२०६५ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंकको वार्षिकोत्सव समारोहमा बीस वर्षे सेवा पदक लिन सहभागी हु“दा पूर्व गभर्नर डा. यादवप्रसाद पन्तको सम्झनामा एक मिनट मौन धारण गरियो । काठमाडौ बस्दा अग्रणीहरुको मुखबाट बाक्लै सुनिएको र विराटनगर आएपछि उस्तो सुन्न छोडिएको यो नाममा श्रद्धाञ्जली दि“दा मन भारी भयो । उहा“को देहावसानको समाचार त पहिला पनि सुनेको थिए“ तर आफुले नाम सुनिरहका मानिस अब हामीबीच छैनन् भन्ने भावनाको तीव्र अनुभूति त त्यतिबेला पो भयो । २०६४ कार्तिक २८ गते डा. यादवप्रसाद पन्तको स्वर्गारोहण भइसकेको थियो ।
२०६६ साल माघतिर फेरि म डा. पन्तको सम्झनास“ग जोडिन पुगे“, डा. भुबनेश पन्तस“गको सान्निध्यले । डा. भुबनेश पन्त विराटनगर कार्यालयमा मुख्य व्यवस्थापक (कार्यालय प्रमुख) बनेर सो समयमा आउनु भएको थियो । डा. भुबनेश पन्त डा. यादवप्रसाद पन्तका माहिला छोरा हुनुहु“दो रहेछ । अत्यन्त अल्पभाषी डा. भुबनेश पन्तस“ग उहा“का पिताजी स्व. डा. यादवप्रसाद पन्तका बारेमा कुरा त हुन्थ्यो, तर कहिलेका“ही मात्र त्यो पनि अत्यन्त छोटो । एकदिन उहा“ले पिताको सम्झनामा छापिएको स्मृतिग्रन्थ विमोचन कार्यक्रममा सरीक हुन काठमाडौं जाने कुरा बताउनु भयो र सो ग्रन्थ हेर्ने मेरो लालसालाई पूरा गर्न एक प्रति दिने आश्वासन पनि दिनुभयो । त्यसको केही समयपछि सो ग्रन्थ हात लाग्यो पनि ।
पुस्तकको प्रारम्भमा डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठानकी अध्यक्ष मीरा अर्याल (स्व. डा. पन्तकी छोरी), राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री श्री माधवकुमार नेपाल, अर्थमन्त्री श्री सुरेन्द्र पाण्डे, पूर्व प्रधानमन्त्री तथा नेता श्री कृष्णप्रसाद भट्टराई, नेपाली कांग्रेसका सभापति श्री गिरिजाप्रसाद कोइराला, भारतका विदेशमन्त्री श्री प्रणव मुखर्जी, फिलिपिन्सका प्रधानमन्त्री श्री सिजर इ.ए. भिराटा, एशियाली विकास बैंकका अध्यक्ष श्री मासाको फुजिका, जापानका राजदूत श्री तासुको मुजुनो, जोसाइ विश्वविद्यालय कर्पोरेशनका श्री नोरिको मिजुटोका सन्देश समावेश भएका छन् । पुस्तकको मूल खण्डमा २३४ जना नेपालीको २०७ वटा नेपाली र २७ वटा अंग्रेजी भाषामा लेखिएका श्रद्धाञ्जली र संस्मरण छापिएका छन् भने १३ जना विदेशीका अंग्रेजी भाषामा लेखिएका श्रद्धाञ्जली र संस्मरण पनि छापिएका छन् । उहा“का विद्यार्थी, सहयोगी, सहकर्मी, नातेदार र स्वदेशी तथा विदेशी मित्रले उहा“को व्यक्तित्वको विभिन्न पक्षको चर्चा गरेका छन् । स्वर्गीय डा. पन्तसंग विताएका क्षणहरु सम्झदै र उनका मन, बचन र कर्मको गुणगान गाउ“दै लेखिएका संस्मरण पढेपछि उहा“को विराट व्यक्तित्वको आभास हुन्छ । उहा“का समवयीहरुले पनि उहा“लाई अत्यन्त आदरणीय र अग्रज मानेका छन् ।
स्मृतिग्रन्थमा आफ्नो भावना पोख्ने महानुभावहरुले डा. पन्तलाई आआफ्नै आ“खाले हेरेका छन् र उहा“को फरकफरक व्यक्तित्वको उद्घाटन गरेका छन् । अर्थशास्त्री भन्छन्, आधुनिक बजेट प्रणाली उहा“को पालादेखि आयोे । नेपालका सार्वजनिक संस्थानका धेरैजसो अधिकारीहरुले ती संस्थानको स्थापना र विकासमा डा. पन्तको योगदानको चर्चा गरेको छन् । मौद्रिक अर्थशास्त्रीहरु उहा“ गभर्नर हु“दा भएका सुधारको प्रशंसक छन् । कूटनीतिज्ञहरु उहा“ जापानको राजदूत हु“दा सम्पादन गर्नु भएको भूमिकाबाट दंग छन् । नेपालमा खुला अर्थनीति अवलम्बन भएपछि निजी क्षेत्रमा समेत उहा“को अग्रसरतामा बैंक अफ काठमाडौको स्थापना भएको रहेछ । खेलाडीहरु लेख्छन्ः व्याडमिन्टन खेल काठमाडौमा भित्र्याएको उहा“ले हो । संस्कृतिकर्मीहरु संस्कृतिको विकासमा पन्तको योगदान सम्झन्छन् । साहित्यमा पनि डा. पन्तको योगदान देखिन्छ । साहित्य अनुरागीहरुले नेपाल सांस्कृतिक संघको स्थापना र त्यसको विकासमा उहा“ले गर्नु भएको योगदानको चर्चा गरेका छन् । उहा“ बनारसमा रह“दा युगवाणी पत्रिकामा लेखहरु प्रकाशित भएका थिए । रमादेवी पन्तको सम्पादकत्वमा निस्कने जनविकास पत्रिकामा उहा“को संलग्नता थिएन भन्न सक्ने अवस्था छैन । लायन्स क्लब, रेडक्रस सोसाइटी र अन्य परोपकारी सामाजिक संघसंगठनका साथीहरु समाजसेवामा उहा“को योगदानको कदर गरिरहेका छन् । उहा“को जीवनबाट धार्मिक मानिसहरु पनि प्रभावित छन् ।
सरकारका सचिव, गभर्नर र मन्त्री पनि भएका मानिसको रुपमा मैले जानेका डा. पन्तको सार्वजनिक व्यक्तित्वका आयामहरुको चर्चा कठिन रहेछ । ग्रन्थमा दिइएको संक्षिप्त परिचयमा उहा“को योगदानको विवरण देख्दा छक्क परिन्छ । १९८२ मा जन्मेका पन्त पि.एच.डी. उपाधि प्राप्त गर्ने पहिलो नेपाली हुनुहु“दो रहेछ । उहा“को अध्ययनको विषय अर्थशास्त्र रहेछ र पछि डि.लिट. उपाधि पनि पाउनु भएछ । ग्रन्थ पल्टाउ“दै जा“दा नेपालको अर्थ र विकास प्रशासनमा उहा“को पाइला नपरेको ठाउ“ नै नभएको बोध हुन्छ । प्रँध्यापनबाट सुरु भएको उहा“को सार्वजनिक सेवायात्रा जीवनको अन्तिम घडीसम्म चलिरहेको देखिन्छ । यस यात्रामा कुन आरोह हो र कुन अवरोह हो केही थाहा हु“दैन । प्रँध्यापन, योजना र विकास प्रशासन, राजनीति, कुटनीति, संघसंस्था गठन र नेतृत्व, भाषा र संस्कृतिको विकास र सम्बद्र्धन, अन्तर्राष्ट्रिय संघसंस्थामा सम्बद्धता, लेखन उहा“का जीवनका केही पक्षहरु रहेछन् । मैले उहा“को सार्वजनिक जीवनको समयक्रमिक तालिका बनाउन खोज्दा धेरै पटक अलमलिए“ र अझै पनि सुस्पष्ट छैन । एकै समयमा एकभन्दा बढी सरकारी पदमा रह“दा पनि सामाजिक क्षेत्रमा योगदान गर्न डा. पन्तले भ्याउनु भएको देखिन्छ । उहा“ ८२ वर्ष बा“च्नु भयो, धेरै क्षेत्रमा योगदान गर्नुभयो र ती क्षेत्रमा महत्वपूर्ण योगदान गर्नु भयो । यसरी हेर्दा उहा“को जीवनको लम्बाइभन्दा चौडाइ बढी र चौडाइभन्दा उचाइ बढी देखिन्छ । उहाको जीवनको आयतन साह्रै ठूलो रहेछ ।
डा. पन्त राजाबाट मनोनित भएर पहिलो पटक र जनताबाट चुनिएर दोस्रो पटक राष्ट्रिय पञ्चायतको सदस्य र अर्थ, जलस्रोत मन्त्री हुनुभएछ । बहुदलीय व्यवस्थापछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भई सो पार्टीको उपाध्यक्ष र केन्द्रीय कोषाध्यक्ष पनि हुनुभएछ । तर उहा“का शुभचिन्तक र सहयोगी कसैले पनि उहा“लाई नेपालको राजनीति गर्न उपयुक्त व्यक्तित्व मानेका छैनन् । झुठ बोल्नुपर्ने, छलछाम गर्नु पर्ने र चुक्लीफुक्ली लगाउनु पर्ने राजनैतिक खेलका लागि सबैले डा. पन्तलाई “अयोग्य’ मानेका छन् । भनिरहनु पर्दैन, यो अयोग्यता उहा“को होइन नेपाली राजनीतिको थियो । बहुदलीय व्यवस्थाको आगमनपछि मूलधारको सत्ता राजनीतिबाट राम्रा मानिस पाखा लागेको उहा“को विश्लेषण थियो । २०४६ सालको परिवर्तनपछि जनतालाई ठूलो सपना देखाइएकाले यो परिपाटीले हिंसालाई निम्ता दिने उहा“को विश्लेषण रहेछ, जुन सत्य सावित भयो । कांग्रेस पार्टीमा प्रवेश गर्न गरिएको आग्रह उहा“ले अस्वीकार गर्नुभयो । उहा“स“गै पञ्चायतमा काम गर्ने एकजना नेताले नेपाली कांग्रेसको संवैधानिक राजतन्त्रको सिद्धान्त मन परेर कांग्रेसमा गएको बताएका छन् तर राजतन्त्र सामाप्त भएको एक वर्षपछि प्रकाशित पुस्तकमा आफ्नो अहिलेको राजनैतिक निष्ठा बारे मौन छन् । आफू राजनीतिका लागि उपयुक्त नभएको निचोडमा उहा“ आफैं पनि पुग्नुभएको कुरा पार्टीमा दिइएको राजीनामाबाट निकाल्न सकिन्छ । सर्वदा खेलिने फोहोरी खेलबाट उहा“ आफैं हट्नु भयो पनि ।
छयालीस सालको परिवर्तनले नेपालमा नया“ राजनैतिक अध्याय सुरु गरेको थियो । पञ्चालयत कालमा भूमिगत रहेका दलहरु यसपछि प्रमुख राजनैतिक शक्ति बनेर आएका थिए । नया“ दलहरु गठन भए । पञ्चायती व्यवस्थामा काम गरेका केही राजनैतिक व्यक्तित्वहरु राजनैतिक शरण खोज्दै विभिन्न पार्टीमा प्रवेश गरे । पञ्चायतका कागहरु बहुदलमा बकुल्ला भएर फेरि राजनैतिक शक्ति र सत्ताको उपयोग गरे । उनीहरुले राजनीतिशास्त्र त पढेका थिए नै होलान्, चाल्र्स डार्बिनको विकासको सिद्धान्त पनि पढेका थिए । जो परिवेश अनुसार परिवर्तन हुन सक्दैन ऊ बा“च्न सक्दैन भन्ने डार्बिनको धारणालाई अंगीकार गर्दै उनीहरुले आफ्नो राजनैतिक निष्ठा बदलेका थिए । तर डा. पन्त तिनमा पर्नुु भएन । आफ्नो निष्ठा र आस्थाप्रति उहा“ जीवनपर्यन्त प्रतिबद्ध रहनु भयो । पंचायतमा लामो समयसम्म काम गर्नु भएकाले पञ्चको पार्टी भनिने राष्ट्रिय प्रजातन्त्र पार्टीमा आफ्नो भूमिका खेल्नुभयो । राजनेताको काम बदलि“दो परिस्थिति अनुसार आफू बदलिनु होइन, परिस्थितिलाई देश र जनतालाई हित हुने गरी बदल्न प्रयास गर्नु हो भन्ने थाहा हुने सीमित नेपाली राजनीतिज्ञमध्ये उहा“ हुनुहन्थ्यो । राजनीति एउटा समाजविज्ञान हो जसमा सत्य स“धै एकै हु“दैन । आफूले ठानेको सत्यमा अडिग रहने निष्ठा र सामथ्र्य नै राजनीतिज्ञको मूल्यांकनको कसी हो । आफ्नो निष्ठामा अडिग रहेकै कारण अहिंसावादी गान्धी र हिंसात्मक क्रान्तिका प्रणेता माओ त्सेतुङले जनमनमा स्थान पाएका छन् ।
स्मृतिग्रन्थ पढ्दा पञ्चायत काल राजनैतिक रुपले महेन्द्रकाल र वीरेन्द्रकाल भए पनि आर्थिक रुपान्तरण र विकासको हिसाबले डा. पन्त काल देखिन्छ । उहा“को भूमिका विभिन्न समयमा विभिन्न रुपमा छ तर छ शिखरमा । उहा“को पञ्चायतमा संलग्नता राजनीतिका लागि होइन विकासका लागि थियो भन्ने निष्कर्ष ग्रन्थले दिन्छ । उहा“ यसमा दृढ प्रतिज्ञ हुृनुहुन्थ्यो पनि । सरकारी बजेटको वैज्ञानिकीकरण गर्न र केन्द्रीय बैंकको काम कारवाहीलाई व्यवस्थित गर्न उहा“बाट भएका प्रयासको सबैले प्रशंशा गरेका छन् । तेश्रो राजदूतको रुपमा उहा“ जापान गई नेपाल जापान सम्बन्धलाई नया“ आयाम दिनु भएको देखिन्छ । आज जापान नेपाललाई सबभन्दा बढी आर्थिक सहयोग गर्ने मुलुकमा पर्दछ । डा. पन्तको स्वच्छ र शालीन व्यक्तित्वको नजिकबाटै पञ्चायतको भ्रष्ट धारा बगेका अनुमान पनि ग्रन्थबाट गर्न सकिन्छ । नदीबाट मोटरले पानी तानेर सिंचाइ गरिने बौलठ्ठी आयोजना पनि पञ्चायतकालमा संचालन भइरहेको देखिन्छ ।
उहा“ले जीवनमा प्राप्त गर्नुभएका उपलब्धि र उपाधि कमै मानिसले प्राप्त गरे होलान् । सचिव, गभर्नर, सांसद, मन्त्री, राजदूतजस्ता पदमा पुग्ने व्यक्ति विरलै होलान् । तर डा. पन्त पुग्नु भएछ र भूमिका सफलता पूर्वक निर्वाह पनि गर्नुभएछ । छिद्रान्वेषी मनले सोच्न पनि सक्छ, पञ्चायत कालमा राजालाई मन परेका मानिसलाई उन्नति र प्रगतिमा के रोक थियो र ? हुकुमी शासनमा जो जे पनि बन्न सक्थ्यो र बने । हामीले पनि मुजुरका प्वा“ख टा“सेर मुजुर बनेका नक्कली कागहरुलाई कति सुन्यौ, कति देख्यौ र कति भोग्यौ पनि । तर नक्कली मुजुर मेघ गर्जदा नाच्न सक्दैन । ऊ आत्तिएर का“ का“ गर्दै सुरक्षित स्थानको खोजीमा लाग्छ । सक्कली मुजुर मात्र मेघमा नाच्छ । डा. पन्त सक्कली मुजुर हुनुह“दो रहेछ । उहा“ले जहा“ पाइला राख्नु भएको छ, त्यहा“ सफलता मिलेको छ । यो स्मृतिग्रन्थमा उहा“को असफलताका कुनै दुखेसा देखि“दैनन् ।
डा. पन्तको प्रशस्त जग्गाजमिन रहेछ पख्यौली सम्पत्तिको रुपमा । धेरै जग्गाजमिन भएका मानिस भए पनि सामन्ती प्रवृत्तिको आभास उनको व्यक्तित्वमा देखि“दैन । उनको जीवनीबाट बोध हुन्छ, सबै जग्गावाल सामन्त होइनन्, सबै धनी कुलीन होइनन् र सबै कुलीन सम्भ्रान्त छैनन् । सबै धनी सम्भ्रान्त छैनन् त्यसैले त भुइ“मा न भा“डामा भएर उम्लिरहेका छन् । पुख्र्यौली सम्पत्ति प्रशस्त हुनेहरु सबै कुलीन छैनन त्यसैले देशले विभिन्न काण्डहरु भोग्नु र देख्नु परेको छ । तर डा. पन्त जग्गाजमिन भएका तर सामन्तवादको पृष्ठपोषण गर्न नचाहने मानिसमा देखिनुहुन्छ । उहा“ धनी मात्र होइन कुलीन र सम्भ्रान्त पनि हुनुहुदो रहेछ । उहा“ धनी बाबुका उहा“ एक्ला छोरा हुनुहन्थ्यो तर धनी बाबुका एक्लो छोरा भन्दा अहिलेको नेपाली समाजले जे बुझ्छ, उहा“ त्यो हुनुहु“दो रहेनछ । डा. पन्तलाई सबैले धनी मानिस भनेको छन् । उहा“ वास्तवमा धनी मानिस हुनुहु“दो रहेछ किनभने उहा“ले अरु मानिस, समुदाय, देश र दुनिया“लाई उहा“ले केही “दिनुभएको” छ ।
उहा“ले पञ्चालतमा काम गर्नु भएको भए पनि आम पञ्चको छवि उहा“मा पाइ“दैन । सबै जमिनदार उहा“जस्ता भए शायद सामन्तवाद र जमिनदारी त्यति आलोच्य हुने थिएन होला अनि सबै पञ्च उहा“जस्ता भएका भए पञ्चायतले यति दुर्नाम पनि भोग्नु पर्दैन थियो होला । सामाज वर्गीय अन्तरविरोधबाट नै सञ्चालन हुन्छ र धन नै शोषणको कारक हो भन्ने धारणा राख्ने वामपन्थी चिन्तकहरुले पनि उहा“लाई वर्गीय र व्यक्तिगत स्वार्थभन्दामाथि उठेको मानिस भनेर सम्मान गरेको छन् । प्रगतिशील मानिने पत्रिकाको सम्पादन गरेर उहा“ले आफूलाई वर्गीय राजनीतिबाट अलग राख्नु भएको देखिन्छ पनि । लामो समय शक्तिमा रह“दा पनि भ्रष्टाचार र अनियमितताको छाया“ उहा“को व्यक्तित्वमा परेका छैन । भन्नेहरु भन्लान्, उहा“लाई के अपुग्दो थियो र भ्रष्टाचार गर्न । तर नेपालमा नपुग्नेले मात्र भ्रष्टाचार गरेका भए अतिभ्रष्ट मुलुकको सूचीमा पर्ने थिएन । पञ्चायत तीस बर्ष टिक्यो, डा. पन्तजस्ता मानिसको संलग्नताले टिक्यो । पुनस्र्थापित प्रजातन्त्रले पन्ध्र वर्ष पूरा गर्न नपाउनु र गणतन्त्रले फुस्रा पात देखाउनुका पछि डा. पन्तजस्ता मानिसको अभाव हो भन्ने आधार यो ग्रन्थले प्रदान गरेको छ ।
डा. पन्तका जीवनका धेरै आयाम भए पनि बौद्धिक व्यक्तित्व नै उहा“को महत्वपूर्ण विशेषता देखिन्छ । नेपालको पहिलो विद्यावारिधिको रेकर्ड राख्नुहुने डा. पन्तले दोश्रो महाविद्यावारिधिको रेकर्ड रखेर अध्ययनको शिखरमा पुग्नु भएको देखिन्छ । आफ्नो ज्ञानलाई बा“ड्न पनि उहा“ दत्तचित्त देखिनुहुन्छ । उहा“ले अध्यापनबाट आफ्नो सार्वजनिक सेवा सुरु गर्नु भएको छ र नेपाल राष्ट्र बैंकको गभर्नर हु“दासम्म पनि अध्यापन जारी राख्नु भएको देखिन्छ । प्रध्यापन छोडी अन्य किसिमका सेवामा रहनुहु“दा पनि गोष्ठी, छलफल र विचारविमर्श जस्ता ज्ञान आदानप्रदानका सामूहिक प्रयास गरिरहनु भएको देखिन्छ । पुस्तक तथा लेख रचनाको लेखन, व्याख्यानका क्रम उहा“को जीवनभर चलिरहेका देखिन्छन् । उहा“को योग्यताप्रति स्वदेशी र विदेशी विश्वस्त देखिन्छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका म्यानेजिङ डाइरेक्टर पियर पल स्वाइजरले डा. पन्तको कार्यकालको नेपाल राष्ट्र बैंकलाई “संसारको सर्वोत्तम केन्द्रीय बैंकहरुमध्ये नेपाल राष्ट्र बैंक एक हो” भनेका छन् । राजा महेन्द्रले उहा“लाई सघाउन भनेका थिए । जनताले पनि राष्ट्रिय पंचालयतको चुनावमा उहा“लाई जिताए ।
आकाशमा हवाइजहाज उडिरहेको देख्दा त्यो एकै उचाइमा अनवरत रुपमा उडिरहेको देखिन्छ । तर त्यो सैयौं फिट तलमाथि गरिरहेको हुन्छ । यसैगरी डा. पन्तको जीवनलाई हामीले उचाइमा देखे पनि उहा“को जीवनमा कैयौं उतारचढाव अवश्य आए होलान् । राजाले दिएका आश्वासन पूरा नभएको प्रसंग पुस्तकमा आएको छ तर त्यसका कारण र परिणामका बारेमा पुस्तक मौन छ । त्यो उच्चस्तरीय गोप्य कुराको जानकारी कतिलाई पो थियो होला र ? यस्ता प्रश्नको हल त स्मृतिग्रन्थले होइन उहा“को आत्मसंस्मरणले मात्र दिन सक्थ्यो । उहा“को आत्मसंस्मरणको आवश्यकता स्मृतिग्रन्थपछि झन् बढेर गएको छ । डायरीको संकलन र सम्पादनको काम भइरहेको छनक ग्रन्थले दिएको छ र त्यसबाट भविष्यमा ती पुस्तक पढ्न पाइनेमा आश्वस्त बन्न सकिन्छ ।
उच्च पदमा पुगेपछि कामको व्यस्तता र शक्तिको उन्मादले मानिसलाई बांकी दुनियास“ग सधै सुमधुर सम्बन्ध र सम्पर्क राख्न कठिन पर्छ । डा. पन्तको जीवनीले पनि त्यस्तै व्यस्तताको संकेत गर्दछ । स्मृति ग्रन्थमा उहा“का निकटस्थ मानिसहरुले पनि भेट्न गाह्रो हुने कुरा गरेका छन् । तर सबैंले उहा“को व्यस्तताको पारोभन्दा आफ्नो प्रतीक्षाको घडी छोटो भएको अनुभूति गरेका छन् । भेट पाउ“छु भन्ने आशा नभएकाले पनि भेट पाएका छन् र कृत्यकृत्य भएका छन् । डा. पन्तस“ग एक क्षण बिताएकाहरु त्यही क्षणसम्झेर जीवनभर रोमाञ्चित भएका छन् । ज्ञान, योग्यता, सरलता र विनयशीलता भएका मानिसले हृदयदेखि सम्प्रेण गर्ने सम्बादको असर शायद मानिसको मनमा चिरस्थायी हुन्छ । हो, घण्टौका फिजूल गफ भेट सकिनासाथ बिर्सिइन्छन् तर महामनाका मृदुहास सहितका वाणीले जीवनभर आवाज दिइरहन्छ ।
उहा“का बारेमा स्मृतिग्रन्थमा कसैले सोझो रुपमा त परै जाओस्, प्रच्छन्न रुपमा पनि नराम्रो कुरा गरेका छैन । सत्ता र शक्तिको केन्द्रमा रहनु भएका डा. पन्तमा उन्माद र घमण्डको झिल्को कतै देखिदैन । उहा“को बोली र व्यवहारमा झल्कने विनयशीलताप्रति सबै स“धै कायल देखिन्छन् । उनलाई उपचार गर्ने डाक्टर भन्छन्, पन्तबाट मैले विनयशीलता सिकें । कठोर बचन र अप्रिय निर्णय गर्ने मानिसका लागि पनि सो बानीको प्रशंशा हुने शब्दावलीहरु छन्ः स्पष्ट वक्ता, निर्णय क्षमता भएका, दृढ निश्चयी आदि । तर त्यो शब्दको प्रयोग समेत कसैले गरेको छैन । एक जना नेताले एउटा प्रसंगमा मात्र उहा“ले अरु मानिसस“ग सवाल जवाफ गर्नुपरेको बताएका छन् ।
२०१० सालबाट सुरु भएको उहा“को सार्वजनिक सेवाको यात्रा २०४६ सालमा आएर अवरुद्ध भयो र सो सक्रियता पार्टी राजनीति, व्यवसाय, समाजसेवा र आध्यात्मतिर मोडियो । बी.पी. कोइरालाको प्रधानमन्त्री कालमा नेपाल सरकारको प्रमुख आर्थिक सल्लाहकार र नेशनल प्लानिङ बोर्डको कार्यकारी सदस्यको रुपमा काम गरेका डा. पन्तलाई राजा महेन्द्रले देशमा बसेर काम गर्न दवाव दिएकाले उहा“ले देशमा बसेर काम गर्नु भएको रहेछ । नत्र संयुक्त राष्ट्र संघीय निकाय इकाफेमा काम गर्नु भएका उहा“लाई विदेशमा राम्रो काम पाउन कुनै गाह्रो थिएन । तर २०४६ सालपछि उहा“ले सार्वजनिक पद हासिल गरेर देशको सेवा गर्न पाउनु भएन । यो समय परिवर्तनको प्रभाव हुनसक्छ तर उहा“को क्षमतालाई हेर्दा भने यो नेपालको एउटा विसंगति बनेर देखा पर्छ । पैंतालीस सालमा बहुदलीय व्यवस्थाको स्थापनाका लागि राजा वीरेन्द्रलाई सुझाव दिने मानिसलाई प्रजातान्त्रिक नेपालले उचित सम्मान दिन सकेन । नेपाललाई यति योगदान दिने व्यक्तिका नाम देशले नसम्झेको देखेर यो पुस्तकको पाठक निराश बन्छ ।
अध्यात्म उहा“को जीवनको पर्याय देखिन्छ । सादा जीवन शैली, सात्विक भोजन र प्रभुस्मरण उहा“को जीवनशैलीको मूल खाकाको रुपमा रहेको छ । ससुरालीघरमा रहेका रामकुटीमा हुने कीर्तनमा उहा“ गइरहनु हु“दो रहेछ । भारतीय साधुसन्तको संगतमा रहेको पनि प्रसंग भेटिन्छ । उहा“कोे अध्यात्म यात्रा पूजापाठभन्दा पर पुगेको अनुभव गर्न सकिन्छ । त्यसैले होला उहा“मा रुढिवादप्रति भने कतै मोह छैन । आफ्ना बाहुन विद्यार्थीलाई तल्लो जातको घरमा हेलमेल र खानपान गरी तथ्यांक संकलन गर्न सु¥याउनु भएको प्रसंग ग्रन्थमा छ । उहा“ले बाहुनइतर जात भएको मानिसले पकाएको खानुभएको प्रसंग पनि छ । बाहुनले गोलभेडा नखाने त्यो जमानामा उहा“ छोइछिटो बार्नुहु“दो रहेनछ । हो उहा“ले अछुत र दलित भनिने जातस“ग सहभोज त गर्नु भएन होला तर युगको परिवर्तनलाई उहा“ले देख्नु भएको थियो र व्यवहारमा परिमार्जन ल्याउनु भएको थियो ।
स्मृतिग्रन्थमा परिवारका निकट सदस्यहरुको भावना भने समेटिएको छैन । उहा“की पत्नी रमादेवी, छोरी मीरा र छोराहरु डा. गिरिश, डा. भुबनेश र राधेशको नाम पाठकले विषयसूचीमा खोज्छ तर पाउ“दैन । छोरी मीराबाट पुस्तकको सुरुमा दुई शब्द लेखिएको छ तर यसले प्रकाशकीयको भूमिका निभाएको छ, डा. पन्तको व्यक्तित्वमा खासै प्रकाश पारेको छैन । असाधारण व्यक्तित्व, राष्ट्रिय स्वार्थबाट अविचलित, राजनैतिक उथलपुथल र सामाजिक आर्थिक उतार चढावको खेप्नुभएको भनी केही संकेत गर्नु भएको छ तर घटनाविवरण छैन । उहा“का यी भनाइको पुष्ट्याइ“ अन्य महानुभावका लेखमा प्राप्त गर्न सकिन्छ तर परिवारका सदस्य जति नजिकबाट त्यो सत्यलाई कसले बुझेको थियो होला र ? परिवारका सदस्यको भावना नसमेटिएकाले डा. पन्तका व्यक्तिगत जीवनका उकालीओरालीहरु, उत्साह र निराशाहरु, सफलता र असफलताहरु भने प्रकाशमा आउनबाट रोकिए कि भन्ने संशय मनमा लागिरहन्छ । उहा“ एउटा व्यक्ति मात्र होइन अन्तर्राष्ट्रियस्तरको व्यक्तित्व हुनुहुन्थ्यो, भावी पिंढीमाझ उहा“लाई चिनाउने काममा निकटस्थ व्यक्तिहरुले हच्किनु उपयुक्त हुने थिएन जस्तो लाग्छ ।
पुस्तकमा डा. पन्तका केही तस्बीर पनि समावेश गरिएका छन् । विद्यावारिधि दीक्षान्तको युवा, विभिन्न समारोह र यात्रामा सरीक हुदा“का अधबैंसै अनि पारिवारिक र धार्मिक जमघटमा रह“दाका तस्बीरले प्रौढ अवस्थाको प्रतिनिधित्व गरेका छन् । दक्षिण कोरियाका राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दाको प्रदीप्त चेहरा पत्नीका साथ लिइएको तस्बीरमा गलेको देख्दा मन भरंग भएर आउ“छ । समयको छाप त सबै कुरामा अवश्य नै पर्छ नै । उहा“को व्यक्तित्वको अभिव्यक्ति भने मुखपृष्ठमा रहेका तस्बीरले गर्दछ । अलिकति हा“सो र अलिकति जिज्ञासा प्रकट गर्न थोरै खुलेको मुख अनि संकोच र शालीनता व्यक्त गर्न त्यही“ छेउ आइपुगेको औंलो ।
डा. पन्तलाई हार्दिक श्रद्धाञ्जली ।
