नेपालमा कर्जाः कम भयो कि बढी गयो ?

नेपालमा अहिले आर्थिक गतिहीनता छ र यसको कारणको रूपमा कर्जा प्रवाह कम हुनुलाई लिइएको छ । बैंकहरूमा कर्जा दिन सकिने पैसा धेरै छ तर कर्जा त्यही मात्रामा प्रवाह हुन सकेको छैन । बैंकहरूले ऋणीलाई दिन चाहेका र ऋणीमार्फत बजारमा आउनुपर्ने पैसा तरलता प्रशोचनको माध्यमबाट केन्द्रीय बैंकमा फर्किरहेको छ । पैसाको बाटो परिवर्तन गर्नमा सबै लागिरहेका देखिन्छन् । पहिले ब्याजदर बढी थियो । दश प्रतिशतभन्दा बढी ब्याजदर भएको अवस्थामा ब्याज तिर्न नसक्ने भएर कर्जाको माग नबढेको विश्लेषण गरिएको थियो । हुन त दश प्रतिशत वरिपरीको ब्याजदर नेपालको बैंकिङ प्रणालीमा लामो समय चलेको थियो र केही वर्षअघि त्यही ब्याजदरमा कर्जा पाउन पनि कठिन थियो । तर कोरोनाकालमा पुनर्कर्जा नीतिका कारण ब्याजदर घटेको थियो र त्यसले इतिहास बिर्साइदिएको थियो । फेरि सेयर कारोबारमा जाने कर्जामा सिलिङ लाग्नु र चालू कर्जा निर्देशिका जारी हुनु पनि कर्जा नबढ्नुको कारण मान्न थालियो । अहिले ब्याजदर पनि कम छ, सेयर बजारतिर जाने कर्जाको सिलिङ पनि करिब हटिसकेको छ र चालू पुँजी कर्जा निर्देशिकामा परिमार्जन पनि भइसकेको छ तर कर्जा गएको छैन । कर्जा प्रवाह बढाउनु पर्ने माग र आवश्यकताको बारेमा नेपाली समाज र जनजीवनतिर फर्केर हेर्दा म त नेपाली समाज कर्जामा डुबेको देख्छु । गाउँगाउँका साना किसान र श्रमजीवी वर्ग लघुवित्त र सहकारीको ऋणमा डुबेका छन् ।

रणबहादुरको साँढे र नेपालको अर्थतन्त्र

राजा रणबहादुर शाह साँढेका सोखिन थिए । साँढेका नाममा गुठी र हेरचाहका लागि मान्छे राखेका थिए । उनी आफैं पनि साँढेको सह्यार गर्थे । एकपटक उनको एउटा प्रिय साँढे बिरामी परेछ । दरबारको प्राङ्गणमा नै त्यो साँढेलाई राखिएछ र उपचारका लागि वैद्यहरू बोलाइएछ । वैद्यहरू पनि साँढेको उपचारका लागि त्यहीं बसेर अहोरात्र खटेछन् । एकएक घण्टामा साँढेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिन राजासमक्ष पुग्नुपर्ने आदेश रहेछ र त्यसको लागि वैद्यहरू पालैपालो जाँदा रहेछन् । साँढे निको हुने अवस्थामा थिएन तर राजालाई साँचो कुरा सुनाउन सकिने कुरा पनि थिएन । ‘अवस्था स्थिर छ’, ‘खासै बिग्रन दिएका छैनौ’, ‘उपचारमा कुनै कसर बाँकी राखेका छैनौ’, ‘ म बाँचुन्जेल साँढेलाई केही हुँदैन’ जस्ता आश्वासनका कुराहरू भनेर वैद्यहरू फर्कंदा रहेछन् । यस्तैमा साँढे मरेछ । अब साँढे मरेको जानकारी लिएर राजाकहाँ कसरी जाने ? उनले तत्काल मृत्युदण्डको आदेश दिँदैनन् भन्ने आधार केही थिएन । उनको व्यवहार कसैले अनुमान गर्न सक्दैनथ्यो । रणबहादुरका काम र व्यवहारलाई हेरेर कतिपय इतिहासकारहरूले उनलाई लहडी भनेका छन् । राजा भएकाले लहडी कहलाइए, जनता भएका भए त बौलाहा ठानिन्थे होलान्  । तैपनि कसैले त जानै पर्थ्यो । जुन वैद्यको जानकारी दिने पालो परेको थियो उनी आफ्नो ज्यान माया मारेर राजाकहाँ पुगेछन् । राजालाई उनले भन्न सुरू गरेछन् – साँढेको आँखा, मुख,

बाउले राखेको लोटा र हाम्रो देशका मुद्दा

यो कुरा भने घरमा धारा र वास बेसिनको जन्म हुनुभन्दा अघिको हो । खाना खानुअघि हात धुन लोटामा पानी दिइन्थ्यो र खानापछि मुख चुठ्न पनि लोटामा पानी लिएरै बाहिर आइन्थ्यो । हात धोएर वा मुख चुठेर खाली भएको लोटा कता राख्ने भन्ने ठाउँ निश्चित हुँदैनथ्यो । आफूले उपयुक्त देखेको कुनै पनि ठाउँमा राख्न सकिन्थ्यो । त्यसरी राखेको लोटा भित्र र बाहिर ओहोरदोहोर गर्ने बाटोमा पर्‍यो भने चाहिं मानिस लोटामा अल्झिने र ठेस लाग्ने हुनसक्थ्यो । एक पटक छोराले राखेको लोटामा बाउ चाहिं अल्झिएछन् । अनि उनले छोरालाई गाली गरेछन्, ‘बाटोमा लोटा किन राखेको ?’ भनेर । भोलिपल्ट फेरि बाउले नै त्यही ठाउँमा लोटा राखेछन् र त्यसमा यो पल्ट चैं छोरो अल्झेछ । बाउले आफूले गलत ठाउँमा लोटा राखेको भनी गल्ती स्वीकार गर्लान् कि भन्ने छोरालाई लागेको रहेछ । हो पनि, अघिल्लो दिन त्यहीं लोटा राख्दा उसले गाली खाएको थियो । बाउले भने उल्टै ‘आँखा हेरेर हिंड्नु पर्दैन ?’ भनेर छोरालाई गाली गरेछन् । लोटा राख्दा पनि गाली, त्यही ठाउँमा अरूले राखेको लोटामा अल्झिँदा पनि गाली । अनि बाउले चाहिँ जहाँ लोटा राखे पनि उनकै डाको ठुलो । भनिरहनु नपर्ला, यस कथामा बाउ शक्तिमा रहेको पक्ष हो भने छोरो शक्तिहीन पक्ष । अचेल कसले गरेको काम गल्ती हो र कसले गरेको

भेनाको टेपरेकर्डर र खुर्कोटको बाटो

म सानै छँदा गाउँकी दिदीको बिहे भो । टाढाबाट आएका जन्ती नयाँ खालको बेन्डबाजा लिएर आएका थिए । बिहे पनि धुमधामले नै भएको थियो । त्यो वेला दाइजोमा टेपरेकर्डर दिने चलन थियो र त्यो दिनु वा पाउनु प्रतिष्ठाको विषय थियो । ती भेनालाई पनि टेपरेकर्डर दाइजो दिइएको थियो । केही दिनपछि दिदीभेना हाम्रो गाउँ अर्थात ससुराली आए । दुरान फर्काउन आएका रहेछन् । दुरान फर्काएर गए पनि । फेरि पन्ध/बीस दिनमा उनी ससुराली आए । नयाँ ज्वाइँ आए होलान् भनेर कसैले वास्ता गरेनन् । यसरी पटकपटक ससुराली आउन थालेपछि गाउँमा कुराकाट्ने पनि देखिन थाले । कतिले भन्न थाले- यिनको कमाइधमाइ केही रैनछ । टेपरेकर्डरको ब्याट्री फेर्न ससुराल आउँदा रहेछन् । नेपालका राष्ट्रिय राजमार्गहरू विभिन्न देशको सहयोगमा बनेका हुन् । यहाँ चर्चा गर्न खोजिएको खुर्कोटको बाटो अर्थात् बिपी राजमार्ग जापान सरकारको सहयोगमा बनेको हो । यो राजमार्गले काभ्रेपलान्चोक रामेछाप र सिन्धुली जिल्लाका दुर्गमस्थानलाई सुगम बनायो । पूर्वी नेपालतर्फको यात्रा पनि छिटो र सजिलो भयो । तर जब यो बाटो बिग्रिन्छ अनि हामीलाई आपत् पर्छ । बहत्तर सालको भूकम्पले बिगारेको यो राजमार्ग जापान सरकारले नै बनाइदिएको थियो । असोजको दोस्रो साता आएको बाढीले यो राजमार्गलाई फेरि बिगारेको छ । फेरि पनि हामीमा यो राजमार्ग आफैंले मर्मत गर्न सक्ने क्षमता छैन । हामी

किस्सा सोमरसको: उहाँको कहानी, मेरो जुबानी

भारतीय नाटक र सिनेकर्मी पीयुष मिश्राको “तुम्हारी औकात क्या है पीयुष मिश्रा” पढें । यो उनको औपन्यासिक आत्मकथा रहेछ । अनेक विशिष्ट प्रतिभा हुँदाहुँदै पनि विभिन्न कारण पछाडि परेका पीयुष आफ्नो कामले गति लिएको अवस्थामा रक्सीको नराम्रो लतमा पर्दारहेछन् । रक्सीको लतबाट परेको असर र त्यसबाट मुक्ति पाउन उनले गरेको प्रयास पनि यो किताबमा रहेछ ।  पीयुषले आफूलाई यो किताबमा कतै संताप र कतै हेमलेटको रूपमा प्रस्तुत गरेका छन् । रक्सी नेपालको राष्ट्रिय पेय भइसकेको छ । यसको रसपान गर्नेदेखि यसले ल्याउने भुक्तमान सहने नेपालीको संख्या दिनानुदिन बढिरहेको छ । हामीले रक्सी खाने कुरा गरे पनि कतिपयलाई त रक्सीले नै खाइदिन्छ । पिउने आदत भएका मानिसहरूको स्वास्थ्य, परिवार, सम्पत्ति र प्रतिष्ठा रक्सीको कारणले समाप्त हुँदै गरेको हामीले हाम्रो आँखाअगाडि देखेका छौं । रक्सीको नशामा डुब्न लागेका मानिसले गरेको मुक्तिको प्रयास रहेको आत्मकथाको अंश यथाशक्ति नेपालीमा उल्था गरेर यहाँ राखेको छु । यसबाट कसैलाई प्रेरणा मिले म आभारी हुनेछु । मदिराको नशाको पोखरीमा जो डुब्नु भएन, उहाँलाई नमस्कार छ; जो पौडिरहनुभएको छ, उहाँलाई सलाम छ; र, जो डुब्न लाग्नुभएको छ उहाँलाई किनारा मिलोस् भन्ने कामना छ । ***************************************************** उसले ओछ्यानमा सुतीसुती आँखा खोल्यो । डाक्टर भनिरहेका थिए – “धन्य, हड्डी भाँच्चिएको छैन । चोट पनि धेरै लागेको छैन । तर तीन

छानबिनमा प्राथमिकताको प्रश्न

त्यति वेला नेपाल राष्ट्र बैंकमा कार्यरत नै थिएँ । एउटा कलेजले आयोजना गरेको कार्यक्रममा बैंकको तर्फबाट जानु पर्‍यो । विषय त विद्युतीय व्यवसायमा उद्यमशीलताको अवसरसँग सम्बन्धित थियो । तर सवाल जवाफलको सेसनमा क्रिप्टो करेन्सीसँग सम्बन्धित प्रश्न आयो । मैले ‘नेपालमा क्रिप्टो करेन्सीको कारोबार अवैध हो’ भने । हुन त त्यो वेला क्रिप्टो करेन्सीको कारोबार नगर्नु भनेर सूचना मात्र जारी गरिएको रहेछ, क्रिप्टो करेन्सीको कारोबारलाई अपराध नै मानिने कानुन आइसकेको रहेनछ । मैले जानकारीमूलक सूचना र निषेधात्मक कानुनको भेद छुट्याउन नसकी अवैध भनेको रहेछु । हुन पनि मुद्रा निष्काशन गर्ने निकाय केन्द्रीय बैंकको प्रतिनिधि भएर गएको अवस्थामा समानान्तर मुद्रालाई छुट दिने कुरा भन्नु ठिक पनि थिएन । पछि त यससम्बन्धमा अध्ययन भएर यसको कारोबारमा रोक लगाउने प्रतिवेदन आयो, रोक पनि लगाइयो र केही व्यक्ति कारवाहीको दायरामा पनि आए । मैले नेपालमा क्रिप्टो करेन्सीको कारोबार अवैध हो भनेपछि हलमा हलचल जस्तै भयो । शायद सहभागीहरू नै त्यो कारोबारमा संलग्न थिए कि ! कसैले सोध्यो ‘के त्यसो भए प्रहरीले क्रिप्टो कारोबार गर्नेलाई पक्राउ गर्छ ?’  म राष्ट्र बैंकको मान्छे थिएँ । राष्ट्र बैंकको कुरो पो कनीकुथी भन्न सक्थें । अब प्रहरीको कुरा कसरी गर्नु ?  मैले भने ‘त्यो प्रहरीको प्राथमिकताको कुरा हो । समाजमा यति धेरै किसिमका अपराध छन् । ती अपराधमा संलग्न

हाम्रो टोलको चोर

“चोर….. चोर…. चोर….” यो आवाज सुनेर घरको बार्दलीमा आएर हेर्दा नेपाल सरको घरसँग जोडिएको खाली जग्गामा मानिस जम्मा भइसकेका थिए । हेर्दाहेर्दै त्यहाँ छिमेकीहरूको भीड नै लाग्यो । म पनि त्यतै लागें । “हेर्नुस् न ! यो त मेरो घरको कम्पाउन्डमा पसिसकेको थियो । पानी तान्ने मोटर चोर्न आएको होला ।” नेपाल सरले भने । भीडको बीचमा एउटा केटो घोसेमुन्टो लगाएर उभिइरहेको थियो । “हैन, के भएको यस्तो ? समसाँझै चोरी लाग्न थाल्यो हाम्रो टोलमा ।” कसैले भन्यो । हुलमुलको फाइदा लिएर एकदुई जानाले त्यो केटोमाथि हात हाल्न शुरू गरेका थिए । एनजिओमा काम गर्ने बाबुरामले कानून हातमा लिनुहुँदैन भनेर रोके । “त्यसै चोर नभन्नु न ! म चोर हैन ।” कुटपिटबाट जोगिएपछि उसमा केही साहस आएजस्तो थियो । “अनि मेरो कम्पाउन्डबाट हाम फालेको हैन तँले ?” नेपाल सर कड्किनु भयो । “गल्लीको कुकुरले टोक्न खोजेर पो त्यहाँ चढेको थिएँ त ! त्यसै आरोप लगाउनु हुन्छ ! मान्छे हेर्नु न ! पल्लो टोलमा बस्छु । स्नो ह्वाइट कलेजबाट प्लस टु गरेको छु । विदेश जान खोजेको नमिलेर पो यहीं अड्किरहेको छु । तपाईंहरू त्यसै…” मानिसहरूले ऊतिर ध्यान दिए । भेस्ट, पाइन्ट र जुत्ता त राम्रो लाएको रहेछ । अनुहार हेर्दा पनि खातापिता परिवारको जस्तो देखिन्थ्यो । बोली पनि त राम्रो

दूरदर्शी विकास

“पिच त सक्दिन हजुर ! दाम नै साह्रै कम राखेको छु । ग्राभेल चैं मै हालिदिन्छु । बिहानै झललल घाम लाग्छ । पानीको योजना आउँदैछ । बिजुलीको पोल पनि गाडिदिन्छु । जग्गा बिक्दै जान्छ, विकास हुँदै जान्छ । रिङरोड पुगेपछि जता जान पनि बस पाइहालिन्छ । रिङरोडबाट दुई किलोमिटर भित्रको यस्तो राम्रो जग्गा आनाको बाइस लाखमा अरू कहाँ पाइन्छ ? हैन त, हजुर ?” मोहनदाइले यसै भनेर सिर्जना टोलका प्लटिङका धेरैजसो घडेरी बेचिसकेका थिए । जग्गा किनेर मानिसले बिस्तारै घर बनाउन थाले । जग्गा नबिकुन्जेल मोहन दाइले अलिअलि ग्राभेल झार्दै थिए । दुई तिहाइ जति घडेरी बिकेपछि मोहन दाइले वास्ता गर्न छोडे । टोलवासीको गुनासो र चुनौती चाम्रा मोहनदाइले सजिलै झेले । “मैले जति गर्नु गरें, अब नगरपालिकामा जानुपर्छ । बरु म पनि सँगै जान्छु ।” मोहन दाइ तर्किए । टोलबासीको ध्यान अब मोहन दाइकोबाट हटेर वडा अध्यक्षतिर सोझियो । “यो नगरपालिका भए पनि धेरै सधानस्रोत भएको नगरपालिका हैन । गाउँ जस्तो छ, कर उठाउने ठाउँ छैन । अब तपाईंहरू नगरपालिकामा बजेट ल्याउन प्रयास गर्नुहुन्छ भने म पनि सहयोग गरुँला, कसलाई भेट्नुपर्छ भेटौला । म पनि सँगै जान्छु बरु । तपाईंहरूकै भोटले म चुनिएको छु । तपाईंहरूको कुरामा म नाइँनास्ति गर्दिन । लु भन्नुस् म के गरौं ।” वडाध्यक्षले साह्रै

मेरा बा र म

छुट्टै अस्तित्वको गर्व मडारिन्छ घरिघरि           उनको रगत नै बग्छ नसाभित्र सँधैभरी आनुवंशिक छापहरू बोकेको छु जिउभरी उनकै चेतना फैलिन्छ सुवासझैं मनैभरी । ताते गराई हामीलाई सहारा हाम्रै चाहनु प्राण दिई सन्तानलाई काखमा आँखा चिम्लिनु दुःख झेली खुशी दिनु र फेरि केही सुख चाहनु नियतिको पाङ्ग्रा यस्तो घुम्नु अनि घुमिर‘नु । धूमिल स्मृतिमा छन् अनेक पल स्नेहसिक्त केही त लागेको थियो होला कि उहाँलाई तिक्त कति पल डुबे होलान् विस्मृति पोखरीभित्र फेरि पनि त ताजै छ भावना स्मृति चित्र । सधैं छाया सधैं माया भाका फरक परे पनि खोज्ने प्रगतिको बाटो बाधा अनेक आए पनि प्रेरणा दिइरहने सधैं साथमा फुर्तिलो बन्ने सन्तानको हाँसो खोज्न आँखा सधैं ओछ्याउने । अतीतको सम्झनामा उहाँको साथ पाउँछु भोलिका यात्रामा फेरि आशिर्वादको साथ हुन्छु सँगै कहाँ रहियो र उहाँ उता गएपछि भेट होला फेरि म नै यताबाट हिँडेपछि । ShareTweet0 Shares

पञ्चावती सद्भाव समाजद्वारा पुरस्कार वितरण

पञ्चावती सद्भाव समाजले २०८१ साल जेठ महिनाको पहिलो साता उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिकास्थित श्री पञ्चावती माध्यमिक विद्यालय, श्री माध्यमिक विद्यालय छिन्द्रिङखोला बर्रे र श्री नमुना माध्यमिक विद्यालय भलायडाँडा खाटडाँडामा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्‍यो । सो अवसरमा पञ्चावती सद्भाव समाजको तत्त्वावधानमा विभिन्न महानुभावहरूले स्थापना गर्नुभएका विभिन्न पुरस्कारहरू सम्बन्धित विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरिएको थियो । २०८१ साल जेठ ७ गते श्री माध्यमिक विद्यालय छिन्द्रिङखोला बर्रेमा काशीनाथ-पुष्पा-माला पुरस्कार वितरण गरियो । सो विद्यालयका  स्थापनाकालदेखि नै अध्यापन गर्नुहुने श्री काशीनाथ काफ्ले एवं पुष्पा काफ्ले र माला काफ्लेको सम्मानमा उहाँहरूका सन्ततिहरूले यो पुरस्कारको स्थापना गर्नुभएको हो । यो पुरस्कार सो विद्यालयमा अध्ययनरत कक्षा ८ मा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने एक जना छात्रा र एक जना छात्रलाई प्रदान गरिन्छ । २०७९ सालको ८ कक्षाको परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गरी कविता मगर र छात्रतर्फ सर्वोत्कृष्ट अङ्क प्राप्त गरी उमेश परियारले यो पुरस्कार प्राप्त गर्नुभएको थियो । यसैगरी २०८० सालको पुरस्कार भने सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने चण्डिका लामा र छात्रतर्फ सर्वोत्कृष्ट अङ्क प्राप्त गरी गोविन्द थापालाई यो पुरस्कार प्रदान गरिएको थियो । यो पुरस्कारको राशि रु. ५,०००/- रहेको छ । यसै समारोहमा २०८० सालको वार्षिक परीक्षामा विद्यालयभरिमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने छात्रा हेलरी तामाङलाई सो विद्यालयका पूर्वप्रधानाध्यापक तथा पञ्चावती सद्भाव समाजका सदस्य दीनानाथ दाहालले पुरस्कृत गर्नुभएको थियो