‘स्वतन्त्र’ का सङ्केत

यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भयो । यस निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा पाँचदलीय गठबन्धन र नेकपा एमालेको बीचमा प्रतिस्पर्धा हुने लख काटिएको थियो । कतै गठबन्धनका दलहरूले पनि अलगअलग चुनाव लडे, कतै एमाले पनि गठबन्धन गर्‍यो । जे होस्, चुनावमा दुई कित्ताका बीच घम्साघम्सी हुनेमा शंका थिएन । ‘हामी जित्छौं’ भन्ने नारा दुवैतर्फबाट गुञ्जिरहेका थिए । यसैबीच काठमाडौ महानगर, जनकपुर, धरान, धनगढी, भरतपुर जस्ता स्थानमा स्वतन्त्र उम्मेदवारको चर्चा चुलियो । काठमाडौं, धरान, जनकपुर र धनगढीमा स्वतन्त्र उम्मेदवारले जिते, भरतपुरमा सम्मानजनक मत ल्याए । देशभरका तेह्र पालिकाहरूमा स्वतन्त्र उम्मेदवार प्रमुख/अध्यक्षको रूपमा विजयी भएका छन् र जम्मा ३८५ जना स्वतन्त्र उम्मेदवारले विजय प्राप्त गरेका छन् । प्रजातन्त्रवादीको पहिचान दिइएको नेपाली कांग्रेस र वामपन्थी शक्तिको रूपमा चिनिएका कम्युनिष्टहरूको बीचबाट स्वतन्त्र उम्मेवारहरू बलियो गरी उदाए । अघिल्लो स्थानीय निर्वाचनमा वैकल्पिक शक्तिको रूपमा रहेको विवेकशील पार्टीको उम्मेदवार रहेकी रञ्जु दर्शनाले काडमाडौं मेयरमा सम्मानजक मत ल्याएर पनि जित्न सकेको थिइनन् । त्यही प्रसङ्गमा ‘नेपालीहरू रेस्टुराँमा गएर पूरा मेन्यु पढ्छन् तर खाने वेला कि मम खान्छन्, कि चाउचाउ खान्छन्’ अर्थात् मूलधारका पार्टीलाई मात्र भोट दिन्छन् भन्ने भाष्य पनि जन्म्यो । मैले नै पनि वैकल्पिक शक्तिका चुनौती शीर्षकमा एउटा ब्लग लेखेको थिएँ (https://kedaracharya.com.np/archives/469) । अहिले वैकल्पिक शक्तिले नभए पनि वैकल्पिक व्यक्तिले राम्रो प्रदर्शन गरेका छन्

सजिलो छैन मतदान

भोलि वैशाख ३० गते स्थानीय तहको चुनाव हुँदै छ । अहिले मौन अवधि भए पनि देश चुनावमय छ । अस्तिसम्म पार्टीहरूले चुनावी प्रचारप्रसार तीव्र पारेका थिए, नेताहरूको भाषण र भेला बढिरहेको थियो, टिकटको खोजीमा नेताहरू दल चाहर्दै थिए, पार्टी प्रवेशको लहर पनि चलिरहेको थियो । अहिले जनताहरू पनि आफ्ना प्रतिनिधि आफै छान्न पाउने अवसरलाई सदुपयोग गर्ने बारे सोचिरहेका होलान्, सोच्नै पर्छ पनि । उपत्यकाबाहिरका पालिकाहरूको मतदाता नामावलीमा नाम भएका काठमाडौंबासीहरू मतदानको लागि गाउँतिर गएकाले अहिलेको काठमाडौं दशैको जस्तै सुनसान देखिएको छ । आफ्ना प्रतिनिधि छान्न वा चुन्न अनि प्रतिनिधिको रूपमा छनिन र चुनिन पाउनु मानिसको सबैभन्दा ठुलो राजनैतिक अधिकार हो । विभिन्न विकल्पहरू विद्यमान हुनु, विद्यमान विकल्पहरूको बोध हुनु, ती विकल्पहरूमध्ये उत्तम विकल्पको जानकारी हुनु, अरू विकल्पलाई त्याग गरेर उत्तम विकल्प छनोट गर्ने विवेक हुनु र यी कामका लागि सहास हुनु स्वतन्त्र मानव मात्रका विशेषता हुन् । परापूर्व कालमा अरू जङ्गली जनावर जस्तै जङ्गलमा फिरन्ते जीवन बिताउने मानिस यही विकल्पको बोध र चुनावको चेतनाको कारण यहाँ आइपुगेको हो भन्ने मलाई लागेको छ । नेपाली समाजले पनि राजनीतिक स्वतन्त्रता र मतदानको अधिकार प्रयोग गर्न थालेको साठी वर्षभन्दा बढी भइसक्यो । २०१५ सालमा प्रत्यक्ष रूपमा आमचुनाव भएर बी.पी. कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको सरकार बनेको थियो । २०१७ सालमा प्रजातन्त्रको अपहरण भई २०१९

मध्यमार्गमा अलमलिएको देश

एमसीसी कम्प्याक्ट संसदबाट पास भयो । व्याख्यात्मक टिप्पणीसहित पास भयो भन्नु पर्ला । यो प्रस्ताव अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा संसदमा पेश भएको थियो । ओली यो सम्झौताको पक्षमा देखिए पनि सोही पार्टीका कतिपय नेताको अडानका कारण त्यो संसदमा टेबुल हुन सकेको थिएन । तत्कालको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफू सम्झौताको पक्षमा रहेको स्पष्ट पारेकै थियो । नेपाली कांग्रेसकै सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि त यो सम्झौता संसदमा पेश र पास हुने सम्भावना अझ बढेको थियो । यसलाई संसदबाट टुङ्गो लगाउनु पर्ने समयसीमा पनि नजिक आइसकेको थियो । एससीसी पक्षधर देउवाको सरकारमा बसे पनि सत्ता गठबन्धनका अरू दल एमसीसीका बारेमा आआफ्नो धारणा राखिरहेका थिए । जनमोर्चा एमसीसीको विपक्षमा थियो, माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधन चाहन्थे, जनता समाजवादी पार्टीमा डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको फरक धार थियो । डा. भट्टराई एमसीसीको पक्षमा मुखर थिए, उपेन्द्र उति खुलेका थिएनन् । देउवालाई प्रधानमन्त्री स्वीकार्नु अघि नै सत्ता गठबन्धन एमसिसीका बारेमा स्पष्ट हुनुपर्ने थियो तर पहिला मन्त्री खाइहालौं, अरू कुरा विस्तारै विचार गरौंला भन्ने रणनीतिले बुद्धि त्यता खर्च गर्न दिएन । अन्तिम समयमा कि कुर्सी छोड्नुपर्ने कि एमसीसी पास गर्नुपर्ने अवस्था आएपछि मध्यमार्गको खोजी भयो । मतदानको समयमा संसदमा नजाने र बहुमतले पास हुन दिने प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेपछि व्याख्यात्मक

ब्याक टु द पिपल

नेपालले प्रजातन्त्रको अभ्यास गरेको ३२ वर्ष भइसकेको छ । पञ्चायती व्यवस्थालाई २०४६ सालमा बिदा गरेपछि नेपालमा प्रजातन्त्रको पुनरोदय भएको हो । जब प्रजातन्त्रको बारेमा चर्चा हुन्छ, अब्राहम लिंकनको प्रजातन्त्रको मन्त्रजस्तो परिभाषा सम्झनामा आइहाल्छ- अफ द पिपल, बाइ द पिपल, फर द पिपल । अर्थात्, प्रजातन्त्र भनेको त्यो व्यवस्था र अवस्था हो जहाँ जनताको सरकार हुन्छ, त्यो सरकार जनताबाट चुनाबमार्फत गठित हुन्छ र जनताको हितको लागि काम गर्छ । लिंकनले यो मन्त्र समेटिएको भाषण पेन्सिलभेनियाको गेटिसबर्गमा सन् १८६३ को नोभेम्बर १९ मा दिएका थिए । अमेरिकी गृहयुद्धमा उत्तरी संघीय सेनाले पृथकतावादी दक्षिणी परिसंघीय सेनालाई १८६३ जुलाई १ देखि ३ तारिखसम्म त्यही स्थानमा भएको भीषण युद्धमा पराजित गरेको थियो । सो युद्धमा हताहत भएका सेनाको सम्मानका लागि लिंकन गेटिसबर्ग गएका थिए र सोही समयमा उनले सो मन्तव्य दिएका थिए । उनले आफ्नो भाषणमा अब ती वीरले अघि बढाएर अधुरा छोडेका कामलाई पूरा गर्ने जिम्मेवारी बाँचेकाहरूमा रहने बताएका थिए । त्यस युद्धमा वीरगति हासिल गर्नेहरूबाट उनीहरूको लक्ष्य हासिल गर्ने कुरामा थप प्रेरणा प्राप्त हुने आशय उनको थियो । उनले ती वीरगति प्राप्त भएका मानिसहरूको उत्सर्ग व्यर्थ नजाने बताउँदै अमेरिकाले ईश्वरको अधीनमा स्वतन्त्रताको नयाँ प्रारूपको खोजी गर्ने र जनताबाट आएको, जनताको लागि काम गर्ने, जनताको सरकार यस संसारबाट अलप नहुने उद्घोष गरेका थिए ।

समस्यालाई स्वीकार गरौं

नेपाल राष्ट्र बैंकबाट प्रकाशित चालू आर्थिक वर्षको पहिलो चार महिनाको आर्थिक अवस्थाको विवरणमा नेपालको आर्थिक अवस्था सङ्कटापन्न देखियो । बढ्दो व्यापार घाटाको कारण शोधनान्तरस्थिति १५० अर्ब रूपियाँ घाटा भएछ । पोहोर यही अवधिमा ११० अर्ब बचतमा रहेछ । विदेशी लगानी आशा गरेझैं आएको छैन । नेपाली अर्थतन्त्रको लाइफलाइन मानिएको विप्रेषण पनि घट्यो, कोरोनाको कहरका कारण बढ्ने आशा पनि कम छ । स्विस बैंकमा नेपालीको निक्षेप दोब्बर भएको घटनाले पुँजी पलायन भएको कुरा पनि नकार्न सकिन्न । नेपालको राष्ट्रिय ऋण पनि पछिल्ला वर्षहरूमा निकै बढेको छ । सरकारल नै आपूर्ति गर्ने पेट्रोलियम पदार्थको भाउ त बढिरहेको छ भने अरू सामानको भाउ बारेमा त बोल्नै परेन । विकास निर्माणका काम सुस्त भएकाले पुँजीगत खर्च पनि बढ्न सकेको छैन । अर्थ मन्त्रीले मासिक १० प्रतिशतका दरले पुँजीगत खर्च बढाउने घोषणा गर्नु भए पनि मंसिरसम्ममा जम्मा ७ प्रतिशत मात्र पुँजीगत खर्च भएको रहेछ । विदेशी मुद्राको आपूर्ति र पुँजीगत खर्चमा कमीका कारण वित्तीय प्रणालीले तरलताको सङ्कट झेलिरहेको छ । नेपाल राष्ट्र बैंकले दिएको पुनरकर्जा सुविधा समेतबाट उत्साहित भएर बैकिङ प्रणालीबाट यसअघि प्रवाह भएको कर्जा आयातमा खर्च भएजस्तो देखिन्छ । यसैले तरलता अभावको मार तीव्र बनेको छ । विज्ञहरूले तरलता सङ्कट यो वर्षभर कायम रहने आशङ्का गरेका छन् । अहिले नै ब्याजदर दुई अङ्कमा पुगेको

किन गाह्रो भएको हो पुस्तान्तरण ?

पुरानो पात झर्छ र नयाँ पाउला पलाउँछ । सृष्टिको नियम यही हो । हाम्रो सनातन संस्कृतिमा पनि चार आश्रमको व्यवस्था गरिएको थियो । अन्तिममा सन्यास आश्रमको व्यवस्था थियो जहाँ मानिस परिवार र समाजका झन्झटबाट मुक्त भएर बाँच्ने प्रावधान थियो । अहिले पनि मानिसहरू बुढो हुँदै गएपछि घरव्यवहार छोराछोरीलाई जिम्मा लगाएर बस्छन् । कर्मचारी त निश्चित अवधिपछि कानुनी रूपमा नै सेवा निवृत्त हुन्छन् । खेलाडी, कलाकार, व्यवसायी, राजनीतिज्ञहरू आफ्ना कामबाट घोषितरूपमा अलग भएको पनि बारम्बार सुनिन्छ । तर नेपाली राजनीतिमा भने पुस्तान्तरण अपेक्षित रूपमा स्वभाविक हुन सकेको छैन । पटकपटक व्यवस्था फेरेर, सत्तरी वर्षमा सातवटा संविधान ल्याएर, अनेक समीकरणका सरकार बनाएर पनि आफ्नो भाग्य र भविष्य सुरक्षित महसुस गर्न नसकेको नेपाली जनमानसले अब नेतृत्त्व परिवर्तनको माग गर्न लागेको छ । नेकपा (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा यस कुराले प्रश्रय पाएको पनि थियो । दलीय व्यवस्थामा पार्टीका मुख्य पदाधिकारीहरू नै सरकारमा पनि जाने र उनीहरूको कार्यशैलीले देश र जनताको भाग्य र भविष्य बदल्न सक्ने हुनाले दलको नेता चुनिने महाधिवेशनमा सर्वसाधारण जनताको समेत चासो रहनु स्वभाविकै हो । नेकपा (एमाले) को अधिवेशनमा अध्यक्षले नै भावी कार्यसमितिमा रहने नेताहरूको नाम पढ्ने व्यवस्था मिलाइएकोले त्यहाँ पुस्तान्तरणको वातावारण रहेन । केही नेताहरूले प्रतिस्पर्धाको माग गरेकाले निर्वाचन भए पनि त्यो पुस्तान्तरणका लागि सहयोगी रहेन

गभर्नरको राजीनामा मागः कति उचित, कति अनुचित ?

भदौ २ गते ३१९८.६ विन्दुमा पुगेको नेप्से घटेर अहिले २८८९.०३ मा आइपुगेको छ । यस क्रममा धेरै लगानीकर्ताले ठुलो घाटा बेहोरेका छन् । नेप्से अब ३५०० पुग्छ, ४००० पुग्छ भन्ने हल्लाको आधारमा बढाइएको लगानीले बजार ओरालो लागेपछि घाटा बेहोर्नु परेको छ । यो घाटाका कारण व्यक्तिगत स्वभाव अनुसार कोही धैर्य गरी बसेका होलान्, कोही चिन्तित होलान् र कोही आक्रोशित पनि । यिनैमध्ये केही गभर्नरको राजीनामाको माग समेत राखेर आन्दोलनमा छन् । केन्द्रीय बैंकको रूपमा रहेको नेपाल राष्ट्र बैंकका मूल नेतृत्व अर्थात गभर्नरको राजीनामा (अझ बर्खास्ती पनि भनिएको छ कि क्या हो !) को माग राखी भएको आन्दोलनले मुलुकको आर्थिक र वित्तीय तथा मौद्रिक व्यवस्थापनप्रति चासो राख्ने सबैलाई झस्काउँछ । नेपाल राष्ट्र बैंकमा मेरो पनि लामो संलग्नता रहेको कारण यी क्षेत्रमा मेरो पनि चासो छ र यो लेख्ने हुटहुटी त्यसै कारण आएको हो । केन्द्रीय बैंकहरूको स्थापनाको इतिहास लामो भए पनि केन्द्रीय बैंकलाई बलियो र स्वायत्त बनाउनुपर्छ भन्ने अवधारणा चाहिँ विभिन्न मुलुकले विभिन्न समयमा भोगेका आर्थिक संकट र मन्दीलाई केन्द्रीय बैंकहरूले समाधान गर्न सकेका कारण आएको हो । यो विशेषता केन्द्रीय बैंकलै आफैं आर्जन गरेको विशेषता हो । यसै कुरालाई दृष्टिगत गरी नेपाल राष्ट्र बैक ऐनमा पनि बैंकलाई स्वायत्त संस्थाको रूपमा स्थापना गरिएको छ र गभर्नरलाई विभिन्न अधिकार दिइनुका अतिरिक्त अन्तर्राष्ट्रिय

जारी छ है, जारी छ

बा र काकाहरूको दन्तबजान जारी छ । ठुलदाइहरूको अलमल र ढुलमुल जारी छ । विवेक र संयमको मात्र अलिकति कमी त हो छोरा र भतिजाहरूको मेलमिलाप जात्रा जारी छ । आशलाग्दाहरूको अकर्मण्यता जारी छ । भरपर्दाहरूको निर्लज्जता जारी छ । आँट र अठोटको मात्र अलिकति कमी हो । मपाईंत्वको व्याख्यान जारी छ । दिदीहरूको गीत र गर्जन जारी छ । भाइहरूको भाषण र भजन जारी छ । गम्भीरताको अलिकति अभाव मात्र हो । जनहितको बाचा जारी छ । सत्ताको रङ्गमा नरङ्गिनुको कुण्ठा जारी छ । त्यो रङ्ग भङ्ग हुनुको ऐंठन जारी छ । नैतिकता बोधको अलिकता अभाव भएको मात्र हो । स्वर्णिम अतीतको गाथा जारी छ । अनुचरहरूको पालन पोषण जारी छ । तिनको भड्किलो प्रदर्शन जारी छ । अलिकति सभ्यताको अभाव मात्र हो । एकताको महिमा गायन जारी छ । षडयन्त्रका अनन्त श्रृंखला जारी छ । कपटपूर्ण कृत्यको सिलसिला जारी छ । विश्वसनीयताको अलिकति अभाव मात्र हो । कतै नाटक जारी छ, कतै नौटङ्की जारी छ । हुक्केहरूको गुलामी जारी छ । बैठकेहरूको खासखुस जारी छ । पारदर्शिताको अलिकति अभाव मात्र हो । ओठे प्रतिबद्धताको वर्षा जारी छ । विरोधी पार्टीसँगको गठबन्धन जारी छ । यन्त्रणा दिनेसँगको मन्त्रणा जारी छ । कथनी र करनी अलि नमिलेको मात्र हो ।

विकासः व्यवहारिक परिभाषाको खोजीमा

विकास खर्चको विनियोजन, कार्यक्रमको पहिचान र कार्यान्वयन तरिकाले विकासको नयाँ परिभाषा बनाइरहेका छन् । हाम्रा विकास गतिविधिका आधारमा विकासको परिभाषा गर्न खोज्दा यस्ता निष्कर्ष आउँदा रहेछन् । असार मसान्त लागेपछि विकासका कामले गति लिन्छन् । असार मसान्तपछि चालु आर्थिक वर्षको बजेट फ्रिज हुने भएकाले यसो गरिएको हो । यसरी गरिने कामहरू गुणस्तरीय हुँदैनन् । जमिनमा गरिने निर्माणको कामका लागि वर्षाको समय उपयुक्त पनि होइन । गुणस्तरहीन विकास हुनुभन्दा नहुनु राम्रो हो । कमसल संरचनाका कारण हुने धनजनको क्षति ठुलो हुन्छ । अर्को सालको अर्को बजेटमा स्तरीय तरिकाले निर्माण गर्न सकिने बाटो नहुने होइन । सरकारी कोषमा रकम रहे अर्को साल चलाउने बाटो खोज्न सकिन्छ । सरकार अविच्छिन्न उत्तराधिकर हुने संस्था हो । तातै खाउँ जली मरूँ भन्नु पर्दैन । तर हामीलाई बजेट सक्न हतार हुन्छ । के हामी बजेट सक्न विकास गर्छौं ? विकास कार्यहरू अघि बढ्न सुरू हुन्छ अनि पत्रिकामा अनियमितता, कमिसन र भ्रष्टाचारका विषय प्रकाशमा आउँछन् । यसपालि बगाएका निर्माणाधीन र तयारी पुलको गुणस्तरमा गरिन लागेको अध्ययनले यसलाई पुष्टि गर्छ । बक्राहा खोला नियन्त्रण आयोजनादेखि नै सम्झने हो भने भ्रष्टाचारका ठुला मुद्दामा सार्वजनिक निर्माण सम्बन्धी मुद्दा पनि पर्छन् । विकास खर्च गर्ने टोलटोलका उपभोक्ता समितिदेखि संघीय सरकारसम्मका एक वा अर्को निकायहरू नै विकास खर्चको अनियमिततामा मुछिएका देखिन्छन् ।

दलहरूको छेउमा उभिएर

भरखरै निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) नामको दल दर्ता गरेछ । यसको दर्ता नम्बर १६३ रहेछ । यस क्रमभित्र कुनै दल खारेजीमा परेका र कतिपयका बीचमा एकीकरण भए पनि नेपालमा करिब १५० भन्दा माथिकै संख्यामा दल होलान् । सबै दल आआफ्नो तरिकाले सक्रिय पनि होलान् । हाम्रो देश र हामी जनताकै सेवाकै लागि काम गरिरहेका होलान् भन्ने आशा गरौं । दलहरू यति धेरै भए पनि २०७४ सालको निर्वाचनमा राम्रो परिणाम हासिल गरी नेपालको राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सफल दलहरू नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माअवादी केन्द्र) र जनता समाजवादी पार्टी नै हुन् । अरू केही दलको समेत प्रतिनिधिसभामा उपस्थिति त छ तर निकै सानो संख्यामा । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको इतिहास लामो भए पनि ती पार्टी सधैं एकैरूपमा रहेका छैनन् । नेपाली कांग्रेस २०५८ सालतिर विभाजन भएर पछि एक भएको हो । कम्युनिस्ट पार्टीमा त विभाजन र एकीकरणको लामो श्रृंखला नै छ । नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का बीचमा २०७५ साल जेठ ३ गते एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएकोमा नाम दोहोरो परेका कारण दर्ता खारेज भएको र तोकिएको म्यादभित्र नयाँ नाममा दर्ता हुन नसकेको हुनाले हाल दुई अलग पार्टी नै अस्तित्त्वमा छन् । जनता समाजवादी पार्टी समेत