म भरखर नेपाल राष्ट्र बैंकको सेवामा प्रवेश गरेको थिएँ । थापाथलीमा रहेको बैंकिङ कार्यालयमा काम गर्थें । आई. ए. पास गरेको थिएँ र सायद रत्नराज्य कलेजमा बिहानीको सत्रमा बी. ए. पढ्दै थिएँ । नयाँ जागिर थियो, त्यो पनि सबैले राम्रो मानेको कार्यालयमा । त्यसअघि सिन्धुपाल्चोलको चौतारास्थित जिल्ला प्रशासन कार्यालयमा सह-लेखापाल थिएँ । अब काठमाडौंमा बसेर जागिर खाने मौका मिलेको थियो । पढाइलाई अघि बढाउन पाएको थिएँ । खुशी र उत्साहले म भरपूर थिएँ ।
एक दिन कार्यालयबाट अनुमति लिएर बाहिर निस्केको थिएँ । मलाई रत्नपार्कसम्म पुगेर आउनु थियो । म बैंकिङ कारोबार गर्ने नभई रेकर्ड राख्ने र बैंक स्टेटमेन्ट तयार पार्ने काममा रहेको हुनाले केही समय बाहिर निस्कन गाह्रो थिएन तर आफ्नो काम सक्नु नै पर्थ्यो । कार्यालयबाट बाहिर निस्केर राम भण्डार कट्नासाथै एक जना बिदेशीले मलाई रोके र सोधे, ‘क्यान यु स्पिक इङ्लिस् ?’ मैले उनको प्रश्न भुइँमा खस्न नपाउँदै जवाफ दिएँ, ‘नो, आइ क्यान्ट स्पिक इङ्लिस !’ यति भनेर म आफूभन्दा अग्ला र बलिया ती विदेशीलाई उछिनेर फटाफट अगाडि बढें ।
केही कदम हिँडेपछि मलाई गल्ती महसुस भयो । मैले अंग्रेजी भाषामा सोधिएको प्रश्न भलिभाँती बुझेर अंग्रेजी भाषामा नै अंग्रेजी भाषा जान्दिन भन्ने जवाफ दिएको थिएँ । म जस्तो अप्ठेरो मानिस को हुन सक्थ्यो ? मैले त्यति वेलासम्ममा घनश्याम राजकर्णीकारका केही यात्रा संस्मरणहरू पढेको थिएँ । उनले आफ्नो मातृभाषाप्रतिको प्रेमको कारण अरू भाषा जानेर पनि नबोल्ने मानिसको बारेमा लेखेका थिए । मलाई पनि नेपाली भाषाप्रति माया त थियो तर ममा अंग्रेजी प्रयोग गर्नुहुन्न भन्ने सोचाइ त थिएन नै । राज्यले विद्यालयदेखि नै अंग्रजी पढाउँछ, समाजले अंग्रेजी भाषाको ज्ञानलाई नै विद्वताको मूल्याङ्कनको आधार बनाएको छ । यस्तो परिवेशमा हुर्केको म अंग्रेजी भाषालाई किन हेला गर्थें र !
मलाई लाज लाग्यो । म उभिएँ । उनी आइपुगे । मैले ‘अंग्रेजी राम्रो बोल्न त सक्दिन तर अलिअलि बोल्छु । के सहयोग गरौं’ भनेर सोधें । उनी ललितकला क्याम्पस जान खोजिरहेका रहेछन् । त्यो कलेज भोटाहिटीमा थियो (मलाई त्यस्तै लाग्छ) । हाम्रो बाटो एउटै भयो । हामी टुटेफुटेको अंग्रेजीमा गफ गर्दै गयौं । मैले आफ्नो अफिसको बारेमा बताएँ, बाटामा पर्ने ठाउँ र सरकारी अफिस चिनाइदिएँ । उनी डेनमार्कका रहेछन् ।
फर्केर अफिस आएपछि घटना साथीहरूलाई सुनाएँ र हामी हाँस्यौं । यो घटना सुनाएर धेरै रमाइलो गराएको पनि छु । तर आज त्यो दिन सम्झदा मलाई हाँसो कम र चिन्ता बढी लाग्छ । अंग्रेजी बुझ्न सक्ने शैक्षिक योग्यता हासिल गरेको मान्छेले त्यति उत्साह र सफलता प्राप्त गरेको समयमा पनि मैले किन अंग्रेजी शब्द सुन्ने बित्तिकै आत्म समर्पण गरें होला ! मैले अंग्रेजी सुन्ने र बुझ्ने कोसिस किन गरिन होला ? उनको उच्चारण बुझ्न कठिनाइ भए लेखेर संवाद गर्ने उपाय किन सोचिन होला ?
‘अंग्रेजी गाह्रो विषय हो । अंग्रेजीमा नै धेरै जना अनुत्तीर्ण हुन्छन् । यसका व्याकरणसम्बन्धी नियम कठिन छन् । कति जान्ने विद्यार्थीहरू पनि अंग्रेजीसँग हार खाएका छन् ।’ सानैदेखि यस्तै विषय सुन्दै आइयो । पढ्दा अंग्रेजीमा नै धेरै ध्यान पनि दिइयो । अंग्रेजी पढ्नु नपर्ने हुन्थ्यो भने अरू विषयमा निकै राम्रो गरिन्थ्यो होला । यो अंग्रेजीप्रतिको हाउगुजी मेरो मनमा थियो होला । त्यसैको फलस्वरूप मैले अंग्रेजी जान्दिन भनेर युद्ध सुरू हुनुभन्दा अगाडि नै आत्मसमर्पण गरेको थिएँ होला । मैले अडकल गर्न सकेको त्यही हो ।
अहिले हेर्दा यो आत्मसमर्पण गर्ने प्रवृत्ति ममा बाक्लै रहेको देख्छु । रिटायर भएपछि अरू अवसर खोज्न र बजारका प्रतिस्पर्धामा भाग लिन म हच्केको छु । मलाई थाहा भएको कुरा अरू कसलाई थाहा छैन होला र भनेर आफ्ना रहेभएका केही क्षमतालाई पनि अनदेखा गरेर बसेको छु । मेरो उपादेयता मैले नै कम आकलन गरेको छु । आफ्नो वेलामा मैले पनि संघर्ष गरेकै थिएँ भनेर अहिले संघर्षबाट पलायन गरेको छु । यो राम्रो सोच होइन भन्ने थहा भएर पनि मैले त्यस प्रवृत्तिलाई जित्न सकेको छैन ।
यही कुरा भरखरै मैले एकजना युवा इन्जिनियरसँग पनि गरें । उनी विदेशमा कार्यरत छन् र भरखरै केही समयका लागि नेपाल आएका थिए । उनले पनि मेरो अनुभवसँग मिल्दो अनुभव बताए । उनले काम गर्ने गरेको कन्सट्रक्सन कम्पनीले उनलाई निर्माणको लागि एउटा नक्सा दिएछ । त्यो नक्सा हातमा परेपछि उनलाई त्यसमा भएका केही कुराहरूप्रति शङ्का उत्पन्न भएको रहेछ । तर ‘विदेशका विद्वान इन्जिनियरहरूले बनाएको नक्सामा के गल्ती होला र, मलाई अनावश्यक सन्देह उत्पन्न भएको होला’ भनेर उनी मौन बसेछन् । तर त्यो नक्सा गलत नै रहेछ । उनलाई पनि आफूले जानेको कुरा आत्मविश्वासका साथ प्रकट गर्न नसकेको कुरामा मलाई जस्तै पछुतो भइरहेको रहेछ ।
यो आत्मविश्वासको अभाव मेरो र मेरो समयको मात्र होइन, आजको र आजका युवाको पनि समस्या हो भन्ने थाहा पाएर म अलि चिन्तित भएको छु । हो, हामीमा कमी-कमजोरी छन् । हाम्रा परिवारका र अभिभावकका धेरै सीमा छन् (आर्थिकरूपमा विपन्न मात्र होइन, सम्पन्न परिवारले पनि बालकको शारीरिक र मानसिक विकासमा उचित ध्यान दिन सकेका छैनन् ।), हाम्रा शैक्षिक संस्था पनि बलिया र नाम चलकेका छैनन्, अनि हामी गरिब देशका बासिन्दा हौं । यस्तो परिवार, संस्था र देशमा हुर्केका मानिसको मनोविज्ञान केही कमजोर हुनु स्वभाविकै होला । तर, आफ्नो ज्ञानको दायरामा रहेका विषयमा पनि आत्मविश्वास देखाउन नसक्नु हाम्रो कमजोरी नै हो । यसलाई सच्याउने तरिका खोज्नुपर्छ । हामी हाम्रा सन्तानलाई राम्रो शिक्षा, संस्कार र सोच अलि हुर्केपछि दिनुपर्छ, अहिले सानै छ भन्ने ठान्छौं । सानामा परेको छाप नै मानिसको मनमा अमिट हुन्छ रे । सानैदेखि मानिसको आत्मविश्वास र विवेकको विकासमा सबैले ध्यान दिनुपर्छ । केटाकेटीलाई वास्ता नगर्ने घर, समाज र शिक्षाप्रणाली सुधार्नुपर्छ । उनीहरूलाई मानव मष्तिष्कका अनन्त सम्भावनाको खोजी गर्न सक्षम बनाउनु पर्छ ।
आफूमा रहेको ज्ञान, क्षमता र अनुभवभन्दा बढी गफ लगाउने गफाडीको पनि हाम्रो समाजमा अभाव भने छैन । आश्चर्य छ, यस्तै मानिसहरूले हाम्रो देशमा खुट्टो घुमाइरहेका छन् । यो प्रवृत्ति देख्दा त हाम्रो समाजले योग्यभन्दा आत्मविश्वास देखाउने मुखर व्यक्तिको खोजी गर्छ कि जस्तो पनि लाग्छ । तर योग्यता र आत्मविश्वासलाई आपसमा विरोधी होइन, पूरक विशेषताको रूपमा लिइनुपर्छ । बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन भन्ने उखान नै छ । ज्ञान र आत्मविश्वासको उपयुक्त अनुपातको सम्मिश्रणबाट नै आदर्श व्यक्तित्त्वको निर्माण हुन्छ ।
यी घटनाले हाम्रो शिक्षा र व्यक्तित्व विकासमा क्रियाशील संस्था र युवालाई केही झस्काउँछन् भन्ने मेरो विश्वास छ । निराशा, हीनता र कुण्ठाबाट मुक्त सुशिक्षित र सुसंस्कृत युवाको निर्माण आजको समाजको कार्यभार हो । जीवन सफल बनाउने, समाज सुन्दर बनाउने र देश समृद्ध बनाउने बाटो पनि यही हो ।
