बैकिङ समय सकिन लागेकोले अफिसमा चहलपहल कम हुँदै गएको थियो । एकादुई ग्राहकहरू काउन्टरमा यताउता गरिरहेका थिए । काम कम भएको समयमा हामी कर्मचारीहरूको गफ चलिरहेको थियो, हाकिम, महँगी, राजनीति वा कुनै अर्को कर्मचारी । गफका विषय यिनै त हुन्थे।
दुइटी केटी हातमा खाम बोकेर मेरो टेबुलतिर आए र मलाई खाम दिए। मैले खामबाट चिठी निकालेर पढें। चिठीमा सबै कुरा थियो- उनीहरू माओवादीसँगको लडाइँमा जीवन गुमाएका प्रहरीका विधवा पत्नीहरू थिए र राज्यले उनीहरूको भरणपोषणको लागि व्यवस्था गरेको थियो । उनीहरूले यो बैंकबाट पैसा लिन चाहेकाले यहाँ चिठी पठाइएको थियो ।
तपाईंहरूमध्ये के सरिता को रीता ? मैले सोधें । आफू अगाडि आएको मानिससँग केही अनौपचारिक गफ गर्नु मलाई ठिकै लाग्छ । आफूले कुरा सुरू गरे उनीहरूले पनि थप्छन् । उनीहरूलाई समस्या राख्न पनि सजिलो हुन्छ ।
‘रीता ऊ हो ।’ एउटीले जवाफ दिई र रीताको टाउको पछाडि उसको मुख लुकाई ।
‘अब यसो गर्नुस् । यो महिनाको रकम आजै लैजादा हुन्छ । अर्को महिनादेखि सोर गते पछाडि जहिले आए पनि हुन्छ । पैसा लिन आउँदा यो कागज चाहिँ ल्याउनै पर्छ है ।’ मैले सल्लाह दिएँ ।
उनीहरू बैंकबाट गए तर मेरो मनमा उनीहरूले नै हल्ला मच्चाइरहेका थिए ।
माओवादी र राज्यबिचको घातक संघर्षको समाचार सुनेको धेरै भइसकेको थियो । तर मैले माओवादी वा माओवादीबाट प्रत्यक्ष पीडित मानिस त्यो वेलासम्म देखेको थिइनँ । नेपालको पूर्वी तराईमा माओवादीको प्रभाव कमै थियो । विराटनगर त झन् सहरी इलाका भयो । राज्यको उपस्थिति बलियो थियो, माओवादीको प्रभाव कम। आज भने मैले यी दुई युवतीलाई प्रत्यक्ष देखें, माओवादीसँगको लडाइँमा जीवनसाथी गुमाएका विधवाहरू। समाचारमा कुनै घटना सुन्नु र आँखा अगाडि त्यसको प्रभाव देख्नु कति फरक हुने रहेछ । त्यो दिन म चकराइरहेको थिएँ ।
उनीहरूको विवाहका अनेक सम्भाव्य कथाहरू मेरो मनमा आइरहन्थे र तिनको यो वियोगान्त परिणतिले मलाई चिमोटिरहन्थे । वैधव्यको चोट खप्दा किशोर वय भरखर नाघ्दै गरेका तिनीहरूले भागेर विवाह गरेका थिए कि ? अहिले घर र माइतीतिरको सम्बन्ध कस्तो होला ? उनीहरूलाई सामाजिक संरक्षण र भरोसा कतैबाट उपलब्ध छ वा छैन होला ।
उनीहरू अक्सर काउन्टरबाटै पैसा लिएर जान्थे तर कहिलेकाँही केही कुरा सोध्न भित्र पनि आउँथे । एक महिना लिन आएन भने त्यो पैसा अर्को महिनामा पाइन्छ कि पाइँदैन, यो पैसा तलब बढ्दा बढ्छ कि बढ्दैन यस्तै यस्तै । मेरो मनमा उनीहरूप्रति चासो र चिन्ता भए पनि मैले उनीहरूको व्यक्तिगत जीवनबारे केही सोध्न सकिनँ । मसँग मलहम छैन भने घाउ किन चलाउनु । डाक्टरसँग त मलहम हुन्छ र पो ऊ घाउ खोतल्छ ।
मेरो मनमा लामो समयसम्म ती केटीहरू सल्बलाएपछि मैले सोचें अब यिनीहरूको बारेमा एउटा कथा लेख्नुपर्छ ।
मसँग हातमा नेपालीमा एम.ए. गरेको सर्टिफिकेट थियो । कथाका सिद्धान्त र तत्त्वहरूको बारेमा जानकार थिएँ । आख्यानमा मेरो रूचि थियो । साहित्यको अध्ययन त नियमित जस्तै थियो। एउटा कथा त सहजै लेखिहाल्छु जस्तो लागेको थियो।
त्यो वेला मसँग ल्यापटप थिएन । एउटा शनिवार काजग कलम लिएर म भिडें । मलाई नबोलाउनु भन्ने आदेश पनि श्रीमतीलाई जारी गरिसकेको थिएँ ।
मँसग ती केटीका बारेमा केही थप जानकारी थिएन । सरकारी पत्रमा दिइएका जानकारीहरूलाई कल्पनाको बलले लम्ब्याउनु बाहेक मसँग अर्को कुनै उपाय थिएन । कल्पनाको बलले कथालाई तन्काउन खोजेँ । ती पात्रको एउटा अस्पष्ट चरित्र मनमा लिएर कथालाई लेख्दै गएँ ।
एकदुई पेज लेखिसकेपछि फेरि अलमल भयो । कमसल कपासबाट बत्ती कात्दा पटकपटक धागो चुँडिएजस्तो मेरा कल्पनाहरू चुँडिइरहे। कहिलेकाहीँ कल्पना अलि तन्केभने पहिलाको सोच र भावभूमिलाई उल्लंघन गरेर अघि बढ्थे । यस्तो परस्पर विरोधी कल्पनाको पनि अर्थ थिएन । पूर्वापर सम्बन्ध भएको सिलसिलेबार कथाको कल्पना पनि कठिन काम रहेछ । हाम्रा कल्पनाशक्ति यति सीमित छ भन्ने मलाई पहिलोपटक महसुस भयो ।
एकदुई पेज लेखिसकेपछि कथा आफ्नो सोचअनुसार अघि बढ्न नसकेको महसुस भयो । भरखर साइकल सिक्दा ह्यान्डिल कन्ट्रोल गर्न नसकेजस्तो यो लेखनमा मैले कलम नै काबुमा राख्न सकेको थिइन। घटना र पात्र मैले चाहेको गन्तव्यतिर गइरहेका थिएनन् ।
मैले लेखेर च्यातेको कागजको थुप्रो चुलिँदै गयो । मेरो कथा लेख्न सक्छु भन्ने आत्मविश्वास पग्लँदै गयो । केही घण्टाको चिन्तनमनन र लेखनपछि पनि म जहाँको तहीँ थिएँ । यसमा राम्रो कुरा के थियो भने हरेक असफलताले प्रयासको अर्को तरिका बताइरहेको थियो र म पनि त्यसलाई पछ्याइरहेको थिएँ ।
मनले फूल सम्झनु र कागजमा त्यसको छवि उतार्नु ! कल्पना र सिर्जनामा कति अन्तर छ ! मेरो त कल्पना नै बलियो भइसकेको थिएन । त्यस्तो अवस्थामा म सिर्जना गर्न तम्सिरहेको थिएँ । यो केवल मानसिक क्षमता होइन, सीपको पनि सवाल थियो । म साहित्यिक कुरा लेख्न छोडेर डेबिट र क्रेडिटमा अलमलिएको केही दशक भइसकेको थियो । यो सीपको विकास गर्न लेख्नुपर्ने थियो, लेखिरहनु पर्ने थियो । फ्याट्ट एउटा कथा लेख्ने घोषणाले मलाई केवल ‘तीस मार खान’ मात्र बनाउँथ्यो।
अन्तिम प्रयास गरेका केही पानालाई एउटा कापीमा चेपेर राखेँ । मैले त्यही बसाइमा कथा सक्ने प्रयास स्थगित गरेँ ।
मैले कथा लेखनलाई स्थगित गरे पनि ती केटीहरूले अवस्था र विवशताले मलाई चिमोटिरहेको थियो । मलाई तिनीहरूले कहिले पनि एक्लै छोड्देनथे, मेरो मष्तिष्कमा तिनीहरूले डेरा जमाएका थिए । आफ्ना दुःखका बेथालाई कथाको जामा पहिराउन उनीहरूले पनि सायद जोड गरिरहेका थिए ।
केही पटकको प्रसवपीडा पछि कथाले एउटा आकार लियो । मैले त्यो कथा आफूले काम गर्ने संस्थाले आयोजना गरेको साहित्यिक प्रतियोगितामा पठाएँ । त्यो कथा दोस्रो भएछ । म पुरस्कार थाप्न काठमाडौं आएँ । मेरो साहित्यप्रतिको यही रूचि देखेर होला, कार्यालयले आफ्नो प्रकाशनको सम्पादकको जिम्मेवारी पनि दियो । केही समय त्यो जिम्मेवारीमा पनि रहेँ । कार्यालयकै प्रकाशनमा आफ्ना केही रचनाहरू पनि छापेँ ।
त्यो कथामा मैले ती केटीहरूलाई जोगबनी जाने बाटोमा खाजा पसल चलाइरहेको देखाएको थिएँ । यो मेरो कल्पना मात्र थियो । एक दिन मैले अफिसमा साथीहरूलाई त्यो कथा सुनाएँ । ती केटीहरूलाई सबैले देखेकै थिए । एक जना साथीले सोध्नु भयो- सर, तिनीहरूको खाजा पसल ठ्याक्कै कुन ठाउँमा हो हँ ? मलाई मेरो कल्पनाशक्तिमा विश्वास लागेर आयो, साथीले साँचो ठानेछन् ।
पुरस्कृत भएको घटनाले मलाई लेखिरहन प्रेरणा दियो, म उत्साहित भएँ ।मैले सानोमा धेरै माया गरेको साहित्यसँग फेरि जोडिन पाएँ । जागिरे जीवनका अनेक उतारचढावका बिच आफ्नो लेखनलाई निरन्तर जस्तै राखेँ । विराटनगरको स्थानीय पत्रिकामा स्तम्भ पनि छापिन्थ्यो । पहिला गुगलले दिने ब्लगमा आफ्नो सामग्री राख्थें । पछि वर्ड प्रेसको ब्लग पनि चलाउन थालें।
यति पढिसक्नुभयो र त्यो कथा पनि पढ्न मन छ भने- https://kedaracharya.com.np/archives/100
