गएको पुस ३ गते (२०७६) नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘मार्क्स फर्किए….’ भन्ने नाटक हेर्ने मौका मिल्यो । यो नाटक हवार्ड जिनको नाटक ‘मार्क्स इन सोहो’ मा आधारित रहेछ । नाटकको विषयवस्तु र प्रस्तुति निकै प्रभावकारी लागेको हुनाले मैले किताब नै इन्टरनेटमा खोजें । भेटियो पनि । सन् १९९० को दशकमा रुसमा कम्युनिष्ट सरकारको पतन र सोभियत संघको विभाजनपछि मार्क्सवादको औचित्य सकियो भन्ने विचारले विश्वमा प्रभुत्व जनाएको कुरामा विमति जनाउन उनले यो नाटक लेखेका रहेछन् । मार्क्स पुनः पृथ्वीमा फर्केर आफ्नो जीवनशैली, दर्शन र मान्यताका बारेमा स्पष्टीकरण दिएको र आफ्नो दर्शनको औचित्य पुष्टि गरेको शैलीमा यो नाटक लेखिएको छ । नाटक हेरेपछि र पढेपछि मार्क्स, मार्क्सवाद र मार्क्सवादको व्यवहारिक कार्यान्वयनसँग सम्बन्धित धेरै कुरा मनमा आए । एउटा ब्लग लेख्न मन त्यति वेलै लागेको हो तर यति ठुलो विषयमा लेख्ने आँट नै आएन । अहिले कोरोनाको कारण भएको लकडाउनमा यस विषयमा कलम चलाउँदै छु । ‘सत्य शायद ईश्वरलाई मात्र थाहा छ, बाँकी अरूले त आफूले जानेको कुरो इमानदारिताका साथ लेख्ने मात्र हो’ भन्ने आफ्नो लेखन सम्बन्धी मान्यतालाई पुनः स्मरण र आत्मसात गरेपछि मात्र लेख्ने आँट पलाएको हो । मैले त्यस नाटकमा उठाइएका विषयमध्ये मलाई मन छाएको विषयमा कलम चलाउने विचार गरेको छु । आजको विषय मार्क्सवाद र धर्मको विषयमा छ । आगामी श्रृंखलामा
Category: Views
कोरोनाको संत्रास
मैले यो ब्लग लेख्दासम्म संसारका १८८ देशमा नोवेल कोरोना भाइरस फैलिइसकेको छ । तीन लाख जति मानिस संक्रमित भएका छन् । यसमध्ये १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना भाइरस फैलिएको जानकारी भएको पहिलो सहर चीनको बुहानले बरु यो भाइरसबाट मुक्ति पाउन लागेको छ । तर अब कोरोना इटालीलाई मुख्य केन्द्र बनाएर युरोपमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी महामारीको रूपमा लिएको छ र अब यो भाइरस दक्षिणपूर्व एशियामा फैलिने चेतावनी दिएको छ । विभिन्न मुलुकले स्वास्थ्य संकटकाल लगाएका छन् । नेपालले पनि कोरोना भाइरस मुलुकमा पस्न नदिन विभिन्न निर्णय गरेको छ । स्कुल क्याम्पस बन्द भएका छन् । चैत ६ गतेबाट चल्ने भनिएको एसइइ पनि स्थगित भयो । विश्वविद्यालयका परीक्षा पनि रोकिएका छन् । मानिस भेला हुने क्लब, सिनेमाघर, खेलकुद बन्द हुने छन् । २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । धेरै देशबाट आउन रोक लगाइएको छ । अन अराइभल भिसा अलि पहिला नै बन्द गरिएको थियो । नेपालीहरुलाई पनि जोखिमयुक्त विदेश यात्रमा रोक लगाइएको छ । अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन सुझाव दिइएको छ । लकडाउन गर्ने वा संकटकाल घोषणा गर्ने सोचाइ राखिएको समाचार प्रकाशित भएका छन् । २०७६ साल चैत ७ गते सम्माननीय प्रधानमन्त्रीबाट समेत यसै विषयमा सन्देश प्राप्त भएको छ
यज्ञमा दानः कति दान, कति ‘बलिदान’ ?
(यज्ञमा उठाएको दान लिएर महाराज बेपत्ता भए भन्ने खबर मैले सुने । सामाजिक पूर्वाधार विद्यालय कलेज अस्पताल वा भौतिक संचरना निर्माणका लागि रकम संकलन गर्न यज्ञको आयोजना गर्न चलन अहिले पनि प्रचलित छ । आठ दश वर्षअघि त झन् व्यापक थियो । सबैले रुचाएको यो कार्य मलाई भने पटक्कै मन परेको थिएन । मैले आफ्नो कुरा विराटनगरमा प्रकाशित “उद्घोष” पत्रिकामा छपाएको पनि थिएँ । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको देहान्तको प्रसंग पनि आएका हुनाले यो कुरा 2067 सालको रहेछ । अहिले आफैंले यो लेख पढ्दा विराटनगरमा बन्ने भनेको त्यस्तो पूर्वाधार बनेको जस्ताो पनि लागेन । पैसा उठ्यो, कुरो सेलायो जस्तो पो लागिरहेको छ । मेरा साथीहरुको जानकारीका लागि सो लेख जस्ताको तस्तै राखेको छु ।) विराटनगर—१ स्थित कुशलटोलमा चैत ३ गतेदेखि ११ गतेसम्म श्रीमद्देवीभागवत महायज्ञको आयोजना भयो । उक्त महायज्ञमा कथावाचक वाचनप्रवीण दीनबन्धु पोखरेल र पाथीभरा माता प्रकट भएकी भनिएकी किशोरी आकर्षणका केन्द्र थिए । बाइस लाखको लागतमा आयोजित यस महायज्ञबाट संकलित दानबाट सुविधासम्पन्न सामुदायिक भवन (सभाहल र विवाह मण्डपहरु भएको), आयुर्वेद औषधालय, पाथीभरा ज्येष्ठ नागरिक सेवा अस्पताल, गुरुकुल शिक्षालय बनाइने बताइएको छ । यी आयोजनाको लागत करीब पन्ध्र करोड हुने जनाइएको छ । दाताहरुले भूमिदान, अन्नदान र वाक्दान (कसैलाई कुनै वस्तु नफर्काउने गरी दिने वचन) गर्न सक्ने व्यवस्था थियो । दाताहरुलाई
किल्लाबाहिरको सिपाही
नेपाल राष्ट्र बैंकमा तीस वर्ष काम गरेर अवकाश पाएको पनि डेढ वर्ष बितिसकेको छ । आफ्ना समवयी साथीहरुले पनि क्रमशः अवकाश पाउँदै गएकाले अब नेपाल राष्ट्र बैंकमा आफूले चिनेजानेका कर्मचारीको संख्या निकै कम भइसकेको छ । भुइँचालोले काठमाडौंका पुराना कार्यालय भवन भत्काएको र टक्सार पनि धरहराको सेरोफेरोमा पर्ने भएकाले विभागहरू यताउता सारिएका छन् र अहिले त कुन विभाग कता छ भनेर मलाई पनि थाहा हुन छोडेको छ । कर्मचारीको सरुवाको कारण चिनेका साथी कुन विभागमा छन् भनेर हेक्का गर्न सकिने अवस्था पनि छैन । नयाँनयाँ प्रविधि वित्तीय बजारमा आइरहेको कारणले अहिले कुन काम कसरी हुन्छ भन्न पनि सक्दिन । नीति र कार्यनीतिमा हुने सामयिक परिवर्तनले कुन अवस्था र समस्यालाई सम्बोधन गर्न कस्तो काम कसरी गरिन्छ भनेर अड्कल काट्न त झन् के सक्नु र ? तर छिमेकी, साथीभाइ र अन्य चिनारुका लागि म राष्ट्र बैंकसँग अझै सम्बन्धित नै देखिन्छु । कसैलाई त म रिटायर भएको थाहा नै हुँदो रहेनछ । उनीहरू म अझै राष्ट्र बैंकमा कार्यरत रहे झै कुरो गर्छन् । दसैंमा नयाँ नोट सटही, अर्वपर्वमा चानचुने पैसाको जोहो, उपचार, तीर्थ र भ्रमणका लागि भारत जान चाहिने भा.रू. को बन्दोबस्त र छोराछोरी विदेश पठाउन चाहिने विदेशी मुद्राको बारेमा समयसमयमा मसँग सोधखोज गरिरहन्छन् । म अब खासै के गर्न सक्छु र ?
सार्वजनिक-संवेदना
कोरियाको विकास अनुभव समबन्धी तालिमको क्रममा एक जना कृषि सम्बन्धी स्रोत व्यक्तिले आफ्नो परिचयको क्रममा पहिला कृषि मन्त्रालयको उच्च प्रशासक रहेको र हाल प्राध्यापनतिर सरुवा भएको जानकारी दिनुभयो । नेपालबाट जाने हामीहरुलाई कृषि मन्त्रालयको उच्च पद (शायद सचिव) बाट किन गुमनाम प्राध्यापनतिर जान ती मान्छेले मन गरे भन्ने खुलदुली भइहाल्यो । हाम्रो सन्दर्भमा त त्यो घटना आठौं आश्चर्यभन्दा कम थिएन । कहाँ कृषि सचिव, कहाँ प्राध्यापक ! हामीले उहाँलाई यसरी सेवा परिवर्तन गर्नुको कारण सोध्यौं पनि । उहाँले भन्नुभयो ‘ कृषि मन्त्रालयमा रहँदा पूरै देशको कृषि सम्बन्धी जिम्मेवारी मेरो टाउकोमा थियो । यस क्षेत्रको विकासमा निकै चुनौती थिए । गहन जिम्मेवारीको कारण म निकै दबाबमा थिएँ । हरेक बिहान कृषि सम्बन्धी कुनै नराम्रो समाचार अखबारमा छापिएको छ कि भनेर मलाई चिन्ता लाग्थ्यो । अहिले ढुक्क छ । पढ्छु, पढाउँछु, अनुसन्धानमा मग्न रहन्छु । आनन्द छ ।’ आजभन्दा झण्डै दश वर्षअघि सुनेका कुरा ठ्याक्कै यही त थिएनन् होला तर मैले बुझेको र सम्झेको कुरा चाहिँ यही हो । उनको समाचारप्रतिको संवेदनशीलता देखेर मेरो मन भारी भयो । कति जिम्मेवार प्रशासक ! नेपालमा पनि पत्रिका छापिन्छन् । सबै जसो कार्यालयले धेरै खाले पत्रिका किन्छन् । नेता, प्रशासक, कर्मचारी सबैले धेरथोर पत्रिका पढ्छन् नै होला । नपढ्ने भए किन किन्थे होलान् र !
तडकभडक किन चाहिन्छ हामीलाई ?
नेपालको सार्वजनिक, सामाजिक र व्यक्तिगत जीवनलाई तडकभडकले गाँजेको छ । सरकारी बजेट महँगा विलासी मोटर, अनुत्पादक भ्रमण, देखावटी असारे विकास जस्ता काममा खर्च भइरहेको छ ।समाजमा पनि हुनेखानेले बिहेव्रतबन्धमा पैसाको खोलो बगाइरहेका छन् । पास्नी र न्वारानले पनि विस्तारै आफ्नो रौनक बढाउँदैछ । जन्मदिन मनाउने संस्कृतिले रुप फेरेर उधुम भएको छ । खासै यात्रा गर्नु नपर्ने भए पनि मोटर प्रतिष्ठाका लागि चाहिएको छ । घर अरुको भन्दा ठुलो नभई भएको छैन । सबैभन्दा ठुलो, सबैभन्दा राम्रो, सबैभन्दा महँगो । यही हाम्रो मूलमन्त्र भएको छ । हुनेखानेहरुको देखासिखीमा मध्यम वर्ग कुद्न खोजिरहेको छ । यी गतिविधिहरुका कारण निम्न वर्गमा अघोर निराशा उत्पन्न भएको छ । हुनेले खर्च गर्नु ठिकै पनि होला तर आर्थिक र सामाजिक व्यवस्थामा विचलन आउनु त राम्रो होइन । हाम्रो समाजमा भने यस्तै छुचुन्द्रे दौडका ‘कारण जगत के हो र जीवन के हो’ भन्ने प्रश्न निरुत्तर बनेका छन् । नेपालको अर्थतन्त्र, आम नेपाली जनताको जीवनस्तर, नेपालमा उपलब्ध आर्थिक तथा सामाजिक पूर्वाधार (सडक, यातायात, बिजुली, टेलिफोन, शिक्षा, स्वास्थ्य, बैंक, बीमा आदि) को उपलब्धताको हिसाबले हेर्ने हो भने अहिले नेपालमा देखिने तडकभडक हाम्रो क्षमताभन्दा माथिको हो । यसमा खर्च हुने साधनस्रोतलाई थप औचित्यपूर्ण प्रयोजनमा उपयोग गर्नु आवश्यक छ । यो देशको आवश्यकता हो । तर खर्चको यो क्रम रोकिएको छैन
पुस १ः नयाँ सन्दर्भ
आज २०७५ सालको पुस ५ गते । मंसिर २९ गतेबाट सुरु भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक चलिरहेको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको महासमितिको बैठक पनि सोही दिनबाट सुरु छ । यी दुवै बैठकमा पार्टीभित्रका संस्थापन पक्ष र इतर पक्षका बीच चर्को विरोध र धारिलो घोचपेच भएको छ । विभिन्न नेताको विभिन्न गतिविधिलाई लिएर नर्मम आलोचना भएको छ । संघीयता कार्यान्वयनको क्रममा कर्मचारीलाई प्रदेश र स्थानीय निकायमा पठाउन ल्याइएको कर्मचारी समायोजन अध्यादेशको कर्मचारीले खुलेर विरोध गरेका छन् । स्थानीय निकायदेखि सिंहदरबारसम्म यसको प्रभाव परेको छ । सुशासनमा चुनौती कायम छ, अर्थतन्त्रमा समस्या छन् । यसैबीच केही दिनअघि पोखरा गएका पूर्व राजाको भव्य स्वागत भएको फोटो र समाचार फेसबुक र अनलाइन मिडियाले दिएका छन् । स्वागतको क्रममा राजतन्त्र पुनस्र्थापनाको माग राखिएको छ र गणतन्त्र र संघीयताको विरोध भएको छ । राजा र हिन्दूधर्मको पक्षधर पार्टी र व्यक्तिले पनि गतिविधि बढएका छन् । यसै सेरोफेरोमा ‘पञ्चायतकी आमा’ भनेर चिनिने डा. तुलसी गिरीको निधन (पुस ३ गते) भएको छ । तुलसी गिरीको निधनका सन्दर्भमा प्रकाशित समाचारले २०१७ साल पुस १ गतेलाई फेरि स्मरणमा ल्यायो । संविधान निर्माण गर्न राजाबाट गठित समितिले बेलायती संविधानविद् आइभर जेनिङ्सको सल्लाहमा तयार पारी २०१५ सालमा राजाले दिएको संविधान अनुसार निर्वाचित दुई तिहाइ बहुमत
निर्मलाका आमाबाबुलाई न्याय
साउनको १० गते निर्मलाको बलात्कारपछि हत्या भयो । आज त्यो घटना भएको चार महिनाभन्दा बढी भइसकेको छ । तर त्यस घटनाको दोषी पत्ता लाग्न सकेको छैन । प्रहरीले हालसम्म गरेका अरू विभिन्न अपराधको अनुसन्धान र त्यसको सकारात्मक नतीजाको पृष्ठभूमिमा यो घटना त्यति रहस्यमय भएजस्तो लाग्दैन तर अहिलेसम्म घटनाको नालीबेली जानकारी हुन सकेको छैन । त्यस घटनाको दोषीका रुपमा विभिन्न मानिस पक्रिए, तर निर्दोष पाइए र छोडिए । वास्तविक दोषी पुलिस प्रशासनको पहुँचभन्दा बाहिरै रहे । अनुसन्धानमा लापरबाही गरेको भनेर केही पुलिस अधिकृत नै कारवाहीमा पनि परे । तर घटनाको निकास अहिलेसम्म निस्केको छैन । लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र र जनताले चुनेको सरकार निर्मलाको लागि न्याय दिन आजका दिनसम्म सक्षम देखिएनन् ।राज्यको यो अकर्मण्यता जनताको लागि सह्य विषय होइन । त्यसैले निर्मलाको हत्या भएदेखि नै हत्यारालाई न्यायको कठघरामा ल्याउने माग गर्दै नागरिक प्रदर्शन जारी छ । घटनास्थल (महेन्द्रनगर) र काठमाडौंमा प्रदर्शन भइरहेका छन् । भौतिक रुपमा त्यहाँ नपुगे पनि सारा नेपालीको भावना त्यस विरोध कार्यक्रममा सरीक होला भन्ने मेरो अनुमान छ । आज कुनै अपराध दण्डहीन भएमा त्यो समाजको र राज्यको संस्कृति बन्न सक्छ । आन्तरिक द्वन्द्व र संक्रमणकालका कारण दण्डहीनता मौलाएको यस मुलुकमा संक्रमणकालको अन्त्यपछि पनि त्यस किसिमको प्रवृत्ति कुनै हालतमा स्वीकार्य होइन पनि । निर्मलालाई न्याय आजको न्यायपूर्ण नेपालको कामना
सार्वजनिक पदमा नियुक्तिः केही प्रश्नहरु
निर्वाचनपछि सरकार परिवर्तन हुन्छ । नयाँ संसद बन्छ, प्रधानमन्त्री फेरिन्छन्, मन्त्रीहरु नयाँ आउँछन् । त्यसपछि सरकारले गर्ने राजनैतिक नियुक्तिका हल्ला चल्न थाल्छन् । कुन पदमा को आउला, को जाला, कसले मौका पाउला, कसले बाजी मार्ला ? प्रबुद्धवर्गका बीचमा यसका बारेमा चर्चा हुन्छ । नियुक्तिका आकांक्षीहरुले दौडधूप पनि गर्लान् । सरकारले आफूलाई सहयोग गर्ने टिमको तयारी गर्नु स्वभाविकै पनि हो । यसरी नयाँ सरकारले नयाँ नियुक्ति गर्ने विशेष किसिमका पदहरु सबै मुलुकमा हुन्छन् । यति मात्र होइन निश्चित योग्यता, नियुक्ति प्रक्रिया र पदावधि तोकिएका संवैधानिक अंग र सरकारका विभिन्न निकायका पदाधिकारीका नियुक्ति पनि राज्यका संयन्त्रबाट नै नियमति रुपमा भइरहेका हुन्छन् ।नियमित र सामान्य प्रक्रिया भए पनि यी पदमा हुने नियुक्ति विवादबाट टाढा भने रहन सकेका छैनन् । विशेष दक्षता हुनुपर्ने पदमा समेत पार्टीगत संलग्नताको आधारमा नियुक्ति हुने, पार्टीमा पनि गुटगत संलग्नताले फरक पार्ने, नातागोता, कृपापात्र, भौगोलिक र जातीय सान्निध्य हेरिने र कतिपय अवस्थामा आर्थिक चलखेलका अधारमा नै नियुक्ति भएका कुरा पनि सार्वजनिक भएका छन् । जनताको जिउधनको भविष्य फैसला लेख्ने कलमको टुप्पोमा राखेर हिंड्ने न्यायाधीशको नियुक्तिको सिफारिस समेत दलगत आधारमा भएको सुनिएको छ । संवैधानिक पदमा नियुक्ति भई काम सम्हालेको लामो समय बितिसकेपछि योग्यता नपुगेको ठहर हुनु, संवैधानिक परिषदले गरेको नियुक्तिको सिफारिस संसदीय समितिबाट अस्वीकृत हुनु जस्ता घटना पनि हामी सामुन्ने
सञ्जुका गीत
भर्खरै हिन्दी चलचित्र “सञ्जु” हेरें । फिल्मी नायक सञ्जय दत्तको जीवनीमा आधारित सो फिल्म निकै राम्रो लाग्यो । विवादको भुमरीमा फँसेका सञ्जय दत्तको जीवन कथा निकै रोचक र मार्मिक रहेछ सोको फिल्माङ्कन पनि स्तरीय । सञ्जय दत्तलाई विवादको घेराबाट बाहिर ल्याउन यो फिल्म सक्षम छ । फिल्म हेर्दाको करिब तीन घण्टाको समय एकै छिनमा बिते जस्तो लाग्यो । उनका जीवनको उतारचढावसँगै दुःख र हर्षका भावना मनमा घुमिरहे । अन्त भने सुखद रहेछ । हरेक युवाको सफलता र असफलतामा उसका अभिभावक र साथीको महत्वपूर्ण भूमिका हुन्छ । अभिभावकसँग हार्दिक र आत्मीय सम्बन्ध भएमा त्यसले जीवनलाई निकै ठुलो सकारात्मक उर्जा दिनसक्छ । जीवनको कतिपय क्षण र मोडमा भने अभिभावकभन्दा साथी महत्वपूर्ण हुँदा रहेछन् । सञ्जु यसैको उदाहरण हो । यस फिल्मा गाइएका र सम्झिएका केही गीतहरु भने निराशा, ग्लानि, हतोत्साह, असफलताका ओखती हुन भन्ने मेरो ठम्याइछ । त्यसैले ती गीतका शब्द पछि सम्झनका लागि यहाँ प्रस्तुत गरेको छु । तपाईंहरुले पनि यसबाट लाभ उठाउनुहोला भन्ने आशा लिएको छु । १. पिघला दे जंजीरें पिघला दे जंजीरें बना उनकी शमशीरें कर हर मैदान फ़तेह ओ बंदेया. कर हर मैदान फ़तेह घायल परिंदा है तू दिखला दे जिंदा है तू बाक़ी है तुझमें हौसला तेरे जूनून के आगे अम्बर पनाहे मांगे कर डाले तू जो फैसला रूठी तकदीरें
