त्यो मैले सानो दुःखले बनाएको घर थिएन ।
ठुलो छोरा तीन वर्षको भइसकेको थियो र कान्छाले पनि यस धरामा पदार्पण गर्ने प्रतिज्ञा गरिसकेको थियो । काख र कोखमा रहेका दुइटै साना सन्तानलाई डेरामा हुर्काउनु पर्ने स्थितिमा हामी थियौँ । हामीलाई छोराछोरी डेरामा हुर्काउनु सजिलो भने लागेको थिएन । साना केटाकेटी भएको परिवारलाई घाम, पानी, खुला ठाउँ भएको डेरा उपयुक्त हुने तर ती सबै कुरा भएको डेरा पाउन साह्रै गाह्रो । साना साना छोराछोरी बोकेर डेरा खोज्दा हत्तपत्त स्वागत नपाइने । केटाकेटी भएका मान्छेलाई भाडामा घर दिएपछि फोहोर हुन्छ, चकचके केटाकेटीले नोक्सान गर्छन्, च्याँच्याँ र चुँचुँले हल्ला हुन्छ यस्तै यस्तै कुरा मनमा राखेर घरवालाहरु एक वा अर्को बहाना बनाएर डेरा दिन मन नगर्ने । अनेकन तारतम्य मिलाएर पाएको कोठामा पनि साना छोराछोरी लिएर बस्दा ढुक्क हुन नसकिने । छोराछोरी हिँडे भने गाली गर्नुपर्ने, कुदे भने कुट्नु पर्ने । त्यति नगरे छोराछोरीलाई वास्ता गरेको नमानिने । अरुले मुखले केही नभने पनि उनीहरुको मनोभावना बुझी आफैंले केटाकेटीको गतिविधिमा बढी नै नियन्त्रण गर्नुपर्ने । आफू नेपालटार र उदयपुर गढीका रनबन डुलेर हुर्केको मान्छे, आफूले गर्नुपर्ने त्यस्तो व्यवहार आफैंलाई चित्त नबुझ्ने । त्यसमाथि एक जना साथीले ‘केदारजी भाडामा बस्दा अरु समस्या त छँदैछ, हाम्रा छोराछोरीका लँगौटिया साथी पनि नहुने भए, आज यता भोलि उता, अनि को हुने त उनीहरुको लँगौटिया’ भनेको कुरा पनि मनमा झलझली आइरह्यो । सारा जीवन डरामा त नबिताइएला । आखिर जेजस्तो भए पनि घर त बनाउनै पर्छ । हामी पनि घर बनाएर बस्न अनुकूल हुने ठाउँ खोज्दै नै त विराटनगर आएका थियौँ । अनि हामीले निर्णय ग¥यौँ, अब आफ्नै घर बनाउनुपर्छ ।
त्यो बेलासम्म मैले बचाएको पैसा त घडेरी किन्नमा नै सकिएको थियो । त्यस अवस्थामा घर बनाउने रकम जोगाड गर्न गाह्रो थियो । त्यसै वेला कार्यालयबाट प्राप्त थप ऋण सुविधाले मेरो हिम्मत बढायो र मैले घर बनाउने विचार गरेँ । भरखर दुःख जिउलो घर बनाएकाहरु भन्थे– ‘ढलानसम्म गर्न सक्यौ भने त बनिहाल्छ नि घर ! भाडा तिर्ने पैसाले नै बिस्तारै थप निर्माण गर्न सकिन्छ ।’ मेरो आर्थिक अवस्थाको चुरो थाहा नपाउनेहरु ‘राष्ट्र बैंकमा काम गर्ने मान्छेलाई घर बनाउन पैसाको के दुःख हुन्छ र’ भनेर एकातर्फबाट ताना कस्थे भने अर्कोतर्फबाट हिम्मत पनि बढाउँथे । हो पनि, म आफू जे जस्तो भए पनि म काम गर्ने राष्ट्र बैंकलाई राम्रो सुविधा दिने संस्था मानिन्थ्यो, म राम्रो आर्थिक अवस्था भएका साथीहरुसँग एकै टेबुलमा बसेर काम गर्थें । एउटै पसलमा चिया खाजा खान्थेँ । दुईचार हजार ओहोरदोहोर पनि हुन्थ्यो । आपत परेको बेला अलि ठुलो रकम सापट दिन्थे दिँदैनथे भन्न सक्दिन थिएँ तर मुख फोर्ने आधार त थियो । तर सल्लाहका लागि केही आफन्तहरुकहाँ जाँदा भने फेरि मन धरमर हुन्थ्यो । घर बनाएर जमेर बसेका उनीहरु घर बनाउने लागत सातो जाने अङ्कमा सुनाउँथे । यस्तै यस्तैमा मन दोमन भइरहेको थियो । घर बनाउन पुग्ने थैलो भएपछि मात्र घर बनाउन सुरु गर्ने हो भने मेरो घर कहिल्यै पनि हुँदैन भन्ने तत्वज्ञान प्राप्त भएपछि घर बनाउने टुङ्गो लाग्यो ।
विराटनगरको जामुनगाछीभन्दा केही दक्षिणमा अघिल्लो वर्ष किनेको घडेरीमा मैले घर बनाउन सुरु गरेँ । मंसिरमा बनाउन सुरु गरेको भुइँतले घर वैशाखमा करिब करिब तयार अवस्थामा पुग्यो । यसबीचमा सुत्केरी हुने छोरीको हेरचाह गर्न आउनुभएकी सासूको निधन भयो । सानो छोरा जन्म्यो । आमा गुमाएर क्लान्त र फेरि आमा भएर गलित पत्नीको हेरचाह, ट्याउँट्याउँ गर्ने तीन बर्से छोराको देखभाल, जागिर र घर निर्माणको काम मैले एकैसाथ गरेको थिएँ । छिमेकी र नातागोताको सहयोग नभएको भए त्यो काम मेरो बलबुताको थिएन भन्ने पछि मात्र थाहा पाएँ । उनीहरुले मलाई त्यो भुँमरीबाट उतारे र हामीलाई आफ्नो घर हुने कहलाउन योग्य बनाएर छोडे । साथीभाइ र इष्टमित्रबाट सापटी पनि सजिलै पाइयो, गाईपाल्ने बहाना बनाएर बैंककर्जा पनि लिएँ ।
अब त बास बस्न सकिएला जस्तो भएपछि घरमा सर्ने हुटहुटी लागिहाल्यो । झ्यालका पल्ला बनिसकेका थिएनन् । प्रस्तावित दुई कोठे घरको अगाडिको कोठा फिनिसिङ भएको थिएन । छतमा जाने भ¥याङमा ढलान भएको थियो तर खुड्किला बनाएको थिएन । खुड्किलाको ठाउँमा बालुवा भरेका बोरा राखेर काम चलाइएको थियो । रङ्गरोगनको कुरा त बिलासिताको विषय भइहाल्यो, गराउने विचार नै थिएन । प्लाष्टर भएको एक कोठा, भान्सा र बाथरुम तयार भएपछि हामीले नयाँ घरमा सर्ने विचार ग¥यौ । त्यस वेलासम्म पनि तराईमा कतिपय घरमा बाथरुम घरबाहिर अलि पर हुन्थे र शौचालय जाँदा पानी लिएर जानु पथ्र्याे । आफ्नो घर बनाएँ भने भ¥याङमुनि बाथरुम बनाउँदिन भन्ने चाहिँ संकल्प गरेको थिएँ, काठमाडौंका डेरामा अप्ठेरा बाथरुम भोगेकाले । त्यसैले भ¥याङ र बाथरुमको अंशबण्डा गरिदिएको थिएँ, भ¥याङ बाहिरबाट जाने गरी अनि बाथरुम घरभित्र बनाएर । तराईमा पनि के पानीको दुःख गर्नु भनेर पानी टंकी र धाराको व्यवस्था पनि मिलाइसकेको थिएँ । पण्डितजीले घर सर्ने साइत अलि परको बताएका भए पनि मेरो हुटहुटीलाई दृष्टिगत गरी साइत अलि वर सार्नु भएको थियो । घर निर्माणको काम थप अघि बढाउने पैसा नभएपछि घर सर्ने साइत मात्र पछि सारेर कुनै फाइदा थिएन । हामी संशोधित साइत अर्थात अघिल्लै मितिमा घर स¥यौं ।
घर सर्ने दिन बेलुका खाना खाइसकेपछि आँधी बतास सहित पानी प¥यो । झ्यालको पल्ला नठोकेको घरमा बतासपानी नपसेको ठाउँ कतै भएन । पुसमा जन्मेको पाँच महिने छोरो काखमा लिएकी पत्नीलाई जेठो छोरो नजिक राखेर सबैलाई ओत पुग्ने गरी सिरक ओढाइदिएँ र त्यसमाथि जुटको झल्लाले छोपिदिएँ । अनि आफू पनि त्यतै घुस्रेँ । साइतको दिन समेत लगातार तीन दिन नयाँ घरमा बस्नुपर्ने नियम भएकाले त्यो रात अन्यत्र सुत्न जान मिल्ने कुरा पनि भएन । कष्टपूर्वक त्यो रात त्यही घरमा बिताइयो । त्यो कष्ट भोगिसकेपछि मन झन् बलियो भएर आयो, लगातार हामी त्यहीँ बस्यौं । घर सरेको दिन र घर छाएको दिन पानी परेको राम्रो साइत हो भन्ने कथन कतै सुनेको झझल्को मनमा आयो । त्यही झझल्कोले आत्मालाई अलि बलियो बनायो । बलियो आत्माले घाँटी बचाउन भने सकेन । मलाई नै भोलिपल्टदेखि खोकी लाग्यो र एक कोर्स एन्टिबायोटिक खानु प¥यो । जिन्दगीमा खाइएका र खाइने एन्टिबायोटिकका अनेकन कोर्समध्ये त्यो नाथे एक कोर्सले केही फरक पार्ने होइन, तर जीवनमा आफ्नो घर हुनुले धेरै अर्थ राख्छ भन्ने आश्वासन आफैंलाई दिएर म ढुक्क भएँ ।
त्यसपछि ढुक्कले दश वर्ष त्यही घरमा बसियो । तला थपिएन तर बाँकी रहेका निर्माणका काम सामान्य रुपले सम्पन्न पनि गरियो । अफिसले आफूलाई दिएका विभिन्न आर्थिक सुविधाबाट घरलाई लाभान्वित पारियो । बिलासिता मानिएको रङ्गरोगन पनि गरियो भलै सस्तो सामाग्र्र्री प्रयोग गरेर किन नहोस् । विभिन्न फारामहरुमा स्थायी ठेगाना लेख्ने ठाउँमा जिल्ला उदयपुर, पञ्चावती गाउँ विकास समिति, वडा नं. २, नेपालटार लेख्ने गरिएकोमा जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका, वडा नं. ६, जामुनगाछी, श्रुतीमार्ग लेख्न थालियो । कसैले घर सोध्दा पहाड उदयपुर हो, उदयपुरमा पनि खोटाङबाट जिजुबाजै नै आएका रे, बसोबास अहिले विराटनगरमा छ भन्ने धक्कुको गन्ध आउने परिचय पनि दिन थालियो । चाडबाड त्यहीँ मानियो, पूजापाठ त्यहीँ लगाइयो । छोराछोरी त्यहीँ हुर्के । उनीहरु हिंड्दा गाली गर्नुपरेन, कुद्दा कुट्नु परेन । कहिलेकाहीँ फोहोर गरे भने पनि ‘घिउ कहाँ पोखियो दालमा’ भन्ने उखान पो सम्झना हुन थाल्यो ।
हाम्रो विराटनगरको बसाइ रमाइलो थियो । घर पायकको जागिर । बिरामी हुँदा उपचारको सुविधा पनि राम्रै भएको । काठमाडौं पनि दिवा बसमा आजको आजै पुगिने, हवाइजहाज चढे त घण्टैमा । छोराछोरी पढाउने स्कुल पनि सन्तोषजनक, शुल्क सस्तो । काठमाडौंबाट आउने साथीहरु छोराको स्कुल फी सुनेर हाँस्थे । भारतीय सीमामा पर्ने जोगबनीको सस्तो बजार । पुख्र्यौली घर उदयपुर जान पनि टाढा नपर्ने । विराटनगर आउने नातेदार र गाउँलेसँग पनि भेट भइरहने । बुझ्दै जाँदा त आचार्य बन्धु र उदयपुरेको ठुलै जमात रहेछ विराटनगरमा । बसाइँ सर्ने क्रममा उदयपुरसम्म आएर हामी समेत केवल दुई परिवार मात्र छुटेको रहेछौं । विराटनगर र सुनसरी बसाइँ सर्ने बन्धुबान्धवसँग पनि चिनजान भयो । ससुरालीतर्फका नातेदारहरुको पनि त्यहाँ राम्रो जमघट थियो । आफ्ना जेठानहरु राजविराजमै हुनु भए पनि काका सुसुरातर्फका जेठानहरु विराटनगरमा रहेछन् । बाक्लै आउजाउ भयो । हप्तैपिच्छे जस्तो कहीँ न कहीँ जाँदा पनि ‘हैन तैँले आउनै छोडिस त’ भन्ने बन्धुहरु र ‘अहो ज्वाइँसाहेबको त नाकमुखै देखिन छोड्यो त’ भन्ने सुसुराली खलकहरुको भनाइ सुनिरहिन्थ्यो ।
यो निश्चिन्तता लामो समयसम्म टिक्न सकेन । मधेश आन्दोलनले नेपालको तराईलाई नराम्रोसँग खल्बल्यायो । विराटनगर पनि त्यसको अपवाद रहेन । विराटनगरमा रहेका पहाडे समुदाय अन्योलग्रस्त भए । विराटनगर नेपालको पूर्वी भेगको केन्द्र त छँदैथियो, २०५२ सालबाट सुरु भएको हिंसात्मक राजनैतिक क्रियाकलापका कारण गाउँमा बस्न नसकी विराटनगरमा धेरै मानिसले घरबास गरेका थिए । विराटनगर धेरै सस्तो सहर थियो । राजविराज, जनकपुर, वीरगञ्जको भन्दा घर घडेरीको मूल्य विराटनगरमा कम थियो । त्यसैले विराटनगरमा बसाइँ आउनेको संख्या उल्लेख्य थियो । तराई आन्दोलनपछि अब त्यहाँ पनि निश्चिन्त भएर बस्ने वातावरण नभएको हो कि जस्तो भयो । काठमाडौंमा खुट्टा टेक्ने ठाउँ भएका मानिसहरु आन्दोलन साम्य भएपछि विस्तारै काठमाडांैतिर लागे । मेरा पनि कतिपय नातेदारहरु काठमाडौं नै गए । राजविराजबाट तत्काल सुरक्षित गन्तव्य खोज्दै विराटनगर आउनुभएका जेठान दाइहरु पनि ‘घर छोडेपछि अब काठमाडौं नै जाने नि, किन विराटनगरमा अलमलिनु’ भनेर काठमाडांै प्रस्थान गर्नुभयो ।
यो अन्योलमा पनि मैले भने विराटनगर छोड्ने आँट गरिन । मेरो काठमाडांैमा खुट्टो टेक्ने ठाउँ थिएन । अरुले हात्ती चढे भनेर आफू धुरीमा चढ्ने कुरा भएन । विराटनगरमा भएको घर घडेरी बेचेर अन्यत्र किन्न सकिँदैन थियो । अन्तिम समयसम्म विराटनगरमै धैर्य गरेर बस्नुपर्छ, विराटनगरबाट पनि भागियो भने कतै अडिन सकिन्न भन्ने मेरो मनले भनिरहेको थियो । नभन्दै केही समयपछि वातावरण राम्रो भयो । मधेश आन्दोलनपछि पलायन भएका सबै समुदायका मानिसले विराटनगरलाई गन्तब्य बनाए । मेरो विराटनगर नछोड्ने विचार ठिकै सावित भए झैं लाग्यो । मलाई विराटनगर छोड्न मन थिएन । विराटनगर मेरो सपनाको सहर थियो । यहीँ घरबास जोड्न भनेर म काठमाडौंबाट सरुवा मिलाएर आएको थिएँ । मलाई काठमाडौं जान कुनै हिसाबले पनि अनुकूल थिएन ।
पछि विस्तारै विराटनगरप्रतिको मेरो मोहमा कमी आउन थाल्यो । आफूले जेजसो गरी गुजारा गरे पनि छोराछोरीका पढाइका लागि काठमाडौं पो जानु पर्छ कि भन्ने विचार मनमा आउन लाग्यो । यसभन्दा अघि सरुवा मिलाएर काठमाडौं गएका साथीहरु पनि ‘काठमाडौं जान ढिला भएछ, चाँडै गएको भए राम्रो हुने रहेछ, अलि टाढा घरघडेरी त्यति धेरै महँगो पनि रहेनछ’ भनेर मलाई काठमाडौं जान सु¥याइरहेका थिए । छोराहरु स्कुलमा पढिरहेकाले उनीहरुको माध्यमिक शिक्षा नसकी विराटनगर छोड्न सकिने कुरा त थिएन तर घर भनेको बेलामा तुरुन्त बेच्न नसकिने भएकाले घर बेचेर अलि फुक्का चाहिँ भइरहनु पर्छ कि जस्तो लाग्यो । हुन पनि विराटनगरमा सहरभन्दा चार किलोमिटर टाढाको त्यो घर नाम मात्रको विराटनगरमा थियो । थोरै घडेरीमा दुःखले बनाएको त्यो घर गर्मीमा निकै असुविधाजनक थियो । वर्षायाममा सधैँ डुबान हुन्थ्यो र ढल निकासको व्यवस्थाका लागि त्यहाँको जमिनको बनावट नै प्रतिकूल हुन्छ कि भन्ने मेरो मनमा परेको थियो । काठमाडौं आठ वर्ष बसेर पनि मोफसलमा घरबास गर्न पुगेको मेरो मनको कुनै अज्ञात कुनाले पनि काठमाडौं मागिरहेको थियो कि ? सायद भोग पुगेको भनेको त्यही होला । तर हलुङ गोजी र गह्रौ मन लिएर म चुपचाप थिएँ ।
केही समय अघिसम्म माइती पक्षबाट घेरिएर विराटनगरमा बसेकी मेरी पत्नी माइतीहरु काठमाडौं गएपछि नियास्रो मानिरहेकी थिइन् । म पनि यसो छुट्टीका दिन बिहान बेलुका त्यता गएर गफ गर्न बानी परिसकेको रहेछु । आचार्य बन्धुहरुको पनि ठुलो जमात त काठमाडौंमै रहेछ । विराटनगरमा त घरव्यवहार मिलाउन पर्खेर बसेकाहरु मात्र रहेछन् । त्यही कारण पनि उनी ‘यहाँ न घरतिरका मानिस छन्, न माइतीतिरका मानिस छन् । आपतविपतमा सरसहयोग गर्ने कोही छैन । छिमेकीको भर त हुन्छ, तर उनीहरुलाई कर त हुँदैन’ भनेर मलाई गुनासो गरिरहन्थिन् । यो गुनासोप्रति मेरो भन्नु केही थिएन । छिमेकीको व्यवहार पनि खोट लगाउनु पर्ने केही कारण थिएन, गोजी गह्रौ नभई काठमाडौंको योजना बनाउनु पनि दिवास्वप्न मात्र थियो । मनको लड्डुमा रुचि कम भएर होला हामी दुवैको मनमा काठमाडौं भए पनि यस बारेमा थप गफ गरेका थिएनौं ।
“आचार्य सर, गणेशचोकको घडेरी बेच्नु हुन्छ भन्ने सुनेर आएको ।” चिनापर्ची पछि उनले मलाई सोधे । उनी जग्गाको कारोबार गर्ने भरतजी रहेछन् । कुनै समय र प्रसंगमा मैले व्यक्त गरेको गणेशचोकको जग्गा बेच्ने कुरा उनले सुनेका रहेछन् । अहिले त्यो जग्गा किन्ने ग्राहक भेटिएकाले उनले त्यो कुरा सम्झेर मकहाँ आएका रहेछन् ।
“त्यो जग्गा त होइन, म यो घर बेच्छु ।” मेरो मनमा घुमिरहेको कुराले अनायास निकास पायो ।
“ए, घरै पो बेच्ने ? कतिमा ?” उनले सोधे ।
“एक छिन पख्नोस् है ।” उनलाई रोकेर मैले मुनालाई बोलाएँ ।
“सुन त, यो घर बेचँैं है ।” मैले पत्नीसँग घर बेच्ने सल्लाह गरेँ ।
“म के भनौँ, बेच्ने भए बेचौँ ।” उनले सजिलै स्वीकृति दिइन् ।
तर आज मेरो घर बेच्ने प्रस्तावले सायद उनको भावनालाई पनि सम्बोधन गरेको थियो ।
मैले दुःखले बनाएको घर बेच्ने निर्णय भने साह्र्रै सजिलो गरी भयो ।
भरतजीसँग घरको न्यूनतम मोल सुनाएँ । उनले यतिमा बेच्न त सकिन्न भनेपछि अलिकति कचपचका साथै न्यूनतम मोल निर्धारण भयो ।
उनलाई दिनुपर्ने कमिसनका बारेमा कुरा भयो । अलिकति कचपचका साथ त्यो पनि टुंगो लाग्यो ।
विराटनगरको घर बिक्रीमा चढ्यो ।
छुट्टीको दिन म घरमा बसिरहेको थिएँ । त्यही समयमा केही मानिस घर हेर्न आए । आफूले बनाएको, बसिरहेको घर बेच्ने प्रयोजनका लागि देखाउने काम भने साह्रै कष्टप्रद हुँदो रहेछ । कतिपय आगन्तुकका लागि निषिद्ध गरिएका स्थानहरु पनि घर किन्छु भन्नेलाई नदेखाइ हुँदैन । आफूले भरसक राम्रो, सुविधाजनक र बलियो बनाएँ भनेको घरमा अरुले गरेका शंकाउपशंकालाई ग्राहक भनेको राजा बराबर हो भनेर सुन्नु बाहेक केही विकल्प हुँदैन । आफूले उपयोग गरिरहको भान्सा सानो भयो, बाथरुम अँध्यारो भयो, कोठा कम भए के के, के के । तर बेच्नु छ भने सुन्नुपर्छ । सुन्नुपर्छ मात्र होइन स्पष्टीकरण पनि दिनुपर्छ ।
तर उनीहरुले खासै कुरा गरेनन् । ‘ल सर पछि कुरा गरौँला’ भनेर गए र केही समयपछि बैना गर्न तयार भएर आए । चार लाख बैना दिए । फुलिस्केप कागजमा मैले नै ‘घर बिक्री गर्ने र सोको बैना वापत चार लाख रुपैयाँ लिएँ’ भन्ने व्यहोराको बैनाको कागज लेखेर दिएँ । पास गर्न भने तीन महिनाको समय मागे ।
घर बेचाइको प्रक्रिया निकै छिटो भयो । यसभन्दा अघि पनि मैले एक पटक घर बेच्ने चेष्टा गरेको थिएँ र त्यति बेला पनि एक जना मानिस घर हेर्न आएका थिए । तर उनले घर मन पराएनन् र पछि मैले पनि बेच्ने विचार परित्याग गरेको थिएँ । यसपटक भने घर हेर्न आउने पहिलै मानिसले घर किन्ने भए । चाहेको कुरा पूरा हुन लागेकोमा म सन्तुष्ट नै थिएँ तर बजारमूल्य भन्दा कममा मैले घर बेच्न लागिरहेको रहेछु । त्यसै कारण नै त्यो आश्चर्यजनक सफलता हासिल भएको रहेछ भन्ने पछि मात्र थाहा पाएँ । जे भए पनि आफूले गरेको सम्झौताबाट पछि हट्ने त कुरै भएन ।
बजारमूल्यभन्दा कममा घरजग्गा बेच्नुलाई म सर्वथा गलत काम भने मान्दिन । यस सम्बन्धमा मेरो आफ्नै मूल्य सिद्धान्त छ । बेच्नु छ भने बेचिहाल्नुपर्छ र किन्नु छ भने किनिहाल्नुपर्छ भन्ने मान्यता छ मेरो । मेरो विचारमा मूल्यमा दुईचार प्रतिशतको कमबेसी भएमा किन्ने वा बेच्ने निर्णय परिवर्तन गर्नु हुँदैन । बेच्नेले समयमा नै बेचेर ब्याज वा मौकाको फाइदा लिन सक्नु पर्छ, किन्नेले पनि सम्भावित मूल्यवृद्धिको ख्याल गरी किन्ने निर्णय गर्नुपर्छ । फेरि, बजारकै मूल्यमा बेच्न चाहने हो भने क्रेताले सो मूल्यमा अन्यत्र पनि किन्न सक्छ, त्यसैले बेच्नेले केही मूल्य घटाएर बेच्नुपर्छ । त्यस्तै बजार मूल्यमा नै किन्ने हो भने अरुले नै किन्न सक्छ, त्यसैले किन्नेले अलि बढी मूल्य हाल्न हिच्किचाउनु हुँदैन भन्ने मान्यता छ मेरो । त्यसैले मैले किनेका सबै जग्गा महँगो परेका छन् र बेच्न पनि म बढी नै हतारिएको हुनसक्छु । फेरि टोलछिमेकमा घर बेच्छु भन्ने गीत गाएर बर्सौं बसिरहने काम पनि मलाई ठीक लाग्दैन । त्यसले छिमेकीसँगको सम्बन्ध उति सुमधुर राखिरहँदैन भन्ने मेरो आफ्नै मौलिक मान्यता छ । यसै मान्यता नामको एकोहोरो तर्कमा आफ्नो निर्णयको बचाउ गरँें र म घर बेच्ने निर्णयमा अडिग रहेँ ।
घर बेच्ने निर्णयपछि टोलमा संशय र आशङ्काका लहरहरु उठे । छरछिमेकसँग कुनै मनमुटाव भएर पो यो निर्णय भएको हो कि भन्ने चर्चा पनि चले र आफैंले बिर्सिसकेका केही प्रसङ्ग पुनः सतहमा आए । तर ती प्रसङ्गमा गम्भीरता थिएन । छिमेकीसँगको सुसम्बन्धमा ती प्रसङ्ग महत्वहीन थिए । ती प्रसङ्गलाई विस्मृतिमा धकेलेर हामी अघि बढिसकेका थियौं । उनीहरुले गरेको सहयोगको समुद्रमा ती असमझदारीका गिट्टी बिलाइहाल्थे । छिमेकीको सरसहयोगलाई हेर्ने हो भने त मैले त्यो टोल छोड्नै मिल्दैनथ्यो । सानो छोरा जन्मेको समयमा, बहिनीको बिहेमा, पुराण लगाएको समयमा, बिरामी परेको बेलामा ………. । उनीहरुको गुनको श्रृंखला सम्झेर के सकिन्थ्यो ? अझ घर बनाउन उनीहरुले कति सहयोग गरेका थिए ! म आफू दिउँसो अफिस जानु पर्ने भएकाले गिट्टी, बालुवा, इँटा बुझेर लिने काम त उनीहरुकै जिम्मा थियो । मैले त आफ्ना छोराहरुलाई केन्द्रमा राखेर मात्र यो निर्णय गरेका थिएँ ।
‘केदारजी, घर बेच्ने हुनु भएछ, के प¥यो त्यस्तो ?’
‘अब काठमाडौ जाने त होला ।’
‘काठमाडांैमा कहाँ छ घडेरी ? कि घर नै बनाइसक्नु भयो ?’
‘घर बेचे पनि विराटनगर छोड्नु हुँदैन । साह्रै सस्तो र सुविधासम्पन्न छ यो सहर । हाम्रो टोलतिर आउनुस् । राम्राराम्रा घडेरी बिक्रीमा छन्, घर किन्ने भए घर पनि छ ।’
‘ल बधाई छ, अब काडमाडौं त जाने होला । राष्ट्र बैंकमा जागिर छ, पैसाको दुःख छैन ।’
चिन्ता, चासो, सरोकार र ब्यंग्यका यस्तै चक्रहरु घर बिक्रीको बैना भएर त्यो घर नछोडुन्जेल चलिरहे । मैले पनि पात्र अनुसारको ब्यञ्जन पस्किरहेँ । मैले भने आफूले बल्लबल्ल टेकेको खुट्टा पनि उचालेको थिएँ, टेक्ने ठाउँको टुङ्गो नलगाइकन । विराटनगर बस्न त मैले यो निर्णय गरेकै थिइन । छोराहरुले एस.एल.सी. पास नगरी काठमाडौं जान सकिने कुरा पनि थिएन । फेरि, काठमाडांै मलाई स्वागत गर्न पर्खेर बसेको पनि त थिएन । मैले बीस वर्ष अघि नै यो सहरलाई आफ्नो क्षमताभन्दा बाहिरको सहरको रुपमा लिएको थिएँ । अहिले त घरजग्गाको भाउ आकासिएको थियो । महँगी बढेका कारण तलबले पालिन नै गाह्रो थियो । छोराहरुको सम्भावित पढाइ खर्च पनि कम थिएन । यो अवस्थामा काठमाडौं जानु कम चुनौतीपूर्ण थिएन । त्यसैले न जिज्ञासुहरुलाई विराटनगर बस्ने बाचा गर्न सक्थेँ, न छाती फुलाएर काठमाडौ जाने घोषणा गर्न सक्थेँ । यताउताको कुरा गरेर सबैलाई टार्थें । घर बेचेको तर अन्यत्र सर्न नभ्याएको अवधि वास्तवमा गाह्रो हुँदोरहेछ । बिस्तारै समाजको चासो आफूमा कम हुन थालेको जस्तो अनुभूति हुँदो रहेछ । सरसहयोग माग्न पनि अप्ठेरो जस्तो लाग्दो रहेछ । आफ्नै टोलमा आफैं पराइ भए जस्तो लाग्दो रहेछ । एक रातको लागि बास बस्न आएको पाहुना जस्तो बनिँदो रहेछ आफू ।
घर बेचेपछि मनमा आएका अनेकन भावनाहरु घर सर्ने दिन घनीभूत हुँदा रहेछन् । दश वर्ष लगाएर विभिन्न सामान किनेर भरेको आफ्नो घर आफैले खाली पार्नु प¥यो । यो आफ्नै रोजाइ थियो तर मष्तिष्कले ठीक ठानेका कतिपय विकल्प मुटुलाई अप्रिय पनि लाग्दा रहेछन् । घर बेचेर डेरामा बस्न पिचरा जाने निर्णय वास्तवमा त्यस्तै रहेछ । आपत विपतमा सरसहयोग गरेका, विभिन्न चाडपर्व सँगै मनाएका, समयसमयमा हाँसो ठट्टा गरेर मन माझेका छिमेकीहरु अब चिनारुमा परिणत भएका थिए । पटकपटक नगरपालिका गएर माटो र गिट्टी माग गरी ग्राभेलसम्म गरेको आफ्नो घरको बाटो फगत श्रुतीमार्ग भएको थियो । त्यो नयाँ टोलमा हामीहरुको घर एकदुई वर्षको फरकमा बनेको थियो । यसरी सँगै घर बनाउनेहरुका बीचमा पनि दौतरीको जस्तो सम्बन्ध हुँदो रहेछ । मलाई त्यो क्षण सहन निकै गाह्रो परेको थियो, त्यसमाथि पत्नी मुनाले गाला भिजाएर मलाई थप दबाब दिइरहेकी थिइन् । तर यी भावनाका लागि समयसँग कुनै बजेट थिएन । सामान लोड गरेको ट्रकले हामीलाई अघि बढ्न संकेत गरिसकेको थियो । विदावारीको सानो चक्र पूरा गरेर हामी नयाँ गन्तब्यतिर लाग्यौँ ।
घर बेचेपछि एक वर्ष पिचरामा डेराको प्रबन्ध गरेर बसियो । त्यसपछिका तीन वर्ष नेपाल राष्ट्र बैंकको अधिकृत आवासमा बस्ने सौभाग्य पाएँ, बढुवा भएकाले । त्यसपछि काठमाडौ सरुवा भएर आएँ । डेरामा बसेको मानिस घरमा सर्दा त रमाइलो हुँदो रहेछ, तर घरबाट डेराको यात्रा त पीडादायी हुँदो रहेछ । आफूले सपना देखेको र परिश्रम परेको घर जस्तो डेरा के हुनु ? त्यसपछि काठमाडौ आएर आफ्नै घरको व्यवस्था पनि गरेँ । विराटनगरमा चार वर्षअघि बेचेको घरको एक किसिमले क्षतिर्पूिर्त भयो तर आफूले बनाएको घरको जस्तो किनेको घरको आँतभेउ थाहा हुँदो रहेनछ ।
एक दिन म जस्तै विराटनगर छोडेर काठमाडौं आएका आफन्तलाई भेट्न गएँ । उनीहरुको विराटनगरको तीनटोलियामा घर थियो, अहिले सातदोबाटोमा बनाएका रहेछन् । कुराकानी हुँदै जाँदा ‘विराटनगरमै स्थायी रुपमा बस्ने गरी घर बनाएको थियौँ । काठमाडौं आउने कुनै सोचाइ थिएन । अहिले भने उता बेचेर यता आएँ । आएको एक वर्ष भए पनि मलाई त यो सबै सपना जस्तो लागेको छ । आफूले सोचेको कुरा आफैंले लागु गरिँदो रहेनछ । म त छक्क परेको छु’ भनेर आफ्नो कुरा उहाँहरुलाई भने । उहाँहरुको मनमा पनि विराटनगरको नोस्टाल्जिया कायमै रहेछ । नहोस् पनि किन मैलेभन्दा दोब्बर अवधि उहाँहरु विराटनगरमा स्थायी रुपमा बस्नु भएको थियो । भन्नुभयो, ‘विराटनगर छोडिएला जस्तो लागेको थिएन । आखिर त्यहाँको घर बेचेर यता आइयो । अब त स्थायी बसोबास यहाँ हो भन्ने टुंगो हुँदैन भन्ने लाग्न थालेको छ । यो आफैंले बनाएको घर हो तर यसैमा जीवन बिताइन्छ भन्ने लाग्न छोड्यो । हाम्रो बसाइ जाने पुस्ता रहेछ । अहिले यहाँ छौं, तर कतिन्जेल भन्ने थाहा हुँदो रहेनछ । समयक्रममा फेरि पनि सायद यसैगरी बसाइ सरिन्छ ।’
विराटनगरमा मैले स्थायी घर बनाएँ भन्ने ठानेको थिएँ, त्यो बसाइँ जाने पुस्ताले बनाएको अस्थायी आवास रहेछ । त्यसैले त मैले घर बेचेँ ।
(मिर्मिरे ३३५ अङ्कमा प्रकाशित)
