साउनको १० गते निर्मलाको बलात्कारपछि हत्या भयो । आज त्यो घटना भएको चार महिनाभन्दा बढी भइसकेको छ । तर त्यस घटनाको दोषी पत्ता लाग्न सकेको छैन । प्रहरीले हालसम्म गरेका अरू विभिन्न अपराधको अनुसन्धान र त्यसको सकारात्मक नतीजाको पृष्ठभूमिमा यो घटना त्यति रहस्यमय भएजस्तो लाग्दैन तर अहिलेसम्म घटनाको नालीबेली जानकारी हुन सकेको छैन । त्यस घटनाको दोषीका रुपमा विभिन्न मानिस पक्रिए, तर निर्दोष पाइए र छोडिए । वास्तविक दोषी पुलिस प्रशासनको पहुँचभन्दा बाहिरै रहे । अनुसन्धानमा लापरबाही गरेको भनेर केही पुलिस अधिकृत नै कारवाहीमा पनि परे । तर घटनाको निकास अहिलेसम्म निस्केको छैन । लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र र जनताले चुनेको सरकार निर्मलाको लागि न्याय दिन आजका दिनसम्म सक्षम देखिएनन् ।
राज्यको यो अकर्मण्यता जनताको लागि सह्य विषय होइन । त्यसैले निर्मलाको हत्या भएदेखि नै हत्यारालाई न्यायको कठघरामा ल्याउने माग गर्दै नागरिक प्रदर्शन जारी छ । घटनास्थल (महेन्द्रनगर) र काठमाडौंमा प्रदर्शन भइरहेका छन् । भौतिक रुपमा त्यहाँ नपुगे पनि सारा नेपालीको भावना त्यस विरोध कार्यक्रममा सरीक होला भन्ने मेरो अनुमान छ । आज कुनै अपराध दण्डहीन भएमा त्यो समाजको र राज्यको संस्कृति बन्न सक्छ । आन्तरिक द्वन्द्व र संक्रमणकालका कारण दण्डहीनता मौलाएको यस मुलुकमा संक्रमणकालको अन्त्यपछि पनि त्यस किसिमको प्रवृत्ति कुनै हालतमा स्वीकार्य होइन पनि । निर्मलालाई न्याय आजको न्यायपूर्ण नेपालको कामना गर्ने सबै नेपालीको चाहना हो ।
समयले अपराधीलाई न्यायको कठघरमा ल्याउने छ । सभ्य समाजको कुनै पनि सदस्य ती क्रूर दुरात्माको समर्थनमा रहन सक्दैनन् । त्यसैले सभ्य समाजमा तिनको संरक्षण पनि हुन सक्दैन । आज खै कुन शक्तिको आडमा हाे, सार्वभौम भनिएका जनता, संसद र सरकारको पकडभन्दा बाहिर रहन सकेका ती अपराधी शक्ति समीकरणमा परिवर्तन भएपछि अवश्य कानुनको पञ्जामा पर्नेछन् भनेर विश्वास गर्नुको विकल्प छैन । हाम्रो हातमा अपराधी पत्ता लगाउने कुनै संयन्त्र र विधान पनि त छैन । आखिरमा एक दिन खराब सपनाले खेदेर र अपराधबोधले छटपटाएर त्यो दुरात्मा आफैं आत्मसमर्पण गर्न आउन बाध्य हुनेछ । तर राज्यमाथि खबरदारीको आवश्यकतालाई कम आँक्न भने सकिन्न ।
आफ्नी छोरीले यसरी पीडित भई ज्यान गुमाउनु परेको घटनाबाट सबैभन्दा पीडित त स्वभाविक रुपमा निर्मलाका बाबुआमा नै हुन् । आफ्नो सन्तानलाई त्यसरी गुमाउनु पर्दाको पीडा त हामीलाई कल्पना गर्दा पनि जिउ काम्छ, मुटु रुन्छ । नेपाललाई स्तब्ध बनाएको शोकले उनीहरुलाई केसम्म गरेन होला ? उनीहरु पनि आँसुका साथ प्रदर्शनमा सहभागी भए, महेन्द्रनगरमा धर्ना बसे । त्यसै बीच उहाँहरुको स्वास्थ्यमा समस्या आयो र काठमाडौं ल्याइयाे । निर्मलााका बुबालाई शायद कुनै मनोवैज्ञानिक समस्या पनि देखिएको थियो । आशा गरौं, उहाँले सन्तोषजनक रुपमा स्वस्थ्यलाभ गरिरहनु भएको छ ।
उहाँहरुको चित्त बुझाउने ठाउँ छैन तर चित्त बुझाउनुका विकल्प पनि छैन । मृत आफन्तको लाशसमक्ष उभिएको मानिसजस्तो निरीह प्राणी यस दुनियाँमा अर्को कुनै हुँदैन । त्यस अवस्थाबाट
केही पनि पुरानो अवस्थामा फर्काउन सकिन्न । सबै गुमाएको विकल अवस्थामा पुगेको हुन्छ त्यो बेला मानिसको मन । आफन्त, शुभचिन्तक र विश्वासपात्रहरुले मात्र यो विकल मनलाई टेवा दिन सक्छन् । सरकारले भने यस घटनामा विकल मनलाई भर दिने क्षमता गुमाइसकेको छ । आज निर्मलाको न्यायका लागि उठेको जनसागरले ‘निर्मलाका आमाबुबालाई निर्मलाको न्यायका लागि हामी लड्छौ, गएको ज्यान फर्काउन त सकिन्न तर अपराधीलाई कुनै हालतमा पनि छोडिन्न’ भनेर उनीहरुको आमाबाबुलाई आश्वस्त पार्नुपर्छ । उहाँहरुलाई आन्दोलनको पंक्तिबाट बाहिरै रहन प्रोत्साहित गर्नुपर्छ । यो आन्दोलनको स्वरुप पनि परिवर्तन गरेर साँच्चै छोइने र बिझ्ने ठाउँमा केन्द्रित गर्नुपर्छ । कदाचित आजै निर्मलाको हत्यारा फेला परेमा र कारवाही गर्न सकिएमा रिस त केही हदसम्म शान्त होला तर शोक ? शाेकलाई मत्थर बनाउन त थप प्रयत्न गर्नैपर्छ । त्यसैले अहिले निर्मलाका आमाबुवाको हृदयमा आएको आँधीतूफानलाई अलि कम हुने अवसर दिनुपर्छ ।
निर्मलालाई न्यायको मागमा कुनै सम्झौता हुन सक्दैन । यसका साथै अहिले उनका आमाबुवामाथि पनि न्याय आवश्यक छ । उहाँहरुको आफ्नो जीबन छ । त्यसलाई शारीरिक र मनोवैज्ञानिक रुपमा स्वस्थ भएर बिताउन पाउनु पर्छ । उहाँहरू फेरि सामान्य जीबनमा फर्कने वातावरणको सिर्जना गरिनुपर्छ । उहाँहरुका अरु सन्तान छन् । उनीहरुलाई पनि न्याय चाहिएको छ । उनीहरुले आफ्ना आमाबाबुबाट पूर्ण अभिभावकत्व पाउन सक्नुपर्छ । यो घटना बिर्सन त के सकिन्छ होला र ? तर यसले मनमा पारेको प्रभाव क्रमशः घटाउँदै लगीे उहाँहरुलाई बाँकी रहेको संसारको संवर्धनमा लाग्नसक्ने बनाउनु पर्छ । मानिसलाई परेको शोकबाट उत्रने शक्ति प्रकृतिले दिएको हुन्छ रे । त्यो शक्तिको अवतरणको लागि मनलाई शान्त रहने वातावरण बनाइदिनुपर्छ । हरेक दुःख समयको मलहमले बिस्तारै निको हुँदै जान्छ रे । समयलाई त्यो मलहम लगाउने मौका दिनुपर्छ । अपराधको नकारात्मक असरको क्षेत्रलाई सकेसम्म समाजले कम बनाउनुपर्छ । निर्मलाको वियोगको शोकबाट निस्कन नसकेको कारण परिवारका अरु सदस्यको पारिवारिक, आर्थिक र सामाजिक जीवन जोखिममा पर्नुहुन्न । ‘मलाई यस्तो शोक र चोट परेको थियो, समाजको सहयोगले त्यसबाट त्राण पाएँ र यो जीवन बाँचिरहेको छु’ भन्ने अवसर यो समाजले निर्मलाका आमाबुवालई दिनुपर्छ ।
हरेक घटनाका धेरै पाटाहरु हुन्छन् । त्यसको असर पनि अनेक पक्षहरुमा हुन्छ । सबैलाई सम्हाल्दै र समेट्दै, स्याहर्दै र स्वीकार्दै जानुपर्छ । नोक्सान भएकोमा मन बुझाएर अनि बाँकी रहेकोलाई सम्हालेर आएकैले मानव सभ्यता यहाँसम्म आइपुगेको हो । मानवीय विपत्तिका अनेक अकल्पनीय पीडा मानव सभ्यताको जगमा अझै पनि रोइहेकै होलान् । घाम झुल्कन्छ र अस्ताउँछ, ऋतुहरु आउँछन् र जान्छन् । बाँकी संसार काँही केही नभए झै चलाएमान भइरहेको हुन्छ । अनि हामीलाई पनि त्यही संसारमा बाँच्नुछ । मनलाई बुद्धिले, भावनालाई विवेकले, इतिहासका पीडालाई भविष्यका आशाले थिचेर जीवनपथमा अग्रसर हुनुको विकल्प के होला र ? सभ्य समाजले त्यस कार्यमा सबैलाई साथ दिनुपर्छ । निर्मलाका आमाबुवाले पनि समाजको साथ पाइरहनुभएको छ, अब पनि पाउनुहुनेछ ।
