रूदाने हामी कसैका लागि नयाँ नाम होइन । वि.सं. २०५६ सालमा यस धरतीबाट विदा भएका रूदाने (रूपचन्द्र बिष्ट) ले २०१५ सालको चुनावदेखि सायद आखिरी चुनावसम्ममा भाग लिए (सबैमा होइन) । स्नातकतर्फ र जनताबाट निर्वाचित राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनले पञ्चायत र राजतन्त्रविरूद्ध दुन्दुभी बजाएका थिए । उनी प्रधानपञ्च बनेर गाउँको विकास गरे, प्रधानाध्यापक बनेर शिक्षाको ज्योति फैलाए । समाज सुधारका अनेक प्रयोग र प्रयास गरे । थाहा आन्दोलन चलाएर उनले नेपाली समाजको तल्लो तहमा समेत चेतना फैलाएका थिए ।
रूदानेले नेपालको राजनीतिमा केही मानकहरूको स्थापना गरेका छन् । उनका सफलता र असफलताहरूलाई एकातर्फ राखेर हेर्दा पनि जनताको हित र चेतनाको विकासप्रतिको प्रतिबद्धता, सम्झौताहीन संघर्ष र विशिष्ट जीवनशैलीका आधारमा उनको काम कारवाहीलाई अनुकरणीय मान्नैपर्छ ।
आफूले चुनेर पठाएका नेताहरूले नै जनताहरूलाई एक वा अर्को प्रकारले धोका दिएको अनुभूति कतिपय जनतामा विद्यमान छ । देशले विकासको गति लिन नसकेको बरू भ्रष्टाचार र कुशासनको जगजगी भएको सोच आम नेपाली जनमानसमा छ । यही सोचको पृष्ठभूमिमा नै जेन-जी आन्दोलन भएको थियो । जेन-जी आन्दोलनका विभिन्न सीमा र कमजोरी हुँदाहुँदै पनि यही आन्दोलनको कारण नेपालमा चाँडै अर्को चुनाव भइरहेको छ । यो चुनावमा असल नेता छान्न सघाउ पुग्ला भनेर मैले रूदानेको राजनैतिक दर्शन र व्यवहारमा आधारित भएर केही बुँदा सुझाएको छु । सायद सही उम्मेदवारलाई भोट हाल्न यसले सघाउला कि ?
मान्नमा होइन, जान्नमा जोड
रूदाने थाहा अभियानका प्रणेता हुन् । थाहा अभियान जनतालाई दास होइन सचेत नागरिक बनाउने कठोर प्रयास हो । कुरा नबुझी खुरूखुरू मान्दा मानिसले आफ्नो अस्तित्त्व गुमाउँछ र ऊ कुकुरसरह हुन्छ, मानिसको गरिमा जान्नुमा निहीत हुन्छ भन्ने उनको सोच थियो । यसरी जनतालाई जान्ने बनाउन उनले विद्यालयमा प्रधानाध्यापकको रूपमा काम गरे, छोराछोरी नपढाउने आमाबाबु मुर्दावाद् भन्ने नारा घन्काए । विद्यालय शिक्षामा पनि पाठ्यक्रममा परिमार्जन गरी जीवनउपयोगी सीप र राजनीतिक तथा दार्शनिक ज्ञान बाँढे, पर्चा बेचे ।
पहिलो कुरा त उम्मेदवार आफैं ज्ञान र विवेक भएको अर्थात् ‘थाहा’ प्रति प्रतिबद्ध हुनुपर्छ । भोट दिनु अघि हामीले हाम्रो उम्मेदवार पार्टीका नेताको दास मात्र हो कि पार्टीमा उसको स्वर र शैलीको महत्त्व छ भन्ने सोच्नुपर्छ । जो आफैं अरूको जीहजुरी गर्छ, उसले आफ्नै प्रतिनिधित्त्व गर्न सक्दैन, हाम्रो प्रतिनिधित्व के गर्ला ? हाम्रो नेता हरेक काम कारवाहीप्रति जिम्मेवारी लिन सक्ने हुनुपर्छ। संसद, सडक र समाजलगायत सबै स्थानमा आफ्नो र आफ्नो निर्वाचन क्षेत्रका मतदाताको भावनालाई अभिव्यक्ति दिन सक्ने सक्षम र मुखर व्यक्तिलाई भोट हाल्नुपर्छ । ‘हुन त हो तर‘ भनेर हरेक समय लाचार प्रतिक्रिया दिने जनताको प्रतिनिधि हुन सक्दैन ।
दोस्रो, हाम्रा उम्मेदवार हाम्रो ज्ञान विवेक र गौरव बढाउन पनि दत्तचित्त हुनुपर्छ । जनतालाई भुलभुलैया, प्रलोभन र अँध्यारोमा राखेर आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने खेलाडीलाई जिताएर जनतालाई फाइदा हुन्न । रक्सी, मासुभात, नगद वितरण आदि हतकण्डा प्रयोग गरेर चुनाव जित्न खोज्नेहरू जनतालाई मानिस होइन वस्तु मान्ने सोचबाट ग्रसित तत्त्व हुन् ।जनतालाई हरेक ढङ्गले सुसूचित गरेर बलियो बनाउने उम्मेदवार नै जनताको असल साथी हुन् । निर्णय सधैं माथिबाट आउने होइन, निर्णय प्रक्रियामा जनताको अभिमतलाई ख्याल गर्ने परिपाटीको विकास गराउने प्रतिनिधिको खाँचो छ ।
कसलाई भोट दिदा जनताको ज्ञान विवेक र गौरव वृद्धि हुन्छ भन्ने सोचेर मात्र भोट दिनुपर्छ । क्षणिक लाभको लागि भोट दियो भने दीर्घकालीन हानि हुन्छ ।
जनजीविकामा जोड
रूदानेले दामन पालुङमा कृषिमा आधुनिकीकरण गरे । आधुनिक बिउबिजनको सुरुआत गरे । व्यावसायिकतामा जोड दिए । ती क्षेत्रको विकासको लागि विकास घर बनाए । उनी आफैंले पालुङमा बाख्रा पालन गरेर बसे । उनले जनतासँगै मिलेर काम गरे । जनताका लागि काम गरे । उनी हिँडिरहन्थे, जहाँ पुग्थे, त्यहाँ केही न केही सन्देश दिन्थे, काम गर्थे ।
नेपालका हरेक गाउँठाउँमा जनजीविकाको समस्या छ । रोजगारीको खोजीमा युवाको पलायन तीव्र छ । परम्परागत कृषि व्यावसायिक रूपमा उपयुक्त हुन छोडिसकेको छ । गाउँघरमा रोजगारी र जीविकाको लागि सम्भाव्य उपाय के होला भनी खोजी गर्न सकिएको छैन ।
यो अवस्थामा हाम्रो युवालाई उद्यमको नयाँ बाटो देखाउनुपर्नेछ । यो देश उर्वर छ र हामीलाई प्रतिफल दिनसक्छ भनेर विश्वास दिलाउनु पर्ने छ ।हाम्रो नेतृत्त्वले अब उत्प्रेरणा र सहजीकरणको माध्यमबाट यसको समाधान खोज्नुपर्छ । हाम्रो र हाम्रो नेतृत्त्वको दिमाग खाली भएको हुनाले मात्र यो भूमि बाँझो रहेको हो ।
‘हाम्रो सरकार आएपछि वा म मन्त्री बनेपछि यो सबै समस्याको समाधान हुन्छ‘ भनेर भोट लट्पट्याउने पात्र र प्रवृत्तिबाट नेपाली समाज आजित भइसकेको छ । हो, उत्पादन र रोजगारीमा सरकारको भूमिका अहम् हुन्छ । तर आजको जमानामा सरकार सहजकर्ता हो, पूर्वाधारको विकास र सहजीकरण उसको जिम्मेवारी हो । साँचो समृद्धिचाहिँ घरपरिवारको समृद्धिबाट प्राप्त हुन्छ र त्यसको लागि पहल गर्न कुनै पद जरूरी हुन्न । हरबखत हाम्रो खेतबारी, गोठ, उद्यम र चुलोप्रति सरोकार राख्ने प्रतिनिधिको छनोट जरूरी छ ।
साधारण जीवनशैली
रूदाने भन्थे, जनताको प्रतिनिधि जनताजस्तै हुन्छ । उनको खानपान र रहनसहन एकदम सामान्य थियो । बोराको लुगामा पनि हामीले उनको फोटो देख्न सक्छौं । अक्सर भोटो र कछाड नै लगाउँथे । बगरेले फाल्न ठिक्क पारेको राँगाको हाडको सुप उनको प्रिय पेय थियो । जीवनको आखिरी क्षणमा उपचारका लागि अस्पताल लैजादा समेत अरू जनताले यस्तो उपचारको सुविधा पाएका छैनन्, म पनि जनताले पाउन नसक्ने उपचार गराउँदिन भनेर अडान राखेका थिए ।
अहिले रूदानेको जस्तो सर्वहारा जीवनशैलीको अपेक्षा त गर्न सकिन्न होला तर जनताको जीवस्तरभन्दा धेरै माथिको जीवनशैली हुने व्यक्ति उसै जनताबाट टाढिँदै जान्छ । उसको सोच र विचार नै जनतासँग मिल्दैन, जनताको समस्या बुझ्न नै सक्दैन । स्वर्गीय राजा त्रिभुवनले एक समयमा ‘जनताले दूधभात पनि खान पाएका छैनन्’ भनेर सोधेका थिए रे । काठमाडौंबाट धुलिखेल हेलिकप्टरमा आउजाउ गर्ने सुविधा पाउने नेताले नेपालमा अब कुनै ठाउँ दुर्गम छैन भन्नु जति हास्यास्पद हो, उति नै स्वाभाविक पनि हो ।जब मानिस जनताबाट टाढिन्छ र छानिएका सीमित मानिसको घेराभित्र रही विशिष्ट जीवनशैली अपनाउँछ, उसको सोचले पनि भुइँ छोड्छ । यो कसैको अवगुण हैन, स्वाभाविक परिणति हो ।
जब नेता र जनताको सम्पर्क सेतु भत्किन्छ तब राजनीति र विकासमा अनेक विकृति र विसङ्गति देखिन्छन् । पहिलो त, विकासले जनताको मागलाई सम्बोधन गर्दैन ।भुइँबाटै हिमाल र तराई देखने डाडाँमा भ्यु टावर बन्छन्, खोला नभएको ठाउँमा पुल बन्छ । सार्वजनिक विद्यालयको सुधार, स्वास्थ्य सेवाको पहुँच, स्वच्छ खानेपानीको उपलब्धता, मल बिउ र सिँचाइ, कृषि बजारको विकास प्राथमिकतामा पर्दैनन् । हरेक जिल्लामा एयरपोर्ट बनाउने होड चल्छ । नेपालमा भएको विकासले अहिले जनतालाई छुन नसक्नुको कारण त्यही हो ।नेताहरूले हामीले गाउँमा सेवा र सुविधा पुयाएका छौं, कृषिको विकासको लागि यति र उति गरेका छौं भनिरहेका छन् तर गाउँका बारी बाँझै छोडेर मानिस अन्यत्र लागिरहेका छन् । नेताले गाउँको कठिनाइ बुझेकै छैनन्, बुझ्न सक्ने परिधिमा नै छैनन् ।
सक्रिय आर्थिक जीवन नभएका राजनीतिज्ञको सम्पत्ति र विलासी जीवनशैलीप्रतिको मोहले उसलाई अपारदर्शिता र भ्रष्टाचारको दलदलमा पु¥याएरै छोड्छ।कमाइ र उपभोगबिचको तारतम्य नमिलेका सबै मानिस एक वा अर्को तरिकाले भ्रष्टाचार गरेका छन् । आर्थिक क्षेत्रमा चमत्कारको लागि ठाउँ कम छ । कसैले कमाइभन्दा बढी फुर्ती लगाएको छ भने उसले केही न केही कैफियत गरेकै छ, यसमा हाम्रा छैटौं इन्द्रियले धोका खाएको छैन । राजनीतिक नेताले नेतृत्त्व नगरेको कुनै क्षेत्र छैन, भ्रष्टाचारको त झन् कुरै भएन । हो, नीतिगत निर्णयको कवच लगाएका र आफूले तयार पारेको संयन्त्रमार्फत भ्रष्टाचार गरेका कारण कानुनको नजरमा उनीहरू चोखा देखिएलान् तर कुरा त्यस्तो छैन ।
जसको ध्यान आलिशान घर, महँगा मोटर, घडी, जुत्ता वा पोशाकमा छ, उसको ध्यान जनतामा छैन भन्ने कुरा स्पष्ट छ। मानिसको मूल्य सिद्धान्त हुन्छ र यो सिद्धान्तले उसका प्राथमिकताहरू तोक्छ। गरिब देशका यी निमुखा जनताप्रति उनीहरूमा अलिकति पनि जिम्मेवारी बोध हुन्थ्यो भने ती महँगा आभूषण लगाउन ती हिचकिचाउँथे । कसैले सोधेमा साथीले उपहार दिएको भनेर छल्ने थिएनन् । साथीको रूपमा कसैले उपहार दिएको भए त्यस्तो सामान पाउने अर्को साथी पनि कतै हुनुपर्ने नि ! मित्रता त दुई जनाको बिचमा मात्र नहुनुपर्ने ! ल, आन्द्रै गाँसिएको उही मात्र रहेछ र उपहार नै पाएको रहेछ भने पनि जनतालाई माया गर्ने नेताले त्यो उपहारलाई लिलाम गरेर आएको पैसा जनताको चुलो, बाख्रा,कुखुरा वा सुँगुरको खोर निर्माणमा खर्च गर्थे होलान् नि !
भारतमा गान्धीले खादीको प्रचार गरेका कारण होला अझै पनि त्यहाँ राजनीतिक वृत्तमा भड्किलो पोशाक लगाउने चलन पातलो छ । तर नेपालमा त सादगीको कुनै मानक निर्माण भएको छैन । कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी लगायतले बनाएको मानक पनि उनका उत्तराधिकारीहरूले भत्काएका छन् । नेपोबेबीको मुहान यसकै नजिक छ । नेताको सिको गरी जनता उपभोक्तावादको चङ्गुलमा छन् ।आमजनतामा फैलिँदो निराशाको एउटा कारण यो पनि भएको छ ।
नेताको जीवनशैली र पारदर्शिता चित्तुबझ्दो छैन भने त्यहाँ भोट नहाल्नु वेश ।
विरोधीप्रति सहिष्णु
रूदाने विद्यालयको प्रधानाध्यापक रहे, गाउँपञ्चायतको प्रधानपञ्च बने । दुई गाउँ पञ्चायत मिलेर पालुङ विकास विकास समिति निर्माण गरे । राष्ट्रिय पञ्चायतको सदस्य बने। उनले हरक्षण विरोधीको तीव्र प्रतिरोधको सामना गरे। केही विरोध झडपमा रूपान्तरित भएका पनि छन् ।
तर उनी विरोध हुनुलाई समाजिक संरचनाको स्वाभाविक नियति मान्थे । विरोधीहरूलाई तिम्रो काम मेरो विरोध गर्ने हो, मेरो काम जनताको सेवा गर्ने हो भन्थे । जनताको सेवा गर्ने र जनतालाई शोषण गर्नेबिच कुरा नमिल्नु स्वाभाविक मानेर उनी आफ्नो काममा लागिरहन्थे । विरोधीले काम गर्न दिएनन् भनेर उनी चुप्प लागेर बसेनन् । सकेको, जानेको र भ्याएको काममा उनी लागिरहे । उनको मनमा बदलाको भावना भएको प्रतीत हुँदैन ।
यति मात्र होइन, आफ्नो मतमा असहमति जनाउनेको कुरा पनि उनी सुन्थे । आफ्नो विरोधमा उभिएका आफ्ना विद्यार्थी रामनारायण बिडारीलाई आफ्नो कुरा निर्धक्कसँग राख्न प्रेरित र उत्साहित गरेका थिए। पञ्चायतकाल राष्ट्रिय पञ्चायत सदस्य रहँदा पनि उनको विपक्षीसँग भेटघाट भइरहन्थ्यो। एउटा भोजमा एक जना रापसले उनीमाथि मुक्का प्रहार गरेको र उनले प्रतिकार नगरेको प्रसङ्ग पनि सुनिन्छ ।
उनले एउटा चुनावको समयमा आफ्ना प्रतिद्वन्द्वीसँग एउटै आमसभामा तर्कवितर्क गर्ने योजना पनि मिलाएका थिए तर त्यो कार्यक्रम भने सफल हुन सकेन । उनी गाली पनि सभ्य भाषामा गर्थे । राजतन्त्र र पञ्चायतको विरोध गर्ने शैली यस्तो थियो कि त्यसका आधारमा उनलाई मुद्दा लगाउन सकिन्न थियो । आजको गाली गलौजको साम्राज्यमा उनको ब्यङ्ग्यात्मक शैली अनुकरणीय थियो ।
आजको समय फरक छ । अर्को दल र त्यसका नेताको त कुरै भएन, आफ्नै दलका नेता र कार्यकर्ताहरूले आफूसँग आँखा जुधाएर हेर्न खोज्यो भने त्यसको पत्तासाफ गरिदिने राजनीतिक संस्कृतिको विकास भएको छ । बहुलबादी समाजको परिकल्पना भएको छ तर राजनीतिमा उसको कुरा पनि ठिक हुनसक्छ भन्ने सहिष्णुताको अभाव छ । हरेक दलले आफूभित्र निर्दलीय चरित्र र प्रवृत्तिको अभ्यास गरिरहेका छन् । प्रतिशोधपूर्ण कारवाही दलहरूको दैनिकी हुन लागेको छ र जनताले भरोसा गरेका थुप्रै व्यक्तिहरूको राजनीतिक भविष्य धूलिसात बनाइएको छ।
मतदान गर्दा अलि सहिष्णु नेता छान्नुपर्ला । बरू माओको सांस्कृतिक क्रान्तिमा दङ स्याओ पिङ बचे, यहाँ त खै के हो, के हो ?
जनताप्रति प्रतिबद्ध
रूपचन्द्रको मुखै वैरी थियो । उनी कमै मानिसलाई तपाईं भन्थे । ‘भाते‘ र ‘कुकुर‘ उनको जिब्रोमै झुण्डिएको थियो । तर उनलाई जनताले अपार माया र विश्वास गर्थे । उनी जनताको घरमै खान्थे, त्यहीँ सुत्थे । केही दिन भोकै प्यासै रहेर उनी गाउँ घुमिरहेका हुन्थे । उनको आँखामा जनताको उत्थान र उन्नयनको सपना थियो । यही कारण जनता उनको शब्द होइन भावनाबाट प्रभावित भएका थिए । रूदानेको रोष मायाको प्रस्तुति थियो । जनमुखी राजनीति, अधिकारका लागि राजनीति, जनताको हितका निमित्त विकास जस्ता उनका राजनीतिक दर्शन थिए । त्यसमा उनी आजीवन प्रतिबद्ध रहे ।
अचेल पनि नेताहरूले जनतासँगको सम्बन्ध विस्तार गर्ने प्रयास गरेका छन् । विभिन्न राजमार्गमा मेचीकाली अभियान चलिरहेको छ । दलित परिवारको घरमा बास बस्ने चर्तित कार्यक्रम पनि देखियो । तर अहिले दलहरूले चलाएका यी कार्यक्रम राजाको देश दर्शन कार्यक्रमभन्दा कमसल छन् । बरू राजा भेष बदलेर हिँड्थे र जनतासँग सोझो सम्वाद गर्थे रे। अहिलेका तामझामले त जनतासँगको दूरी झन् बढाएको छ ।
आज दलको नेतासँग कुरा गर्न कुन किसान जान्छ होला, कुन सानो व्यापारी र उद्यमी जान्छ होला ? नेताहरूसँग जनताको मनको कुरा कुन अवसरमा हुन्छ होला ? सुरक्षाबिच घेरिएर अनि कार्यकर्ताबाट बेरिएर सम्पन्न हुने आमसभाको एकोहोरो आलापबाट मात्र जनता र नेताको सम्बन्ध कसरी विकसित हुन्छ होला ? सम्झेर पनि आश्चर्य लाग्छ ।
यसको असर विकासमा पनि देखिएको छ । प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीको आवास समयमा नै निर्माण हुने तर जनतालाई आवश्यक बाटो, पुल, सिंचाइका आयोजना समयमा पूरा हुन नसक्ने रोगको जड जनताप्रतिको प्रतिबद्धताको अभाव नै हो ।
जनताप्रतिको स्नेह र सहानुभूति नै त्यो शक्ति हो जसले कुनै व्यक्तिलाई राजनीतिमा लैजान्छ । यो शक्तिले धनी र सम्पन्न व्यक्तिलाई पनि गरिबको राजनीति गर्न उक्साएको छ । कार्ल मार्क्स धनी थिए, देवकोटा धनी थिए र रूदाने पनि धनी परिवारकै थिए । तर उनीहरू गरिब र निमुखाको पक्षमा उभिए । यो स्नेहले उनीहरूलाई पनि मनसा, वचना र कर्मणा तल्लो वर्गमा नै रूपान्तरण ग¥यो । गरिबको नाममा राजनीति गरेर करोडौंका महल, लाखौंका घडी, ब्याग र चश्मा उपभोग गर्ने हैसियत गरिबमारा राजनीतिले मात्र प्रदान गर्छ । रूदाने चेकलिस्टको अर्को बुँदा यो हो- नेताको जनताप्रतिको पक्षधरता कत्तिको आत्मिक र वास्तविक छ भन्ने कुराको निर्क्यौल ।
सम्झौताहीन अडान
जनमुखी राजनीति र निर्दलीय व्यवस्था दलीय राजनीति थाहा अभियानका विशेषतामा पर्थे ।जनमुखी राजनीतिको अभियानलाई त पछि वामपन्थी पार्टीहरूले पनि अङ्गीकार गरे र पञ्चायतइतर उम्मेदवारले रापसको चुनाव पनि जिते।
निेर्दलीय व्यवस्था र दलीय राजनीतिलाई न पञ्चायतले स्वीकार ग¥यो, न दलहरूले । यसै कारण उनी एक्लिए । तर आज बहुदलीय व्यवस्थाको आडमा भएको अति दलीयकरणका कारण उनको अडान ठिकै रहेछ जस्तो पनि लाग्छ ।
उनी राष्ट्रिय पञ्चायतको सदस्य हुँदा उनको राजा , प्रधानमन्त्री र मन्त्रीहरूसँग सघन अन्तर्क्रिया पनि हुन्थ्यो । उनलाई सत्तारोहणका लागि विभिन्न प्रस्ताव पनि आएका थिए । तर यो जनताको हित गर्ने व्यवस्था नभएको हुनाले मैले मन्त्री हुन मिल्दैन भनेर स्पष्ट जवाफ दिन्थे । उनले आफ्नो सुरूको अडानविपरीत गाडी सुविधा लिए तर आफ्नो राजनीतिक निष्ठामा कुनै सम्झौता गरेनन् ।
कुनै स्पष्ट आधार र कारणविनै रातारात निर्णय बदलेर सत्तामा जाने पार्टी र पात्रले जनताको हित गर्दैनन् । तिनले आफ्नो दुनो मात्र सोझ्याउने हुन् । मतदानमा यस कुराको पनि हेक्का राख्नु आवश्यक छ ।
पारदर्शिता
शिखरकोट गाउँ पञ्चायतको प्रधानपञ्च र स्थानीय विद्यालयको प्रधानाध्यापक हुँदा रूदानेले केही सार्वजनिक काम पनि गरे । ती काम गर्दाको हिसाब उनले निकै पारदर्शी ढङ्गले राखेका थिए । सेतो बोरामा हरेक कामको हिसाब लेखेर यी सार्वजनिक ठाउँमा झुन्ड्याइदिन्थे । हिसाबकिताबको प्रश्न उठाउनेका लागि उनीसँग हरदम यथातथ्य जवाफ तयार हुन्थ्यो । यही कारण विपक्षीले हरेक षडयन्त्र गरे पनि उनलाई फसाउन कसैले सकेन। अपराधको घर नै अँध्यारो संसार हो जहाँ प्रकाश पस्न सक्दैन, दिइँदैन । पारदर्शिता नै इमानको उर्बर भूमि हो ।
आज पारदर्शिताको अभाव छ । उम्मेदवार बन्न नै थैली भेट गर्नुपर्ने परम्परा बसिसकेको छ । यसले नै यो प्रजातान्त्रिक व्यवस्थामा अनेक विकृतिलाई जन्म दिएको छ । महँगो चुनावले दल र उम्मेदवारलाई चन्दादाताको सेवक बनाएको छ । यसैले पारदर्शिता आजको मुख्य चुनौती हो । जे भए पनि पारदर्शिता नै सही प्रतिनिधिको पहिचान पनि हो । यी घेरा तोडेर पारदर्शी बन्न नसक्नेलाई आफ्नो प्रतिनिधि चुन्नु जायज मान्न सकिन्न ।
पारदर्शितामा विश्वास गर्ने मानिसलाई चिन्न गाह्रो छैन । ‘मैले भ्रष्टाचार गरेको भन्नेहरूलाई प्रमाण पेश गर्न चुनौती दिन्छु, भ्रष्टाचार गरेको प्रमाणित भए कारवाही भोग्न तयार छु, मेरो सम्पत्तिमा छानबिन गर्ने भए फलानो सालपछि राजनीतिमा आएका सबैको छानबिन गर’ भनेर दिइएका वक्तव्य पारदर्शितामा विश्वास नगर्ने मुखबाट आएका वक्तव्य हुन् । राज्यका संयन्त्रमा बसेर भ्रष्टाचार गर्नेका विरूद्धको विपक्षी वा जनताले कहाँबाट ल्याउन् ? त्यो त राज्य संयन्त्रमा नै गोप्यरूपमा राखिने कुरा हो । भ्रष्टाचार गरेको प्रमाणित भए कारवाही भोग्न तयार छु भनेर भन्ने पर्दैन, यो त सोझै ध्वासँ देखाएको हो । अनि, जसमाथि शङ्का उठेको छ, उसैले आफ्नो स्पष्टीकरण दिए भैगौ नि, फलानो सालपछिका सबैको किन छानबिन गर्नुप¥यो ? नदिने बजैले बुधबार बार्छिन् भनेको यही हो ।
अन्त्यमा,
आज हामी अर्को रूदाने खोजेर भेट्टाउँदैनौ । उनको विशिष्ट राजनैतिक जीवनशैलीको अनुकरण असम्भव छ । तर उनका राजनीनिक दर्शन र अभ्यासका आधारमा हामी सही प्रतिनिधि छनोट गर्न सकौंला कि भनेर यो प्रयास गरिएको हो ।
