विकासः व्यवहारिक परिभाषाको खोजीमा

विकास खर्चको विनियोजन, कार्यक्रमको पहिचान र कार्यान्वयन तरिकाले विकासको नयाँ परिभाषा बनाइरहेका छन् । हाम्रा विकास गतिविधिका आधारमा विकासको परिभाषा गर्न खोज्दा यस्ता निष्कर्ष आउँदा रहेछन् ।

  1. असार मसान्त लागेपछि विकासका कामले गति लिन्छन् । असार मसान्तपछि चालु आर्थिक वर्षको बजेट फ्रिज हुने भएकाले यसो गरिएको हो । यसरी गरिने कामहरू गुणस्तरीय हुँदैनन् । जमिनमा गरिने निर्माणको कामका लागि वर्षाको समय उपयुक्त पनि होइन । गुणस्तरहीन विकास हुनुभन्दा नहुनु राम्रो हो । कमसल संरचनाका कारण हुने धनजनको क्षति ठुलो हुन्छ । अर्को सालको अर्को बजेटमा स्तरीय तरिकाले निर्माण गर्न सकिने बाटो नहुने होइन । सरकारी कोषमा रकम रहे अर्को साल चलाउने बाटो खोज्न सकिन्छ । सरकार अविच्छिन्न उत्तराधिकर हुने संस्था हो । तातै खाउँ जली मरूँ भन्नु पर्दैन । तर हामीलाई बजेट सक्न हतार हुन्छ । के हामी बजेट सक्न विकास गर्छौं ?
  2. विकास कार्यहरू अघि बढ्न सुरू हुन्छ अनि पत्रिकामा अनियमितता, कमिसन र भ्रष्टाचारका विषय प्रकाशमा आउँछन् । यसपालि बगाएका निर्माणाधीन र तयारी पुलको गुणस्तरमा गरिन लागेको अध्ययनले यसलाई पुष्टि गर्छ । बक्राहा खोला नियन्त्रण आयोजनादेखि नै सम्झने हो भने भ्रष्टाचारका ठुला मुद्दामा सार्वजनिक निर्माण सम्बन्धी मुद्दा पनि पर्छन् । विकास खर्च गर्ने टोलटोलका उपभोक्ता समितिदेखि संघीय सरकारसम्मका एक वा अर्को निकायहरू नै विकास खर्चको अनियमिततामा मुछिएका देखिन्छन् । के हामी केही कमाइ होला भनेर विकास गर्छौं ?
  3. ठुला र प्रभावशाली नेताहरूले आफ्नो निर्वाचन क्षेत्रमा विकासको लागि धेरै परियोजनाहरू पार्छन् र धेरै बजेट विनियोजन गराउँछन् । संघको बजेटमा पनि त्यही ताल देखिन्छ । सांसदहरूलाई पनि निर्वाचन क्षेत्र विकास कार्यक्रम नभई हुँदैन । के हामी चुनाव जित्नका लागि विकास गर्छौं ?
  4. नेपालमा खानेपानी, स्वास्थ्य र कृषि पूर्वाधार (सिंचाइ, बजार, कृषि प्राविधिक सेवा, उपकरण आदि) को ठुलो अभाव छ । तर धेरै ठाउँमा भ्यु टावर बनिरहेका छन् । धरहरा र पशुपतिमा सुनको जलहरीलाई त हामीले आफ्नो शान नै मानेका छौं । के हामी रमित हेर्नका लागि विकास गर्छौं ?
  5. विकास खर्च गर्ने क्षमता छैन । विकासका लागि आवश्यक संस्थाहरूको निर्माण र विकास गर्न सक्दैनौ । विकासका लागि एक व्यक्तिको क्रियाशीलता पर्याप्त हुँदैन । सबल संस्थाहरूको स्थापना र विकास नभई विकास हुन्न । तर हामी संस्थागत सुधार र सबलीकरणमा जोड दिदैनौ । बाटो खन्ने कामका लागि सडक विभागले हैन सेनाले ठेक्का लगाउँछ । के हामीले विकास भनेको गफ ठानेका छौं ?
  6. प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रम चलिरहेका छन् । तिनको प्रभावकारिता चलाउनेलाई नै थाहा होला । यसबाट विकास कार्यबाट रोजगारी सिर्जना हुन्छ भन्ने सोच हैन रोजगारीबाट विकास हुन्छ भन्ने सोच राखेको देखिन्छ । के जसले जे मन लाग्यो त्यही गर्दै जाँदा निस्कने परिणामलाई नै हामीले विकास मानेका छौं ?

जनताले प्रत्यक्ष लाभ पाउने गरी विकास गर्ने, जनतालाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउने र सरकारको नीति कार्यक्रम र बजेट हेरेर जनताले आफ्नो व्यवसायिक योजना बनाउने दिन कहिले आउला ?

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *