बा र काकाहरूको दन्तबजान जारी छ ।
ठुलदाइहरूको अलमल र ढुलमुल जारी छ ।
विवेक र संयमको मात्र अलिकति कमी त हो
छोरा र भतिजाहरूको मेलमिलाप जात्रा जारी छ ।
आशलाग्दाहरूको अकर्मण्यता जारी छ ।
भरपर्दाहरूको निर्लज्जता जारी छ ।
आँट र अठोटको मात्र अलिकति कमी हो ।
मपाईंत्वको व्याख्यान जारी छ ।
दिदीहरूको गीत र गर्जन जारी छ ।
भाइहरूको भाषण र भजन जारी छ ।
गम्भीरताको अलिकति अभाव मात्र हो ।
जनहितको बाचा जारी छ ।
सत्ताको रङ्गमा नरङ्गिनुको कुण्ठा जारी छ ।
त्यो रङ्ग भङ्ग हुनुको ऐंठन जारी छ ।
नैतिकता बोधको अलिकता अभाव भएको मात्र हो ।
स्वर्णिम अतीतको गाथा जारी छ ।
अनुचरहरूको पालन पोषण जारी छ ।
तिनको भड्किलो प्रदर्शन जारी छ ।
अलिकति सभ्यताको अभाव मात्र हो ।
एकताको महिमा गायन जारी छ ।
षडयन्त्रका अनन्त श्रृंखला जारी छ ।
कपटपूर्ण कृत्यको सिलसिला जारी छ ।
विश्वसनीयताको अलिकति अभाव मात्र हो ।
कतै नाटक जारी छ, कतै नौटङ्की जारी छ ।
हुक्केहरूको गुलामी जारी छ ।
बैठकेहरूको खासखुस जारी छ ।
पारदर्शिताको अलिकति अभाव मात्र हो ।
ओठे प्रतिबद्धताको वर्षा जारी छ ।
विरोधी पार्टीसँगको गठबन्धन जारी छ ।
यन्त्रणा दिनेसँगको मन्त्रणा जारी छ ।
कथनी र करनी अलि नमिलेको मात्र हो ।
कच्चा बाचाको सच्चा कथा जारी छ ।
आत्मरतिको आनन्द जारी छ ।
भत्सर्नाको मोहनी जारी छ ।
आत्मसमीक्षा मात्र नपुगेको त हो नि
उचाल्ने र पछार्ने क्रम जारी छ ।
