हाम्रा बा

हाम्रा बा कमजोर हुनुहुन्थ्यो

तर बलियो देखिनुहुन्थ्यो

हाम्रा बा अभरमा हुनुहुन्थ्यो

तर भरपर्दो देखिनुहुन्थ्यो

हाम्रा बालाई चिन्ताले घेरेको थियो

तर निश्चिन्त देखिनुहुन्थ्यो

हाम्रा बा अँध्यारो लुकाउनुहुन्थ्यो

केवल उज्यालो देखाउनुहुन्थ्यो ।

आफू बिँडी खानुहुन्थ्यो

तर ‘तँ नखा’ भन्नुहुन्थ्यो

स्कुल नगएका मेरा बा

हामीलाई ‘स्कुल जा’ भन्नुहुन्थ्यो

हाम्रा आँखामा हेरेर

आफ्ना सपना भुल्नुहुन्थ्यो

आफ्ना सारा दुःखहरू

हाम्रो हाँसोले मेट्नुहुन्थ्यो ।

क ख चिनाउनु भो

एक दुई गनाउनु भो

एउटा सानो कोदालो खोज्नु भो

र, बारी खन्न लगाउनु भो

खोस्न सिकाउनु भएन

चोर्न सिकाउनु भएन

संसारमा यस्तै छ भनेर

ढुक्न सिकाउनु भएन

झुक्न सिकाउनु भएन ।

घाँस र झ्यास चिन्न सिकाउनु भो

काठ र कुकाठ चिन्न सिकाउनु भो

मान्छे सबै एकै हुँदैनन्

सायद यसैगरी बताउनु भो ।

एक दिन बा अलप हुनु भो

हावा, पानी र आकास हुनु भो

प्रकाश हुनु भो, पृथ्वी हुनु भो

चियामा बिलाएको चिनी

हर घुट्कोमा भेटिएजस्तै

सुख दुःखका हर घुम्तीमा

भेटिइरहने हुनु भो ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *