हाम्रा बा कमजोर हुनुहुन्थ्यो
तर बलियो देखिनुहुन्थ्यो
हाम्रा बा अभरमा हुनुहुन्थ्यो
तर भरपर्दो देखिनुहुन्थ्यो
हाम्रा बालाई चिन्ताले घेरेको थियो
तर निश्चिन्त देखिनुहुन्थ्यो
हाम्रा बा अँध्यारो लुकाउनुहुन्थ्यो
केवल उज्यालो देखाउनुहुन्थ्यो ।
आफू बिँडी खानुहुन्थ्यो
तर ‘तँ नखा’ भन्नुहुन्थ्यो
स्कुल नगएका मेरा बा
हामीलाई ‘स्कुल जा’ भन्नुहुन्थ्यो
हाम्रा आँखामा हेरेर
आफ्ना सपना भुल्नुहुन्थ्यो
आफ्ना सारा दुःखहरू
हाम्रो हाँसोले मेट्नुहुन्थ्यो ।
क ख चिनाउनु भो
एक दुई गनाउनु भो
एउटा सानो कोदालो खोज्नु भो
र, बारी खन्न लगाउनु भो
खोस्न सिकाउनु भएन
चोर्न सिकाउनु भएन
संसारमा यस्तै छ भनेर
ढुक्न सिकाउनु भएन
झुक्न सिकाउनु भएन ।
घाँस र झ्यास चिन्न सिकाउनु भो
काठ र कुकाठ चिन्न सिकाउनु भो
मान्छे सबै एकै हुँदैनन्
सायद यसैगरी बताउनु भो ।
एक दिन बा अलप हुनु भो
हावा, पानी र आकास हुनु भो
प्रकाश हुनु भो, पृथ्वी हुनु भो
चियामा बिलाएको चिनी
हर घुट्कोमा भेटिएजस्तै
सुख दुःखका हर घुम्तीमा
भेटिइरहने हुनु भो ।
