कोरोना भाइरसको सन्त्रास बढिरहेको अहिलेको समयमा फोक्सो फेरि मेरो मनसचर्चाको ज्वलन्त विषय भएको छ । यस अघि आएका स्वाइन फ्लु, बर्ड फ्लू, सार्स, मार्स जस्तै कोरोना भाइरसले नोक्सान पार्ने मुख्य अङ्ग फोक्सो नै रहेछ । उसो त सबै खाले रूघाखोकीदेखि न्यूमोनिया, ब्रोङ्काइटिस, क्षयरोग र दमले पनि त्यतै घर बनाइरहेका थिए । हामीले पनि धुमपान गरेर त्यहीँ चोट पुर्याइरहेका थियौं । कोरोना भाइरसको त आक्रमणको पहिलो केन्द्र नै त्यहीं रहेछ । हामीलाई प्राणवायु दिएर जीवित राख्ने फोक्सोमा नै कोरोना संक्रमणले हानि पुर्याउने रहेछ ।
यो महामारीको पृष्ठभूमिमा म मनमनै मेरो फोक्सोलाई छाम्छु । यो अलि कमजोर छ । सानामा न्युमोनियाले हिर्काएर हो, युवामा चिसोले कठ्याङ्ग्रिएर हो वा समयमै यसमा परेका असरका संकेतलाई बुझी उपचार नगरेर हो, यो सबुत रहेको छैन । अरूले सास लिन सक्ने हावामा पनि यो निस्सासिन्छ । समय समयमा डाक्टरलाई देखाएर र नियमित औषधि लिएर मैले यसबाटै काम चलाइराखेको छु । यो कमजोर भएकाले आफ्नै अन्तप्रेरणाले काम गर्न सक्दैन । यसलाई बाहिरबाट प्रेरणा चाहिन्छ । आज धेरै देशले सीमित सार्वभौमसत्ताको अभ्यास गरिरहेका छन् र बाह्य प्रेरणाले काम गरिरहेका छन् भन्ने सुनेको छु । मेरो फोक्सोले पनि त्यस्तै सीमित सार्वभौमसत्ताको अभ्यास गरेको छ । अलिअलि आफैं सास फेर्छ । अलिअलि बाहिरी प्रभाव पारेर बलजफ्ती सास फेराउनु पर्छ । कहिलेकाहीं अक्सिजनको हस्तक्षेप गराउनु परे पनि भेन्टिलेटरबाट सत्तापलट वा हस्तक्षेप गराउनु परेको छैन । मेरो फोक्साले कोरोनाको यो हुन्डरी धान्छ कि धान्दैन । उसलाई थाहा छैन, मलाई पनि थाहा छैन । समयलाई थाहा होला । तर समयले बताउँदैन, बताउने भए पनि मसँग सोध्ने आँट छैन ।
यसो विचार गर्छु, फोक्सोलाई साह्रै सोझो अङ्गको रूपमा पाउँछु । कति अङ्ग मुटु जस्ता छन्, स्वतः चलिरहने, अविराम चलिरहने । कति अङ्ग खुट्टा जस्ता छन्, हामीले सचेत भएर चलाएपछि मात्र चल्ने । तर यो बिचरा फोक्सो दुवैतिर राजी छ । नचलाए पनि चलिरहन्छ । चलाउने हो भने पनि चलाए बमोजिम चल्न सक्छ । एकछिन सचेत रूपमा मुटु, मिर्गौला, फियो वा पेटको चाल रोक्न असम्भव छ । तर, एकछिन फोक्सोको चाल रोक्न केही गाह्रो छैन । फोक्सोको यही सोझोपनको फाइदा उठाएर योग गर्ने र गराउनेहरूले प्रणायाम गराएका छन्, अनुलोम विलोम गराएका छन्, कपालभाँती गराएका छन् । अनेक नाम र बाहानामा तिनले फोक्सोलाई हल्लाउनुसम्म हल्लाएका छन् । डाक्टरले जाँच्दा पनि लामोलामो सास फेर्ने उर्दी जारी गर्छन् । सास फेर्न गाह्रो परेर अस्पताल जाने बिरामीको परीक्षण सास फेराएर नै हुन्छ । कसैले पनि फोक्सो बाहेक अरू स्वचालित अङ्गलाई आदेश दिने हिम्मत गरेका छैनन् ।
फोक्सो सधैं जोखिममा छ । यसले हर घडी सास तानिरहनु पर्छ, हरघडी सास फालिरहनु पर्छ । तपाईंलाई खानेकुरा चित्त बुझेन भने एकछिन भोक खपेर चित्त बुझेको खाना मात्र खान सक्नु हुन्छ । कमसल ओछ्यानमा सुत्न मन लागेन भने केही बेर निद्रा खप्न सक्नुहुन्छ । खाना पकाएर खान सकिन्छ, पानी औषधि हालेर, छानेर र उमालेर पिउन सकिन्छ । तर सास केही बेर रोकेर बस्न सकिन्न । यसलाई पकाएर लिन पनि सकिन्न । छानेर तान्न सकिन्न । मास्कको प्रयोगले केही बचाउन सक्ला । एयर कन्डिसनर र एयर प्युरिफायर लगाएर बस्नेलाई केही सजिलो होला । सधैं यो तरिका अपनाउन पनि साध्य हुँदैन । मानिस धनी हुँदै जाँदा उसले खाना पोषिलो र शुद्ध पाउन सक्छ । पानी शुद्ध पिउन सक्छ । कपडा र घर सफा र सुन्दर राख्न सक्छ । तर समान्यतयाः मान्छे जति धनी भए पनि ऊ खराब वायुमण्डल भएको ठाउँमा बसेको छ भने उसको फोक्सो गरिब नै हुन्छ ।
फोक्सोले वायुमण्डलबाट हावा लिएर मुटुबाट आएको अक्सिजन सकिएको रगतलाई अक्सिजन दिएर कार्बनडाइअक्साइड बाहिर फ्याल्छ । यो काम श्वासप्रश्वासको माध्यमबाट हुन्छ । तर यसरी सास फेराएर मात्र फक्सोले छुट्टी पाउँदैन । ऊ मानिसका भावनाहरूसँग पनि कुदिरहनु पर्छ । दुःखमा सुस्केरा निस्कन्छ, अनुरागमा सुसेली बज्छ, हृदयविदारक समाचारले सास रोक्छन्, रिसको आवेगले सास फुलाउँछन्, रोदनमा आँसुसँग मुछिएर सास चित्कार बन्छ । हाँसोमा सास फर्काउन गाह्रो । वेदनामा हरेक सासले मुटुमा धक्का दिने सकस । एकातिर कहिले सफलता पाइएला र लामो सास फेर्न पाइएला भन्ने पीर । अर्कोतिर त्यही सफलताका लागि सास नफेरी काम गर्नुपर्ने हतारो । भावनाका कुरा गर्दा यसलाई अलि पक्षपात पनि भएको छ। फोक्सोलाई सुख भलै थाहा नहोला तर हरेक दुःख उसलाई निश्चय नै थाहा हुन्छ । हर्षको आँसु आँखाबाट निस्कदा पुग्छ तर दुःखका आँखु आँखाबाट निस्केर मात्र पुग्दैन, फोक्सोबाट सुस्केरा पनि निस्केरै छोड्छ ।
हाम्रो प्राण फोक्सोको कार्यकुशलतामा भर पर्छ । सास फेर्न सकुन्जेल बाँचियो, नत्र सकियो । जे कारणले हाम्रो स्वास्थ्य खराब भए पनि जीवनको संकेत सासले नै दिइरहेको हुन्छ । मुटु र दिमागको आयु पनि धेरथोर फोक्सोको कार्यकुशलतामा भर पर्छ । जीवनको पर्याय बनेको छ, एक मुठी सास । त्यही एक मुठी सासमा धानिएको छ, सबै मानवीय गतिविधि । तर फोक्सोलाई हाम्रो संस्कारले उति महत्व दिएको छैन । नजिकको प्रेमी, मुटुका टुक्रा । साह्रै प्यारो चीजको ठेगाना, कलेजोको छेउ । माया पनि मुटुभरि लाग्छ । साह्रै मिल्ती हुँदा आन्द्रो गाँसिन्छ । संकटमा पनि साथ दिनेले गर्धनमाथि गर्धन थाप्छन् । स्नेही र गुनीहरू आँखाको नानीमा बस्छन् र पनि बिझाउँदैनन् । तर फोक्सो त केही न केही !!
हामीले फोक्सोलाई भावनात्मक महत्व नदिएको मात्र होइन यसमाथि अत्याचार पनि गरेका छौं । आमाले धुवाँएको चुलो फुक्नुभो । त्यही धुवाँ आउने चुलोले आमाको फोक्सो बिगार्यो । बाले बिंडी तान्नु भो । त्यही बिँडी र चुरोटले हाम्रो बाको फोक्सो बिगार्यो, अहिले युवाको फोक्सो पनि बिगारिरहेको छ । धुवाँ, धुलो र चिसो फोक्सोका दुस्मन हुन् रे । कारखानाका चिम्नी र मोटरका साइलेन्सर पाइपबाट धुवाँको अजस्र मुस्लो निस्किरहेको छ । सफा हुन नसकेको सडकले धुलोको आपूर्ति गर्छ । साँघुरा गल्लीमा बनाइएका अप्ठेरा घरहरू र कोठा तताउन आवश्यक पूर्वाधारको अभावले फोक्सोलाई चिस्याउँछ, खुम्च्याउँछ । काटिएका हरेक रुखले फोक्सोको शक्ति क्षीण गराइरहेका छन् । संसारमा बनिएका हरेक खराब रसायनको मुख्य तारो फोक्सो हो । फोक्सोको आफ्नो दिमाग छैन, बुद्धि छैन त्यसैले हामीसँग बदला लिएको छैन । आफूमाथि भएका अनेकन षडयन्त्रका विपरीत यो खलाँती झै चलिरहेको छ, हामीलाई बचाइरहेको छ ।
हामीलाई बाँच्नका लागि सास चाहिन्छ । सास बस यही फोक्सोले दिइरहन्छ, शरीरलाई । यति बुझ्दा बुझ्दै पनि हामी हावा नभएको अन्तरिक्षमा किन जान खोजेको, चन्द्रमा र मंगलमा किन जान खोजेको ? सास रोक्ने रासायनिक हतियार किन बनाएको ? यो उकुसमुकुस हुने सहर किन बसाएको ? एकछिन रोकिँदा पनि निसासिने लिफ्ट चढेर उक्लनु पर्ने र माथिबाट भुइँतिर हेर्दा सास रोकिने अग्ला घर किन बनाएको ? अनि यो संसारलाई पटकपटक नाश गर्न पुग्ने हतियार र बम बनाउनेहरूले महामारीलाई पुग्ने गरी फोक्सोको सहयोगी भेन्टिलेटर चाहिँ किन नबनाएको ?
कोरोनाको त्रासले संसार लकडाउनमा रहेको अवस्थामा फोक्सोका लागि केही खुशीका समाचारहरू आएका छन् । संसार अहिले छुट्टीमा छ । धरती शुद्धीकरणको प्रक्रियामा छिन् । वातावरणमा प्रदूषण घटेको छ । खोला निर्मल बग्न थालेका छन् । ओजोन तहमा परेको प्वाल पनि टालिँदै छ रे । वायुमण्डल पनि केही शुद्ध भएको छ । निश्चय नै फोक्सोले पनि निकै राम्रो हावा पाइरहेको छ । लकडाउन खुले पनि वायप्रदूषण नबढे कति राम्रो हुन्थ्यो होला भनेर फोक्सो अहिले रोमाञ्चित भइरहेको होला । फोक्सो प्रजातान्त्रिक छ । यसलाई खुला हावामा सास फेर्न मन पर्छ । काला कोठामा षडयन्त्र गर्नमा यसको रूचि छैन ।
तर यस्तै भइरहँदैन । फेरि मोटर कुद्न थाल्छन् । कलकारखाना चल्न थाल्छन् । इँटाभट्टा बल्न थाल्छन् । अनेक प्रयोग र परीक्षण सुरू हुन्छन् । अनि वातावरण फेरि पहिलाजस्तै विषाक्त हुन थाल्छ । फोक्सो पहिला जस्तै व्यथित बन्न थाल्छ । फोक्सोमा सोच्ने र निर्णय गर्ने क्षमता हुँदो हो त त्यसले विकासको परिभाषा नै फेर्थ्यो होला । जीवनमै चुनौती दिने र भावी सन्ततिका लागि झन् खतरा हुने क्षयकर वातावरणयुक्त विश्वको निर्माण यसले पटक्कै गर्न दिने थिएन । मेरो विचारमा यो सभ्यताका तीन गन्तव्य छन् । १. तीव्र व्यापारीकरण, त्यसका लागि तीव्र औद्योगीकरण, त्यसबाट सिर्जना हुने तीव्र वातावरण विनाश, वातारण विनाशबाट प्रलय वा माहामारी, अनि विनाश । २. तीव्र औद्योगीकरणबाट सिर्जित तीव्र व्यापारीकरण, यसबाट उत्पन्न व्यापारिक तनाव, व्यापारिक युद्ध, वास्तविक युद्ध अनि विनाश । ३. सम्यक औद्योगीकरण र व्यापारीकरण, दिगो विकास, वातावरणीय सन्तुलन, अन्तर्राष्ट्रिय सुसम्बन्ध र मानवीय सभ्यताको निरन्तरता । फोक्सोलाई तेस्रो विकल्प मन पर्छ । तर हाम्रो दिमागले सायद अरू नै केही सोचिरहेको छ ।
