छोराछोरी बाहिरै होलान् !

अवकाशप्राप्त कर्मचारीले पाउने सुविधा लिन जाँदा नेपाल राष्ट्र बैंक परिसरमा पूर्व कर्मचारी साथीहरुलाई भेट्छु । मैले दश वर्षको पेन्सन लिइसकेको हुनाले वर्षमा एकदुई पटकमात्र यस्तो अवसर मिल्छ । कतिले मलाई सम्झन्छन्, कतिले सम्झंदैनन् । बीस वर्षअघि भेट भएको बाइस-पच्चीस वर्षको केटोलाई अहिलेको मेरो हुलिया देखेर के चिनुन् पनि । उसो त उहाँहरुलाई चिन्न मलाई पनि कम हम्मे पर्दैन । समयको फोटोसपले उहाँहरुको अनुहारलाई पनि त निकै परिवर्तन (इडिटिङ) गरेको छ । कसैलाई मोटो बनाएको छ, कतै चाउरी थपेको छ, कपालको रङ र घनत्व अनि दाँतको संख्यामा भारी संशोधन गरेको छ । चिनजान नवीकरण भएपछि संवाद सुरु हुन्छ । ती जताबाट पनि सुरु हुन सक्छन् । ‘अनि बसाइ कता हो ?’ ‘जडीबूटीतिर बस्छु ।’ ‘अनि विराटनगर छोड्नु भो ?’ मेरो पुर्ख्यौली घर उदयपुर जिल्लाको नेपालटार भए पनि लामो समय विराटनगर बसेकाले धेरै मानिसले मलाई विराटनगरको रैथाने भन्ठान्छन् । ‘अहिले यतै छु । जडीबुटीतिर सानो घर किनेको छु ।’ यो ‘सानो’ भन्ने शब्द नभनेको भएपनि हुने हो । तर फ्रायडले भनेका छन् क्यारे नि, अवचेतनमा रहेको कुरो मौका पर्नासाथ बाहिर निस्किहाल्छ, चेतनले हरदम नियन्त्रण गर्न सक्दैन । यसैको असरले यो ‘सानो’ निस्कन्छ । यो ‘सानो’ले दैनिक व्यवहारमा केही समस्या ल्याए पनि र मेरो अवचेतनलाई कब्जा गरे पनि मेरो चेतन भने यसमा सन्तुष्ट

सार्वजनिक-संवेदना

कोरियाको विकास अनुभव समबन्धी तालिमको क्रममा एक जना कृषि सम्बन्धी स्रोत व्यक्तिले आफ्नो परिचयको क्रममा पहिला कृषि मन्त्रालयको उच्च प्रशासक रहेको र हाल प्राध्यापनतिर सरुवा भएको जानकारी दिनुभयो । नेपालबाट जाने हामीहरुलाई कृषि मन्त्रालयको उच्च पद (शायद सचिव) बाट किन गुमनाम प्राध्यापनतिर जान ती मान्छेले मन गरे भन्ने खुलदुली भइहाल्यो । हाम्रो सन्दर्भमा त त्यो घटना आठौं आश्चर्यभन्दा कम थिएन । कहाँ कृषि सचिव, कहाँ प्राध्यापक ! हामीले उहाँलाई यसरी सेवा परिवर्तन गर्नुको कारण सोध्यौं पनि । उहाँले भन्नुभयो ‘ कृषि मन्त्रालयमा रहँदा पूरै देशको कृषि सम्बन्धी जिम्मेवारी मेरो टाउकोमा थियो । यस क्षेत्रको विकासमा निकै चुनौती थिए । गहन जिम्मेवारीको कारण म निकै दबाबमा थिएँ । हरेक बिहान कृषि सम्बन्धी कुनै नराम्रो समाचार अखबारमा छापिएको छ कि भनेर मलाई चिन्ता लाग्थ्यो । अहिले ढुक्क छ । पढ्छु, पढाउँछु, अनुसन्धानमा मग्न रहन्छु । आनन्द छ ।’ आजभन्दा झण्डै दश वर्षअघि सुनेका कुरा ठ्याक्कै यही त थिएनन् होला तर मैले बुझेको र सम्झेको कुरा चाहिँ यही हो । उनको समाचारप्रतिको संवेदनशीलता देखेर मेरो मन भारी भयो । कति जिम्मेवार प्रशासक ! नेपालमा पनि पत्रिका छापिन्छन् । सबै जसो कार्यालयले धेरै खाले पत्रिका किन्छन् । नेता, प्रशासक, कर्मचारी सबैले धेरथोर पत्रिका पढ्छन् नै होला । नपढ्ने भए किन किन्थे होलान् र !

तडकभडक किन चाहिन्छ हामीलाई ?

नेपालको सार्वजनिक, सामाजिक र व्यक्तिगत जीवनलाई तडकभडकले गाँजेको छ । सरकारी बजेट महँगा विलासी मोटर, अनुत्पादक भ्रमण, देखावटी असारे विकास जस्ता काममा खर्च भइरहेको छ ।समाजमा पनि हुनेखानेले बिहेव्रतबन्धमा पैसाको खोलो बगाइरहेका छन् । पास्नी र न्वारानले पनि विस्तारै आफ्नो रौनक बढाउँदैछ । जन्मदिन मनाउने संस्कृतिले रुप फेरेर उधुम भएको छ । खासै यात्रा गर्नु नपर्ने भए पनि मोटर प्रतिष्ठाका लागि चाहिएको छ । घर अरुको भन्दा ठुलो नभई भएको छैन । सबैभन्दा ठुलो, सबैभन्दा राम्रो, सबैभन्दा महँगो । यही हाम्रो मूलमन्त्र भएको छ । हुनेखानेहरुको देखासिखीमा मध्यम वर्ग कुद्‍न खोजिरहेको छ । यी गतिविधिहरुका कारण निम्न वर्गमा अघोर निराशा उत्पन्न भएको छ । हुनेले खर्च गर्नु ठिकै पनि होला तर आर्थिक र सामाजिक व्यवस्थामा विचलन आउनु त राम्रो होइन । हाम्रो समाजमा भने यस्तै छुचुन्द्रे दौडका ‘कारण जगत के हो र जीवन के हो’ भन्ने प्रश्न निरुत्तर बनेका छन् । नेपालको अर्थतन्त्र, आम नेपाली जनताको जीवनस्तर, नेपालमा उपलब्ध आर्थिक तथा सामाजिक पूर्वाधार (सडक, यातायात, बिजुली, टेलिफोन, शिक्षा, स्वास्थ्य, बैंक, बीमा आदि) को उपलब्धताको हिसाबले हेर्ने हो भने अहिले नेपालमा देखिने तडकभडक हाम्रो क्षमताभन्दा माथिको हो । यसमा खर्च हुने साधनस्रोतलाई थप औचित्यपूर्ण प्रयोजनमा उपयोग गर्नु आवश्यक छ । यो देशको आवश्यकता हो । तर खर्चको यो क्रम रोकिएको छैन

के गर्दै हुनुहुन्छ, केदारजी ?

नेपाल राष्ट्र बैंकको जागिर सकिनुअघि मैले अवकाशको समयमा पर्नसक्ने समस्याको बारेमा केही पूर्वानुमान गरेको थिएँ । आम्दानी खर्चको तालमेल मिलाउनु पर्ने बारेमा म सचेत थिएँ । खाली समयको व्यवस्थापनको समस्यालाई पनि सम्बोधन गर्नुपर्थ्यो । साथीहरुको एउटा समूहबाट छुटेर अलग्गै जीवन चलाउनु थियो । समय र खर्चको व्यवस्थापनका लागि मिले काम गर्ने सोचमा त थिएँ तर त्यसलाई उति प्राथमिकता दिएको थिइन । काम पाए ठिकै, नपाए पनि ठिकै भन्ने मानसिकतामा थिएँ । आफ्ना यस्तै भावनाहरुलाई अवकाशप्राप्त जीवनको घोषणापत्रमा लेखेको पनि थिएँ । अवकाशपछिको समय व्यवस्थापन र आयआर्जनका लागि आफ्नै व्यवसाय सुरु गर्न मलाई मन छैन । त्यो मेरो योग्यता र क्षमताको विषय नै होइन । मैले आजसम्म नसोचेको कुरा म भोलि सुरु गर्न सक्दिन । मेरो विचारमा अर्को पुस्तामा हस्तान्तरण हुन नसक्ने व्यवसाय अब सुरु गरेर काम पनि छैन । व्यवसाय अर्को र झन् बलियो बन्धन हो । जागिरको बन्धन छुटेपछि अर्को झन् बलियो बन्धनको आरधना किन गर्नु ? अब त बन्धनहरुबाट विस्तारै फुत्कँदै जानुपर्छ होला । उमेर बढेसँगै केही अनुभव हासिल गरियो, केही योग्यता हासिल गरियो । तर मलाई लाग्छ केही ‘अयोग्यता’ पनि हासिल गरियो । अब जागिरको नाममा जहाँ पायो त्यहीँ पाइलो राख्न मन छैन । दुःखका अँध्यारा दिन त जसोतसो कटाइयो, अब धेरै कुरामा सम्झौता गर्न सकिन्छ जस्तो

पुस १ः नयाँ सन्दर्भ

आज २०७५ सालको पुस ५ गते । मंसिर २९ गतेबाट सुरु भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक चलिरहेको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको महासमितिको बैठक पनि सोही दिनबाट सुरु छ । यी दुवै बैठकमा पार्टीभित्रका संस्थापन पक्ष र इतर पक्षका बीच चर्को विरोध र धारिलो घोचपेच भएको छ । विभिन्न नेताको विभिन्न गतिविधिलाई लिएर नर्मम आलोचना भएको छ । संघीयता कार्यान्वयनको क्रममा कर्मचारीलाई प्रदेश र स्थानीय निकायमा पठाउन ल्याइएको कर्मचारी समायोजन अध्यादेशको कर्मचारीले खुलेर विरोध गरेका छन् । स्थानीय निकायदेखि सिंहदरबारसम्म यसको प्रभाव परेको छ । सुशासनमा चुनौती कायम छ, अर्थतन्त्रमा समस्या छन् । यसैबीच केही दिनअघि पोखरा गएका पूर्व राजाको भव्य स्वागत भएको फोटो र समाचार फेसबुक र अनलाइन मिडियाले दिएका छन् । स्वागतको क्रममा राजतन्त्र पुनस्र्थापनाको माग राखिएको छ र गणतन्त्र र संघीयताको विरोध भएको छ । राजा र हिन्दूधर्मको पक्षधर पार्टी र व्यक्तिले पनि गतिविधि बढएका छन् । यसै सेरोफेरोमा ‘पञ्चायतकी आमा’ भनेर चिनिने डा. तुलसी गिरीको निधन (पुस ३ गते) भएको छ । तुलसी गिरीको निधनका सन्दर्भमा प्रकाशित समाचारले २०१७ साल पुस १ गतेलाई फेरि स्मरणमा ल्यायो । संविधान निर्माण गर्न राजाबाट गठित समितिले बेलायती संविधानविद् आइभर जेनिङ्सको सल्लाहमा तयार पारी २०१५ सालमा राजाले दिएको संविधान अनुसार निर्वाचित दुई तिहाइ बहुमत

निर्मलाका आमाबाबुलाई न्याय

साउनको १० गते निर्मलाको बलात्कारपछि हत्या भयो । आज त्यो घटना भएको चार महिनाभन्दा बढी भइसकेको छ । तर त्यस घटनाको दोषी पत्ता लाग्न सकेको छैन । प्रहरीले हालसम्म गरेका  अरू विभिन्न अपराधको अनुसन्धान र त्यसको सकारात्मक नतीजाको पृष्ठभूमिमा यो घटना त्यति रहस्यमय भएजस्तो लाग्दैन तर अहिलेसम्म घटनाको नालीबेली जानकारी हुन सकेको छैन । त्यस घटनाको दोषीका रुपमा विभिन्न मानिस पक्रिए, तर निर्दोष पाइए र छोडिए । वास्तविक दोषी पुलिस प्रशासनको पहुँचभन्दा बाहिरै रहे । अनुसन्धानमा लापरबाही गरेको भनेर केही पुलिस अधिकृत नै कारवाहीमा पनि परे । तर घटनाको निकास अहिलेसम्म निस्केको छैन । लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र र जनताले चुनेको सरकार निर्मलाको लागि न्याय दिन आजका दिनसम्म सक्षम देखिएनन् ।राज्यको यो अकर्मण्यता जनताको लागि सह्य विषय होइन । त्यसैले निर्मलाको हत्या भएदेखि नै हत्यारालाई न्यायको कठघरामा ल्याउने माग गर्दै नागरिक प्रदर्शन जारी छ । घटनास्थल (महेन्द्रनगर) र काठमाडौंमा प्रदर्शन भइरहेका छन् । भौतिक रुपमा त्यहाँ नपुगे पनि सारा नेपालीको भावना त्यस विरोध कार्यक्रममा सरीक होला भन्ने मेरो अनुमान छ । आज कुनै अपराध दण्डहीन भएमा त्यो समाजको र राज्यको संस्कृति बन्न सक्छ । आन्तरिक द्वन्द्व र संक्रमणकालका कारण दण्डहीनता मौलाएको यस मुलुकमा संक्रमणकालको अन्त्यपछि पनि त्यस किसिमको प्रवृत्ति कुनै हालतमा स्वीकार्य होइन पनि । निर्मलालाई न्याय आजको न्यायपूर्ण नेपालको कामना

पञ्चावती सद्भाव समाजबाट पुरस्कार वितरण कार्यक्रम सम्पन्न

(श्री पञ्चावती माध्यमिक विद्यालय र माध्यमिक विद्यालय भलायडाँडाका विद्यार्थी पुरस्कृत) पञ्चावती सद्भाव समाजले यही कात्तिक १६ गते श्री पञ्चावती माध्यमिक विद्यालय, उदयपुर गढी र माध्यमिक विद्यालय, भलायडाँडा, खाटडाँडामा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी विभिन्न विद्यार्थीहरुलाई विभिन्न पुरस्कार वितरण ग¥यो । ती पुरस्कारहरु विभिन्न महानुभावले अक्षय कोष राखी पञ्चावती सद्भाव समाजको संयोजकत्वमा स्थापना गर्नु भएको हो । श्री पञ्चावती माध्यमिक विद्यालयमा आयोजित पुरस्कार वितरण समारोहको अध्यक्षता समाजका अध्यक्ष श्री मधुरमण आचार्यले गर्नु भएको थियो भने प्रमुख अतिथि उदयपुरगढी गाउँपालिकाका अध्यक्ष श्री मानबहादुर केप्छाकी मगर हुनुहुन्थ्यो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री धनबहादुर कार्की, पञ्चावती सद्भाव समाजका पूर्वअध्यक्ष श्री ओमबहादुर राउत, प्रा.डा. गीता शर्मा आचार्य, विद्यालयका प्रधानाध्यापक श्री भोला के.सी.,  स्थानीय नेता तथा बुद्धिजीवी श्री बोधकुमार घिमिरे, शिक्षा र सामाजिक समिति संयोजक श्री संगीता वि.क. समेतले मन्तव्य व्यक्त गर्नुभएको सो समारोहमा स्थानीय प्रबुद्ध व्यक्तिहरु, विद्यालयका शिक्षक र विद्यार्थीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । समारोहका अध्यक्ष श्री मधुरमण आचार्य, गाउँपालिकाका अध्यक्ष श्री मानबहादुर केप्छाकी मगर लगायतका अतिथिहरुले पुरस्कृत विद्यार्थीलाई पुरस्कार वितरण गर्नु भएको थियो । वितरित पुरस्कार र पुरस्कृत विद्यार्थीको विवरण यस प्रकार रहेको छः १. स्व. अनुज स्मृति पुरस्कार स्व. अनुज निरौलाको स्मृतिमा उहाँका पिता श्री टीकादत्त निरौलाद्वारा स्थापित एस.एल.सी.(प्रवेशिका) परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने पञ्चावती माध्यमिक विद्यालयका विद्यार्थीलाई प्रदान गरिने २०७१ साल

देवकोटाको सम्झनामा

(देवकोटाको जन्मजयन्ती सन्दर्भ) दिन र रात, जाडो र गर्मी, हिउँद र वर्षा गरी समयको पाँग्रा घुम्दै जान्छ । यसरी घुमेको समयको पाँग्रा दसैंमा आइपुग्छ, तिहारमा आइपुग्छ र  आइपुग्छ अरु चाडपर्व र सन्र्भहरुमा । यस्तै समयक्रमले सालिन्दा महाकवि लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६—२०१६) को जन्मजयन्ती पनि आउँछ । हरेक वर्ष लक्ष्मीपूजाको दिन मनाइने देवकोटाको जन्मजयन्तीको सेरोफेरोमा देवकोटालाई पढेकाले फेरि पढ्छन्, देवकोटालाई सुनेकाले फेरि सुन्छन्, देवकोटाबारे लेखेकाले फेरि लेख्छन्, बोलेकाले फेरि   बोल्छन् । भर्खर चेतना खुलेका किशोरहरुले पनि देवकोटाको व्यक्तित्व र कृतित्वको विराटस्वरुपको आभास पाउँछन् । देवकोटा नेपाली जनमनमा फेरि एकपटक आँधी, बिजुली र बाढी बनेर पस्छन् अनि नेपाली जनमानसलाई देवकोटामय बनाएर जान्छन् । घरमा अहोरात्र ट्युसन पढाउने देवकोटा परिवारका लागि सुनको फुल पार्ने कुखुरी थिए । उनले अहिले पनि पुस्तकको रोयल्टी कमाइरहेका छन । तर उनको घर मृत्योपरान्त उनको नामको देवकोटा संग्राहलयमा रुपान्तरित हुन सकेन । जहानियाँ शासनका विरुद्ध जन्मन लागेको नेपाली क्रान्तिको सुडेनी बन्न उनी वनारस गए । वनारसमा चारआनामा चारवटाका दरले कविता बेचे, चना खाएर गुजारा गरे । साहित्य अनुरागीका लागि उनी कविता लेख्ने मेसिन थिए । चुरोट कोसेलीमा कविता लेखेर उनले आफ्ना कैयौ आशामुखीहरुलाई सन्तुष्ट पारे । राजा महेन्द्रले उनलाई मन्त्री बनाए, करिब तीन महिना । घरमा बसेर पनि व्यवहारिक हुन नसक्नु, क्रान्तिका लागि घरबार त्यागे पनि क्रान्तिकारी नमानिनु, सत्तामा पुगे पनि शासकको कोपभाजन हुनु, प्रतिभासम्पन्न भए पनि पागल ठानिनु उनका

सार्वजनिक पदमा नियुक्तिः केही प्रश्नहरु

निर्वाचनपछि सरकार परिवर्तन हुन्छ । नयाँ संसद बन्छ, प्रधानमन्त्री फेरिन्छन्, मन्त्रीहरु नयाँ आउँछन् । त्यसपछि सरकारले गर्ने राजनैतिक नियुक्तिका हल्ला चल्न थाल्छन् । कुन पदमा को आउला, को जाला, कसले मौका पाउला, कसले बाजी मार्ला ? प्रबुद्धवर्गका बीचमा यसका बारेमा चर्चा हुन्छ । नियुक्तिका आकांक्षीहरुले दौडधूप पनि गर्लान् । सरकारले आफूलाई सहयोग गर्ने टिमको तयारी गर्नु स्वभाविकै पनि हो । यसरी नयाँ सरकारले नयाँ नियुक्ति गर्ने विशेष किसिमका पदहरु सबै मुलुकमा हुन्छन् । यति मात्र होइन निश्चित योग्यता, नियुक्ति प्रक्रिया र पदावधि तोकिएका संवैधानिक अंग र सरकारका विभिन्न निकायका पदाधिकारीका नियुक्ति पनि राज्यका संयन्त्रबाट नै नियमति रुपमा भइरहेका हुन्छन् ।नियमित र सामान्य प्रक्रिया भए पनि यी पदमा हुने नियुक्ति विवादबाट टाढा भने रहन सकेका छैनन् । विशेष दक्षता हुनुपर्ने पदमा समेत पार्टीगत संलग्नताको आधारमा नियुक्ति हुने, पार्टीमा पनि गुटगत संलग्नताले फरक पार्ने, नातागोता, कृपापात्र, भौगोलिक र जातीय सान्निध्य हेरिने र कतिपय अवस्थामा आर्थिक चलखेलका अधारमा नै नियुक्ति भएका कुरा पनि सार्वजनिक भएका छन् । जनताको जिउधनको भविष्य फैसला लेख्ने कलमको टुप्पोमा राखेर हिंड्ने न्यायाधीशको नियुक्तिको सिफारिस समेत दलगत आधारमा भएको सुनिएको छ । संवैधानिक पदमा नियुक्ति भई काम सम्हालेको लामो समय बितिसकेपछि योग्यता नपुगेको ठहर हुनु, संवैधानिक परिषदले गरेको नियुक्तिको सिफारिस संसदीय समितिबाट अस्वीकृत हुनु जस्ता घटना पनि हामी सामुन्ने

नेपाल महाभोज

केही वर्ष पहिला दक्षिण कोरिया जाँदा मैले एउटा पदावली सुनेको थिएँ, ‘कोरिया इन्कर्पोरेसन’ । अर्थात, कोरिया कम्पनी । विकासको एक चरणमा कोरिया देश नै एउटा कम्पनीको रुपमा परिणत भएको थियो । त्यो समग्र देश एउटा आर्थिक अवयवको रुपमा कार्यरत थियो । त्यो देश आर्थिक विकास, उत्पादन वृद्धि, निकासी वृद्धि, पूर्वाधारको विकास जस्ता काममा एकोहोरो भएर लागेको थियो । उसका आर्थिक बाहेक अरु एजेन्डा वा कार्यभार नभए जस्तै थियो । देश भए पनि यसको राजनैतिक चासो कम थियो । सामसुङ, हुन्डाइ, एलजी, लोट्टे, किया जस्ता कम्पनीको विकास र विस्तारमा मुलुककै चासो थियो । कोरियनहरु जापानको औपनिवेशिक थिचोमिचो, दोस्रो विश्वयुद्धको परिणतिस्वरुप भएको विभाजनको पीडा र दुई कोरिया बीचको युद्धको घाउलाई बिर्सेर नयाँ शिराबाट देशको विकास गर्न लागेका थिए । र ती प्रयासको सकारात्मक उपलब्धि पनि हासिल भएको थियो । साह्रै कम समयमा र सारा संसारलाई आश्चर्यमा पार्ने गरी कोरिया विश्वको गरिब देशबाट विकसित र धनी मुलुकमा रुपान्तरित भएको थियो । शायद यसै अवस्थालाई जनाउने पदावली थियो, ‘कोरिया इन्कर्पोरेसन’ । नेपालको लागि यस्तै नाम के होला ? कोरियाबाट फर्केपछि मैले आफैलाई सोधें । मेरो मनमा यस सम्बन्धमा लामो समयदेखि खुलदुली भइरहेको थियो । हामीले अहिले जे गर्दैछौं त्यसका लागि कुन नाम राम्रो होला ? कुन विशेषण उपयुक्त होला ? मन दशतिर सोचिरहेको थियो