दक्षिण कोरिया सरकार र कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका)को संयुक्त आयोजनामा सिउलमा सञ्चालन हुने तालिम तथा अध्ययन भ्रमणमा सहभागी हुन मेरो मनोनयन भएको जानकारी पाउ“दा म धेरै हर्षित भएको थिए“ । सिउल, गुवाङजुङ, डियाजुङ र पोहान हेर्न तथा कोरियाको विकास अनुभव र त्यसबाट नेपालले सिक्न सक्ने विषयका कक्षामा सहभागी हुन पाउने मौका मेरा लागि निकै लोभलाग्दो थियो । उसै पनि अल्पविकसित मुलुकमा जन्मेका म जस्ता धेरैलाई विकसित मुलुकको चमकदमक हेर्ने रहर भइहाल्छ । यसका अतिरिक्त नेपाल सरकारका विभिन्न निकायका अधिकारीहरुस“ग भ्रमणदलमा सहभागी हुन पाउनुको मजा पनि छुट्टै थियो । मैले चिनारुको घेरा अलि ठुलो बनाउन पाउथें“ ।
म हर्षले यति गद्गद् ह“ुदा पनि मेरो मनको एउटा कुनामा भने चिसो कायम थियो । यो चिसोको कारण थियो, कोरियाको जाडो । जाडो याममा मेरो स्वास्थ्यमा समस्या देखा पर्ने भएकाले हत्तनपत्त इन्टरनेटमा कोरियाको मौसमका बारेमा जानकारी लिए“ । त्यो समयमा सिउलको अधिकतम तापक्रम करिब पन्ध्र डिग्री सेन्टिग्रेड रहेछ । म बसेको विराटनगरमा त्यतिबेला रातिको तापक्रम चाहिं पन्ध्र डिग्री सेन्टिग्रेड थियो होला । नोभेम्बरको अवस्था यस्तो थियो भने मैलै यात्रा गर्ने निर्धारित अवधि अर्थात मध्य डिसेम्बरमा सिउलमा कति जाडो होला भन्ने डरले मन झन् त्रसित भयो ।
जाडामा काम लाग्नेजस्ता भएभरका सबै लुगा बोकेर कोरिया जाने क्रममा म विराटनगरबाट काठमाडौ पुग“े । काठमाडौमा जहा“जहा“ म पुग्थे“ र कोरिया जाने कुरा निस्कन्थ्यो, कोरियाको जाडोको बखान भइहाल्थ्यो । मैले पनि बखान सुनेपिच्छे जस्तो जाडोको लुगा थप्दै गए“ । जाडोबाट बचाउने जानेका र सोधखोज गरेर पत्ता लागेका थप औषधि पनि बोके“ । कोरिया सम्पन्न देश भएकाले सबैतिर एयरकन्डिसनर हुन्छ, जाडोको पीर नै हुदैन भन्ने जानकारी मैले नपाएको होइन तर कार्यालयमा पनि अक्सर हाकिमको कोठामा मात्र एयरकन्डिसनर देखेकाले म आश्वस्त हुन सकेको थिइन । कोइकाको नेपाल अफिसमा यात्राबारे जानकारी र पासपोर्ट लगायत कागजात लिन जा“दा न्याना कार्यालय कोठा देखेर म अलि ढुकक हुन खोज्दै थिए“, भ्रमणको जानकारी दिने एकजना कर्मचारीले कोरियामा अहिले जाडो छ, औपचारिक पोशाकको साथमा न्यानो कपडा पनि लैजानु होला भनेर मलाई फेरि डर देखाइहालिन् ।
कोरिया यात्राको तयारी गरुन्जेल मेरो मन त्रास र आ“टको लिङ्गे पिङमा झुलिरहेको थियो । कोरिया भ्रमण गर्नुलाई म जोखिमपुर्ण यात्राको रुपमा पनि लिन पुग्थे“ कहिलेकाहीं । कोरिया नगए घुम्न नपाउनृुकोे पीर र गए जाडोको कारण बिरामी पर्न सक्ने पीरको दोहोरो चेपमा म परेको थिए“ । जसो पर्ला उसै टर्ला भनेर आफैंले ढाडस बांधेर म कोरिया जाने भए“ । तर आफैंले बाधेका ढाडस आफूलाई थाहा भैहाल्थ्यो र तत्काल फुस्कन्थो पनि । अनि फुस्केका ढाडसले मन अमिलो बनाउथ्यो । यो अमिलो कलेजोको एक छेउमा पोको पारेर म कोरिया पुगेको थिए“ ।
रातको एक बजे सिउल नजिकको इनचेग एयरपोर्ट पुगियो । एयरपोर्टमा त एयरकन्डिसनर थियो । कोइकाको बस पर्खन एकछिन एयरपोर्टमा रहनुप¥यो । हामी बस पर्खिरहेका थियौ र मेरो मन सम्भावित जाडोको सामना गर्न तयारी गरिरहेको थियो । बाहिर बस आइपुगेको जानकारीसंगै हामी ढोका घचेटेर बाहिर पुग्यौ । बाहिर सांच्चै अति चिसो सिरेटो दौडिरहेको थियो । त्यो सिरेटोले गालामा सिस्नो हान्यो, लुगा हिउंजस्तै चिसो बनायो र जिउ कमाउला जस्तो भयो । एयरपोर्टको ढोकाबाट सुविधासम्पन्न बसमा बस्न पांच मिनट पनि लागेन होला, तर यतिभित्रै कोरियाको जाडोले आफ्नो परिचय दिइसकेको थियो । मैले बोकेका लुगाले मलाई जाडोबाट जोगाउन सक्दैनन् भन्ने मनमा प¥यो । एयरकन्डिसनर भएको बसमा चढेपछि मात्र लामो सास फेर्न सकियो । एक घण्टको बस यात्रापछि कोइकाको कार्यालयमा पुगियो । कार्यालयमा पनि एसी थियो । राति २ बजे निद्राले चुर भएर त्यहां पुगिएको थियो । आफ्नो कोटाको इलेक्ट्रोनिक चाबी लिएर सुत्न जांदा कोठा न्यानो थियो । बाथरुमका धारामा तातोपानीका फोहोरा मेरो प्रतीक्षामा थिए ।
सिउल पुगेको भोलिपल्टबाट जाडोको डर मेरो मनबाट हट्यो । सबैजसो घर, कार्यालय तथा व्यापारिक प्रतिष्ठान र यातायातका साधनमा पनि एसी हुने रहेछ । भवनमा कुनै एउटा कोठामा एसी जडान हुने होइन पुरै भवनमा नै तताउने सिस्टम लगाइएको हुने रहेछ । खुला सडकमा पैदल हिंड्दा र फुटपाथमा किनमेल गर्दामात्र जाडोसंग जम्काभेट हुने रहेछ, नत्र त हाइसन्चो । सिउलमा जाडो भन्नु केवल सडकमा मात्र रहेछ । यो व्यवस्थालाई मैले कोरियाको विकासको एउटा सूचकको रुपमा लिनपुगे“ । कोरिया सम्पन्न मुलुक रहेछ, विकासको उचाइ उसले छाइसकेको रहेछ । सफा र फराकिला सडक, गगनचुम्बी घरहरु, उद्योगधन्दाको विकास, कृषिमा आधुनिकीकरण, विश्व कप फुटवल र ओलम्पिक खेलकूदको सफल आयोजना, उच्च आर्थिक विकास र प्रतिव्यक्ति आय जस्ता अनेकन आर्थिक सामाजिक परिसूचकमा कोरिया माथि रहेछ । जाडोमा तातो कोठाको व्यवस्था त कुनै कुरै होइन रहेछ ।
सन् १९५३ मा दुई कोरियाबीचको युद्ध अन्त्य हुदा नेपालकै हाराहारीको अर्थतन्त्र रहेको कोरिया आज संसारको समृद्ध अर्थतन्त्रमध्ये एक हुनु नेपालीहरुको लागि अचम्मको कुरा नै हो । कोरियाको आर्थिक विकासको बारेमा कार्यपत्र प्रस्तुत गर्ने एक जनालाई प्राध्यापकलाई सोधेका थियौ, ‘कोरियामा यो चमत्कार कसरी हुनसक्यो ।’ ती प्राध्यापकले हाम्रो चमत्कार शब्द त्यति मन पराएनन् । उनले भने, ‘यो चमत्कार होइन, योजना र परिश्रमको प्रतिफल हो ।’ कोरियाका नाङ्गा डा“डामा वृक्षारोपण गरी हराभरा पार्दाको डकुमेन्ट्री हेरेपछि मात्र मैले उनले चमत्कार शब्द मन नपराउनुको रहस्य थाहा पाए“ । उनीहरुले ती डा“डाका हरेक रुख हामीले गमलामा गुलाफ रापेझै मिहिनेत गरेर रोपेका थिए । त्यसरी काम गर्ने मान्छेको सम्झनामा बनाइएका स्मारकमा निधार खुम्च्याएर, अनुुहार बिगारेर कष्टसाथ काम गरिरहेका कामदारको प्रतीक थियो । कोरिया चमत्कारले होइन परिश्रमले बनेको रहेछ । उनीहरुको पसिनाको उत्पादनलाई अरुले चमत्कारको प्रतिफल ठान्दा मनमा पीर लाग्नु स्वभाविकै हो । हजुरबुबाको पालमा कोरियनले धेरै दुःख पाएछन्, बाबुका पालामा असाध्यै परिश्रम गरेछन्, अहिले नातिका पालामा कोरिया समुन्नत देशका रुपमा प्रतिष्ठित भएछ ।
हाम्रो दुखको कारण साधन स्रोतको कमी पनि हो भन्ने धारणा हामीमा छ । नेपालमा व्यवसायिक रुपमा सम्भाव्य खानी छैन, समुद्र छैन, पहाडी धरातलको आधिक्य छ, पु“जी छैन । हामी यही कुरालाई हाम्रो पछौटेपनको कारण मान्छौ र हाम्रो गरिबीलाई तर्कपूर्ण प्रमाणित गर्छौ । हाम्रो यो धारणालाई पोहान आइरन एण्ड स्टील कम्पनी ९एइक्ऋइ० को मूल मन्त्रले झापड हान्छ । पोस्कोको मूल मन्त्र छ, साधन सीमित छ तर रचनात्मक क्षमताको सीमा छैन ९च्भकयगचअभक बचभ ष्mिष्तभम, अचभबतष्खष्तथ ष्क गलष्mिष्तभम।० । हो पनि, दक्षिण कोरियामा न फलामको खानी रहेछ न फलामको धाउ पगाल्न चाहिने कोइला । तर कोरियामा यी आवश्यक कच्चापदार्थ आयात र प्रशोधन गरी फलाम र स्टील बनाएर निर्यात गरि“दो रहेछ । यो उदाहरण हेर्दा त नेपालमा उत्पादन र प्रशोधन गर्नसकिने कुरा त कति छन् कति । चिसो सिउल र समग्र कोरियाको तुलनामा हाम्रो न्यानो र शितल नेपाल बस्न र काम गर्न बढी अनुकूल लाग्छ मलाई । हाम्रा प्राकृतिक सम्पदाको आं“कला गर्न त झन् गाह्रो छ । यति धनका बीचमा हामी भने गरिबीमा बा“चेका छौ“ र आफ्नो चित्त बुझाउन नानाभा“ती तर्क गरिरहेका छौ“ ।
कोरियाको समृद्धिमा अमेरिकाले कोरिया युद्धपछि दिन थालेको आर्थिक सहयोगको ठूलो योगदान रहेछ । उनीहरु अमेरिकी सहयोगको गर्वसाथ प्रसंसा गर्छन् र अनुगृहित पनि छन् । मैले पनि कोरियालाई अमेरिकाले बनाइदिएको मुलुकको रुपमा चिनेको थिए“, त्यहां पुग्नुअघि । तर विकास जटिल आर्थिक, राजनैतिक र सामाजिक प्रक्रिया भएकाले बाह्य सहयोगको भरमा मात्र मृुलुक बन्दैन भन्ने तथ्य मैले कोरियामा साक्षात्कार गरे“ । अमेरिकाले सहयोगको रुपमा दिएका कुनै पनि भौतिक तथा वित्तीय साधन कोरियामा सित्तै वितरण गरिएको रहेनछ । अमेरिकाले पठाइदिएको पिठो कामको लागि खाद्यान्न कार्यक्रममार्फत वितरण हु“दो रहेछ । देश बनाउन धेरै कुरा आवश्यक पर्छ तर कुशल नेतृत्व र परिश्रमी जनताको कुनै विकल्प छैन । राष्ट्रपति पार्कलाई उनीहरु त्यस्तै असल नेतृत्वका लािग सम्झदा रहेछन् र आफ्नो मिहिनेतमा गर्व गर्दारहेछन् ।
कोरियाली अर्थतन्त्रका हस्तीहरुले जापानी साम्राज्यको समयमा गरेका आर्थिक घोटालाहरुको मु्द्दामा जापानी साम्राज्यको पराजय र कोरियाली युद्धको अन्त्यपछि जेल जानु प¥यो । अमेरिकी सहयोग घट्दै जानथालेपछि र यस्तो सहयोग मूलतः सैनिक क्षेत्रमा केन्द्रित हुन थालेपछि विदेशी लगानी भित्र्याउनका लागि प्रयास हुन थाले । स्वदेशी उद्यमीलाई जेलमा राखेर विदेशी लगानी भित्र्याउनु असम्भवप्रायः थियो । त्यसैले जेलमा रहेका सबै उद्यमीलाई छोडियो र प्रत्यक्ष विदेशी लगानी ल्याउन युरोप र अमेरिकाको यात्रामा पठाइयो । यस यात्राबाट अपेक्षित लाभ हुन सकेन । यसपछि कोरिया सरकारको ध्यान जापानतर्फ मोडियो । केरियालाई उपनिवेश पनि बनाइसकेको जापानस“ग कोरियाको सम्बन्ध राम्रो थिएन । उपनिवेश र दोश्रो विश्वयुद्धकालीन जापानको रवैयालाई लिएर कोरियाली जनता पनि जापानस“ग क्षुब्ध थिए । जापानस“ग सम्बन्ध सुधारको सरकारी प्रयासको जनताले खुलेर विरोध गरे । तर दुई मुलुकबीचको सम्बन्ध इतिहासबाट मात्र होइन, भविष्यबाट पनि निर्धारित गर्नुपर्दोरहेछ । कोरिया र जापानको आर्थिक सम्बन्ध सुदृढ भयो । जापानले कोरियालाई सहयोग ग¥यो, प्रत्यक्ष विदेशी लगानी आयो । आज जापान कोरियाको ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छ । यी घटनाक्रमको प्रकाशमा म नेपाल भारत सम्बन्धलाई हेर्न खोज्छु । नेपाल भारत सम्बन्ध अझै इतिहासबाट प्रभावित छ । भातरस“ग गरिने हरेक सन्धिसम्झौतालाई सुगौली सन्धि, सन् उन्नाइससय पचासको सन्धि र सन् उन्नाइससय पैंसठ्ठीको गोप्यसन्धिको सन्तानको रुपमा मात्र परिभाषित गर्न खोजिन्छ । हो, भारतका पनि आफ्ना स्वार्थ छन् र ऊ ती स्वार्थ पूरा गर्न दत्तचित्त पनि छ । तर आजको विश्वसम्बन्धको विस्तार अर्काको स्वार्थको निषेध गरेर हु“दैन, अर्काको स्वार्थ पूरा गर्दै त्योभन्दा ठूलो आफ्नोे स्वार्थको सम्बर्धनबाट मात्र हुन्छ । भारतस“ग नेपालको सम्बन्ध पहिले जेजस्तो थियो वा अहिले जेजस्तो होस्, भविष्यमा अवश्य राम्रो हुनेछ भन्ने विश्वासमा चल्नुको विकल्प छैन । इतिहासमात्र हेरिएको भए कोरिया र जापानको बीचमा सुमधर सम्बन्ध हुनसक्ने थिएन । राष्ट्रको स्वार्थका लागि अलोकप्रिय, कठिन र उपयुक्त निर्णय लिन कोरिया चुकेको थिएन ।
कोरियाको कृषि क्षेत्रको विकास, नीतिगत व्यवस्था र चुनौतिका बारेमा पढाउने एक जना प्राध्यापकले बताए—उनी पहिले कृषि मन्त्रालयमा कार्यरत थिए । कृषि मन्त्रालयमा रह“दा कृषि क्षेत्रका बारेमा पत्रिकामा कुनै नकारात्मक कुरा लेखिएका छन् कि भनी त्रस्त हुन्थे रे । अहिले अध्ययन अनुसान्धानको काममा लागेकाले त्यो चिन्ताबाट मुक्त भएका छन् रे । कृषि मन्त्रालयमा काम गर्दाको समया उनले गर्ने चिन्ता जिम्मेवारी र उत्तरदायित्वको परिणाम थियो । नेपालमा कति प्रशासकले यसरी जिम्मेवारी र उत्तरदातित्व बोध गर्लान् ? नेपालमा मकैको घोगामा दाना नलागेर किसानहरु भोक न निद्रा भएका थिए । त्यसबेला कति कृषिविज्ञलाई मनोवैज्ञानिक दवाव परेको थियो होला ? यसपालिको खडेरीबाट कति अर्थविद् र योजानाकार चिन्तित होलान् ?
नियमित राजस्व उठाउने परम्परा नहु“दा सेना पाल्न पर्याप्त राजस्व नभएकाले बलियो सेना राख्न नसकी कोरिया पराधीन हुनुप¥यो । सन् १९१० मा जापानको उपनिवेश बनेको कोरिया दोश्रो विश्वयुद्धमा विश्वशक्तिको क्रीडास्थल हुन पुग्यो । कोरिया प्रायद्विप उत्तर र दक्षिण कोरियामा विभक्त भयो । एकै जाति, भाषा, संस्कृति र इतिहास भएकका कोरियालीहरु दुई देशका नागरिक बन्नपुगे । विश्वका दुई विपरीत आर्थिक र राजनैतिक प्रणाली कोरियाका दुई देशमा लागू भयो । यतिमात्र होइन विश्वयुद्ध पछि यी दुई देशबीच घातक युद्ध भयो र युद्धबाट कोरिया आहत भयो । नेपालको इतिहास हेर्ने हो भने यस्तो त्रासदीबाट नेपाल मुक्त रह्यो । इतिहासको कुनै कालखण्डमा पनि नेपालको सार्वभौमसत्ता क्षत भएन । नेपाल कसैको उपनिवेश बन्नु परेन । आन्तरिक राजनीतिमा निरंकुशता रह“दा पनि मानिसको सामुहिक हत्या वा अपहरण जस्ता घटना कमै घटे । सातसाल भन्दाअघिका राजनैतिक घटनामा सर्वसाधारण जनताको कमै सरोकार रह्यो । सात साल, छत्तीस साल, छयालीस साल, बैसठ्ठीसालमा पनि नेपालमा राजनैतिक घटनाहरु घटे तर विश्व इतिहासको तुलनमा यस क्रममा जनधनको कमै क्षति भयो । दसवर्षे जनयुद्धमा करिब १५ हजार मानिसको हत्या भयो । थप केही अपहरणमा परे, कतिपय बेपत्ता भए । यही समय नेपाली जनमानसका लागि सबैभन्दा त्रासद रह्यो । यसबाट पीडित व्यक्ति र परिवारमा पारेका आर्थिक, सामाजिक र मनोवैज्ञानिक क्षतिको कुनै भरण हुन सक्दैन तर विश्वमा घटेका क्रुर घटनाका तुलनामा यो पनि कमै क्षति हो । तर अविच्छिन्न राष्ट्रियताको यो गर्विलो इतिहास र शान्ति र अमनचयनको यो दीर्घ परम्पराले हाम्रो वर्तमानलाई सुन्दर बनाउन सकेन । समयको गति बढ्दै जा“दा सुख र समृद्धिका सूचकहरु पनि बढ्दै जानुपर्नेमा बाजेका पालामा खाएको घिउको बासना आफ्नो हातमा सुघेर लिने आत्मरतिमा बा“च्न विवश भया“ै हामी ।
कोरियालाई ‘कोरिया’ बनाउने र नेपाललाई ‘नेपाल’ नै रहन दिने अर्को तत्व रहेछ सुशासन । हुनत अहिले कोरियामा पनि आर्थिक सुशासनको स्तर खस्केको चर्चा हुने गरेको रहेछ । टान्सपरेन्सी इन्टरनेशनलको सन् २०१० को रिपोर्टमा १० अंकमा नेपालले २.५ अंक पाएको छ भने कोरियको ६.५ अंक छ । नेपालको विकासको सबै प्रयासहरु सुशासनको अभावमा अर्थात भ्रष्टाचारको कारण असफल भएको निष्कर्ष निकाल्दा पनि हुने रहेछ । गाविसदेखि मन्त्रालयसमम हुने भ्रष्टाचारले नेपाललाई थिलथिलो बनाएको छ । केही व्यक्तिको लोभ र कुनियतले सिङ्गो देश र सम्पूर्ण नेपालीको भविष्य अन्धकार भएको छ । आजको परिवेशले यो अन्धकार खुल्ने होइन झन् सघन हुने संकेत दिइरहेका छन् ।
राज्य सामुहिक हित सम्बद्र्धन गर्ने माध्यम हो । रुसोले सामाजिक सम्झौताबाट राज्यको उत्पत्ति हुने बताएका छन् । उनका अनुुसार समुदायका मानिसहरु मिलेर आफ्नो हित र सुरक्षाका लागि आफ्नो शासक छान्छन् । आफ्नो हित गर्ने शासकको आज्ञामान्न र उसलाई कर तिर्न जनताहरु राजी हु्न्छन् । उनको राज्य उत्पत्ति सम्बन्धी सिद्धान्तले देउताको आज्ञाबाट कोही शासक हु्न्छ भन्ने र शक्तिशाली नै शासक हुन्छ भन्ने पुरानो मान्यतालाई छाया“ंमा पा¥यो । नेपालमा देउताले शासन गर्न पठाएका मानिसले शासन गरे र उनले नभ्याएको बेलामा शक्तिशालीहरुले शासन गरे । नेपाल गणतन्त्र भएपछि देउताले शासन गर्न पठाएका राजा रंगमञ्चबाट हटे तर अझै सामुहिक हितको लागि शासन चलाउने शासकले नेपालको बागडोर सम्हाल्न पाएको प्रतीत भएको छैन । अहिले शायद शक्तिको भरमा शासन चलाउनेले मौका पाएका छन् । त्यसैले अहिले जनमतको होइन शक्तिको बाटो सिंहदरबार पुग्न र अडिन दलहरु लालायित देखिन्छन् । यसैको परिणामस्वरुप नेपालीको सामुहित हित आजसम्म छाया“मा परेको छ । जबसम्म राज्यले नागरिकको सामुहित हित गर्न सक्दैन तबसम्म राज्यको वास्तविक उपयोगिता प्रमाणित हुनसक्दैन । समुदायको हितको लागि नै राज्यको सिर्जना भएको हो भने यो राज्य समुदायको हित गर्न असमर्थ भइसकेको छ । विदेशी शासकबाट हुने शोषण, उत्पीडन, अत्याचार, थिचोमिचो र भेदभावको जुन सत्यकथा उपनिवेशका बासिन्दाले भोगे त्यसबाट स“धै सार्वभौम रहेका नेपाली जनता पनि मुक्त भएका छैनन् । यही कारण हामी कसैको दास नरहेको भनाइ पनि एउटा फोस्रो ध्वांस मात्र सुनिन्छ । यो पछैटेपन र चरम गरिबीले हामीलाई दास नै बनाएको छ, मालिक बन्ने मौका अरुले नै पाइरहका छन् ।
कोरिया युद्धको अन्त्य भएर दक्षिण कोरिया देश निर्माणको तरखरमा लाग्नुभन्दा दुई वर्षअघि नेपालले जहानीया शासनबाट स्वतन्त्रता प्राप्त गरेको थियो । यसरी इशाको साठीको दशकबाट नै नेपाल र कोरियाले विकासको थालनी गरेका थिए । नेपालको जस्तै कोरियाको विकासको आधार पनि वैदेशिक सहयोग थियो र कोरियाको लागि अमेरिका प्रमुख दातृराष्ट थियो । गाउ“ फर्क, आफ्नो गाउ“ आफै बनाउ“ जस्ता कार्यक्रम कोरियामा पनि चलाइएको रहेछ क्बmबग िःयखझभलत को नाममा । नेपालमा जस्तै कामका लागि खाद्यान्न कोरियामा पनि चलाइएको रहेछ र प्रकृति संरक्षण र भौतिक पूर्वाधार विकासको काम गरिएको रहेछ । कोरियाको कृषि, पर्यटन, वैदेशिक लगानी, पूर्वाधार विकास जस्ता विकास रणनीतिका बारेमा जानकारी पाउदा नेपालले पनि गलत नीति बनाएको जस्तो लाग्दैनथ्यो । तर कुरा स्पष्ट छ, नेपालमा मुलुक र जनताको बृहत्तर हितलाई ध्यानमा राखेर योजना कार्यान्वयन भएनन् । केन्द्रीयस्तरमा आयोजना टाउकेले खाने, स्थानीय तहमा विकास आयोजना लाउकेले खाने क्रम चल्यो, चलिरह्यो र रोकिने छा“ट देखिएन । भ्रष्टाचार विरुद्धको अभियान विकास अभियानसंगै जान सकेन, भ्रष्टाचारले विकास खायो । राजनीतिको उद्योग र सपनाको ब्यापार मात्र फस्टायो । यो धन्दाबाट यसबाहेक के हुन्छ र ?
कोरियालीहरु आफूलाई परिश्रमी ठान्दा रहेछन् । परिश्रम र हतार कोरियाको जीवन पद्धति भइसकेको रहेछ । कठिन परिश्रमबिना त्यो प्रगति सम्भव पनि त थिएन । उसो त नेपालीहरु पनि कम परिश्रमी छैनन् । बर्मा र मलायाको जंगल, तिब्बत र भुटानको चिसो, अरवको गर्मी र भारतको भवसागरमा नेपालीको पसिना होइन रगत पनि बगेको छ । उनीहरु खराब भनिएको, अप्ठेरो र जोखिमपूर्ण काममा अक्सर लगाइन्छन् । नेपालीहरुलाई आज्ञाकारी इमानदार, सोझो, मिहिनेती आदि विभिन्न सकारात्मक विशेषण लगाइन्छ । नेपालभित्र नेपालीले गरेका दुखको कथा पनि कम कारुणिक छैन । हिमालको चिसो सिरटोदेखि तराईको तातो मैदानमा उनीहरुले परिश्रम पोखिरहेका छन् । तर पनि नेपालको विकास भने हुन सकेको छैन । नेपालीले गरेको दुखलाई लक्ष्यमा पु¥याउन उचित व्यवस्थापन गर्ने नेतृत्वको कमीले होला नेपालीको दःुख बालुवाको पानी भएको छ । विकास यात्राको साठी वर्षपछि कोरियाको प्रतिव्यक्ति आय बीस हजार डलर भयो भने नेपालको छ सय डलरमात्र ।
दस दिन कोरिया बसेर फर्कदा काठमाडौ पो मलाई जाडो लाग्यो । काठमाडौको तापक्रम भलै सिउलको तामक्रम भन्दा बढी थियो तर कोठा तताउने साधनको अभावमा विहान बेलुकाको जाडो सहन कठिन थियो । शीतलहरको कारण तराइमा पचास जना जति मानिसको निधन भएको थियो, जबकि त्यहांको न्यूनतम तापक्रम १० डिग्री सन्टिग्रेडभन्दा तल थिएन । उनीहरु उचित पोषण, न्यानो कपडा र बासस्थानको अभावमा ज्यान गुमाउन बाध्य थिए । यही चिसोका कारण कैयो बालक र बूढाहरुलाई विभिन्न रोगले च्यापेको थियो । यसरी अकालमा ज्यान गुमाउन बाध्य ती निर्दोष मानिसहरुले नेपालको राजनीतिका विरुद्धमा अविश्वासको मत सालिन्दा हालिरहेका छन् तर यस्तो मतको गणना कसले गर्ने ? तर चिसोको कारण बदनाम सिउल भने जाडोमा रमाइरहेको थियो ।
