देवकोटाको सम्झनामा

(देवकोटाको जन्मजयन्ती सन्दर्भ) दिन र रात, जाडो र गर्मी, हिउँद र वर्षा गरी समयको पाँग्रा घुम्दै जान्छ । यसरी घुमेको समयको पाँग्रा दसैंमा आइपुग्छ, तिहारमा आइपुग्छ र  आइपुग्छ अरु चाडपर्व र सन्र्भहरुमा । यस्तै समयक्रमले सालिन्दा महाकवि लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६—२०१६) को जन्मजयन्ती पनि आउँछ । हरेक वर्ष लक्ष्मीपूजाको दिन मनाइने देवकोटाको जन्मजयन्तीको सेरोफेरोमा देवकोटालाई पढेकाले फेरि पढ्छन्, देवकोटालाई सुनेकाले फेरि सुन्छन्, देवकोटाबारे लेखेकाले फेरि लेख्छन्, बोलेकाले फेरि   बोल्छन् । भर्खर चेतना खुलेका किशोरहरुले पनि देवकोटाको व्यक्तित्व र कृतित्वको विराटस्वरुपको आभास पाउँछन् । देवकोटा नेपाली जनमनमा फेरि एकपटक आँधी, बिजुली र बाढी बनेर पस्छन् अनि नेपाली जनमानसलाई देवकोटामय बनाएर जान्छन् । घरमा अहोरात्र ट्युसन पढाउने देवकोटा परिवारका लागि सुनको फुल पार्ने कुखुरी थिए । उनले अहिले पनि पुस्तकको रोयल्टी कमाइरहेका छन । तर उनको घर मृत्योपरान्त उनको नामको देवकोटा संग्राहलयमा रुपान्तरित हुन सकेन । जहानियाँ शासनका विरुद्ध जन्मन लागेको नेपाली क्रान्तिको सुडेनी बन्न उनी वनारस गए । वनारसमा चारआनामा चारवटाका दरले कविता बेचे, चना खाएर गुजारा गरे । साहित्य अनुरागीका लागि उनी कविता लेख्ने मेसिन थिए । चुरोट कोसेलीमा कविता लेखेर उनले आफ्ना कैयौ आशामुखीहरुलाई सन्तुष्ट पारे । राजा महेन्द्रले उनलाई मन्त्री बनाए, करिब तीन महिना । घरमा बसेर पनि व्यवहारिक हुन नसक्नु, क्रान्तिका लागि घरबार त्यागे पनि क्रान्तिकारी नमानिनु, सत्तामा पुगे पनि शासकको कोपभाजन हुनु, प्रतिभासम्पन्न भए पनि पागल ठानिनु उनका

अवकाशप्राप्त जीवनको घोषणापत्र

सोह्र वर्षको उमेरबाट सुरु भएको मेरो जागिर–यात्रा २०७४ को चैतबाट पूर्ण भएको छ । मैले नेपाल राष्ट्र बैंकको सेवाबाट अनिवार्य अवकाश पाएको छु । नेपाल राष्ट्र बैंकमा २०४४ सालको चैतमा प्रवेश गरेको थिएँ र ३० वर्से सेवा अवधि पूरा गरी अवकाश पाएँ । राष्ट्र बैंकमा प्रवेश गर्नुअघि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा सहलेखापाल थिएँ । त्योभन्दा अघि विभिन्न आफ्नै गाउँ वरिपरिका तीन र रसुवाको एक गरी चारवटा विद्यालयमा थोरैथोरै समय पढाएको थिएँ । मैले अवकाशको लागि आफूलाई केही समयअघिबाट नै तयार गरिरहेको थिएँ । तर जागिरको अन्त्यमा तीस वर्षे सेवा अवधिको आधारमा हुने अनिवार्य अवकाशको प्रावधान खारेज हुने हल्ला व्यापक भयो । तीस वर्षे सेवा अवधि हट्ने हल्ला चले पनि नेपालको तरल राजनैतिक अवस्था र प्रशासनिक संयन्त्रले यति विवादास्पद विषयमा तात्विक निर्णय गर्न सक्ला जस्तो मलाई लागेको थिएन । फेरि, जागिरको समय बढ्नु मेरो लागि चाहिँ कति राम्रो हो भन्ने पनि दोधार नै थियो । मैले अफिसबाट पाउने सुविधा यही समयमा अवकाश लिँदा पनि पाउँथे । अब थप अवधि जागिर खाएर पाउने बढुवा पनि अवकाशको सुविधामा नै पाउँथे । जागिरमा रहँदा थप लाभ त हुन्थ्यो, विदेश जान पाउँथे, तलब भत्ता नै पनि पेन्सनभन्दा त बढी हुन्थ्यो । तर जागिर खानु जति राम्रो कुरा हो, उपयुक्त अवसरमा अवकाश लिनु पनि उत्तिनै महत्वपूर्ण

नेपाल महाभोज

केही वर्ष पहिला दक्षिण कोरिया जाँदा मैले एउटा पदावली सुनेको थिएँ, ‘कोरिया इन्कर्पोरेसन’ । अर्थात, कोरिया कम्पनी । विकासको एक चरणमा कोरिया देश नै एउटा कम्पनीको रुपमा परिणत भएको थियो । त्यो समग्र देश एउटा आर्थिक अवयवको रुपमा कार्यरत थियो । त्यो देश आर्थिक विकास, उत्पादन वृद्धि, निकासी वृद्धि, पूर्वाधारको विकास जस्ता काममा एकोहोरो भएर लागेको थियो । उसका आर्थिक बाहेक अरु एजेन्डा वा कार्यभार नभए जस्तै थियो । देश भए पनि यसको राजनैतिक चासो कम थियो । सामसुङ, हुन्डाइ, एलजी, लोट्टे, किया जस्ता कम्पनीको विकास र विस्तारमा मुलुककै चासो थियो । कोरियनहरु जापानको औपनिवेशिक थिचोमिचो, दोस्रो विश्वयुद्धको परिणतिस्वरुप भएको विभाजनको पीडा र दुई कोरिया बीचको युद्धको घाउलाई बिर्सेर नयाँ शिराबाट देशको विकास गर्न लागेका थिए । र ती प्रयासको सकारात्मक उपलब्धि पनि हासिल भएको थियो । साह्रै कम समयमा र सारा संसारलाई आश्चर्यमा पार्ने गरी कोरिया विश्वको गरिब देशबाट विकसित र धनी मुलुकमा रुपान्तरित भएको थियो । शायद यसै अवस्थालाई जनाउने पदावली थियो, ‘कोरिया इन्कर्पोरेसन’ । नेपालको लागि यस्तै नाम के होला ? कोरियाबाट फर्केपछि मैले आफैलाई सोधें । मेरो मनमा यस सम्बन्धमा लामो समयदेखि खुलदुली भइरहेको थियो । हामीले अहिले जे गर्दैछौं त्यसका लागि कुन नाम राम्रो होला ? कुन विशेषण उपयुक्त होला ? मन दशतिर सोचिरहेको थियो

मेरो नयाँ ठेगाना

समय परिवर्तन हुँदै जाँदो रहेछ । प्रविधिमा परिमार्जन भइरहँदो रहेछ । मान्छेले पनि आफ्ना गतिविधि बढाउँदै रहेछ । बढाउन नसकेमा परिवर्तन गर्दोरहेछ । समय, प्रविधि र मानिसका गतिविधिसँगै उसका ठेगाना पनि परिवर्तन हुँदै जाँदा रहेछन् । ठेगानाका स्वरुपमा पनि परिवर्तन हुँदो रहेछ । मैले पनि आज नयाँ डिजिटल ठेगाना पाएको छु । अनि त्यसैको सन्दर्भमा लेखिरहेको छु । मानिसको बसोबास गर्ने घरद्वार भएको ठेगाना उसको स्थायी ठेगाना । मानिस गतिशील प्राणी हो । आफ्नो घरमा बसेर सधैं जीवन नधानिएला, विकास र प्रगति नहोला । त्यसैले कुनै प्रयोजनका लागि घरबाट टाढा गएर केही समयका लागि बसोबास गर्न थाले सो स्थान अस्थायी ठेगाना । मानिसको गतिलाई आत्मसात गर्दै सूचना प्रविधिले नयाँ ठेगानाको आविष्कार गरेको छ, डिजिटल ठेगाना । सधैं सधैं आफूसँग रहिरहने डिजिटल ठेगाना । यस ठेगानामा मानिस जहाँ पुगे पनि सम्पर्क हुनसक्ने । यो ठेगानाबाट जहिले पनि सम्पर्क गर्न सकिने । डिजिटल ठेगाना भएपछि कतै नभुलिने, कतै नछुटिने । अहिले त झन् स्मार्टफोनको जमाना छ । यो ठेगाना सधैं आफूले बोकेर हिड्न सकिने ।यसअघि मसँग इमेल ठेगानाहरु मात्र थिए, डिजिटल ठेगानाको नाममा । एउटा जिमेलमा आफूले खोलेको, अर्को म काम गर्ने संस्थाले म र संस्था दुवैका सजिलाका लागि खोलिदिएको । जिमेलमा व्यक्तिगत सूचना र खबर आदानप्रदान हुन्छन् । अफिसको मेलमा अफिस

युधिष्ठिर नै राजा किन ?

महाभारतका कथा छिटपुट रुपमा हामीले बालककालदेखि नै सुन्दै आएका हौं । यस कथाका अंश तथा उपकथाहरुमध्ये युधिष्ठिरलाई हस्तिनापुरको राजा नबनाएर धृतराष्ट्रले अन्याय गरेको, छलपूर्वक जुवा खेलाई इन्दप्रस्थ कब्जा गरेको, बनबासबाट फर्केपछि इन्द्रप्रस्थ फिर्ता नगरेको, राज्यको साटो सातगाउँ माग्दा पनि नदिएको र उनीहरुलाई परास्त गर्न विभिन्न षडयन्त्र गरेको कथा निकै स्मरणीय छ । महाभारतको युद्धको कारक तत्व नै यही नै भएको सोचाइ पाइन्छ पनि । आफ्ना भाञ्जालाई उत्तराधिकार दिलाउने शकुनी र भान्दाइ (फूपूका छोरा) लाई उत्तराधिकार दिलाउने कृष्णका बीचको प्रतिस्पर्धामा कहिले को अघि र कहिले को अघि हुँदै जाँदा महाभारतको युद्ध भएको हो । महाभारतका घटनाक्रमलाई विश्लेषण गर्दा युधिष्ठिर हस्तिनापुरको राजा हुनु त्यति युक्तिसंगत देखिंदैन । यस निष्कर्षमा पुग्नु अघि यस सम्बन्धी विवरण हामी तल केही घटनाक्रमका बारेमा जानकारी लिऔं । राजा शान्तनुले गंगासँग विवाह गरे र उनबाट देवव्रत छोरा भए । आफ्नो शर्त भङ्ग भएको कारण गंगा छोराका साथ स्वर्गमा फिर्ता गइन् र छोरालाई शिक्षादीक्षा पूरा गराई पछि शान्तनुकहाँ पठाइन् । गंगा फिर्ता भएपछि शान्तनुले सत्यवतीसँग विवाह गरे र उनबाट चित्राङ्गद र विचित्रवीर्य नामका छोरा जन्मिए । देवव्रत राजा नहुने र बिहे नगर्ने भीष्मप्रतीज्ञा गरेर भीष्मका रुपमा परिचित भइसकेका थिए त्यसैले शान्तनुको मृत्युपछि चित्राङ्गद राजा भए र एउटा समान्य युद्धमा मारिए । त्यसपछि उनका भाइ विचित्रवीर्य राजा भए । उनको

पराजित अपराजिता

आज सोह्र गते । संधैभन्दा पाँच मिनट अघि कार्यालय पुग्न म हतारिन्छु । आज हाम्रो शाखामा भीड हुन्छ, पेन्सन लिनेको भीड । निजामती, शिक्षक, प्रहरी र सेनामा लामो समय काम गरी सेवा निवृत्त भएका कर्मचारी र तिनका आश्रित परिवार पेन्सन लिन दश नबज्दै कार्यालयमा आइसकेका हुन्छन् । तीमध्ये धेरै अशक्त, बूढा र रोगी हुन्छन् । थर्थराएका हातगोडा, लर्वराएको जिब्रो र धमिलिएका आंँखा लिएर ती ग्राहकहरु भीडमा धेरवेर सल्बलाउन नपरोस् भनी आवश्यक व्यवस्था मिलाउन म कोशिस गर्छु । समयको खोलाले पाखा लगाएका तिनलाई भरसक सुविधा उपलब्ध गराउन बुढौतीदेखि डराइरहेको मेरो मन मलाई बारम्बार ताकेता गरिरहन्छ । यिनको कुनै समयमा नाम थियो, पद थियो, शक्ति थियो, प्रतिष्ठा थियो । तर आज यी पेन्सन पट्टाको एउटा नम्बर बनेका छन् । र म यी नम्बरलाई मानिसको पहिचान र मान दिन प्रयत्नशील रहन्छु । यसरी पेन्सनपट्टाको नम्बरमा आफूलाई रुपान्तरण गर्न बाध्य हुनेको समूहमा अब युवतीहरुले पनि प्रवेश पाएका छन् । देशमा रहेको दश वर्षे ‘जनयुद्ध’मा पति गुमाएका सेना र प्रहरीका कलिला पत्नीहरु कोही एक्लै, कोही नानी च्यापेर र कोही नानीलाई स्कूल पठाएर पेन्सन लिन आइपुग्छन् । सरिता एउटी यस्तै  पेन्सनहोल्डर हो । पेन्सन बाड्ने दिन ऊ आउछे । लाम लाग्छे र पेन्सन लैजान्छे । पेन्सन भने पनि यो पेन्सन होइन । उसको पति सिपाही राजकुमार कार्कीले खाइपाइ आएको तलव रकम हो । राजकुमार कार्की ‘जनयुद्ध’मा मारिए

रनभुल्ल

राजेशले आफ्नो घरवरिपरी आँखा दौडायो । घरमुनि रोपेको कलमी आँपको बोट हिउँदको जाडोमा कक्रेर बसेको थियो । केरा र बाँसका झाँङमा बास बस्न आउने चराहरु चिरबिर गर्दैथिए । घाँस झारेर नाङ्गा बनाइएका कुटमिरो र काभ्राका रुखहरु वसन्तको प्रतीक्षामा थिए । डाँडाको फेदमा रहेको माथिल्लो तला होचो भएको टाँडे घरको धुरीबाट धुवाँ पुतपुताइरहेको थियो । पालीमा रहेको खोरमा कुखुराहरु पस्न खोजिरहेका थिए । घर वरपर नयाँ परिवर्तन केही थिएन । उसले झोला दलानको खाटमा राख्यो । देशमा लोकतन्त्रको बहाली र गणतन्त्रको स्थापना जस्ता ठूला परिवर्तन भए पनि आफ्नो घर भने जस्ताको तस्तै पाउँदा उ विस्मित भयो ।  “ए, तँ आइपुगिस् बाबु । अनि यस पटक त आउने बेलामा फोन पनि गरिनस् त ।” आमाले यसो भन्दै गर्दा ऊ आमाको खुट्टामा झुकिसकेको थियो ।  “हिड्ने बेलामा त्यस्तै भयो । बाटामा गरुँ भनको फोनै लागेन ।” उसले स्पष्टीकरण दियो ।  लडाकु वर्गीकरणमा अयोग्य ठहरिएपछि ऊ निराश भएको थियो । पार्टीका नेता र कमान्डरहरुबाट उसले आश्वासन, आँट र हौसला पाएको थियो तर उसको चिसिएको मन तात्न सकेको थिएन । जागिरका लागि यो उत्सर्ग गरिएको थिएन भन्ने कुरा मनमा ल्याएर आफ्नो चित्त बुझाउन खोज्दा पनि उसको मन मानिरहेको थिएन । उसका साथीहरु एउटा जागिर खाएर ढुक्कको जीवन बिताउने फिराकमा लागेका थिए । सेनामा जानु नै