भोलि वैशाख ३० गते स्थानीय तहको चुनाव हुँदै छ । अहिले मौन अवधि भए पनि देश चुनावमय छ । अस्तिसम्म पार्टीहरूले चुनावी प्रचारप्रसार तीव्र पारेका थिए, नेताहरूको भाषण र भेला बढिरहेको थियो, टिकटको खोजीमा नेताहरू दल चाहर्दै थिए, पार्टी प्रवेशको लहर पनि चलिरहेको थियो । अहिले जनताहरू पनि आफ्ना प्रतिनिधि आफै छान्न पाउने अवसरलाई सदुपयोग गर्ने बारे सोचिरहेका होलान्, सोच्नै पर्छ पनि । उपत्यकाबाहिरका पालिकाहरूको मतदाता नामावलीमा नाम भएका काठमाडौंबासीहरू मतदानको लागि गाउँतिर गएकाले अहिलेको काठमाडौं दशैको जस्तै सुनसान देखिएको छ ।
आफ्ना प्रतिनिधि छान्न वा चुन्न अनि प्रतिनिधिको रूपमा छनिन र चुनिन पाउनु मानिसको सबैभन्दा ठुलो राजनैतिक अधिकार हो । विभिन्न विकल्पहरू विद्यमान हुनु, विद्यमान विकल्पहरूको बोध हुनु, ती विकल्पहरूमध्ये उत्तम विकल्पको जानकारी हुनु, अरू विकल्पलाई त्याग गरेर उत्तम विकल्प छनोट गर्ने विवेक हुनु र यी कामका लागि सहास हुनु स्वतन्त्र मानव मात्रका विशेषता हुन् । परापूर्व कालमा अरू जङ्गली जनावर जस्तै जङ्गलमा फिरन्ते जीवन बिताउने मानिस यही विकल्पको बोध र चुनावको चेतनाको कारण यहाँ आइपुगेको हो भन्ने मलाई लागेको छ ।
नेपाली समाजले पनि राजनीतिक स्वतन्त्रता र मतदानको अधिकार प्रयोग गर्न थालेको साठी वर्षभन्दा बढी भइसक्यो । २०१५ सालमा प्रत्यक्ष रूपमा आमचुनाव भएर बी.पी. कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको सरकार बनेको थियो । २०१७ सालमा प्रजातन्त्रको अपहरण भई २०१९ सालमा पञ्चायती व्यवस्थाको सुरूवात भएपछि प्रत्यक्ष चुनावको प्रावधान गाउँ/नगर तहमा सीमित रह्यो जस्तो लाग्छ मलाई । २०३६ सालमा जनमतसंग्रहपछि ‘विजेता’ बनेको पञ्चायती व्यवस्थामा पनि सांसद (राष्ट्रिय पञ्चायत) प्रत्यक्ष निर्वाचनबाट नै चुन्ने अवसर पाइयो । २०४७ सालमा नयाँ संविधान लेखियो, २०६३ देखि गणतन्त्रको अभ्यास गरियो, २०७२ मा अर्को जननिर्वाचित संविधान सभाबाट नयाँ संविधान नै ल्याइयो । नयाँ संविधान आएपछि पहिलो पटक निर्वाचित प्रतिनिधिसभा कार्यरत छ । स्थानीय निर्वाचन भने पहिला निर्वाचित पदाधिकारीहरूले पाँच वर्षे कार्यकाल पूरा गर्न लागेकाले यो दोस्रो हो ।
दलहरूसँग जनताले सक्रिय र प्रभावकारी संवाद मतदान मार्फत नै गर्छन् । दलहरूको लोकप्रियताको कसी निर्वाचन नै हो । निर्वाचनको क्रममा सबै दलहरूले आफू लोकप्रिय रहेको र जनताको सच्चा सेवक रहेको प्रमाणित गर्ने कोसिस गर्छन् । दलहरू मन नपरे स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दिन वा त्यस्ता उम्मेदवारलाई मत हाल्न पनि कुनै छेकबार रहँदैन । दलहरूका कमी कमजोरीलाई स्वतन्त्र उम्मेदवारले उपयोग गर्दै उम्मेदवारी दिन सक्छन् । मतदाताहरूले आफ्नो मत मार्फत कुनै दल वा उम्मेदवारलाई जिताएर उनीहरू लोकप्रियताको कसीमा ठिक ठहरिएको प्रमाणपत्र दिन्छन् । कुनै दल वा उम्मेदवारलाई हराएर सुध्रनका लागि सन्देश र अवसर दिन पनि सक्छन् । पार्टीले उठाएका खराब उम्मेदवारलाई निर्वाचनमा परास्त गरेर भविष्यमा राम्रा मानिसलाई मात्र उम्मेदवार बनाउन लागि दललाई दबाब दिने बेला पनि यही हो । आखिरमा पार्टी कसैको सत्तामा पुग्ने भर्याङ होइन, यो त सारा कार्यकर्ता, शुभेच्छुक, मतदाता र आम जनताकै धरोहर हो । पार्टीसत्ताको दुरूपयोगलाई विद्युतीय झड्का दिएर मुलुकको राजनीतिलाई सही बाटोमा हिंडाउने मौका पनि निर्वाचन नै हो । निर्वाचनले जुराएको यो अवसरको सही उपयोग गरिएन भने सुधारका लागि कठिन उपायहरूको खोजी गर्नुपर्ने हुनजान्छ । कसैलाई सत्तामा पुर्याउन सजिलो छ, सत्ताबाट झार्न सजिलो छैन । जनताले आफूसँग भएको मताधिकारको प्रयोग गरेर राजनीतिलाई सजिलै सही बाटोमा ल्याउनुपर्छ । मतदान मार्फत जनताले देशलाई नयाँ दिशा र गति दिन सक्छन् पनि । यो चुनावमा मनग्गे सकारात्मक सङ्केत देखिएका छन् ।
रोज्ने पाउने अधिकार अर्थात मतदानको हक अधिकार मात्र होइन कर्तव्य र दायित्वबोधको विषय पनि हो । आफ्नो रोजाइबाट उत्पन्न जस र अपजसको जिम्मेबारी रोज्नेले लिनुपर्छ, लिन सक्नुपर्छ । सैद्धान्तिक रूपमा भन्ने हो भने आज हामीले जुन जीवन बाँचेका छौं, यो हाम्रो रोजाइको जीवन हो । तीस वर्षदेखि हामीले रोज्दै आएका जनप्रतिनिधि र हामीले रोजेको व्यवस्था अनुसार यो देश चलिरहेको छ । यो चलाइ ठिक जस्तो लागेको छ भने ठिकै छ । यो चलाइ ठिक जस्तो लागेको छैन भने अब सच्याउने अरूलाई हैन, आफैंलाई हो । चुनाव आफू सच्चिने र मतदानमार्फत राजनीतिक शक्तिहरूलाई सच्याउने राम्रो अवसर हो । त्यसैले मतदानको क्रममा क्षणिक लोभलालचमा आफ्नो विवेकलाई बन्धक बनाउनु हुन्न । विवेकशील मतदाता नै प्रजातन्त्रको आधारस्तम्भ हुन् ।
हामी नेपालीले विगत केही दशकदेखि चुनाव मार्फत नै नेता रोज्ने अवसर पाइरहेका छौं । नेता रोज्ने अवसर मात्र हैन, व्यवस्था रोज्ने र संविधान लेख्ने अवसर पनि पायौं । राजनीतिक क्षेत्रमा नेपाली जनमानसले गरेको यो विकल्पको बोध र उपयुक्त मानिएको विकल्पको चयनबाट नेपाली समाज कति सन्तुष्ट रहन सक्यो ? आर्थिक सामाजिक विकासमा त्यो अवसरले कति योगदान गर्यो ? सुशासन र जनउत्तरदायी शासन व्यवस्थाको निर्माणको सपना के कति पूरा भयो ? निर्वचानको समयमा यसमा घोत्लिनै पर्छ । अहिले निर्विवाद रूपमा भ्रष्टाचार उन्मत्त छ, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको सबलीकरणमा चुनौती छ, अर्थतन्त्र संकट उन्मुख छ । केही उपलब्धि हासिल नभएको हैनन् तर प्राप्त अवसरका तुलनामा तिनलाई सन्तोषजनक मान्न सकिन्न । समग्रमा भन्ने हो भने निराशा नै हात लाग्छ । सबै दल र नेता “मैले राम्रो गरेको थिएँ, नराम्रो उसले गरेको हो” भन्ने मात्र छन् । देश विकासको जिम्मेवारीलाई राष्ट्रिय संकल्प र सहमतिको विषय बनाएर हिँड्ने कोही देखिएका छैनन् । मतदाताको हैसियतले हाम्रो रोजाइ परिष्कृत हुन नसकेको संकेत हो यो । हामीले कहिले पार्टी ठिक छानेनौ, कहिले व्यक्ति गतिला परेनन् ।
म पनि २०४७ सालको चुनावदेखि भोट हालिरहेको छु । कहिले मेरा उम्मेवारले जितेका छन्, कहिले हारेका छन् । म जस्तै आम नेपाली मतदाताले हजारौं नेताहरूलाई चुनाव जिताएका छन्, हजारौंलाई चुनाव हराएका छन् । हाम्रै भोट पाएकाले कोही कमसल पात्र नेता भए होलान्, हाम्रो भोट नपाएकाले केही गर्छु भन्ने सोच भएका सच्चा व्यक्ति किनारा पनि लागेका होलान् । हाम्रै भोटका कारण कति इमानदार नेता चुनाव जितेर भ्रष्टचारी भए, कति देशप्रेमी नेता कुर्सीप्रेमी बने, कति विनयशील नेताहरू दम्भी र अहंकारी बने, आलोचनात्मक चेतको वकालत गर्ने कति नेताहरू आलोचना सुन्न नसक्ने भए, कति लोकप्रिय नेताहरू काला कोठरीका षडयन्त्रकारीमा सीमित बने । चुनाव जित्नुपर्नेले जितेन भने पनि नोक्सान, नजित्नुपर्नेले जिते पनि नोक्सान । हामी भोट हालिरहेका छौं । व्यवस्था खोजिरहेका छौं । नेता रोजिरहेका छौं । तर देशले दिशा भेटेको छैन, जनताको दशा मेटिएको छैन । कहाँ गल्ती भएको छ, थाहा पाउन पनि सकिएको छैन । यसरी गहिरिएर सोच्दा मतदान सजिलो छैन । कसलाई किन मतदान गर्ने भन्ने प्रश्नको उत्तर पाउन सजिलो छैन । यो प्रश्नको उत्तर नभेटी मतदान गर्न पनि सजिलो छैन ।
भोलि भोट त हाल्नु नै छ । नेपाली जनताको साथमा प्रगतिका कथा नभए पनि आशाका त्यान्द्राहरू बाँकी नै छन् । सीमाहीन समयले ल्याउने भविष्यको कुनै निकट विन्दुमा प्रगतिका सम्भावनाको खोजी र साधना गर्नु हरेक मानवको कर्तव्य, प्रवृत्ति र नियति पनि हो । यो चुनाव त्यही खोजी अर्थात साधानको सानो हिस्सा हो । यो हिस्सामा सहभागी त हुनैपर्छ । विकल्प नहुने बाध्य हो, विकल्प नदेख्ने अज्ञानी हो, सही विकल्प रोज्न नसक्ने विवेकहीन हो, सहीको पक्षपोषण गर्न नसक्ने दास हो । हामी बन्धक हैनौ, त्यति अज्ञानी पनि रहेनौ र अब दासता पनि मन्जुर छैन । उपयुक्त विकल्पमा छाप भोलि ठोक्नु नै छ ।
सबै राम्रालाई शुभकामना !!! सबै हाम्रालाई शुभकामना !!!
