दाहिने हात

संसदमा सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भएको समाचार फैलिने बित्तिकै सुकेखोला खानेपानीका आयोजना प्रमुख रमेशकाजी र ठेकेदार सानुमान काठमाडौ हानिए । खानेपानी आयोजनाको जिप घाम नझुल्किँदै साँवरी भन्ज्याङ कटिसकेको थियो भनेर भान्टाबारी बजारबाट आएका मानिसले भनेका थिए । सुकेखोलाका चिया पसलमा भने आयोजना प्रमुख ठेकेदारको मोटरमा हिजो बेलुकै काठमाडौ गएका हुन्, आयोजनाको मोटर त ड्राइभरले रमेशकाजीको घर विराटनगर लगेको हो भन्ने हल्ला चलिसकेको थियो । रमेशकाजीले पियन सानुकान्छलाई ‘हाकिमसा’ब बिहान जानु भएको हो’ भन्नु भनेर ठेकेदार सानुमानसँग काठमाडौ हान्निएका थिए तर ठेकेदार र हाकिमको बैठकपछि बाँकी रहेको बिजुली पानी लगाएपछि सानुकान्छाले ‘कसैलाई नभन्नु है भनी’ हाकिमको यात्रा वृत्तान्त एक कान दुई कान मैदान बनाइसकेको थियो ।
हाकिम र ठेकेदारका बारेमा बजारमा त हल्ला चलिरहेको थियो भने आयोजनाको अफिसमा चर्चा हुनु स्वभाविक नै थियो । सत्तारुढ पार्टी र त्यसका नेतालाई रिझाएर आयोजना प्रमुख बनेका राजेशकाजीको अब सरुवा हुने लख काटिएको थियो । अविश्वासको प्रस्ताव पारित भएर नयाँ सरकार बनेपछि पुरानो सरकारका समर्थक मानिएका उनी आयोजना प्रमुख रहिरहने कुरै थिएन । पदबाट हट्ने निश्चित भएको राजेशकाजीले गरेको भनिएका दुष्कर्मको चर्चाले कार्यालयका कोठा दुर्गन्धित भइरहेका थिए, सबैजसो उसको बदख्वाइँमा लागेका थिए । ‘ए हो र !’ भनेर एउटाको कुरामा सही थापेपछि अर्को फेरि अर्को बदख्वाइँको किस्सा निकाल्न लागिहाल्थ्यो । बोलक्कड र गफाडीको त कुरै नगरौँ, आश र त्रासमा लाटिएका सोझा कर्मचारीहरुका जिब्रा पनि राजेशकाजीका विरुद्धमा बाचाल हुन लागेका थिए । हुन पनि, अरु आयोजना जस्तै सुकेखोला खानेपानी आयोजना पनि खानेपानी आयोजना कम किस्सा निर्माण आयोजना बढी थियो ।
यो बदख्वाइँ महोत्सवमा भाग नलिएका कर्मचारी थिए स्टोरकिपर उमेश थपलिया । उनी हाकिमका दायाँ हात थिए र आयोजनाका मुख्य हर्ताकर्ता थिए । सामान सप्लाइ गर्ने सप्लाएर, सामानको गुणस्तर निरीक्षण गर्ने प्राविधिक, भुक्तानीको काम गर्ने एकाउन्टेन्ट र हाकिमका बीचको पुलको काम उमेशले नै गर्थे । यो सरकार सत्तामा आएपछि उनको हुलाक कार्यालय जस्तो बाहिरी आमदानी नहुने कार्यालयबाट यो आयोजनामा सरुवा भएकाले उनी स्वतः हाल सरकारमा रहेको पार्टीको कार्यकर्ता बन्न पुगेका थिए । हुन त उनकी सानिमा सासु त्यस पार्टीमा भएको र उनकै प्रयासबाट उमेशको सरुवा भएको हुनाले उनीहरुप्रति आभार प्रकट गर्न उनी सत्तारुढ पार्टीको समर्थक भएका थिए । वास्तवमा उनको चासो आर्थिक कुरामा केन्द्रित थियो, उनको राजनैतिक दृष्टिकोण केही भए पनि त्यो अप्रकट नै थियो । सरुवा प्रकरणले उनलाई सत्तारुढ पार्टीको मानार्थ सदस्यता दिएको थियो । यसैमा फाइदा भएकाले उनलाई होइन भन्नुपर्ने पनि केही थिएन । अब स्थिति परिवर्तन हुने भएकोले आफूलाई कसरी समायोजन गर्ने भन्ने चिन्ताले उनलाई सताएको थियो ।
सबैले राजेशकाजीलाई केन्द्रमा राखेर हालवाला आयोजना प्रमुखको सरुवा र आगामी आयोजना प्रमुखको लेखाजोखा गरिरहँदा गुणराजको ध्यान भने उमेश थपलियामाथि थियो । उमेश सरुवा भएर आउनुभन्दा अघि गुणराज नै स्टोरकिपर थियो । नायब सुब्बा स्टोरकिपर हुनुपर्नेमा सो दरबन्दी खाली रहेकाले गुणराज खरिदार भएर पनि खुट्टो घुमाइरहेको थियो । स्टोरकिपर नायब सुब्बा अवकाशमा गएपछि उसलाई यो मौका परेको थियो । उसले हाकिमलाई नायब सुब्बाको सम्भावित पदस्थापन रोक्न विशेष आग्रह पनि गरेको थियो तर सत्तारुढ पार्टीकी महिला नेतृले आफ्ना ज्वाइँलाई त्यस ठाउँमा ल्याहालिन् । उमेश सरुवा भएर आएपछि भने उमेशको नै स्टोरकिपरमा पोस्टिङ भयो, गुणराज प्रशासनमा पुगे । ‘माथिबाट त्यस्तै कुरा आयो गुणराजजी ! पछि मिलाउँला नि !’ भनेर सुरुमा त उनले गुणराजलाई थामथुम पारे । स्टोरमा जमेपछि उमेशले नै राजेशकाजीलाई मिलायो, राजेशकाजीले गुणराजलाई मिलाउने मौका नै आउन पाएन । राजेशकाजीसँग विस्तारै गुणराजको दूरी बढ्दै गयो, उमेश थपलियासँगको सम्बन्ध भने प्रतिद्वन्द्वीका रुपमा विकसित हुँदै गयो । सत्ता र शक्ति हातमा छउन्जेल उमेशलाई पनि यो सम्बन्धमा सुधार गर्ने खाँचो परेन । सरकार परिवर्तनको यो अन्योलग्रस्त समयमा गुणराज ‘राजेशकाजी त उड्यो उड्यो, यो उमेशे चम्चालाई पनि तह लगाउनुपर्छ, यसलाई यो आयोजनाबाट सरुवा नगराई छोड्दिन’ भनेर पो उफ्रन थालेको थियो । भनिरहनु नपर्ला, गुणराज स्टोरकिपरबाट हटेको केही समयपछि विपक्षी राजनैतिक शक्तिसँग नजिक भइसकेको थियो, जुन शक्ति अब सत्तामा जान तयार भइरहेको थियो ।
∞∞∞∞∞

नयाँ सरकार गठन भएपछि उमेशलाई के गराँै र कसो गरौँ भयो । अत्यन्त बेचैनीमा उसले आफ्नो हाकिमलाई सम्झ्यो । काठमाडौं जाने बेलामा ठेकेदार सानुमानको मोटरको व्यवस्था गर्न रमेशकाजीले उनलाई भनेका थिए । ऊ उनीहरुको बिदाइमा राति क्वाटरसम्म पनि गएको थियो । त्यहाँ काठमाडौ पुगेपछि फोन गर्ने भनेर हाकिम काठमाडौं हुइँकिएका थिए । आयोजनाको ड्राइभर धेरै मातेकाले अफिसको गाडी निकाल्न सकिएको थिएन । ड्राइभरलाई बिहानको राति नै गाडी लिएर घर गई उतै बस्ने र राजेशकाजीले बोलाएपछि काठमाडौ जाने व्यवस्था पनि उमेशमार्फत नै मिलाएर हाकिम काठमाडौ गएका थिए । काठमाडौं पुगेपछि वातावरण बुझेर फोन गर्ने बाचा राजेशकाजीले गरेका थिए तर आजसम्म कुनै खबर आएको थिएन । अरु बेलाको त कुरै छोडौँ, काठमाडौँ हिँड्ने बेलामा पनि सहयोग गरेका हाकिमले आजसम्म फोन नगरेको हुनाले उमेशलाई हाकिमसँग फोन सम्पर्क मन लागेको थिएन । हाकिमप्रतिको उसको भक्ति र समर्पणका कारण नै आज अफिसमा उसको खेदो खनिएको छ र चम्चाको उपाधि समेत पाएको छ तर हाकिमको चालमाल यस्तो छ । ऊ साह्रै भावुक भयो तर जागिरमा हाकिमसँग टेक गरेर के हुन्छ र ! उमेशले हाकिमलाई फोन लगायो ।
तर मोबाइलमा पूरा रिङ गएर पनि टेलिफोन उठेन । उमेशको बेचैनी अरु बढ्यो । उसले फेरि डायल ग¥यो । यस पटक भने तीन रिङ गए पछि फोन काटियो । उसलाई झन् असजिलो भयो । स्पष्ट थियो, उनको भरोसाको केन्द्रले फोन पनि उठाउन छोडे ।
उसको यो असजिलो लामो समयसम्म रहेन । साँझमा हाकिमले नै फोन गरे ।
“उमेशजी, दिउँसो फोन रिसिभ गर्न सकिन । त्यस्तैउस्तै ठाउँमा थिएँ । जाने बेलामा पनि अलि टेन्सन नै भयो । यता आएपछि एउटा निष्कर्ष निकालेर फोन गरौँ भन्दाभन्दै त्यत्तिकै भएछ ।”
“अनि के छ त सर ! यता त सबै सरुवाको कुरा गरिरहेका छन् ।”
“सरुवा त होला नै जस्तो छ । तर म कुरा मिलाउँदैछु । असारसम्म त बस्नै पर्छ । त्यही लाइनमा कुरा बढाउँदै छु । तपाईंलाई पनि थाहा नै छ नि कुरा ।”
हो, उमेशलाई पनि सबै कुरा थाहा छ । यस वर्ष बजेट पनि रामै्र थियो । प्रोजेक्टको सबैभन्दा ठुलो आर्थिक कारोबार पनि यही वर्ष नै सम्पन्न गर्ने कार्यक्रम छ । खानेपानीको पाइपको टेन्डरको तयारी सकिन लागेको छ र यसको खरिदमा राम्रो कमिसन प्राप्त हुन्छ । यही असारमा त रिजभ्र्वायर निर्माण र खानेपानी पाइप खरिदको बिल पेमेन्ट गर्नुपर्छ । यस्तो बेलामा सरुवा भयो भने त प्रोजेक्टमा बसेको के मतलब हुन्छ र !
“हो सर, कम्तीमा असार मसान्तसम्म त सरुवा रोक्नै पर्छ । बरु साउन लागेपछि … ….. .. .. ।” उमेशलाई सरुवा हुन पटक्कै मन थिएन । जागिरे जीवनमा उमेशको यही नै कमाइ हुने खालको जागिर थियोे । यो आयोजनाबाट सरुवा भयो भने त फेरि सुख्खा ठाउँमा सरुवा हुन्छ । यहाँ उसले जग्गाको कारोबारमा लगानी पनि गरेको थियो । खानेपानी आयोजना बन्ने भो भनेर जग्गामा मानिसले लगानी गरेका थिए र बजार इलाकामा जग्गाको भाउमा निकै बढोत्तरी पनि भएको थियो । यत्तिको ठाउँमा सरुवा हुने त अब आस नै थिएन । सबैले उसको भनेको सरकार ढल्न लागेको थियो । सत्ता परिवर्तनको हावाले उसको आँट र आस हराइसकेको थियो ।
“तपाईं कहाँ जान चाहनुहुन्छ त ? कम्तीमा कुरा त राख्नु प¥यो नि ! यहाँ मेरो त्यस्तै कामलाग्ने मानिससँग भेट हुनेवाला छ क्या !”
“म त के भनौ अब । सरले नै यसो विचार गरिदिनु पर्ला नि । सरलाई मेरो व्यवहार थाहा नै छ ।” उमेश हाकिमसँग सरुवा हुन चाहन्थ्यो । उसका लागि त्यही सुरक्षित थियो ।
“मलाई त्यति सजिलो कहाँ छ र ! त्यही पनि यसो बोली बिक्ने अवस्था भयो भने भन्ने हो । तपाईंको मुखबाट नसुनी मैले कहाँ भन्न मिल्छ त ?” राजेशकाजीको कुरा पनि ठिकै थियो ।
“खोलागाउँ खानेपानी आयोजना कस्तो होला हजुर ?” उमेशले अप्रत्यासित रुपमा भन्यो । यी हाकिम त्यहीँबाट सरुवा भएर यहाँ आएका थिए त्यसैले उसलाई त्यो आयोजनाको नाम याद भएको थियो । उसको बोलीले बताएको थियो, ऊ सुकेखोला छोड्न सक्छ तर आयोजना छोड्न सक्दैन । हो पनि यो आयोजनामा सरुवा भएर आएपछि उसको आर्थिक प्रगति कति राम्रोसँग भएको थियो ।
यो आयोजनाको बसाइ त अब यस्तैउस्तै भइसकेको थियो ।
“हुन्छ त म कुरा मिलाउन कोसिस गर्छु । भरसक त त्यहीँ थमौतीका लागि नै कुरा हुँदैछ ।”
“यहाँ गुणराज त अर्कै कुरा गरिरहेको छ त ।”
“गुणराजको के कुरा भो र । मैले यहाँ गुणराजको हजुरबाउ भेटिसकेँ, त्यो गुणराजले केही गर्न सक्दैन ।”
तर उमेश केही आश्वस्त भयो तर ढुक्क हुन सकेन । गुणराजको आवाज उसको कानमा घन्किरहेको थियो ।
∞∞∞∞∞
गुणराजको मोबाइलमा घण्टी बजिरहेको थियो ।
गुणराजले वास्ता नगरे पनि त्यो नम्बर मोबाइलले बिर्सेको थिएन । मोबाइल सेटको स्क्रिनमा राजेशकाजी लेखिएको थियो । गुणराजले आश्चर्य पोखिएको अनुहारले फोनलाई हे¥यो र फोन रिसिभ ग¥यो ।
“गुणराजजी के छ खबर ?” राजेशकाजीको आवाजमा आत्मविश्वास थियो । उसलाई राजेशकाजीको त्यो आवाजले झस्कायो । गुणराजले मामा राजारामलाई आयोजना प्रमुख र स्टोरकिपरको सरुवाको लागि भनिसकेको थियो । राजाराम भरखरै सत्तारुढ भएको पार्टीका सचिवको जिम्मेवारीमा थिए । राजारामले उनीहरुको सरुवाको कुरामा स्वीकृति जनाएर अस्ति फोनमा कुरा मिलेको जानकारी पनि दिइसकेका थिए । ‘नयाँ आउने पनि तय भयो भाञ्जा, सरसहयोगको कुरा पनि भयो । ढुक्क हुनुस्, तपाईंलाई चाहेको फाँटमा नराख्ने त कुरै भएन ।’ मामाको बोली गुणराजको कानमा गुन्जिरहेको थियो तर राजेशकाजी भने अझै आत्मविश्वासका साथ बोलिरहेको छ । हुन सक्छ, राजेशकाजीलाई आफ्नो नियतिको आभास नभएको होस् । अहिले सम्मको सल्लाहमा त ऊ अब आयोजनाको हालीमुहालीबाट मन्त्रालयको एउटा कुर्सीमा खुम्चिने छ । जाबो उपसचिव सरहको कर्मचारी न हो, आयोजनामा जाँदा पो आयोजना प्रमुख !
“ठिकै छ सर । त्यताको पो के कसो छ ?” गुणराजले शिष्टाचार निभायो । यो शिष्टारभित्र ब्यंग्य लुकेको छ भन्ने कुरा सोचेर आफैँ दङ्ग प¥यो ।
“यता पनि ठिकै छ । आज राजारामज्यूसँग पनि भेट भयो । तपाईंको मामा हुनुहुँदो रहेछ । तपाईं त ‘छुपे रुस्तम’ पो हुनुहुँदो रहेछ । मैले उहाँसँग पनि कुरा गरेको छु । आयोजना प्रमुखको चाँडोचाँडो सरुवा भयो भने त फरि आयोजनाको काममा पनि बाधा पर्छ । पार्टीलाई सरसहयोग गर्ने कुरा त छँदैछ । तपाईंलाई पनि मिलाउनुपर्छ । तपाईंले मामासँग मेरोबारेमा त्यस्तो कुरै गर्नु नपर्ने, मसँग पो भन्नुपर्छ त ! मैले त तपाईं आफैं स्टोर प्रमुख भएर चलाउनु भएको, त्यहीँ फाँटमा किन अर्काको मातहतमा राख्नु भनेर पो सरुवा गरेको । अब यो लटमा तपाईंको बढुवा पनि गराउनुपर्छ । स्टोरमा तपाईं नै बस्नुपर्छ । बरु उमेशको कतै व्यवस्थापन गर्नुपर्ला । राजारामजीसँग पनि सल्लाह भइसकेको छ । मिलेर काम गर्नुपर्छ । अब गफ भयो भने मामासँग पनि यही लाइनमा कुरा गर्नु होला है ।”
“हुन्छ सर ! तर सरले मलाई पनि वास्ता गर्नु प¥यो नि । पहिले वास्ता नगर्नु भएकाले यसो गुनासो गरेको नि सर ! सब कुरा अर्कैको पोल्टामा परेपछि म के गरेर बसौँ त !”
“अब तपाईंको बढुवा पनि हुनुपर्छ । त्यसपछि त स्टोरमा जाने तपाईंको हकै बन्छ नि ! अब चिन्ता नगर्नुस् न ! म छँदैछु नि !”
“…….. …….. …. ”
“…….. …….. …. ”
∞∞∞∞∞
कार्यालय फेरि सामान्य जस्तै भएको थियो । सबैले आफूले लगाउनुपर्ने तिगडम लगाइसकेका थिए । त्यसैलाई फोन गरेर निरन्तरता दिने काममा भने सबै लागिरहेकै थिए । सरकार परिवर्तनपछि बनेका सिंचाइ मन्त्रीलाई भेटेर राजेशप्रसाद र सानुकाजी पनि सुकेखोला आइसकेका थिए । यसपटक भने राजेशकाजी र सानुकाजी अलग अलग दिन आआफ्नै मोटरमा आएका थिए ।
हाकिमको हिमचिम अब उमेशतिर कम र गुणराजतिर बढी देखिन थालेको थियो । गुणराज पनि ‘राजेशकाजी त मान्छे ठिकै हो, यो उमेशेले बिगारेको हो’ भन्न थालेको थियो । उमेशलाई भने जागिरमा आफू निसहाय भएको अनुभूति भइरहेको थियो तर उसको भन्ने ठाउँ केही थिएन । उसलाई जुन पार्टीको समर्थक भनिएको थियो, त्यसमा उसले चिनेका जानेका र भनेको खाने कोही मानिस थिएनन् । आफन्तको सहयोगमा उसको आयोजनामा सरुवा भएको थियो, ती आफन्तलाई सबै समस्यामा तान्न पनि उचित थिएन । फेरि, पार्टी अब सरकारमा पनि त थिएन । हाकिमलाई सघाउने उसको सोचाइले मात्र ऊ त्यो कित्तामा धकेलिएको थियो ।
उमेशले फेरि सानिमा सासुलाई फोन ग¥यो ।
“अब केही समय पख्नुस् ज्वाइँ साहेब । तीन महिनामा यो सरकार ढाल्ने रणनीतिमा हाम्रो पार्टी लागेको छ । यो सरकारमा नसमेटिएका नेतालाई हात लिएर तिनीहरुको पार्टी फुटाउने र पार्टी फुटाउने नेतालाई प्रधानमन्त्री बनाएर हाम्रो पार्टी सत्तामा जाने सोचाइ बनाएको छ । यो तिनीहरुको तीन महिनाको चुरिफुरी मात्र हो । चिन्ता नगर्नुस् म छु । अहिले भने बेलै यस्तो प¥यो ।” सानिमा सासुले आफ्नो सरकार ढलेकाले केही गर्न नसक्ने जानकारी दिइन् । तीन महिनापछि त के हो के हो ! सरुवाको चिठी आएपछि अहिले नै झोला बोकेर हिँड्नुपर्छ ।
सुकेखोलाको सानो उपत्यकामा चैतको तिखो घाम लागेको थियो तर उमेशको जिउमा घाम लाग्न सकेको थिएन । सुकेखोलाको सुख्खा बगर झैं उसको ओठ सुकिरहेको थियो । चैतका हावाले उमेशका सबै अवसर र सामथ्र्यलाई उडाएर लगेको थियो । पर्वत जिल्ला हुलाक कार्यालयमा उसको सरुवा भएको चिठी आइसकेको थियो । गुणराज राजेशकाजीको दाहिने हात काटियो भनेर कुरा काट्दै थियो । आज अफिसमा उसको विदाइ हुनेवाला थियो । अब प्रशासनको गुणराज स्टोरमा आउने पक्का भएको थियो । हाकिम र ठेकेदार काठमाडौ गएर आयोजनाको बिल भेरिएसन गर्ने स्वीकृति र थमौती गराइसकेका रहेछन् । अब बलिमा चढ्ने पालो उमेशको थियो । ऊ जो हाकिमको दाहिने हात न ठहरियो ।

(मिर्मिरे ३३७ अङ्कमा प्रकाशित)

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *