तपाईंले विगतमा समेत चुनाव जितेर सन्तोषजनकरूपमा देश र जनताको सेवा गर्नु भएको थियो भने तपाईं बधाईको पात्र हुनुहुन्छ । देशले तपाईंमाथि गौरव गर्नेछ र जनता तपाईंको योगदानप्रति कृतज्ञ रहने छन् । तपाईंले गर्नसक्ने गर्नुभयो । तपाईं राजनीतिको शिखरमा पुगिसक्नु भयो । शिखरमा पुग्न सकिन्छ तर त्यहाँ अनन्त कालसम्म बस्न सकिन्न । शिखरमा अरूलाई पनि पुग्ने मौका दिनुस् । तेन्जिङ र हिलारी सगरमाथामा चढेर नओर्लिई त्यहीं बसिरहेको भए अरू गएर विभिन्न रेकर्ड राख्न कसरी सक्थे होलान् र ?
माओत्सेतुङ महान थिए, तर देङले चीनकाे रूपान्तरण गरे । चीनले देङका लागि माओको मृत्यु कुर्नु नपरेको भए चीन अलि छिटो प्रगतिको बाटोमा अघि बढ्थ्यो कि ? नेहरू अद्वितीय थिए, तर मनमोहन सिंहले राजनीति अनुकूलको अर्थनीति अपनाए र भारतलाई आधुनिक अर्थतन्त्र दिए । यो अजब संसारमा हरेकको विकल्प छ, हुनैपर्छ । मृत्युपछि खोजिने विकल्प अलि भावुक किसिमको हुन्छ, त्यसले नोक्सानमा पार्छ । इन्दिराको मृत्युपछि भावुक कांग्रेसले छोरालाई अध्यक्ष बनायो । त्यसपछि भने पार्टी व्यवहारिक भयो र पी.भी. नरसिंह राव अध्यक्ष बने । फेरि राजीवको हत्यापछि पार्टीले अर्को भावुक निर्णय गर्यो । त्यसको फल आँखा अगाडि छ । राजनीतिमा भावनाको महत्त्व नभएको चैं हैन । मदनको देहावसानपछि एमालेले चुनाव जित्नु, इन्दिरा र राजीवको मृत्युपछि कांग्रेस आईले चुनाव जित्नु भावनाका प्रतिफल हुन् । यस्तो अन्यत्र पनि भएका छन् तर त्यो दिगो हुन्न । देखिहालियो, यता पनि, उता पनि । त्यसैले सुविचारित सत्ता हस्तान्तरणको तयारी गर्नुस् । रजनीश सबै पेशा र व्यवसाय गर्ने मान्छे अवकाश चाहन्छ, तर राजनीति गर्ने मान्छे अवकाश चाहँदैन, स्वार्थी हुन्छ भन्छन् । उनलाई गलत सावित गरिदिनुस् ।
अब पार्टीमा बसेर काम गर्नुस् । आफूले गरेका कामको समीक्षा गर्नुस् । अरूले खेलेको अब पेभिलियनमा बसेर हेर्नुस् । कोच बन्नुस् । अरूलाई सुझाव दिनुस् । किताब लेख्नुस् । तपाईं जस्तै देशको सेवा गर्न चाहने अर्कोलाई मौका दिनुस् । उसैलाई सिकाउनुस्, सुझाउनुस् । बरू आराम गर्नुस् । जनताबाट जनप्रतिनिधि बन्नुभएको थियाे, अब जनता नै बन्नुस् । फेरि चुनावमा नउठ्नुस् ।
विगतमा चुनाव जितेर प्रधानमन्त्री/मन्त्री हुनुभएका तर सन्तोषजनक काम गर्न नपाएको हुनाले फेरि तिनै पदमा जानका लागि चुनावमा उम्मेदवार बन्ने सोचमा हुनुहुन्छ भने तलका बुँदाहरूमा विचार गर्नुस् ।
- भारत, चीन वा अमेरिकाको कारणले सन्तोषजनक काम गर्न नपाउनु भएको हो भने अहिले चुनावमा नउठ्नुस् । ती देश अहिले पनि छन् ।
- प्रतिपक्षी दलको कारण काम गर्न नपाउनु भएको हो भने पनि अहिले चुनावमा उम्मेदवार हुने मन नबनाउनुस् । अबको चुनावमा पनि कुनै पार्टीले सबै सिट जित्दैन, प्रतिपक्षी भइहाल्छ, फेरि तपाईले काम गर्न पाउनुहुन्न ।
- आफ्नै दलभित्रको किचलोका कारण काम गर्न नसक्नु भएको हो भने यो पटक झन् काम गर्न सक्ने वातावरण छैन । नेपाली कांग्रेसमा शेखर कोइराला पक्ष, एमालेमा दश भाइ, एकीकृत समाजवादीमा गलहत्याइएका मन्त्री, माओवादी केन्द्रमा काजी, पुन र शर्मा खेमा जिउँदै छन् । अझ वामदेवकाे दबदबा र बाबुरामको गनगन थपिंदैछ क्यारे । राजपा, जसपाको त के कुरा गर्नु ? त्यता कुरा नमिलाई चुनाव जितेर प्रधानमन्त्री, मन्त्री बने पनि कथा उही दोहोरिन्छ । त्यसैले यो पटक चुनावमा नउठ्नुस् ।
- कर्मचारीतन्त्रको असहयोग वा लोसेपनको कारण पहिला राम्ररी काम गर्न नपाउनेहरूका लागि आगामी समय पनि राम्रो छैन । अहिले त सेनाले फास्ट ट्र्याकको काम मात्र हेरेको छ । कोरोना कालमा स्वास्थ्य सामग्री पनि किन्थ्यो, अहिले छोड्यो होला । सरकारले लाए अह्राएको काम अहिले पनि कर्मचारीले नै गरिरहेका छन् । तपाईंले गाली गर्ने कर्मचारीतन्त्र अहिले पनि छ । यसलाई चलाउन सीप र नैतिक बल चाहिन्छ । तपाईंले फेरि पनि तिनलाई चलाउन सक्नुहुन्न । ती छउन्जेल चुनाव जिते पनि तपाईंले काम गर्न सक्नुहुन्न, चुनावमा नउठ्नुस् ।
- बिचौलिया, ठेकेदार, व्यापारीका कारण तपाईले राम्रो काम गर्न नसक्नु भएको हो भने अहिले पनि स्थिति बदलिएको छैन । चुनाव जितेर राम्रो काम गर्ने हो भने तपाईंले अलि समय पर्खनै पर्छ । यो चुनावलाई त वाक ओभर दिनै पर्छ ।
- पहिला प्रधानमन्त्री/ मन्त्री हुँदा अलि बुद्धि पुर्याइएनछ, अब चैं बुद्धि पुर्याएर काम गर्छु भन्ने लागेको छ भने अब फेरि दुःख नगर्नुस् । यो देश तपाईंको बुद्धि बढाउने प्रयोगशाला हैन । पार्टी, सार्वजनिक प्रशासन, सहयोगी र सल्लाहकारको सहयोग लिनु भएको भए ती गल्ती हुने थिएनन् । कुनै व्यक्तिको लहडको मूल्य अब यो मुलुकले चुकाउन सक्दैन । दोस्रो जनआन्दोनका वेला अब गल्ती दोहोर्याउँदैनौ भनेकाे र अहिले तिनै गल्ती गरिरहेकाे हामीले देखिरहेका छौं ।
- पहिला चुनाव जितेर सांसद त भइयो मन्त्री हुन पाइएन, अब चुनाव जितेर मन्त्री हुन्छु भन्ने लागेको छ भने सोच बदलिहाल्नुस् । मन्त्री बनाउने पार्टीले हो । भरखरै महाधिवेशन भएर सबै ठुला पार्टीमा पुरानै अध्यक्ष/सभापति दोहोरिएका छन् । तिनले तपाईंलाई मन्त्री बनाउने भए पहिले नै बनाइहाल्थे । अब पनि बनाउँदैनन्, चुनावमा नउठ्नुस् ।
- चुनाव जितेर सँगैका साथी सांसद/मन्त्री भए, चिल्लो गाडी चढे, काठमाडौंमा घरघडेरी जोडे, पैसा कमाए, देशविदेश घुमे भनेर चुनावमा उठ्न खोज्नु भएको हो भने एक पटक फेरि ठण्डा दिमागले सोच्नुस् है । चुनावको लागि चाहिने मनी (पैसा) र मसल (खट्ने मानिसहरू) उनीहरूले नै धेरै परिचालन गर्न सक्छन्, तपाईंले नसक्नु होला । सबै दल र उम्मेदवार उही ड्याङका छन् भने जनताले भोट हाल्ने पनि दाम गोजीमा, चिचीमाम मुखमा राखेर नै हो । भोलिका लागि आश नरहेपछि आजै जो हात सो साथ गर्नै पर्यो । यसबाट तपाईं पछि पर्ने सम्भावना रहन्छ । चुनावमा उठेर मात्र भएन, जित्नु पनि पर्यो ।
यी वर्गका उम्मेदवारहरूलाई मात्र सुझाव दिन सकें । अरू कतिपय छुटेका होलान् । उहाँहरूलाई केही भए यही ब्लगमा पछि थप्छु । यसो हेर्दै गर्नुहोला न !
