो पनि तिरौंला । प्रविधिको प्रयोग गर्दै जाऊँ । यो जमाना न हामीले जन्मँदा आश गरेका थियौ, न हुर्कंदा यस्तो होला भन्ने सोच्यौ । अरुको आविष्कारलाई बस सापटी मागेर चलाउन पाइएको छ ।
मलाई त पभमबचवष् नै मन परेको थियो, आफ्नो डिजिटल ठेगानाको नाउँ । न घमन्ड, न हीनता । बस् समानता अनि मित्रता जनाउने जी लागेको वेब साइट । यो जी मा आदर, स्नेह, अपनत्व मिसिएको जस्तो लाग्छ । तर यो नाममा साइट खोल्ने लाइनमा म निकै पछि परेछु । यो नाम पाइन । आफ्नो सामान्य नामबाट नै साइट खोलेको छु । तैपनि म सबै साथीभाइको जी बनेर नै रहन सक्छु भन्ने विश्वास लिएको छु ।
आत्मप्रकाशन मानिसको अन्तरमनको चाहना हो । हामी कुरा गर्छौ, गफ गर्छौ, बात मार्छौ । दुःख सुनाए घट्छ, सुख सुनाए बढ्छ भन्ने हाम्रो मान्यता छ । यसैले हामी दुःख सुनाइरहन्छौ, सुख सुनाइरहन्छौं । आफ्नो भाग्यलाई अर्काले बदल्न नसके पनि आफ्ना भावना सुनाउन पाएकोमा हामीलाई ढुक्क हुन्छ । समास्याको समाधान त टाढाको कुरा भयो, कसैले समस्या सुनिदियो भने पनि मनलाई आराम हुन्छ । सुख बरु लुकाउँदा केही नहोला तर दुःख लुकायो भने त्यसले मानिसलाई गलाउँछ । एउटा रेचन चाहिन्छ, सबै कुण्ठा, कमजोरी, असफलता, आकांक्षा भन्ने ठाउँ चाहिन्छ । हो पनि, हामी संसारले दिएको सुख यहीं छोडौं, संसारले दिएको दुःख यही छोडौ । अनि त्यसरी नै निर्मल भएर जाउँ जसरी निर्दोष जन्मिएका थियौ । अझ निर्मल बाँच्न खोजौं । उसले दिएको दुःख यही संसारलाई सुनाउँ, उसले दिएको सुख यही संसारलाई सुनाउँ । भन्दिउँ मनमा लागेको, जे होला होला । र, यही आफ्ना कुरा भन्न मैले ब्लग चलाएको थिएँ । अहिले वेब साइट भेटेको छु । म यहीं गफ गर्छु । तपाईं जहाँ भए पनि सुन्न सक्नुहुन्छ । तपाईंको महत्वपूर्ण समय मलाई दिनुस् म भन्न सक्दिन । तर फुर्सद हुनुहुन्छ भने आउनुस् गफ गरौं । चित्त बुझे केही लेख्नुहोला । चित्त नबुझे झन् लेख्नुहोला । कुनै कुरा मन प¥यो भने पुरानातिर पनि जानुहोला । मेरो साइट हेर्ने कामभन्दा राम्रो काम छ भने अवश्य त्यही गर्नुहोला । तर बेकारमा समय नफ्याल्नुहोला, मसँग गफ गर्न आउनुहोला ।
यहाँ गफ गर्न तपाईं र म सँगै हुनुपर्दैन । म सुतेको बेलामा पनि तपाईं मसँग यो साइट मार्फत गफिन सक्नुहुन्छ । अझ म नभएको समयमा पनि तपाईं मसँग गफ गर्न सक्नुहुन्छ । म यो साइटमार्फत नजन्मेको नातिसँग वार्ता गर्नसक्छु । यसैगरी आफूले कहिले नदेखेको र देख्ने गुञ्जायस पनि नभएको कुप्रा बासँग मेरी पनातिनीले वार्ता गर्न सक्छिन् । तपाईं मेरो साथी हुुनुहुन्छ र आफ्ना सन्तानसँग मेरा बारेमा कुरा गर्नुभयो भने उनीहरुले पनि मलाई चिन्छन् । उनीहरुलाई संसारको अर्को एउटा मान्छेसँग सजिलै आफ्ना छोराछोरीको चिनजान गराउन सक्नुहुन्छ । अब मानिस कालतीत हुन ठुलो प्रगति गर्नुपर्दैन, इतिहासमा नाम लेखाउनु पर्दैन । बस् एउटा ब्लग वा वेबसाइट भए तपाईं आफू जीवनपछि पनि रहन सक्नुुहुन्छ । सानो घेरामै सही, थोरै समयका लागि नै सही ।
आफ्ना बारेमा कुरा गर्न पनि एउटा आधार चाहिन्छ । लहरालाई थाँक्रा चाहिए जसरी । म पनि समाज देश र कालको थाँक्रामा नै आफ्ना भावनाका लहरालाई फैलाउन चाहन्छु । आर्थिक क्षेत्रमा लामो काम गरेकाले त्यसमा मेरो लगाव छ । साहित्य मेरो अध्ययनको विषय रह्यो । यसमा पनि मैले आफ्नो चासो देखाउनै पर्छ भन्ने ठान्छु । कानुनको विद्यार्थी हुँ । राजनैतिक र समाजिक प्राणी भएकाले यसमा पनि सरोकार रहने नै भयो । साहित्यको अध्ययनको क्रममा केही धार्मिक साहित्यको अध्ययन गर्ने मौका पाएकोले त्यता पनि समय दिने विचार गरेको छु । आउनुस् जीवन र जगतका विहंगम विषयमध्ये आफ्नो मन र बुद्धिले भ्याएसम्मको महान् विषयमा चर्चा गरौं ।

सरको हरेक वाक्यांश भावपुर्ण, रचनात्मक एव मिजाशिलो लाग्छ । तार्किक एवं रोचक अभिव्यक्ति ले पुर्णतः भरिएको हुनाले लगातार पढिरहन मन लाग्छ । एउटा लेख पढिसक्ने बित्तिकै अनायास नै अर्को blog तिर को खोजको तृष्णा मेटाउन आखाहरु भौतारिन थाल्छन् । so, please go on continue ….!!
तपाईंले भनेको कुरा एकदम सहि हो ठिकै छ फुर्सद भएसम्म कुराकानी गर्दै जाउँला।।।
सर नमस्कार, धेरै खुसी लाग्यो निरन्तरताको कामना । सरका प्रस्तुती वास्तविक र जीवन्त लाग्छ । शुभकामना सरकार
बधाइ छ सरलाइ नया वेवसाइड खोल्नु भएकोमा ।
म पनि बेलाबेलामा यो चौतारीमा भेटघाट गर्न आउछु।