आजको संसारमा आध्यात्मिक चेतना र विज्ञानको तीव्र विकास भएको छ । सनातन मानिएको हिन्दू धर्मको स्थापना आजभन्दा करिब ५,००० वर्षअघि भएको मानिन्छ । त्यसछि बुद्ध, यहुदी, ईसाइ, इस्लाम आदि धर्मको प्रादुर्भाव भयो । आज पनि धर्म पहिचानको आधार हो । विभिन्न धर्मसँग सम्बन्धित धर्मग्रन्थको व्याख्या, विवेना र पुष्ट्याइँ आज पनि चालु छ । धर्मले राजनीति, समाज व्यवस्था र अर्थतन्त्रमा प्रभाव पारिरहेको छ । आज पनि धार्मिक स्थान र क्रियाकलापले मानिसलाई आकर्षित गरिरहेका छन् । मानिसलाई धेरै प्रभावित पार्ने मुख्य विषय आज पनि धर्म नै रहेको छ ।
युरोपमा पुनर्जागरणकालबाट सुरू भएको आधुनिक विज्ञान पनि आज विकासको उत्कर्षमा पुगेको छ । खगोल, रसायन, चिकित्सा र मनोविज्ञान, भौतिक विज्ञान जस्ता अनेक शाखामा विज्ञानको प्रगति अवर्णनीय छ । संसारमा मावनजातिले शासन चलाउनु र मानव जीवन पहिलाभन्दा सरल र सुखद हुनुको मुख्य कारण विज्ञान र प्रविधिको विकास नै हो ।
आधुनिक विज्ञानको विकास धर्मको उद्भवभन्दा पछि भयो । अझ ईशाई धर्म स्थापनाको १६०० वर्षसम्म त युरोप पूरै अन्कार युगमा बाँच्यो । ईशाई धर्मका स्थापनाहरूको सत्यापनको क्रममा विकास भएको विज्ञानले धर्मका कतिपय मान्यताको खण्डन गरेको छ । विज्ञान तथ्य र प्रमाणमा आधारित विषय भएकाले यसको निष्कर्षलाई प्रामाणिक मान्नुपर्ने हो तर विज्ञानले दिएका निष्कर्षलाई धर्मले संयोजन गर्न मानेको छैन । कतिपय धार्मिक मान्यता विज्ञानको कसीमा घोट्न नसकिने छन्, कतिलाई घोट्न बाँकी छ । त्यसैले विज्ञान र धर्म एकाकार हुन सकेका छैनन्, समानान्तर धारको रूपमा अघि बढिरहेका छन् । विज्ञानले अनुपयुक्त मानेका कतिपय सोच, आचार र व्यवहार आज पनि धर्मका नाममा जनजीवनमा चलिरहेका छन् । चार्ल्स डार्बिनको विकासवादको सिद्धान्त ठिक होइन भनेर मैले कुनै रेडियोको धार्मिक कार्यक्रममा सुनेको छु । सबैजसो धर्मले मानिसलाई ईश्वरको सिर्जना मानेर मख्ख परेको अवस्थामा मान्छे बाँदरबाट विकासित भएर उत्पत्ति भएको भन्ने डार्बिनप्रति धर्मसमाजले आगो ओकल्नु स्वभाविकै पनि हो ।
धर्म र मानिसको मनका बीचमा कुनै प्रगाढ सम्बन्ध हुनुपर्छ त्यसैले नै समाजमा धर्मको उत्पत्ति भयो र आज पनि धर्मले समाजमा जरा गाडिरहेको छ । यस विषयलाई मैले आफनै पाराले विश्लेषण गर्न खोजेको छु ।
वनस्पति जगतबाट उदाहरण
विज्ञानले वनस्पतिलाई विभिन्न वर्गमा विभाजित गर्छ । यस लेखमा म आफ्नै तालले विभाजन गर्दैछु- बुटा, रूख र लहराको रूपमा । बुटाको उचाइ पनि कम हुन्छ, यसको काण्ड पनि कमजोर नै हुन्छ । तर उसको कमजोर काण्डले त्यो उचाइलाई सजिलै थेग्न (धान्न) सक्छ । यो बोटको अस्तित्त्वका लागि अरू कुनै सहयोगको आवश्यकता पर्दैन । बुटामा उचाइ र शक्तिका बीच न्यूनतम विन्दुमा सन्तुलन र सामञ्जस्य कायम भएको हुन्छ ।
वनस्पतिकोअर्को स्वरूप हो, रूख । रूखको उचाइ धेरै हुन्छ र यसको काण्ड पनि बलियो हुन्छ । सालको रूख नै हेरौं न ! कति अग्लो रूख, कति बलियो काण्ड ! रूखलाई पनि अन्य सहयोगको आवश्यकता पर्दैन । रूखको उचाइ र शक्तिको बीचमा उच्चतम विन्दुमा सन्तुलन र सामञ्जस्य कायम भएको हुन्छ ।
अब आउँछ लहराको पालो । लहराको काण्ड कमजोर हुन्छ । तर काण्ड कमजोर भए पनि यसको बढ्ने क्षमता भने अचम्म लाग्ने गरी धेरै हुन्छ । लहराको बढ्ने क्षमता र अडिने शक्तिका बीच सन्तुलन हुँदैन । अनि लहरालाई आवश्यक हुन्छ थाङ्ग्रो । थाङ्ग्राले मल दिँदैन, पानी दिँदैन । हावा र प्रकाश प्राप्त गर्न भने सहयोग पुर्याउला । शाकाहारी प्राणीहरूबाट जोगिन पनि मद्दत होला । जे भए पनि लहरालाई आफ्नो विकासको लागि थाङ्ग्रा चाहिन्छ ।
मान्छे चैं लहरा
मान्छेमा अनन्त जीजीविषा छ तर मृत्यु अवश्यम्भावी छ । हाम्रा चाहना र आकांक्षाहरू अनन्त छन्, एक पूरा भए अर्को जन्मिरहन्छन् । ती कहिले पूर्ण हुँदैनन् । ज्ञानको क्षेत्र बढ्दै जाँदा अज्ञातको घेरा साँघुरो हुन सकेको छैन । विज्ञानले रहस्य सुल्झाएको मात्र छैन, नयाँ रहस्य पनि भेटिरहेको छ । चिकित्सा विज्ञानले उपचार मात्र हैन नयाँ नयाँ रोगसँग जम्काभेट पनि गरिरहेको छ । सुरक्षाका प्रबन्धले संसारलाई झन् जोखिममा धकेलेका छन् । आफ्नो व्यवस्था मिलाउँदै जाँदा संसारको व्यवस्था खलबलिन लागेको सङ्केत मिलिरहेको छ । संसारमा कुनै संगति र नियम छैन । यो समझभन्दा सधैं बाहिर छ । संसारले मानिसलाई हरदम छक्क पारिरहन्छ । यति शक्ति हासिल गरिसकेपछि पनि हरेक पाइलामा मानिस निरीह बनिरहेको छ, कमजोर बनिरहेको छ, विचलित बनिरहेको छ ।
धर्म चै थाङ्ग्रा
मानव जातिले महसुस गरेको यही कमजोरीले नै उसलाई थाङ्ग्राको शरणमा पुर्याउँछ र धर्म त्यही थाङ्ग्रा हो । त्यसैले संसारका सबै मानिसले धेरथोर धर्म मान्छन् । वर्तमान संसारमा नास्तिकको उपस्थितिको मलाई जानकारी छ तर तिनको सोच र समझको अडकल काट्न म असमर्थ छु । धर्मका प्रकार फरक छन् तर ती सबै जसो धर्मको उद्देश्य एउटै छ, मानिसलाई दुःख, पिर, समस्या र चिन्ताबाट छुटकारा दिनु । मानिसले आफ्नो जिन्दगीको पूर्ण जिम्मेवारी लिन असमर्थ महसुस गरेको हुनाले नै धर्मको वा ईश्वरको उत्पत्ति भएको हो भन्ने मेरो विचार छ । आवश्यकता विना आविष्कार नहुने त विकासवादको सामान्य सिद्धान्त नै हो ।
यस सम्बन्धमा थप स्पष्ट हुन लहराको रूपमा मानिसको विवेचनालाई केही सन्दर्भमा हेरौं न त !
१. चेतनास्तरको आधारमाः मानिसको तुलनामा अरू सबै प्राणीहरूको चेतनास्तर न्यून छ । मानिसमा पनि अति तल्लो चेतनास्तरमा रहेका मानिसहरूमा शक्ति र कामनाको न्यून स्तरमा सन्तुलन छ । संस्कृतिको सामान्य पालना गरे पनि उनीहरू धर्मभीरू छैनन् । उनीहरू बुटाको तहमा छन् ।
धेरै मानिसहरूमा शक्ति कम, आकांक्षा बढी; सामर्थ्य कम, चुनौती बढी छ । उनीहरूको क्षमता र कामनाका बीचमा सन्तुलन छैन । यही असन्तुलनले सन्तुलनको लागि मानिसलाई ईश्वर र धर्ममा आशक्त हुन प्रेरित गरिरहेको छ, थाङ्ग्रा जो चाहिएको छ ।
उच्च मनोबल र तर्कशक्ति भएका मानिसहरूलाई धर्मको थाङ्ग्रो हिजो पनि चाहिएको थिएन, आज पनि चाहिएको छैन । नास्तिक चिन्तन धारा आजको आविष्कार होइन । चार्वाकले नास्तिकताको ध्वजा उठाएका थिए । उनले धर्मलाई पागलपनको संज्ञा दिएका थिए । बुद्धले नै आत्माको अस्तित्त्व अस्वीकार गरे । अनीश्वरवाद पूर्वीय चिन्तनधारामा रहिआएको नै थियो, कमजोर भए पनि । पश्चिममा नित्सेले ईश्वरको मृत्युको घोषणा गरे । बिपी कोइरालाले नै धर्ममा आधारित कर्मकाण्डको पालना गरेनन् भनिन्छ । जो रूखसमान छ, उसलाई किन थाङ्ग्रा चाहियो ?
२. जीवन चक्रको आधारमाः
बालककालमा हाम्रो शक्ति पनि कम हुन्छ, चाहना र आकांक्षा पनि कम हुन्छ । सामर्थ्य र कामनाका बीचमा न्यूनतम सन्तुलन हुन्छ र मानिस बुटा समान रहन्छ । देवकोटाले लेखेकै छन्-
बनेर फूल झैं सधैं हँसाउनू सुवास दी । सधैं रमाउनू जगत् रमेर नित्य आश दी ।।
रम्दै, रमाइलो गर्दै र गराउँदै बालापन सकिन्छ पनि ।
युवा कालमा कामना, चाहना र आकांक्षा त निकै हुन्छ तर नसामा जोस हिम्मतको प्रवाह पनि उच्च वेगमा नै हुन्छ । आफ्ना कमीकमजोरीहरू ज्ञात भइसकेका हुन्नन् । अनि शक्ति र कामनाका बीचमा उच्च तहमा सन्तुलन हुन्छ । देवकोटाले लेखेकै छन्-
‘के हो ठुलो जगतमा ?’ ‘पसिना विवेक’
‘उद्देश्य के लिनु ?’ ‘उडि छुनु चन्द्र एक ।’
त्यसैले बालककाल र युवाकालमा मानिसमा धर्मप्रति उति रूचि रहन्न ।
वृद्धावस्थामा शक्ति कम हुन्छ, पूरा हुन नसकेका कामना र आकांक्षाका परतहरू मष्तिष्कमा रहेका हुन्छन् । इन्साफ हराएको संसारले घाइते बनाइएको मुटु छातीमा धड्किरहेको हुन्छ । कहिले सानो परिश्रमले ठुलो उपलब्धि हासिल हुन्छ, कहिले ठुलो प्रयास निष्फल हुन्छ । कारण र परिणाममा सधैं सोझो र सकारात्मक सम्बन्ध हुँदैन । यस्तो अवस्थामा मानिस कुनै रहस्य र दैवी शक्तिको उपस्थितिप्रति विश्वस्त हुँदै जानसक्छ । दवकोटाले लेखेकै छन्-
आखीर श्री कृष्ण रहेछ एक
न भक्ति भो ज्ञान न भो विवेक ।
आफ्ना असफल प्रयत्नको फल पाउनका लागि र आफूमाथि अपराध गर्नेले दण्ड पाएको हेर्न मानिस ईश्वरको भर पर्छ । समाज र संसारमा पूर्ण न्यायको लागि मानिसलाई पुनर्जन्ममा विश्वास लाग्नसक्छ । युवा अवस्थामा धर्म र ईश्वरमा विश्वास छैन भनेर डिङ हाक्नेहरू बुढेसकाल लागेपछि मन्दिर चाहार्न थालेको हामीले देखिरहेका छौं । धर्मप्रतिको धारणा, वचन र कर्ममा कुनै सङ्गति नभएका मानिस हामी समाजका धेरै वृत्तमा देख्न सक्छौं । बौद्धिकस्तर लहराभन्दा माथि उठ्न नसकेका तर इस्पात देखाउन चाहने पाखण्डीहरूको नियति त्योभन्दा फरक हुँदैन पनि ।
३. भावना र कल्पना क्षमताको सन्दर्भमाः कल्पना त्यो मानवीय शक्ति हो जसले कृत्रिम संसार सिर्जना गर्नसक्छ । भावना त्यो संवेदना हो जसले अर्को व्यक्तिको कल्पनालाई आत्मसात गर्नसक्छ । मानिसमा भावना र कल्पना क्षमताको विकासको क्रममा ईश्वर र धर्मको विकास भएको हुनसक्ने मेरो अनुमान छ । भावनाले मानिसलाई कमजोर बनाउँछ र कल्पनाले समाधानको कृत्रिम उपाय खोज्छ । मानिस भावनात्मक रूपमा नरम हुन्जेल ईश्वर र धर्मको अस्तित्त्व रहन्छ ।
ईश्वर र प्रेमले मानिसको भावना र कल्पनालाई गति पनि दिएका छन् । ईश्वर र प्रेम झिकिदिने हो भने मानव जातिको सिर्जनाको उचाइ मानिने कला र साहित्य अधुरो र अर्थहीन हुन्छ ।
४.मानव जातिको इतिहासका आधारमाः प्रारम्भिक अवस्थामा मानिसको बौद्धिक क्षमता कम थियो, आशा र चाहना पनि कम थिए । कल्पना र भावनाको क्षमता पनि कम थियो । मानिस बुटा जस्तो न्यून सन्तुलनमा बाँचिरहेको थियो ।
बिस्तारै मानिसको बुद्धि बढ्यो । स्मरण, कल्पना, तुलना र मूल्याङ्कन क्षमताको विकास भएपछि मानिसमा थप चाहना र आकांक्षा बढे । मानिसको बौद्धिक क्षमताको विकास भयो र आफूमा अन्तर्निहित कमजोरीको आभास पनि भयो । आफूभन्दा प्रकृतिका अनेक पक्षहरू शक्तिशाली रहेको महसुस भयो । अनेक भयबाट जोगिन र कामना पूरा गर्न उसले अति शक्तिशाली तत्वको कल्पना गर्यो र त्यसको आराधना गर्न थाल्यो । यो मानिसको कमजोर मनलाई त्राण दिने थाङ्ग्रा थियो ।
आज पनि मानिसको आकांक्षा र प्राप्तिबीचको असन्तुलन कायम छ । आफूलाई प्रभाव पार्ने बाह्य तत्त्वको बारेमा पूर्ण र तथ्य जानकारी पाउन सकेको छैन । अनेक अज्ञात कारणबाट उत्पन्न चुनौतीले मानिसलाई अहिले पनि तर्साइरहेको छ । त्यसैले आज पनि मानिस कुनै परमशक्ति, प्रारब्ध वा पुनर्जन्मको आशमा बाँचिरहेको छ, धर्मले थाङ्ग्राको भूमिका निर्वाह गरिरहेको छ ।
अन्त्यमा,
आज धर्मका स्थापनाहरूलाई विज्ञानले खण्डनमण्न गर्दै अघि बढिरेहको छ र धर्ममा पनि विज्ञानका उपलब्धिअनुसार सुधारका प्रयास भइरहेका छन् । विज्ञान धर्मबाट अनुप्राणित छ र धर्मलाई विज्ञानले शुद्घ बनाइरहेको छ । आज विपरीत धार मानिएका विज्ञान र धर्म (भौतिकवाद र आध्यात्मिक) भविष्यमा एकअर्काका परिपूरकको रूपमा विकसित हुँदै जालान् र सुदूर भविष्यमा ती दुई धारा एकाकार भएर ज्ञानको एकै धारको रूपमा विकसित होलान् भन्ने आशा मैले गरेको छु । त्यो अवस्थामा मानिस रूख जस्तो हुन्छ, उसलाई धर्म र ईश्वर जस्तो रहस्य र तिलस्ममा आधारित हुनुपर्ने बाध्यता रहँदैन भन्ने मेरो सोचाइ छ ।
ज्ञान विज्ञानको अनेक क्षेत्रको विकास भएपछि सुदूर भविष्यमा मानिस पूर्ण बन्ला, आफ्ना सीमा र सम्भावनाका बारेमा पूर्ण जानकारी हासिल गर्ला र त्यसपछि धर्मरूपी लहराको आवश्यकता नपर्ला कि भन्ने मेरो धारणा छ । तर ‘जत्रो कोरली उत्रै बाघ’ भने झैं मानिसको ज्ञानसँगै अज्ञेयको आभास बढिरहेको छ । मानिसले आफ्नो मनको शान्तिको लागि धर्ममा भर पर्नुपर्ने बाध्यता हट्न सकेको छैन । धर्मको थाङ्ग्रा चाहिएकै छ, नयाँ सम्प्रदायको उत्पत्ति भइरहेको छ, आध्यात्मिक सेवा प्रदायक साधुसन्त- महात्माका अनेक पदको सिर्जना भइरहेका छन् । कुनै समस्या परे पहिला विज्ञानको ढोका ढक्ढक्याउनेहरू पनि असफलता र असन्तुष्टि हात पर्नासाथ धर्मको थाङ्ग्रामा अडिन पुग्छन् । आजका मानिस धर्मको थाङ्ग्रामा अडिइरहेका छन्, भोलि स्वतन्त्ररूपमा अडिनसक्लान् भन्ने मेरो विश्वास छ ।
