‘अनि केदारजी, तपाईंको घर चाहिँ कहाँ प¥यो नि ?’ घर ठेगानाबिनाको मेरो परिचय पाएपछि धेरैजसो मानिस मसँग यो प्रश्न गर्छन् । घर ठेगानाबिनाको परिचय कसैलाई पनि अधुरो लाग्नु स्वभाविकै हो । त्यसैले घरको बारेमा जानकारीको आवश्यकता प्रश्न बनेर मेरो सामु आइपुग्छ । मानिसको घर ठेगाना अरुको पनि सरोकारको विषय रहेछ ।
उदयपुर जिल्लाको नेपालटारमा म जन्में, त्यहीँ हुर्के । त्यही ठाउँ नै मेरो घर ठेगाना हो । काम र मामको खोजीमा नेपालटार छोडेर २५ वर्षअघि हिडेपछि म जहाँजहाँ पुगे पनि मेरो घर ठेगाना त्यहीँ बताएँ । नागरिकताको प्रमाणपत्र पनि त त्यहीबाट लिएको थिएँ । जहाँ पुगे र जे काम गरे पनि म सोच्थेँ पछि नेपालटार नै जान्छु, त्यहीं बस्छु । तर अहिले बुढेसकाल नेपालटारमा बिताइएला जस्तो लाग्न छोडेको छ । छुट्टपुट्ट भएकाले आफ्नो घर पनि त्यहाँ छैन । आमा हुनुहुन्छ, त्यसैले चाडबाडमा जान्छु । नेपालटार अहिले घर होइन तीर्थ भएको छ । डेरालाई त के स्थायी ठेगाना भन्नु र ? यसरी मेरो घर र स्थायी ठेगाना हराएको छ ।त्यसैले होला नेपालटार घर बताउन र आफ्नो स्थायी ठेगाना नेपालटार लेख्न धक लाग्न थालेको छ । अनि परिचय दिँदा घर ठेगाना बताउन छोडेको छु, नाम काम बतायो, भइहाल्यो ।
मानिसको ठेगाना उसको परिचयको एउटा आधार हो । अमूक स्थानमा जन्मेहुर्केका कारणले मानिसमा अमूक संस्कार, संस्कृति र मूल्यमान्यताले स्थान पाएको हुँदो रहेछ । हुन त कुनै स्थानमा बस्ने मानिस सबै उस्तै खालका हुँदैनन्, व्यक्तिव्यक्तिमा फरक भावना, विचार र मूल्य हुन्छ । तर व्यक्तिको यो अन्तरंग विशेषता थाहा पाउन त लामो संगत र अन्तरक्रियाको आवश्यकता पर्दछ । छोटो समयमा उसको व्यक्तिगत विशेषताको बारेमा जानकारी लिन सकिन्न । मानिसका बारेमा धारणा बनाउने छोटो तरिका त ऊ बसेको स्थानका आधारमा उत्पन्न हुने सामुहिक बिम्ब नै हो । हामी अमेरिकी, जापानी, अफ्रिकी, नेपाली, भारतीय, झपाली, जुम्ली, मनाङे, काठमाडौबासी, स्याङ्जाली आदि स्थानका बारेमा एउटा बिम्ब बनाउछौं र त्यहाँका मानिसका बारेमा त्यही बिम्बका आधारमा विश्लेषण गर्न चाहन्छौ । यो बिम्ब अमूक मनिसमा लागू नहुने सम्भावना उत्तिकै छ तर उ फरक किसिमको मानिस हो भनेर प्रमाणित हुन थप विवरण उद्घाटित हुनुपर्छ । मेरा बारेमा पनि स्थानगत बिम्बका आधारमा धारण बनाउन स्थायी ठेगाना खोजिएको होला ।
घडी लगाएको दिन धेरै पटक घडी हेरिन्छजस्तो लाग्दैन तर घडी नलगाएको दिन धेरै पटक नारीमा हेरिन्छ, समयको जानकारी बढी नै चाहिने रहेछजस्तो लाग्छ । पानी सकिएपछि कुवाको महत्व थाहा हुने कुरा ठेगानाको हकमा पनि लागू हुने रहेछ । समाचार पढ्छु, फलानो ठाउँ बस्ने फलाना भनेर मानिस भनेर परिचय दिइएको देख्छु । सेयर दरखास्त हाल्नु प¥यो, स्थायी ठेगाना चाहियो, बैंकमा खाता खोल्नु प¥यो, स्थायी ठेगाना चाहियो, परिचय दिनुप¥यो, स्थायी ठेगाना चाहियो । बिहेको कुरा चल्दा पनि चर्चा हुन्छ, यहाँ कि केटी, त्यहाँ को केटा । लिङ्गपछिको दोश्रो चासोको विषय रहेछ ठेगाना । पहिला जान्न खोजिने रहेछ, केटा कि केटी ? अनि सोधिने रहेछ, कहाँको ? चिन्ने तरिका नै यही रहेछ, यहाँको यो, त्यहाँको त्यो । मानिसले आफ्नो परिचय पनि ठेगानको आधारमा दिन चाहने रहेछ । गीत छ नि ‘इलाम बजार चियाबारी राम्रो, त्यहीँ प¥यो घर हाम्रो’ । अनि मेरो भने स्थायी ठेगाना नै बेपत्ता ।
ठेगाना हराएर दुखेका चित्त वरपर हेरेर बुझाउने ठाउँ भने प्रशस्त रहेछ । मजस्ता ठेगाना हराएका मानिस अहिले शहर बजारमा प्रशस्त पाइदा रहेछन् । काम र मामको खोजीमा पहाडबाट तराइ, गाउँबाट शहर, मोफसलबाट काठमाडौं जाने धेरै नेपालीको स्थायी ठेगाना मुर्छा परेको छ । स्थायी ठेगाना भनिएको ठाउँमा वर्षमा हप्तादिन बस्न नपाउने चापाचापमा मानिस परेको छ । रोजगारी र व्यवसायले पुर्ख्यौली घरमा बस्न नदिने अनि आफू बस्ने स्थानमा घर बनाएर स्थायी ठेगाना बनाउने आर्थिक हैसियत नहुने विरोधाभासबाट आजको पिंढी आजित छ । बसाइ सराइको क्रममा पुरानो स्थायी घर ठेगाना छोडेपछि नयाँ स्थायी ठेगाना नबनाउन्जेलको संक्रमणकालमा पनि मानिसको स्थायी ठेगाना हराउँछ । एक पटक हराएको स्थायी ठेगाना कहिले भेटिन्छ र कहिले भेटिदैन पनि ।
अहिले स्थायी ठेगाना अर्थात घर हराउने क्रम तीव्र बनेको छ । पहिला पनि विवाहपछि छुट्टिएर मुलघरको धनसार वा ग्वालीमा बस्दा मानिसको घर हराउँथ्यो । तर यो घर हराउने अवधि छोटो हुन्थ्यो, अर्को वर्ष त आफ्नो घर भइहाल्थ्यो । यस्तो घरबिहीन अन्तरिमकाल छोटो हुन्थ्यो र स्पष्ट पनि । शहरतिर घरलाई कोठाकोटा बाँड्थे रे । यहाँ घर हराएर कोठा फेला पथ्र्यो । अहिले युवाको शहर पलायनको क्रम बढेको छ तर त्यहाँ घर बनाएर बस्ने सामर्थ्य छैन । अब भाडाको घरमा जन्मेर भाडाको घरमा मर्नुपर्ने अवस्थाको सिर्जना भइरहेको छ, भइसकेको छ ।
मानिसको जन्मेको, हुर्केको घर खोस्ने बसाइँ भन्ने शब्द नेपाली भाषाको अत्यन्त हृदयविदारक शब्द हो । अंग्रेजीको माइग्रेसन जति सजिलो छैन यो । यूरोपबाट बसाइँ सरेर अमेरिका र अष्ट्रेलियामा घरजम गर्ने अनि विश्वलाई आफ्नो साम्राज्यमा मिलाउने संस्कृतिमा माइग्रेसन एउटा रहर हुनसक्छ । नेपाली संस्कृतिमा त बसाइँ कहरमात्र हो । रहरले बसाइँ स¥यौ भन्नेहरुले पनि कहरको सकारात्मक अभिव्यक्ति दिएका मात्र हुन जस्तो लाग्छ मलाई । आफ्नो माटोको माया सबैलाई हुन्छ तर नेपाली संस्कृतिमा त्यो माया अप्रतीम मानिन्छ । एउटा असह्य पीडाले मात्र मानिसलाई आफ्नो ठाउँ छोडाउँछ र बसाइँ हिँडाउछ भन्ने नेपाली मान्यता छ । यही नेपाली मनोविज्ञानको प्रतिबिम्ब बनेको लीलबहादुर क्षेत्रीको बसाइँ उपन्यास आज पनि लोकप्रिय छ । यसका प्रसंगले नेपाली मनलाई उद्वेलित गर्ने उत्तिकै सामथ्र्य आज पनि उत्तिकै राख्छ । आर्थिक, समाजिक र सांस्कृतिक दमन र विभेदका कारण नेपालीहरु बसाइँ जान बाध्य छन् । यो आजको पनि यथार्य हो । अहिले त झन् राजनैतिक र साम्प्रदायिक उत्पीडन पनि नेपालीको टाउकामा थपिएको छ । यसबाट बसाइँको दुखद अनुभूतिले पनि नेपाली मन मस्तिष्कलाई गाँज्न थालेको छ । अहिले समाज पढ्छु, बसाइँ हिड्नेको ताँतीले बस्नेका मन उति रुवाएको देख्दिन । नेपाली संस्कृतिमा यो भने एउटा चमत्कार भएको छ ।
बसाइँका भावनात्मक पक्ष पनि सकारात्मक छैनन् । पुर्ख्यौली घर छोडेर नयाँ ठाउँमा आएपछि आफ्ना परिवारका अन्य सदस्यमात्र होइन सानाका साथीहरु छोडिन्छन् । चाडवाड र जात्रामात्रामा तिनको सम्झनाले पुरानो संसारमा पु¥याउ“छ । तर ती आफन्तसँग चाड र जात्रा मनाउन सकिदैन । किशोर वयमा बनाइएका त्यस्था साथी फेरि बनाउन सकिदैन । किशोर वय साथी बनाउने उमेर हो र त्यति बेला चिनिएको साथीको स्थान अरुले लिन सक्दैनन् । पछि बनेको साथीले त्यो अन्तरंग पहुच पाउन नसक्ने रहेछ, दिन पनि नसकिने रहेछ । डेरा सर्ने बेथाले आफ्नो अन्तरंग साथी छुट्नेमात्र होइन छोराछोरीले पनि आत्मीय साथी बनाउन नसक्ने रहेछन् । आज यता छ भोलि उता । कसैलाई नजिक मान्न पनि नसकिने, कसैले नजिक पनि नमान्ने । न लामो साथ, न लामो उठबस । न स्थायित्व, न अपनत्व । डेरा सरको बेला भरखर आएका हौं भन्ने भावना, केही समयपछि अब त डेरा सर्दैछौं भन्ने भावना । एउटा डुंगामा आफूमात्र हिंडको मनोभावनासाथ जीवन बिताउनु पर्ने बाध्यता अहिले विद्यमान छ । सामूहिक मनोविज्ञानको विकास पनि हुन नसक्ने अवस्था पो आउँछ कि जस्तो लाग्छ मलाई स्थायी ठेगाना हराएर । आज गैर आवासीय नेपालीमा देखिएको नेपालप्रतिको झुकाव संसारमा कतै गएर पनि सुख पाएर पनि सन्तुष्ट हुन नसकेको जन्मभूमिप्रति आशक्त नेपाली मनको अभिव्यक्ति हो कि ?
पहिला त सबैको घर हुन्थ्यो, पर्तीमा भए पनि, झुप्रो भए पनि । अन्य पशुबाट आफूलाई फरक देखाउने घररूपी अस्त्र सबै मानवजातिसंग थियो । घर बनाउनु उत्सव मानिन्छ, घर बनाउन सहयोग गर्नु धर्म । आज पनि गाउँमा घर सरसहायोगले नै तयार हुन्छ । फिरन्ते युगबाट घर बनाएर स्थायी रुपमा बसेपछि नै मानिस वास्तवमा मानिस भयो, सामाजिक प्राणी भयो । घर मनिसको मर्म हो । वैवाहिक जीवन बिताउनुलाई घरजम गर्नु भनिन्छ । हाम्रो संस्कार सके तीर्थमा नसके आफ्नो घरमा मर्न सिकाउँछ । छोराछोरीका बिहे आँगन पोलेर गर्न चाहन्छौं । भाडाको घर हाम्रो धर्म धान्न पर्याप्त देखिंदैन । उत्साह, आशा र सफलताका स्वरहरुमा महल र बंगलाको कुरा सुनिन्छ । निराश स्वर पनि आफ्नो मनसँग गुनगुनाउँछ, ‘एउटा घर त चाहिन्थ्यो ।’ मानिसलाई गाँससँगै बास चाहिन्छ, कपासभन्दा पहिले । कपास त जन्मेको केही वर्षपछि लगाए पनि हुन्छ । सानामा त केको लाज ?
आमाको जात भएर होला घरको पीरले महिलालाई धेरै पिर्दो रहेछ । पुरुषप्रधान समाजमा घर बनाउन अभिभारा लोग्नेमान्छेको मानिन्छ । आफ्नो घरको आशा, चाहना र कल्पनाले उमेरदार जोडीका उमंगयुक्त उमेरका रमाइला अवधि चिन्ता र निराशामा बितेका छन् । घरपट्टीसँगको कचपच अनि डेराको असुविधा खट्केको अवस्थामा आफ्नो घर नहुनुको पीडाले चरम असफलताको बोध गराउछ र मानिसलाई रुखबाट लडेको बाँदर भएको अनुभूति हुन्छ । घर अभावको खटपटपछि पत्नी अलि फरकजस्तो लाग्छिन्, छोराछोरी बिराना जस्ता । घर आधारभूत आवश्यकता भएकाले एउटा घरको चाहना गर्नु कसैकोे दोष होइन भन्ने महसुस गर्न केही समय लाग्छ । यही समयको अन्तरालमा धेरैवटा वर्षाको झरी, हिउँदको चिसो, शरदको जून र वसन्तको चिसो हावाले आफ्नो रोमाण्टिक महत्व गुमाउँछन् । भाडाको घरमा बिताइएको जीवनमा घरसंवेग पटकपटक आउँछ र परिवारका सदस्यहरुलाई जिस्क्याएर जान्छ । यसले प्रेम, त्याग र धैर्यको परीक्षा लिइरहन्छ, धेरै किसिमले, धेरै पटक ।
घर सबैको आवश्यकता हो । शहरमा घर नेपालीहरुको सपना हो । यो नेपालीहरुको साझा सपना भएको यो सपनाको पनि व्यापार छ, व्यपारीहरु छन् । नेपालमा चिठ्ठा व्यवसाय सुरु भएको थियो घर चिठ्ठबाट । यही घर चिठ्ठा पछि बैंकहरुले ग्राहक बढाउने माध्यम पनि भयो । लाखौ नेपाली आफ्नो घरको सपनालाई साकार पार्न अहिले विदेशमा भौंतरिइरहेका छन् । स्वदेशमा घरको सपनालाई विपना पार्न घरघडेरीको कारोबारले दिन दुगुना रात चौगुना प्रगति गरिरहेको छ । खेतबारी अब घडेरीमा परिवर्तन भएका छन् । घडेरीको व्यापार हजारौको मुख्य र लाखौको सहायक पेशा भएको छ । यही अभ्यासका कारण घरजग्गाको भाउ आकासिएको छ र शहरमा घर फेरि आकासको फल आँखा तरी मर भएको छ ।
सबैभन्दा ढुंगो साह्रो ढुंगोभन्दा नहुनु गाह्रो । गाह्रोलाई सामना गर्न आफ्नो मन त्योभन्दा साह्रो बनाउनुको विकल्प के होला र ? घर नहुने हामी कतिले एउटा, दोटा कोठाको डेरामा रमाएका छौं, कति फ्लाटमा चित्त बुझाएका छौं । घरको विकल्प भनेर अहिले एपार्टमेन्ट आएको छ । तर घरको विकल्प केही हुन सक्दैन । कोठा र फ्लाटको त के कुरा त्यो एपार्टमेन्टमा पनि पाली गाँसेर गाईको गोठ निकाल्न मिल्दैन, कुखुराको खोर बनाउन सकिँदैन ।
पुराना आर्थिक सामाजिक संरचना विघटन हुने र नयाँ संरचना बन्ने क्रम तीव्र भएको संक्रमणकालमा अरु चिजजस्तै धेरै मनिसको ठेगाना पनि स्थायी हुन सकेको छैन । मेरो सास यही निस्क्योस भन्ने अभिप्रायले बनाएका घर छोडेर हिड्ने मानिस बढिरहेका छन् र आफ्नो आँगन बिरानो भइरहेका छन् । पितृ जलेका घाटमा जल्ने मानिससको आदिम आकांक्षा अब अर्थहीन भइसकेको छ । घाट र चिहान रोज्न आजको मानिस असमर्थप्रायः छ । आज घरजम गरेर बसेका मासिसको त भोलिको टुंगो नहुने स्थिति छ भने अहिलेकै टुंगो नभएर डेरामा बस्नेको भोलिको के टुंगो होस् । घर नहुनेका लागि ‘तपाईको घर कहाँ हो’ भन्ने प्रश्न गोलीको आवाज जस्तो सुनिन्छ । म आफैँ मलाई यही प्रश्न गर्छु , मेरी पत्नी र छोराछोरी मसँग यही सोधिरहेका छन् । म आफैं निरुत्तर छु । तपाईंलाई के उत्तर दिऊँ ? बरु तपाई अहिले कहाँ बस्नुहुन्छ भनेर सोधिदिनोस् न, मलाई अलि सजिलो हुन्छ ।
