मिठो कफी

“कहिले आयौ काठमाडौं ?” मैले च्याटमा सोधें । ऊ काठमाडौं आएको जानकारी उसको फेसबुकले दिइसकेको थियो ।

“हिजो हो ।” उसले यति मात्र लेख्यो ।

“बानेश्वर आऊ, यार । सँगै कफी खाउँला । तिमीसँग भेट्न मन छ ।” मैले आग्रह गरें ।

“हुन्छ । मेरो त्यता आउने काम पनि छ । म फोन गरेर आउँछु ।”

मलाई ऊ आउँछ भन्ने विश्वास नै थिएन । यस्ता संवाद यसअघि पनि भएको थियो । तर ऊ आएको थिएन ।

यसपटक चैं आयो ।

ऊ अर्थात् मनोज । मेरो स्कुले साथी । मेरो धेरै मिल्ने साथी । पढ्नमा पनि हामी अगाडि नै थियौं । एसएलसीपछि हामी अलग्गियौं । म क्याम्पस पढ्न काठमाडौंतिर लागें । ऊ विराटनगर गयो । एउटै स्कुल पढे पनि हाम्रो गाउँ फरक थियो । त्यसैले भेटघाट पातलो भयो । पढाइ सकेपछि म सरकारी जागिरे भएर कहिले कता, कहिले कता पुगें। पछि वानेश्वरमा घर बनाएर बस्न थालें । मनोज शिक्षक भएर गाउँकै विद्यालयमा पढाउन थाले । यो बिचमा त भेट नहुनु झन् स्वाभाविक भइहाल्यो ।

हामीलाई फेरि फेसबुकले नजिक ल्यायो । स्कुलका साथीहरू खोज्दै जाँदा मनोजलाई पनि फेला पारें र फ्रेन्ड रिक्वेस्ट पठाएँ । उसले पनि स्वीकार गर्‍यो । हामी वास्तविक साथी पुनः भर्च्युअल साथी बन्यौं । मेरो वालमा उसले र उसको वालमा मैले कमेन्ट लेख्थ्यौ । यसरी सुरू भएको अप्रत्यक्ष सम्वाद बिस्तारै प्रत्यक्ष लिखित सम्वादमा परिणत भयो ।

आज ऊ मेरो अगाडि प्रत्यक्ष उपस्थित भएको छ ।

आज भए जसरी हाम्रो भेट पहिला पनि हुनसक्थ्यो । अठचालिस सालको निर्वाचनको वेला भएको हाम्रो जम्काभेटको कारण हाम्रो भेट लम्बिएको थियो । कलेज अध्ययनकै बिचमा हामी आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन गाउँ फर्केका थियौं । क्याम्पस विदा थियो नै । पार्टीको पनि त्यही निर्देशन थियो । हाम्रो पार्टी फरक पर्‍यो अनि हामी चुनावी मोर्चामा आमनेसामने भयौं । आमसभा गर्ने र बिथोल्ने क्रममा हाम्रो भनाभन नै भयो । चिया पसलमा वाक्-युद्द्ध चल्यो । प्रत्यक्षरूपमा नै यति भइसकेपछि कुरा लगाउनेले झन् के बाँकी राखे होलान् र ?  त्यो भेटघाट सुखद् रहेन । हाम्रो सम्बन्ध चिसियो ।

बैसट्ठी त्रिसट्ठी सालको जनआन्दोनपछि हाम्रो पार्टी पनि नजिकिए । नयाँ नयाँ गठबन्धन बन्दै जाँदा कुनै पार्टी पनि पराइ रहेनन् । हामीले पनि आफूहरू अलि नजिक भएको महसुस गर्‍यौं । यही पृष्ठभूमिमा फेसबुकमा हामीबिच च्याट सुरू भएको हो ।

यस क्रममा फेसबुकमा व्यक्त उसका केही विचारहरूको मैले सराहना गरें । मेरा विचारहरूको उसले सराहना गर्‍यो । अठचालिस सालको निर्वाचनको वेला आकास र जमिनको फरक देखिएका हाम्रा कुरा अब मिल्न लागेका थिए ।

“के छ यार खबर ? कस्तो चल्दैछ राजनीति ? शिक्षकलाई त अलि सजिलो पनि छ राजनीति गर्न । झन् आफ्नो ठाउँमा हुनुहुन्छ । म त थाकिसकें देश र दुनियाँ हेरेर ।” यताउतिका कुरा सकेपछि मैले कफीको कप टेबुलमा राखेर भनें ।

मलाई चुनावको वेला भएको त्यो भनाभनप्रति पश्चात्ताप लाग्न थालिसकेको थियो । सबै पार्टीहरू सबै पार्टीसँग मिलिरहेका थिए । म भने यही राजनीतिको कारणले आफ्नो त्यति धेरै मिल्ने सहपाठी साथीसँग टाढिएको थिएँ । शायद हामी एउटै क्याम्पसमा पढ्न गएको भए दुईतिर लागिने पनि थिएन । एउटा काल्पनिक बिम्बको आधारमा हामीविच वैमनुष्यता बढेको थियो । त्यो बिम्ब साकार हुने कुनै लक्षण थिएन बरू दिनदिनै भ्रम सावित हुँदै गएको थियो । एउटा भ्रमको लागि मैले सत्य त्यागेको थिएँ, मित्र-सत्य ।

“आफ्नो पैसाले कफी खाएर के अर्काको कुरा गर्नु हौ । बरू भन, भाउजुको के छ खबर ? छोराछोरी कता छन्, के गर्दैछन् । अनि यहीँ रेस्टुराँमा कफी मात्र खुवाउँछौं कि घर पनि लैजान्छौ ।” ऊ निकै आत्मीय थियो ।

उसको उत्तरले समयले सिर्जना गरेका सबै अन्तरहरूलाई एक निमेषमा नामेट पार्‍यो । उसलाई मैले स्कुलमा छोड्दाको अवस्थामा नै पाएँ । मैले चिसियो भन्ने ठानेको मुटुमा मप्रति न्यानो माया अझै रहेछ ।

मलाई लाग्यो म जस्तै ऊ पनि थाकिसकेको छ । एउटा थाकेको मान्छे भेटेर मलाई खुशी लाग्यो आज । यो उन्मादको बाढीले बगाउन नसकेका अरू मानिस पनि त रहेछन् । पुराना तिता कुरा बिर्सन ऊ पनि इच्छुक देखियो ।

“म पनि घरै बोलाऊ कि भन्ने सोचिरहेको थिएँ । तिमीलाई घरतिर जाने फुर्सद हुन्न कि भनेर मात्र यहाँ भेट्न खोजेको हुँ ।” म पनि  नजिकिन खोजें ।

“समयको भेलले सबैलाई बगाएर लैजादैन । कसैकसैलाई बगरमा नै छोड्छ ।” उसले मतिर हेरेर फिस्स हाँस्यो ।

“जाउँ त घरतिर नै । खाजा उतै खाउँला ।” म फुरुङ्ग परेको थिएँ ।

पार्टी सप्रिएका भए हामी तिनकै पछि लागेर आपसमा जुधिरहन्थ्यौं होला । पार्टी बिग्रिए, हाम्रो सम्बन्ध राम्रो भयो । यो खुशीको कुरो थियो । र , हाम्रो भाग्यमा यही खुशी थियो ।

मैले उसको प्रस्ताव चाँडै कार्यान्वयन गर्न कफीको अन्तिम घुट्को निले । त्यो कफी मलाई निकै मिठो लाग्यो ।

(साहित्यपोस्टमा प्रकाशित)

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *