गोजीमा करिब दुई सय रुपैयाँ, झोलामा एकसरो फेर्ने कपडा र आइ.ए.मा ब्याक बांकी रहेको ब्राइटर इंलिसको किताब हालेर काठमाडौ बसपार्कबाट सत्र रुपैंयाको टिकट काटेर म सिन्धुपाल्चोकको सदरमुकाम चौतारा पुगेको थिएँ, जागिर खान । त्रिचालीस सालको भदौरे झरीको समय थियो त्यो । साउनमा लोक सेवा आयोगको अन्तर्वार्ता दिएर काठमाडौबाट उदयपुर (घर) फर्केपछि फेरि भदौमा काठमाडौ जाँदा मनमा कौतूहल थियो । अन्तर्वातामा असफल भएर पुन: शिक्षकको जागिरमा रसुवा पुग्नुुपर्ने हो कि लोक सेवा आयोगको परीक्षा पास गरेर खरिदार वा सहलेखापाल हुन पाइने हो ? काठमाडौ पुग्दा खुशीको समाचार पाएँ, म सहलेखापाल भइसकेको थिएँ । गृह मन्त्रालयमा पोष्टिङ भएको थियो । गृह मन्त्रालय गएर बुझ्दा जिल्ला कार्यालय, सिन्धुपाल्चोकमा नियुक्ति लिन जानुपर्ने रहेछ । अहिले जिल्ला प्रशासन कार्यालय भनिने सिडिओ अफिसलाई त्यतिबेला जिल्ला कार्यालय भनिन्थ्यो । यसरी गृह मन्त्रालयबाट सिफारिस लिएर म सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारातर्फ लागेको थिएँ ।
पञ्चायतकालमा प्रमुख जिल्ला अधिकारीलाई शासन सत्ताको साक्षात प्रतिविम्ब मानिन्थ्यो । सर्वसाधारण जनमानस त्यो नाम र पद सुन्दै काहालिन्थ्यो । मैले पनि त्यतिन्जेलसम्म दुई पटक प्रजिअको मुख देखेको थिएँ, एक पटक एसएलसीमा र अर्को पटक नागरिकताको प्रमाणपत्र बनाउँदा । दुबै पटक म भयाक्रान्त भएको थिएँ । सिडिओको रोब नै अर्कै । समयले मलाई त्यस्तै प्रजिअको मातहतमा जागिर खाने बनायो । जागिरे भइसक्दा पनि त्यो डर र धक व्यवस्थापन गर्न मेरो कलिलो मनलाई गाह्रो परेको थियो ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीसँग म भयभीत हुनु पर्ने अर्को कारण पनि थियो । म सिन्धुपाल्चोक पुग्नु केही वर्षअघि पिस्कर काण्ड भएको थियो । माघे संक्रान्तिमा पिस्करमा लागेको मेलामा वामपन्थी कलाकर्मीले व्यवस्थाविरोधी नाटक प्रदर्शन गरेको बेला स्थानीय प्रशासनले गोली चलाएको थियो र दुई जना स्थानीयको मृत्यु भएको थियो । पञ्चालयतकालीन सन्नाटामा त्यो घटनाले खलबली मच्चाएको थियो । मैले पनि गोप्य रुपमा सो काण्डबारे लेखिएको प्रतिबन्धित पुस्तक पढेको थिएँ, जसमा स्थानीय प्रशासनको बर्बरताको वर्णन थियो । त्यस्तो घटना भएको ठाउँको प्रजिअसँग काम गर्न मेरो मन अझ आत्तिएको थियो । बेरोजगारीबाट पार लागेको खुशी र सिडिओको मातहतमा काम गर्नुपर्ने बाध्यताको बीचमा म झुलिरहेको थिएँ । पछि त म नागरिकता टोलीमा खटिएर म पिस्कर पनि पुगें, मेला लागेका ठाउँ पनि देखें, त्यो काण्डका खलनायक भनिएका व्यक्तिसँग पनि कुराकानी भयो ।
यसरी उन्नाइस वर्षको उमेरमा सहलेखापालको जागिर खान जिल्ला (प्रशासन) कार्यालय सिन्धुपाल्चोक पुग्दा त्यहांका प्रमुख जिल्ला अधिकारी थिए, बलराम कापर । म कार्यालय पुगेको बखत उनी तालिममा काठमाडौंमा रहेका हुनाले कायम मुकायम प्रमुख जिल्ला अधिकारीबाट नियुक्ति बुझें । कायममुकायम प्रजिअले सरल ढंगले कुरा गरेर परिवेशलाई खुकुलो बनाए । तर उनका कुरा सुुन्दा उनले पनि प्रजिअसँग भने धक मान्ने गरेको बुझियो । कार्यालका महत्वपूर्ण निर्णयहरुले प्रमुख जिल्ला अधिकारी बलराम कापरलाई पर्खिरहको थिए । कार्यालयको काम सिक्दै गरेकाले दिन सजिलै बितिरहेको थियो तर बलराम कापर आएपछिको वातावरण कस्तो हुने हो भन्ने चिन्ताले बेलाबेलामा सताइरहन्थ्यो ।
मैले नियुक्ति बुझेको दुई महिनापछि तीन महिने तालिम सकेर बलराम कापर कार्यालयमा हाजिर भए । यसपछि करीब डेढ वर्ष उनको मातहतमा रहेर काम गर्ने मौका पाएँ । जागिरका दुई महिना काम सिक्दै बितेकाले कार्यालयको काम मैले उनैको पालमा नै गरेँ । पछि उनैको हातबाट राजीनामा स्वीकृत गराएर निजामती सेवाबाट अगल भएँ ।
नयाँ केटो सहलेखापाल भएर आएको छ भन्ने सुनेर पहिलो दिन नै उनले मलाई बोलाए । तराइ मूलका उनी काला वर्णका थिए । सर्ट पाइन्ट लगाएका हँसिला बूढाका रुपमा उनी प्रस्तुत भए । सानो उमेरमा जागिरमा प्रवेश गरेकोमा मलाई फुक्र्याए । लेखापाल अवकाश हुने र अर्को लेखापाल तत्काल नआउने भएकाले लेखाको पूर्ण जिम्मेवारी लिनु पर्ने कुरा बताए । प्रजिअ कस्ता होलान् भन्ने कौतुहललाई उनले आफू फरासिलो मानिस भएको जनाउ दिएर मेटाए । प्रजिअबाट डराउने केटालाई उनले आफ्नै एउटा अवयव बनाइसकेका थिए ।
चौतारामा चिनेजानेका कोही थिएनन् । मावली दाइ लगायत गाउँका धेरै काठमाडौमा बस्थे । मलाई पनि काठमाडै जान औधी रहर लाग्थ्यो । आफ्नो गाउँठाउँको बारेमा कुरा गर्न काठमाडौ पुग्नुपथ्र्यो । भोटाहिटीको जेरीस्वारी र रत्नपार्कको रमाइलो पनि काठमाडौ मै त थियो । एकदुई दिन विदा भयो भने म बलराम कापरसँग काठमाडौ जाने अनुमति मागिहाल्थें । उनले एकदिन सोधे—
‘काठमाडौ जाँदा पैसा खर्च हुँदैन ?’
‘हुन्छ ।’ मैले सहजै जवाफ दिएँ ।
‘तिमीलाई पैसाको माया लाग्दैन ?’
बयालीस सालको फागुनमा बुवा खस्नुभएको थियो र त्रिचालीस सालको भदौमा म जागिरे भएको थिएँ । बुवाको उपचार र काजक्रियामा लागेको खर्चको व्यवस्था गर्न बैंकमा जाकटी राखेको आमाको कुन्डल बैंकमै थियो । त्यो झिक्नु मेरो पहिलो काम थियो । साना भाइबहिनीको भविष्य अब जेठो दाजुको रुपमा रहेको मेरो काँधमा आएको थियो । पैसाको माया मलाई नलागेर कसलाई लागेको थियो होला ?
‘लाग्छ नि ।’ मैले भनें ।
‘अहँ तिमीलाई पैसाको माया लाग्दैन ।’ कापरले घोषणा गरें । उनले फेरि मेरो उमेर सोधे ।
‘तिमीलाई पैसाको माया लाग्ने बेला नै भएको छैन । तिमी मेरा छोराछोरीभन्दा कान्छा छौ । अहिले तिमीलाई पैसाको के माया ? म पर्सि काठमाडौ जान्छु । तिमीलाई पनि लैजाउँला । बस भाडा बच्छ तिम्रो ।’
एक पटक बलराम कापर काठमाडौ गएको बेला कार्यालयको मोटर काठमाडौ मै बिग्रियो । उनी अञ्चलाधीश कार्यालयबाट अर्को मोटर लिएर चौतारा फर्के । मोटर बनाउन आवश्यक पाँच हजार रुपैयाँ बोकेर म काठमाडौ जानुपर्ने भयो । आफ्नो नाममा पेश्कीको चेक काटेर सही गराउन गएँ । उनले वन कार्यालयको मोटरमा मलाई काठमाडौ पठाउने व्यवस्था गरिसकेका रहेछन् । बैंकबाट चेक साटेर ल्याएपछि फेरि भेट्न भने ।
‘चेक साट्यौ ?’
‘साटेँ ।’
‘पैसा गन्यौ ?’
‘गनेँ ।’
‘पैसा कहाँ राख्छौ ?’
‘गोजीमा ।’
‘कुन गोजीमा ?’
‘यो गोजीमा ।’ मैले सटको गोजी देखाएँ ।
‘स्वीटर लगाउँछौ कि लगाउँदैनौ ?’
‘लगाउँछु ।’
‘सट बाहिर कि भित्र ?’
‘सट बाहिर ।’
‘ल ठीक छ जाउ । यो पैसा हरायो भने तिमीले तिर्नुपर्छ । कमाएको पैसा हराउँदा आफ्नो हराउँछ । यो अफिसको पैसा हरायो भने त तिमीले रिन गरेर तिर्नुपर्छ ।’ उनको यत्तिको खोजीनिती त मैले पैसा हराउँला भनेर पो रहेछ । सटको गोजीमा पैसा राखेर बाहिरबाट स्वीटर लगाउँदा मैले बोकेको पैसा सुरक्षित हुन्छ भनेर उनी ढुक्क भएका रहेछन् ।
माया त मलाई आफ्ना बाबुृआमाले नै बढी गर्नुहुन्थ्यो । मेरो जिम्मामा रहेको पाँच हजारको सुर्ता उनलाई पनि मेरा आमाबाबुलाई जत्तिकै लागेको रहेछ । सानै छ, हराउला कि विराउला कि भन्ने चिन्ता । म मेरा आफन्तबाट अलग भएको त्यो अवस्था र स्थानमा उनले मेरो रिनधनको चिन्ता गरेर मेरो मनमा ठूलो ठाउँ बनाए ।
दशैका लागि घर जान छुट्टी मागिसकेपछि पनि अफिस आइरहेको देखेर उनले सोधे ‘किन काठमाडौ गएनौ ?’ म भने काठमाडौबाट घर जाने टिकट पछिको भएकाले चौतारामा नै बसिरहेको थिएँ । उनलाई त्यही जबाफ दिएँ । ‘कि पैसा उठाउनु छ ?’ उनले फेरि सोधे ।
‘छैन ।’ मैले भने, थिएन पनि ।
‘तिमी यहाँ कमाएर जोगाउनेमा पर्छौ । तिमीसँग सापट माग्ने मानिस थुप्रै हुनसक्छन्, स्टाफ पनि र बजारका पनि । तर हत्तपत्त पैसा कसैलाई नदिनु, दिन जति उठाउन सजिलो हुँदैन । पैसा माग्न जाँदा उल्टै किन चाहियो पैसा पो भन्छन् । तिमीले पनि पैसा सापट लगाएका छौ कि भनेर सोधेको ।’ उनले अर्ती दिए । तर घरव्यवहारमा न सापट नलिई साध्य चल्छ, न न नदिई । तर बलराम कापरको भनाइ झुठो होस् भनेर कामना गर्छू, मेरो कामना पूरा हुँदैन । पैसा लानेले फर्काउदैनन्, अनि बलराम कापरको भनाइ बारम्बार घांटी लाग्छ ।
उनले मलाई अत्यन्त स्नेह गरे, बालक भनेर । मलाई अत्यन्त विश्वास पनि गरे, शायद अबोध भनेर । हो पनि, दुरुपयोग, अपचलन, भ्रष्टाचार र घुसखोरी भनेको कुन चराको नाम हो मलाई थाहा थिएन । जागिरको खोजीमा रहेको अवस्थामा स्थायी जागिर पाएको थिएँ, त्यही नै मलाई काफी थियो । जुन कागज र जस्तो चेक लिएर गए पनि उनी आँखा चिम्लेर सही गर्थे । उनको यो विश्वासले मलाई नै डर लाग्न थाल्यो । मैले गल्ती गरें भने नियन्त्रण गर्ने कोही थिएन । एक त आफू आलोकाँचो छु, त्यसमा कार्यालय प्रमुखले केही नसोधी सही गर्ने । यसले त सबैलाई अप्ठेरोमा पार्न सक्थ्यो । मैले यो समस्या कोष तथा लेखा नियन्त्रक कार्यालयका साथीहरुलाई पनि राखें । उनीहरुबाट ‘बलराम कापर लेखा समूहका उपसचिव हुन्, गृहमा भएकाले प्रजिअ भएर यहाँ आएका हुन्, त्यसैले लेखाको काममा उनी विज्ञ छन्, उनैलाई सोधन’ भन्ने जवाफ पाएँ । त्यसैले मैले एक पटक ‘नयाँ छु, काम जानेको छैन, सरले हेरेर सही गरिदिनोस, सिकाइ दिनुहोस’ भने । उनले निष्फिक्री भएर भने, ‘म सिडिओ हुँ, मान्छे मार्ने कागजमा मात्रै हेरेर सही गर्छु, तिमीले डटपेन र काजग किनेको बिलमा हेरेर सही गर्ने फुर्सद मलाई छैन । गृह मन्त्रालय र अदालतमा कुनै चिठी लेखेका छौ भने मलाई पहिला नै भन्नु, ती चिठीमा भने हेरेर सही गरौँला ।’ मान्छे मार्ने कुराले मन सिरिङ्ग भयो । पिस्करको घटना र लोक सेवा आयोगको परीक्षा दिँदा पढेको स्थानीय प्रशासन ऐन, २०२८ सम्झे । मैले लेखामा काम गर्दा उनको यो विश्वास सदा कायम राखें । यसका लागि मैले अरु कार्यालयका लेखाका साथीहरुको धेरै सहयोग भने लिनुपर्यो ।
तास नखेल्ने आदतका कारण चौतारामा शनिवार बलराम कापर र म एक्लै पथ्र्यौं । कतिपय दिन त म उनीकहाँ गएको पनि छु दिनभर गफ गर्न । उनको व्यक्तिगत जीवन पनि अत्यन्त शान्त । कुपोन्डोलमा घर, सर्लाहीमा पुरानो घर र जग्गा जमिन, एक छोरा, एक छोरी र पत्नी । स्कूल पढ्ने आफ्ना छोराछोरीलाई घरबाट टिफिन पठाउने र त्यो एकदमै सामान्य हुने कुरा गर्थे उनी । छोराछोरीको पढाइ बिग्रेला भनेर टि.भी. राखेको छुइन भन्थे । नियमित बचत र बीमाबाट बढ्दो खर्च र सीमित आयले सिर्जना गर्ने अप्ठेरोको समाधान हुनसक्ने उनको धारणा थियो । नयाँ घडी लगाएर गएको बेला उनले भनेका थिए, ‘घडी कम पैसाको किन्नू, समय हेर्ने त हो । रेडियो राम्रो किन्यौ भने धेरैवटा र राम्रा स्टेशन पनि सुन्न सक्छौ ।’ किफायती जीवन उनको आदर्श थियो । म काठमाडौ आइसकेपछि माइतीघरमा उनीसँग भेट भएको थियो, बंगलादेशमा पढ्ने छोरीलाई लिन एयरपोर्ट हिंडेका रहेछन् । ‘जाँदा त बस चढेर गए भइगयो नि, जागिर नभएको मानिसले किन बढी खर्च गर्नुपर्यो ? आउँदा छोरी पनि हुन्छे ट्याक्सीमा आउँछु, ।’ उनले भने । निजामतीमा तीस वर्षे अवकाश नीति लागू भएर उनी निवृत्त भएछन् ।
पिस्कर हत्याकाण्डपछि सिन्धुपाल्चोकाका प्रजिअ रातारात काठमाडौ झिकाइएर उनका ठाउँमा बलराम कापर आएका रहेछन् । लेखाका अधिकृत द्वितीय तहका कर्मचारी भए पनि प्रशासन सेवाको प्रजिअ भएर उनी आएका थिए । पिस्कर हत्याकाण्डपछिको सिन्धुपाल्चोकको तातेको राजनीतिलाई चिस्याउनु उनको काम थियो । परस्पर विरोधी मानिने राष्ट्रिय पंचायतका दुईजना सदस्यहरुलाई सन्तुलनमा पनि उनले राख्नुपथ्र्यो होला । त्यसैले शिष्ट बोलीबचन र नम्र स्वभाव भएका उनलाई पठाइएको अडकल काट्छु अहिले । उनी कहिलेकाहीं रिसाउँदा अंग्रेजीमा गाली गर्थे । यसबाट उनको रिस पनि मथ्र्यो र कुरा नबुझ्दा गाली खाने पनि दु:खी हुनु पर्दैनथ्यो । आर्थिक अनियमिततामा उनी मुछिएनन् । नियमले पाउनेभन्दा आफूलाई एक पैसा बढी नदिन उनी मलाई सचेत गराइरहन्थे ।
चौताराका युवाले गाईजात्रे कार्यक्रम संचालन गरेका थिए । स्थानीय कृष्ण मन्दिरमा व्यंग्य चित्र प्रदर्शन गरिएको थियो । साँझमा व्यंगात्म सांस्कृतिक कार्यक्रम गरिएको थियो । पञ्चायत काललमा प्रशासन, सरकार र पञ्चायतको विरोध गर्ने यही एकमात्र दिन थियो । म पनि यी कार्यक्रम हेर्न गएको थिएँ । नागरिकता फाँटलाई घुसको आखडाको रुपमा व्यंग्य गरिएको थियो, सहायक प्रमुख जिल्ला अधिकारीलाई पनि मुछिएको थियो । तर प्रमुख जिल्ला अधिकारी बलराम कापरलाई भने सोझा भनी ब्यंग्य गरिएको थियो । पञ्चायतको शासन टिकाउने खम्बाको रुपमा काम गर्ने जिल्ला प्रशासकलाई सोझो भन्नु व्यंग्य होइन आदर हो भन्ने आज लागिरहेको छ । तीस वर्षे पञ्चायतमा पचहत्तर जिल्लामा कति प्रमुुख जिल्ला अधिकारी भए होलान्, कतिले सोझोको पगरी पाए होलान् ?
चौवालीस सालको चैत्रमा जिल्ला कार्यालयको जागिर छोडेर आउने क्रममा मलाई अलि समस्या पर्यो । स्थानीय निकायको निर्वाचनको पूर्वसन्ध्यामा लेखापाल सरुवा भएर आएका थिए । मैले सबै कारोवार उनलाई बुझाउनु पर्नेभयो र आफू केवल उनको सहयोगीको रुपमा रहनुपर्ने भयो । बलराम कापरले निर्वाचनको हिसाब तिमी नै हेर भनेकाले त्यो काम भने मैले गरे । भत्ता पनि आउने, काम मैले सुरु गरिसकेको र उनलाई काम लगाउन सजिलो लागेकाले मलाई लगाएका हुनसक्छन् । तर त्यो कुरा लेखापाललाई मन परेको रहेनछ । उनले त्यो झ्वाक पछि फेरे, नेपाल राष्ट्र बैंकमा मैले जागिर पाएर राजीनामा दिन चौतारा गएको बेलामा । मैले निर्वाचनको फायल र हिसाब उनलाई बुझाउनु पर्ने भयो । उनले निर्वाचनको धरौटीको हिसाब अध्यावधिक नगरी श्रेस्ता नबुझ्ने भने । उतिबेला निर्वाचन सम्पन्न भयो भनेर शान्तिको सास फेरियो, धरौटीको हिसाब तिर ध्यान दिइएनछ । प्रधानपञ्च, उपप्रधानपञ्च, वडा अध्यक्ष र सदस्यले निर्वाचनमा उम्मेदवार बन्न आवश्यक धरौटी र त्यसमध्ये निर्धारित न्यूनतम मत ल्याउन नसक्ने उम्मेदवारको जफत गरिएको धरौटीको हिसाब मतदान अधिकृतहरुले दिएका थिएनन् । स्थानीय निकायको उम्मेदवारी दिने काम गाउँगाउँमा हुने हुनाले धरौटी पनि गाउँगाउँमा खटिने मतदान अधिकृतले राख्थे । कांग्रेस र कम्युनिष्टहरुले पनि भाग लिएको त्यो स्थानीय निर्वाचन कम तनावपूर्ण थिएन । कुन्चोकमा गोली चल्यो, पिस्करमा बबाल भयो, बाह्रबिसेका मतदान अधिकृत भागे । यस्तोमा त्यो हिसाब राख्नु गाह्रो पनि थियो । तर गल्ती मेरो थियो, त्यता ध्यान दिइन । कम्तीमा मतदान अधिकृतलाई पत्राचार त गर्नुपथ्र्यो । तर त्यो हिसाब नदेखाई जान नदिने लेखापालको विचार पनि ठिक थिएन । सबै हिसाब मिलेपछि मात्र लेखापालको सरुवा वा राजीनामा हुने त होइन । एउटाले गर्न नसकेको अर्कोले गर्छ, गर्नुपर्छ । तर उनले यो बुझेनन्, बुझ्न चाहेनन् । यो कुरा सुरुमा सिडिओलाई भन्नु उचित पनि लागेन । तर मैले मगाएको चिया लेखापालले नखाने र उनी बसेका ठाउँमा म पुगे उनी त्यहाँ हिड्ने गरेपछि त मैले जति बिन्ती गरे पनि उनले मलाई छुटकारा दिन्छन् जस्तो लागेन । आजित भएर आफ्नो समस्या सिडिओसमक्ष राखें, ‘अनुभवको कमीले धरौटीको हिसाब राख्न सकिँन, मतदान अधिकृत सबै स्थानीय पनि थिएनन्, अब हिसाब हेरेर राष्ट्र बैंक जान मलाई समय छैन, पैसा अपचलन गरेको छैन’ । उनले तुरुन्तै निर्वाचनको हिसाब र श्रेस्ता निर्वाचनतर्फका सुब्बा श्रीकृष्ण श्रेष्ठलाई बुझाउन भने । साह्रै मिलनसार र स्नेही श्रीकृष्ण श्रेष्ठले त्यो बुझे । म राष्ट्र बैंकमा आएको केही समयपछि ती लेखापाल काठमाडौ सरुवा भएर आएछन्, उनी नेपाल राष्ट्र बैंकमा राजस्व बुझाउने लाइनमा बसेका बेला देखेँ । लामो समय उनको सहयोगी भएर काम गरेको थिएँ, फेरि बैगुनीलाई गुनले मार्नु भन्छन्, भौचर मागेर भित्री बाटोबाट चाँडो भरेर ल्याइदिएँ ।
बुझबुझारथ सकेर मैले राजीनामा लेखेपछि बलराम कापर भावुक भए । तिमी सरकारी जागिरबाट सन्तुष्ट नभएर अब अरु संस्था तिर गयौ भने । मलाई पढ्न काठमाडौ आउनु थियो । प्राइभेट आइ.ए. पास गरेकाले यतिन्जेल क्याम्पसको मुख देख्न पाएको थिइन । फेरि, राष्ट्र बैंकमा म सुब्बा तहमा आएको थिएँ । तलब र अरु सुविधा पनि राम्रो थियो । नौ सय बैसट्टीको जागिरबाट म अब चौध सयभन्दा बढीको जागिरमा आएको थिएँ । मैले यही कुरा राखें । उनले पनि मलाई राष्ट्र बैंकमा आउन प्रोत्साहन गरेका थिए । ‘राष्ट्र बैंकले बुद्धि पुर्यायो भने तिमीलाई लिन्छ’ भन्थे । लिखितमा पास गर्यौ भने अन्तर्वार्ताको बेला सत्येन्द्रप्यारा श्रेष्ठलाईलाई चिट्ठी लेखिदिन्छु भनेका थिए । पछि मैले सम्झाउँदा तिमी चिठी लेख म सही गरिदिन्छु भने । उनको कुरा इन्कार गर्न नसकेर मैले चिठी तयार पारी सही त गराएँ तर त्यो चिठी सत्येन्द्रप्यारा श्रेष्ठकहाँ पुर्याउन मन लागेन । उनकै हस्ताक्षर भएको भए पो ?
‘तिम्रो राजीनामा म स्वीकृत गर्दिन ।’ उनले भने ।
म हक्क न बक्क भएँ ।
‘बैंकमा पैसाको काम हुन्छ, सानो गल्तीले ठूलो घटना हुनसक्छ । सत्ताइस र बहत्तरमा झुक्किन बेर लाग्दैन । तिमी काठमाडौ जाउ, एक दुई हप्ता जागिर खाउ, त्यो जागिर चित्त बुझ्यो भने मलाई फोन गर्नु । म त्यतिबेला तिम्रो राजीनामा स्वीकृत गरिदिउँला । तिमीलाई त्यहाँको काम चित्त बुझेन भने यही फर्क । राजीनामा फिर्ता दिन्छु, मेरो अफिसमा बसेर काम गर । म काठमाडौं गएँ भने तिमीलाई पनि लैजाउला ।’ यति भनेर उनले मेरो राजीनामा घर्रामा राखे । यसरी मैले सनाखत गरेको राजीनामा बलराम कापरको टेबुलको घर्रामा करिब पन्ध्रदिन बस्यो र मेरो टेलिफोनपछि अघिल्लो मितिबाट लागू हुने गरी स्वीकृत भयो ।
उनले मलाई दुईवटा महत्वपूर्ण सल्लाह दिएका थिए, बिहे गर्ने र इकोनोमिक्स पढ्ने । आफ्नो घरको आर्थिक अवस्था उति राम्रो नभएको, पढ्ने र बढ्ने रहर बाँकी रहेको अनि खरिदारको जागिरले परिवार पाल्न पनि गाह्रो हुने भएकाले तत्काल आफू बिहे गर्न उत्सुक नरहेको कुरा म उनलाई बताउँथे । उनी फेरि नियमित बचत र बीमाको कुरा ल्याइहाल्थे । जागिरमा पत्नीलाई ल्याउन नसके पनि ‘म तिमीलाई जागिरमा लान सक्दिन’ भनेर कमलो मन भएका आइमाईलाई भनिहाल्न हुँदैन भनी मलाई सम्झाउथे । ‘अर्को पटक कोठाको व्यवस्था गरी आउँछु भनी आशाको दियो जोगाउनुपर्छ’ भन्थे । राष्ट्र बैंक आएको पाँच वर्षपछि बिहे त गरें तर इकोनोमिक्स पढ्न भने सकिन । प्राइभेट रुपमै पनि आइ. ए. पास गर्न सजिलो हुन्छ भनी अरुको सल्लाहमा अर्थशास्त्र पढिन । आइ. ए. मा नपढेको अर्थशास्त्र बी. ए. मा पढ्ने आँट आएन । एम. ए. पढ्ने बेलामा नेपालीमा एम. ए. गरेर क्याम्पस पढाउने सपना देखियो र नेपाली पढियो । राष्ट्र बैंकमा काम गरेको नाताले अर्थशास्त्र त पढ्नुपर्छ भनी सिंगल सब्जेक्ट इकोनोमिक्सको जाँच दिएँ बी. ए.को । विराटनगर आएपछि र छोराहरुको होमवर्क आफूले गर्नु नपर्ने भएपछि अर्थशास्त्रमा एम. ए. गर्ने जमर्को गरेको थिएँ, जमर्को मात्र भयो । अहिले आफूले काम गरेको संस्थामा अर्थशास्त्र, व्यवस्थापन र एकान्टेन्सी पढ्नेलाई मात्र पढेको मान्छे मानिने भएकाले नेपालीमा प्रथम श्रेणीमा एम.ए. गरेको भए पनि कसैले शैक्षिक योग्यता सोध्दा अर्थशास्त्रमा बी.ए. गरेका छु भन्नुपर्ने खण्ड आइसकेको छ । कापरको सल्लाह नमान्दा हुनसम्मको दु:ख पाएको छु । बिहे पनि उनले भनेको बेलामा गरेको भए अहिलेसम्ममा छोराछोरीले गरिखाएको देख्न पाइन्थ्यो कि?
उनले मलाई चाकडीको शिक्षा कहिल्यै दिएनन् । उनकोमा चाकडी गर्न कोही पुग्दैनथे । पुगेकाले पनि उनको सद्भाव पाउँदैनथे । उनी कामलाई नै प्राथमिकता दिन्थे । न जात न सम्प्रदाय, केहीका आधारमा पनि उनको मन एकोहोरिदैन थियो । उनलाई काम चाहिन्थ्यो र चाहिन्थ्यो इमानदारी । उनले व्यापारी वा भन्सारबाट असूली गरेका गानगुन पनि सुनिदैन थियो । बरु उनी काठमाडौ गएको बेला निमित्त सिडिओ र प्रहरी प्रमुखको चर्तिकाला भने देखिन्थ्यो कहिलेकाही । जागिरे जीवनको पहिलो अध्याय त्यो स्निग्ध पाठशालामा पढेकाले मैले जागिरसँग जोडिएर आउने अपचलन, चाकडी, जी हजुरी कहिले सिक्न सकिन । हुनत मैले काम गर्ने सँस्थामा पनि यी रोग कमै भनिन्छ तर मलाई ठेस लाग्न भने छोडेको छैन । भलै ठेस लागेर मथिङ्गल घुमे पनि टाउको निहुरिएको छैन । यसरी ठेस लागेको बेला बलराम कापरले फर्केर आउन दिएको सल्लाहको सम्झना आउँछ । तर छोडेको घाटको सम्झनाले पानीलाई उकालो फर्काउन सक्दैन । म फेरि फर्केर बलराम कापरको अफिसमा उनको सहयोगी भएर जान सक्दिन । गए पनि बलराम कापरको अफिस के त्यस्तै होला त ? बलराम कापरको सहयोगी भएर गरिएको काम मेरो जागिरको नोस्टाल्जिया मात्र हो ।
माघको चिसोमा घाम तापेर पत्रिका पढिरहेका बेला हठात् बलराम कापरको नाममा छापिएको श्रद्धाञ्जली पढ्न पुगे । घाम मलिन भए जस्तो लाग्यो । मन भारी भएर आयो । उनी मेरा कोही पनि थिएनन्, न बाबुपट्टिका काका न आमा पट्टिका मामा । तर उनी मेरा अभिभावक थिए । आमा बाबुको काखबाट निस्केर संसारको यात्रामा निस्केको अल्लारे केटालाई बाबुआमाले दिन नसक्ने अनि दिएर पनि नपुग्ने स्नेह र वात्सल्य उनले मलाई दिएका थिए । मेरा अपरिपक्व काम कारवाहीलाई उनी छोराछोरीसँग तुलना गरेर छुट दिन्थे । स्नेह र माया जीवनभर पाइरहन र दिइरहन पनि सकिन्न होला । तर उनले ती भावना मलाई यस्तो अवस्थामा दिएका थिए जति बेला मलाई त्यसको अत्यन्त जरुरत थियो । उनी मेरा सार्वजनिक जीवनका अभिभावक र प्रकाश स्तम्भ थिए । म आज पनि उनकै ज्योतिमा आफ्नो बाटो पहिल्याउन खोजिरहेको छु ।
बलराम कापरलाई हार्दिक श्रद्धाञ्जली ।
(यो लेख कर्मचारी मिलन केन्द्र मोरङले २०६८ सालमा छापेको थियो ।)
