विदेश यात्रा मजस्ता मानिसको लागि सजिलो कुरा होइन । पहिलो त यो महँगो छ । घरका दुई जना एक हप्तामात्र विदेश घुम्न चाहिने पैसाले करिब वर्षदिन खान पुग्छ । यो चानचुने खर्च होइन । फेरि रिटायर भएर बसेको अवस्थामा आम्दानीको स्रोत केही छैन । दोस्रो, हामीलाई भिसा दिन हत्पति कोही तयार हुँदैन । अमेरिका र युरोपको भिसा पाउनु दुर्लभ प्रायः छ । एशियाका पनि सम्पन्न देशहरूले निकै कडाइँ गरेका छन् । नेपालीहरूले अक्सर घुम्ने थाइल्यान्ड र युएई (दुबई) मा पनि भदौमा भएको आन्दोलनपछि भिसामा कडाइ भएको बुझिन्छ । यसका अतिरिक्त खानपान नमिल्ने जस्ता समस्या पनि हुनसक्छन् । यस्तो परिस्थितिमा विदेश यात्राको तारतम्य मिलाउनु मेरा लागि सजिलो थिएन, छैन । जागिरबाट अवकाश पाएको र अवकाशको पत्रसँगै केही रकम पनि हात परेको अवसरमा हामी दुई जनाले पहिलो पटक विदेश यात्रा गरेका थियौ । मलेसिया, सिंगापुर र इन्डोनेसियाको केही दिने भ्रमण गरेका थियौं । त्यो रमाइलो भ्रमणको समाप्तिमा दुईचार वर्षको अन्तरालमा भए पनि यस्तो भ्रमण जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थियौं । तर त्यो पूरा हुनु सजिलो थिएन । पैसा सकिँदै गयो । समय तानिदै गयो । भारतका तीर्थहरू घुम्ने मौका मिले पनि ठुलो प्लेन चढ्ने चाँजोपाँजो चाहिँ मिलेन । त्यसपछि त झन् घर बनाउने काम आइलाग्यो । त्यसमा पनि एक वर्षभन्दा बढी समय
Author: KP Acharya
अनुभव र अवसर
समाजमा विभिन्न किसिमका मानिसहरू रहन्छन् । समाजमा रहेका मानिसलाई विभिन्न तरिकाले विभाजन एवं वर्गीकरण गर्नु र तिनलाई विभिन्न खेमामा सङ्गठित गर्नु नै सायद राजनीति हो । राजनीति विभाजनको खेल हो । नेपालमा पनि विभाजनका विभिन्न शृंखला चलिरहेका छन् । वर्ग विभाजनका शृंखला, जात, धर्म, वर्ण, क्षेत्र, लिङ्गका आधारमा विभाजनका शृंखला र अहिले आएर नयाँ र पुरानाबिचको विभाजनको शृंखला । नयाँ दल तथा शक्तिहरू एकातिर संगठित र एकीकृत हुँदैछन्, अर्कातिर पुराना दलहरू पनि नयाँ रणनीति अख्तियार गर्दैछन् । पुराना दलमा पनि नयाँ व्यक्तिलाई अवसर दिने, नयाँ नेतृत्त्व छान्ने लहर चलिरहेको छ । जेन-जी आन्दोलनपछि पुरानाले केही गर्न सकेनन्, अब पालो नयाँको भन्ने भाष्य जोडतोडले अगाडि बढिरहेको छ । दोस्रो जनआन्दोलन र नयाँ संविधान निर्माणपछि जनतामा छरिएको विकासको आशा पूरा हुन नसकेको हुनाले यो भाष्यको सिर्जना भएको हो । निरपेक्षरूपमा हेर्दा हामी विकासको बाटोमा छौं । बाटाघाटा, अस्पताल, स्कुल बनेका छन् । सापेक्षरूपमा हेर्ने हो भने हामी आफ्ना समकक्षीहरूभन्दा तल खस्केका छौं । कुनै समयमा भारत र चीनसँग तुलना हुने हाम्रो आर्थिक अवस्था अहिले तुलना हुन नसक्ने स्थितिमा पुगिसकेको छ । हाम्रो इतिहासको गौरव र हाम्रो प्राकृतिक सम्पदाको महिमा गानमा मग्न भएर बसिरहेका छौं, हाम्रा आफ्ना पौरखका गीत रच्न सकेका छैनौं । तीव्र गतिमा अगाडि बढिरहेको विश्वको तुलनामा हाम्रो गति सुस्त छ,
नो, आई क्यान्ट स्पिक इङ्लिस !
म भरखर नेपाल राष्ट्र बैंकको सेवामा प्रवेश गरेको थिएँ । थापाथलीमा रहेको बैंकिङ कार्यालयमा काम गर्थें । आई. ए. पास गरेको थिएँ र सायद रत्नराज्य कलेजमा बिहानीको सत्रमा बी. ए. पढ्दै थिएँ । नयाँ जागिर थियो, त्यो पनि सबैले राम्रो मानेको कार्यालयमा । त्यसअघि सिन्धुपाल्चोलको चौतारास्थित जिल्ला प्रशासन कार्यालयमा सह-लेखापाल थिएँ । अब काठमाडौंमा बसेर जागिर खाने मौका मिलेको थियो । पढाइलाई अघि बढाउन पाएको थिएँ । खुशी र उत्साहले म भरपूर थिएँ । एक दिन कार्यालयबाट अनुमति लिएर बाहिर निस्केको थिएँ । मलाई रत्नपार्कसम्म पुगेर आउनु थियो । म बैंकिङ कारोबार गर्ने नभई रेकर्ड राख्ने र बैंक स्टेटमेन्ट तयार पार्ने काममा रहेको हुनाले केही समय बाहिर निस्कन गाह्रो थिएन तर आफ्नो काम सक्नु नै पर्थ्यो । कार्यालयबाट बाहिर निस्केर राम भण्डार कट्नासाथै एक जना बिदेशीले मलाई रोके र सोधे, ‘क्यान यु स्पिक इङ्लिस् ?’ मैले उनको प्रश्न भुइँमा खस्न नपाउँदै जवाफ दिएँ, ‘नो, आइ क्यान्ट स्पिक इङ्लिस !’ यति भनेर म आफूभन्दा अग्ला र बलिया ती विदेशीलाई उछिनेर फटाफट अगाडि बढें । केही कदम हिँडेपछि मलाई गल्ती महसुस भयो । मैले अंग्रेजी भाषामा सोधिएको प्रश्न भलिभाँती बुझेर अंग्रेजी भाषामा नै अंग्रेजी भाषा जान्दिन भन्ने जवाफ दिएको थिएँ । म जस्तो अप्ठेरो मानिस को हुन सक्थ्यो ? मैले त्यति वेलासम्ममा
कठिन प्रश्नको मौन सामना
नागरिकता बनाउन खोज्दा आइपरेका प्रशासनिक झमेला सहन गर्न नसकी बर्दियामा एक विवाहित महिलाले आत्महत्या गरिन् । केही समयपछि उनका पिताले पनि आत्महत्या गरे । मुलुकमा एकातिर जनमुखी प्रशासन, मुस्कानसहितको सेवा, गाउँगाउँमा सिंहदरबार जस्ता नारा गुञ्जिरहेको छ, अर्कोतिर जनताको यो हदसम्मको बिजोक छ । हुन पनि नेपालमा यस्ता सामाजिक समस्या र प्रशासनिक जटिलता छन् जसको उत्तर पाउन हरकोहीलाई कठिन छ । म पनि आज आफूले देखेको जटिलता प्रस्तुत गर्दैछु । म त्यो समयमा विराटनगरको नेपाल राष्ट्र बैंकमा कार्यरत थिएँ । मेरो काम पुराना, च्यातिएका र जलेका नोटहरूको सटही स्वीकृति दिनु पनि थियो । सामान्य तरिकाले पुराना भएका नोट त काउन्टरबाटै साटिन्थे । विवादास्पद नोटहरूको बारेमा मैले टुङ्गो लगाउनु पर्थ्यो । म क्यासियरको कोठामा बैकबाट आएको पैसा व्यवस्थापनको काम गरिरहेको थिएँ । मलाई कार्यकक्षमा आउन भनेर कसैले खबर ग¥यो । म आफ्नो काम छिटो सकेर कार्यकक्षमा पुग्दा एक जना महिला मलाई पर्खेर बसिरहेकी रहिछन् । ‘के थियो तपाईको ?’ मैले सोधें । ‘पैसा साट्नुपर्ने थियो ।’ उनले भनिन् र प्लास्टिकको थैलो अगाडि बढाइन् । खोलेर हेर्दा एक हजार र पाँच सयका अधकल्चा नोटहरू थैलोमा थिए । फाटेका नोटहरू सटहीका लागि ल्याउँदा सिङ्गो नोट बराबरको खाली कागज नोटको पछाडि टाँस्नुपर्छ भनेर कसैले भनिसकेको रहेछ । ती नोटमा कागज टाँसिएका थिए । ‘पैसा त
मतदानका लागि रूदाने चेकलिस्ट
रूदाने हामी कसैका लागि नयाँ नाम होइन । वि.सं. २०५६ सालमा यस धरतीबाट विदा भएका रूदाने (रूपचन्द्र बिष्ट) ले २०१५ सालको चुनावदेखि सायद आखिरी चुनावसम्ममा भाग लिए (सबैमा होइन) । स्नातकतर्फ र जनताबाट निर्वाचित राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनले पञ्चायत र राजतन्त्रविरूद्ध दुन्दुभी बजाएका थिए । उनी प्रधानपञ्च बनेर गाउँको विकास गरे, प्रधानाध्यापक बनेर शिक्षाको ज्योति फैलाए । समाज सुधारका अनेक प्रयोग र प्रयास गरे । थाहा आन्दोलन चलाएर उनले नेपाली समाजको तल्लो तहमा समेत चेतना फैलाएका थिए । रूदानेले नेपालको राजनीतिमा केही मानकहरूको स्थापना गरेका छन् । उनका सफलता र असफलताहरूलाई एकातर्फ राखेर हेर्दा पनि जनताको हित र चेतनाको विकासप्रतिको प्रतिबद्धता, सम्झौताहीन संघर्ष र विशिष्ट जीवनशैलीका आधारमा उनको काम कारवाहीलाई अनुकरणीय मान्नैपर्छ । आफूले चुनेर पठाएका नेताहरूले नै जनताहरूलाई एक वा अर्को प्रकारले धोका दिएको अनुभूति कतिपय जनतामा विद्यमान छ । देशले विकासको गति लिन नसकेको बरू भ्रष्टाचार र कुशासनको जगजगी भएको सोच आम नेपाली जनमानसमा छ । यही सोचको पृष्ठभूमिमा नै जेन-जी आन्दोलन भएको थियो । जेन-जी आन्दोलनका विभिन्न सीमा र कमजोरी हुँदाहुँदै पनि यही आन्दोलनको कारण नेपालमा चाँडै अर्को चुनाव भइरहेको छ । यो चुनावमा असल नेता छान्न सघाउ पुग्ला भनेर मैले रूदानेको राजनैतिक दर्शन र व्यवहारमा आधारित भएर केही बुँदा सुझाएको छु । सायद सही उम्मेदवारलाई
अदृश्य हातहरूको खोजी
भदौ २३ गते काठमाडौं र २४ गते सिङ्गो नेपाल आन्दोलनको चपेटामा रह्यो । त्यस क्रममा अहिलेसम्म ७२ जनाले मृत्युवरण गर्नुपरेको छ (म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु), घाइतेको संख्या ५०० भन्दा बढी छ (म शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु) । सार्वजनिक, सरकारी, निजी सम्पत्तिको अपार नोक्सान भएको छ । त्यही आन्दोलनको जोडमा श्री सुशीला कार्की (पूर्वप्रधानन्यायाधीश) को नेतृत्वमा नयाँ सरकार गठन भएको छ । संसद विघटन भएको छ र आउँदो फागुन २१ गते नयाँ निर्वाचन तोकिएको छ । संविधानका केही धाराहरू निस्तेज भएका छन् । सार्वजनिक जीवनका चर्चित व्यक्तिहरू अहिले ‘भूमिगत’ भएका छन् । दुई दिन चलेको आन्दोलनले नेपालमा ठुलो फेरबदल ल्याइएदिएको छ । यो आन्दोलन जेन-जी पुस्ता (सन् १९९७ देखि सन् २०१२ भित्र जन्मिएका युवाहरू) ले आह्वान गरेको थियो । उनीहरूले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूतिको माग राखेर आन्दोलन गरेका थिए । उनीहरूले सत्ता र शक्तिको आडमा नेताका सन्तानहरूले बिताइरहेको बिलासी जीवनशैलीको विरोधमा सामाजिक सञ्जालमा ‘नेपोबेबी’ आन्दोलन चलाइरहेका थिए । त्यही समयमा सरकारले फेसबुक, एक्स (ट्वीटर), युट्युव, ह्वाट्स्एप लगायतका सामाजिक सञ्जालमा लगायो (भदौ १८ देखि) । सरकारले सर्वोच्च अदालतको आदेशका कारण यी सामाजिक सञ्जालमा रोक लगाएको भनिरहेको थियो तर सरकारका काम कारवाहीका बारेमा यी सञ्जालमार्फत हुने आलोचना रोक्न यसो गरिएको आम बुझाइ थियो । सामाजिक सञ्जाल नियमन गर्ने कानुन (ऐन)
कुण्ठाग्रस्त गुरु, युद्धरत चेला
महाभारतको युद्धमा भारतवर्षको सबै वैभव विनाश भयो । ज्ञान र विज्ञानका शाखा प्रशाखाहरू पनि धूमिल भएर गए । एक से एक राजामहाराजा, वीर महापुरूष, गुरु र आचार्यहरू त्यो युद्धमा मारिए । युद्धको केही समयपछि यदुवंशीको पनि पतन भयो । श्रीकृष्ण पनि मारिए । द्वापर युगको अन्त्य भयो र कलिको प्रारम्भ भयो । यति भयावह युद्धको कारण के थियो ? धृतराष्ट्रलाई राजा नबनाएर उनका भाइ पाण्डुलाई राजा बनाउने समयमा भएको चतुर्याइँ ? आखिर पाण्डुको निधनपछि त उनै धृतराष्ट्र राजा हुन योग्य भए त ! पाण्डुको असामयिक मृत्युले निम्त्याएको दरबारी षडयन्त्र ? धृतराष्ट्र राजा भएपछि त स्वाभाविक रूपमा दुर्योधनलाई युवराज घोषित गरिनुपर्ने हो नि ! किन र कसरी युधिष्ठिर युवराज घोषित भए ? शकुनीको कपट र उनको मायावी पाशा ? द्रौपदीको अद्भूत सौन्दर्य र उनको कठोर वचन ? आफ्ना फुपूका छोराहरू हस्तिनापुरका राजा हुन् भन्ने श्रीकृष्णका स्वार्थ ? अनेक कुरा हाम्रो मनमा आउँछन् । हुन पनि कुनै पनि घटनाका पछाडि अनेक कारण हुन्छन् – तात्कालीक कारण, दीर्घकालीक कारण, आर्थिक कारण, सामाजिक कारण, मनोवैज्ञानिक कारण आदि । एउटा हातले ताली बज्दैन पनि । कतै महाभारत युद्धको कारण हस्तिनापुर दरबारमा दिइएको शिक्षा त थिएन ? यसको अन्तरकुन्तरमा गुरु द्रोणाचार्य र उनको शिक्षादीक्षाको भूमिका त थिएन ? म यस ब्लगमा त्यसका सम्भाव्यताबारे केही चर्चा गर्नेछु
बाको पोस्टमार्टम रिपोर्ट
आजभन्दा उनन्चालिस वर्षअघि बाको देहावसान हुँदा म अठार वर्षको थिएँ । त्यति वेलासम्म घरको सारा जिम्मेवारी बाले नै सम्हालिरहनुभएको थियो । खेतीपाती र गाईवस्तुको कामचाहिँ उहाँले केही वर्षअघिबाट छोड्नुभएको थियो । किनमेल गर्न लाहान जान पनि छोड्नुभएको थियो । तर घरको रिनधन उहाँकै थाप्लोमा थियो, परिवारको अन्तिम जिम्मेवारी उहाँकै काँधमा थियो । लाहानको कपडा व्यापारीसँग भएको उधारो खातामा पनि उहाँकै नाम थियो होला । उहाँ जति कमजोर हुनुभएको भए पनि हाम्रो लागि उहाँ दरिलो भर हुनुहुन्थ्यो । बालाई गुमाउनु पर्दा स्वाभाविकरूपमा नै हामी सबै पिरमा थियौं, चिन्तित बन्यौं, रोयौं, करायौं । बालाई गुमाएको केही समयपछि हामीले चित्त पनि बुझायौं । “बा पहिलादेखि नै कमजोर हुनुहुन्थ्यो, बुढो हुनुभयो, बिरामी पर्नुभयो, जानुभयो” भन्ने सोच्यौं । आज सम्झन्छु, त्यहाँ चित्त बुझाउने ठाउँ नै रहेनछ, बा बुढो हुनुभएको रहेनछ । आज म करिबकरिब बा स्वर्गवासी हुनुभएको उमेरमा छु र अझै समय छ भनेर सोचिरहेको छु । मेरो के कुरा, म भन्दा बीसपच्चिस वर्ष जेठा मानिसहरू हामी बुढा भएका छैनौ भनेर रेडियो टेलिभिजनमा बोलिरहेका छन् । बाको त के उमेर भएको रहेछ र ! उचित सह्यारबिनाको बाल्यकाल, संघर्षपूर्ण युवावय, कृषिकर्मका कहिले नसकिने परिश्रमले गाँजेको गृहस्थी ! यिनै अप्ठेरा र असजिलाहरूले बालाई असमयमा नै बुढो बनाइदिएको रहेछ । उसो त, सानो बच्चालाई त आफूभन्दा जेठो जति
बलिदानका कथाहरू पढ्दा
बोधकुमार घिमिरेको कथा सङ्ग्रह ‘बलिदानका कथाहरू’ पढें । नातामा दाजु भए पनि मित्रवत् सम्बन्ध भएकाले यो किताब उपहारस्वरूप नै पाएको थिएँ । साहित्य सिर्जनामा लामो समयदेखि तल्लीन रहेका लेखकको यो पहिलो पुस्तकाकार कृति हो । यसका लागि म लेखकलाई बधाई दिन्छु । यस कथा सङ्ग्रहमा एघारवटा कथा छन् । यी कथाहरूले नेपाली समाजको सजीव चित्रण गरेका छन् । जनमानसमा रहेको विश्वास प्रकट गर्ने मिथक पनि यस सङ्ग्रहमा छ । कथानक यी कथाका कथावस्तु मूलतः सामाजिक यथार्थवादमा आधारित छन् । समाजमा भएका र हुनसक्ने घटनाका आधारमा कथानक बुनिएको छ । कल्पनाभन्दा पनि सत्यघटनाको प्रस्तुतिमा कथाकारको जोड रहेको छ । ‘अधुरो चाहना’, ‘अन्तिम दृश्य’, ‘आस्थाको अवसान’ र ‘पल्लो घरको बत्ती’ शीर्षकका कथामा समाजमा माओवादी ‘जनयुद्ध’ क्रियाशील हुँदा त्यसले समाज र व्यक्तिमा त्यसले पारेको असर र प्रभावको विहङ्गम चित्रण रहेको छ । ‘सेतो लुगा’ले एकातिर आफूलाई द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्छु भन्ने कथित क्रान्तिकारी व्यक्तिका रूढीग्रस्त मानसिकता र आडम्बर देखाएको छ भने अर्कोतिर सोच होइन बोली मात्र प्रगतिशील भएका कार्यकर्ताको दास मनोविज्ञान पनि उजागर गरेको छ । कथा संग्रहको शीर्षक ‘बलिदानका कथाहरू’ चयन गरेबाट लेखकले यिनै कथाहरूलाई प्राथमिकता दिएको देखिन्छ । ‘उदयचन्द्रको रथ’ र ‘दलमुखी’ मा उदयपुरगढी आसपास प्रचलित मिथकलाई कथाको आकार र स्वरूप प्रदान गरिएको छ । मिथक भए पनि पुस्तान्तरण हुन नसकेर
काजीमानको कायापलट
परिस्थितिले काजीमानलाई फेरि हर्कवीर साहुको आँगनमा पुर्यायो । काजीमानका पुर्खाहरू गोरखाबाट आएका हुन् । यिनका पुर्खा पृथ्वीनारायण शाहको फौजमा रहेछन् । अनि त्यो फौजले यहीँ गढी कायम गरेर बस्दा उनका पुर्खा पनि यतै बस्न थालेछन् । पहिला यिनीहरूको खेतीपाती प्रशस्तै थियो । भाइअंश लाग्दै गयो, खेतबारी बाँडिदै गयो, बिक्रीबट्टा हुँदै गयो । समयसँगै कुनै परिवार बलियो हुँदै जान्छ, कुनै परिवार कमजोर बन्दै जान्छ । काजीमानको परिवार कमजोर हुँदै गयो । हर्कवीरको आँगनमा पुग्नुको उद्देश्य पुरानै थियो, सापटी । साउँब्याज समयमा नै तिर्ने आश्वासन । गर्जो टार्नुपर्ने बाध्यता । समयले ठगेको बाहाना । बाइस वर्षको उमेरमा बिहे गरेर बाउसँग छुट्टिएपछि उसले गाउँमा होटल खोल्यो । अंशमा परेको एक कित्ता खेत बेचेर उसले होटल खोलेको थियो । गाउँमा बाटो खुलेको र मानिसको चहलपहल बढेकाले होटल चल्ने उसको आश थियो । बाहिरबाट आउने मानिसले यसो खाना खाजा खान्थे, जान्थे । बासै बस्नेगरी मानिस उति आउँदैनथे । बरू गाउँकै मानिसले उधारो खान्थे । बिस्तारै काजीमान आफू नै होटलको सबभन्दा ठुलो ग्राहक भयो । होटल सुक्दै गयो र बन्द भयो । “होटल चलेन, अब कुखुरा पालन गर्छु ।” काजीमानले नयाँ योजना ल्यायो । कुखुराको खोर बन्यो । गाउँपालिकाले कुखुराको खोरमा चाहिने चारो खुवाउने भाँडा लगायतका सामान अनुदान दियो । ज्वाइँले उद्यम गर्छन् भने सहयोग गरौं
