“म यो महिनाभित्रमा डेरा सर्छु है ।” मैले भने । हुन त डेरा सर्ने कुरा घरपट्टीलाई सरप्राइज दिने चलन पनि छ । डेरा सर्न मन लाग्यो भने खुसुक्क कोठा खोज्ने र कोठा फेला पारेर सर्ने बेलामा मात्र घरपट्टीलाई थाहा दिने । घरपट्टीले भाडामा बसुन्जेल गरेका हेपाहा ब्यवहारको बदला डेरा सर्ने बेलामा लिने । सारा किचकिचको एउटै जवाफ, पूर्व जानकारी विना कोठा सर्ने र साहुजीको घर खाली राख्ने । उनलाई नयाँ डेरावालको खोजीको चिन्ता भिडाइदिने । अघिल्लो दिनसम्म कोठा खाली छ भनेर सोध्नेलाई छैन भनेर जवाफ दिएकोमा पश्चात्ताप गर्न लगाउने । तर मलाई भने त्यो मन परेन । मैले महिना लाग्दै उनलाई आफूले कोठा सर्ने जानकारी गराएँ । उनले पनि समयमा नै अर्को भाडावालको व्यवस्था गर्न सकून् र भाडा खान पाउन् जस्तो लाग्यो ।
“ए हो र ! किन जान लाग्नु भएको त । केही भए भन्नु भएको भए हुन्थ्यो ।” उनले भने अनि मैले बुझाउन लगेको अग्रिम घरभाडा दश हजार गोजीमा हाले, दुई चोटि गनेर । केही त थियो तर उनलाई भन्नु बेकार थियो । दुई महिना अघि उनले आठ हजार चलिरहको घरभाडा बढाएर दश हजार बनाएका थिए । त्यो मेरो बजेटभन्दा माथि थियो । अखिर एउटा बस चढ्नु परिहाल्छ, पन्ध्र मिनट अघि निस्कौँला, अलि टाढा जाऔला र उही महिनाको आठ हजारमा बसौला भन्ने सोचाइले म त्यो डेरा छोडेर नयाँ डेरा सर्न खोजिरहेको थिएँ । डेरा पनि पाइसकेको थिएँ सिर्जना नगरमा, भनिराख्नु पर्दैन होला, उही आठ हजारमा । यही सजिलो समीकरणले म बानेश्वरबाट भक्तपुरको सिर्जनानगर पुग्दै थिएँ । फेरि सिर्जनानगरमा पनि घरभाडा दस हजार पुग्यो भने म कहाँ जान्छु होला ? बनेपा ? बनेपा पनि त ठूलो बजार हो । पाइएला आठ हजारमा ? के म सहरको बाध्यतासँग हारेर भाग्दै भाग्दै गाउँ पुग्छु ? साँच्चै म यसरी कहाँ पुग्छु होला ?
“अलि खुला वातावरणमा जाउँ भनेर हो । मैले जवाफ दिएँ ।” उनले ए भने र विश्वस्त भएको देखाए । काठमाडौमा यस्तो चलन रहेछ । जे भने पनि पत्याइदिने, पत्याउने हो, होइन थाहा छैन । कसैले भनेको कुरा आफूसँग सोझै सम्बन्धित छैन भने पत्याइदिने । मैले जे भनेको भए पनि उनी पत्याइदिन्थे । मैले मेरो घडेरी त्यहीँ छ अब बिस्तारै घर बनाउन सरेको हो वा कार किन्दैछु पार्किङ को लागि यहाँ ठाउँ नभएर जान लागेको कुरा भनेको भए पनि उनी ए नै भन्थे, अरु सोधी खोजी गर्दैनथे । यो सहरको संस्कृति हो, कि पृथ्वीनारायणले भने झै काठमाडौ चिसो ढुंगो हो ?
म खुला वातावरणमा जान चाहेको कथनप्रति उनी विश्वस्त भए पनि मलाई थाहा छ, म कति झुठो छु । डेरामा किनेको अर्थात चार दिवारभित्रको खाली ठाउँमात्र त आफ्नो हुन्छ, त्यसबाहेक सबै अर्काको । भुइँ अर्कैको, छत अर्कैको, भित्ता अर्कैको अनि त्यसबीचमा रहेको खाली ठाउँमात्र आफ्नो । यस्तो वातावरण पनि कसरी खुला हुन्छ ? डेरामा जन्मेर डेरामै हुर्केका पुस्तालाई के लाग्छ म भन्न सक्दिन तर म गाउँको रनवन घुमेर हुर्केको मानिसलाई यो सहर नै एउटा कैदखाना लाग्छ, डेरा त के हो र ? खुला ठाउँमा वा खुला वातावरणमा घर हुनसक्ला डेरा हुनसक्दैन । तर आफ्नो बाध्यता र अप्ठ्यारालाई अलि उदात्त भावनाको जलप लगाएर छोप्नु पर्छ, छोप्तै अघि बढ्नु पर्छ । शायद सभ्यता भनेको यही हो ।
… … . . . . . . .. . . . .. .. . . . . … .. . . . . . . . .. . . . . . . . . .. . . .. .
उत्साह, निराशा वा झोँक, जुन भावनाका साथ डेरा सर्न खोजे पनि डेरा सर्नु साह्रै कठिन काम हो । ट्वाइलेटदेखि भान्सासम्मका सामान पोको पारेर अर्को ठाउँमा सार्नु सजिलो छैन । छरिएर रहेका रहँदा थोरै देखिएका सामान जम्मा पार्दा नै अत्यास लाग्छ, यत्रो सामान कसरी सार्नु ? त्यसमा पनि सामान्य जीवन बिताउन आवश्यक नभएका खेलाउने, सजाउने र बजाउने सामान देखेर त कन्सिरी तातेर आउँछ । किन चाहियो गितार, मुसा मार्ने साँचो, क्रिकेटका बल र स्टम्प, आइरन स्टेन्ड ? मानिस भन्छन् धन कमाउने बेलामा मान्छेले एक दिन मर्नुपर्छ भनेर सोच्दैन । म यसमा थप्न चाहन्छु, डेरामा बस्ने मानिसले सामान किन्दा एक दिन डेरा सर्नुपर्छ भनेर सोच्न सक्दैन ।
“आइज त सामान प्याक गर्न मलाई मद्दत गर ।” मैले छोरालाई अह्राएँ ।
“म त पंकजकहाँ जान लागेको ।” उसले जवाफ फर्कायो ।
“किन ?”
“हामी यहाँका साथीहरु मिलेर पैसा उठाएर खेलकूदका सामान किनेका थियौं। ती सामानहरु मेरो जिम्मामा थिए । अब यहाँबाट सर्ने भएपछि फिर्ता गर्नुपर्यो । हिजो टेबुलटेनिसको सामान दिपेशकोमा पु¥याएँ, आज क्रिकेटको सामान पंकजकहाँ पु¥याउनु छ ।”
“त्यता भरे जानु, अहिले मलाई सघा, आजै सर्ने होइन त ।”
मैले जुवा खेलेँ । अहिलेको जमानामा छोराछोरीलाई काम लगाउनु भनेको जुवा खेल्नु जस्तो हो । यसमा अक्सर हार हुन्छ, कहिलेकाहीँ जीत पनि हुन्छ । कतिपय समयमा त बाद दाउमा चित्त बुझाउनु पर्छ । अर्थात अक्सर अह्राएको मान्दैनन्, कहिलेकाहीँ मान्छन् कतिपय अवस्थामा नाइ भन्दैनन् तर काम गर्दैनन् । नमान्नुभन्दा यसरी चाम्रो भएर इन्कार गर्नु ठिक लाग्छ मलाई, कम्तीमा सोझै नाइ त भनेन भन्ने ठानेर । अहिले सन्तानले सुख देलान् भनेर सोच्नु अलि बढी हुन्छ, दुःख नदिए काफी । नटेरे पनि मुख लागेनन् भने लामो सास फेर्न पाइन्छ ।
तर यो पटक मैले जितेँ । ऊ काम सघाउन आयो । उसको अनुहार गम्भीर थियो । बोली मसिनो । सबै काम सोधेर गर्यो र मैले भने जसरी गर्यो । मलाई ऊ अलि भावुक भएजस्तो लाग्यो । कि यो टोलमा उसको कोही छ ? मैले यसरी सोच्ने बेला पनि भयो नि ? बाइस बर्षको भइसक्यो । तर मेरा दिमागमा त्यस्तो कोही आएन मतलब आइनन् । अहिले फेसबुकको जमाना छ, कोही भए पनि आफ्नो टोलमा नै हुन्छ भन्ने पनि के छ र ? आफ्नो बसिरहको टोल छोड्नु परेकोमा यो भावुक भएको होला । दुई वर्षको बसाइमा यसले निकै साथी बनाइसकेको थियो । तर ती पनि छुटे । हाम्रा गाउँका जस्ता यसका लगौटिया साथी पनि त भएनन्, घरि यो टोल घरि त्यो टोल ।
“फेरि गाँठो भएन ।” उसले भन्यो ।
“मैले दश पटक सिकाइसकेँ । अहिले नै पाँच पटक भयो होला । कस्तो नसिकेको ।” मैले आफ्नो झ्वाँक झिकेँ । अनि मैले उसले प्याक गरेको कार्टुनमा डोरी बाँधे । डोरी बाँध्दाबाध्दै महसुस गरेँ, मलाई पनि त टाइको गाँठो पार्न सिक्न कति गाह्रो भएको थियो ।
“बाबा त्यहाँ वरिपरी सार्वजनिक चौरहरु छ कि छैन, खेल खेल्न ?” उसले जमेको हिँउ फुटायो ।
“खै थाहा भएन ।” फेरि कामको कुरामा बोल्ने र त्यसपछि चुपरहने क्रम चलिरह्यो ।
डेरा सर्ने तयारी अप्ठ्यारो समय हो । आफू सुतेको कोठा, आफू चिप्लेर लडेको ठाउँ, आफूले पूजा गर्ने गरेको र दसैंको जमरा उमारेको कुनो । यी सबैसँग एक किसिमको माया र मित्रता भइसकेको हुन्छ । त्यसलाई वास्तै नगरी सुतेको ओछ्यान उठाएर हिँड्नु पनि एउटा पीडा हो । तर यो सहरले त्यस पीडालाई उत्सव झै मनाइरहेको हुन्छ, हरदिन हर क्षण ।
…………. ….. ………. . . …… …………………… …………………………..
वास्तवमा म डेरा हेर्न गएको थिएँ तर अरु केही पनि हेरेको थिइन । जब बजेटको बाध्यता बोकेर बजार गइन्छ त्यहाँ सस्तो बाहेक केही देख्न खोजिन्न, देख्न सकिन्न । अलि राम्रा देखिने पसलहरुलाई भाउ नै नबुझी महँगा स्टोरहरु हुने भन्ने ट्याग लगाइन्छ र त्यहाँको बाटै हिँडिदैन । पसलमा भाउ सोधेको पैसा लाग्दैन तर त्यो जाँगर पनि त हुँदैन । हलुका गोजीले मन मस्तिष्कलाई चिमोटिरहन्छ र उपयुक्त निर्णय गर्नबाट रोक्छ । अरुले सस्तैमा राम्रो सामान किनेको सुन्न पाइन्छ तर अहँ म सक्दिन । बजार त मैले जानै पर्छ, तर बजेटले मलाई वास्तवमा बजार पुग्नबाट रोक्छ । बजारका सारा सम्भावना बुझ्नबाट म आफैँलाई वञ्चित राख्छु ।
डेरा हेर्न जानुभन्दा अघि नै मैले भाडा बुझिसकेको थिएँ, रु. आठहजार प्रति महिना र मलाई त्यही मन परिसकेको थियो । आफ्नो बजेटभित्रको भाडा भएकाले त्यति भाडालाई पनि उचित हो कि होइन भन्नेतिर सोच्दै सोचिन मैले ।
भुइँतलामा दुइवटा कोठा, भान्छा र त्यही फ्ल्याटका लागि बाथरुम । यति भए काम चलिहाल्थ्यो ।
यसलाई राम्रो नमानेर राम्रोमा जाने मसँग बजेट थिएन । यही बजेटमा पनि राम्रो कोठा पाउन सकिन्थ्यो होला तर मसँग आँट थिएन ।
मुख्य कुरा कोठा हेर्न जाँदा आफूलाई पनि देखाउनुपर्छ, त्यो मलाई मन पर्दैन ।
‘कोठा छ ?’
‘ए, विद्यार्थी हो, कोठा छैन ।’
‘ए, बिहे गरेको छैन ? कोठा छैन ।’
‘ए, केटाकेटी मसिना छन, कोठा छैन ।’
‘ए, गाउँबाट पाहुना आउँछन् होला, कोठा छैन ।’
‘ए, फ्लाट मात्र छ, कोठा छैन ।’
यसरी आफूलाई देखाएर हैरान हुनुभन्दा जसले सजिलै डेरा दिन्छ उसैकहाँ बस्नु बेस । एउटा अस्वीकारको मोल तिर्न मलाई कठिन लाग्छ । र काठमाडौले मानिसलाई सजिलै अस्वीकार गरिदिन्छ । अरुलाई कुनै कुरा कति जरुरी छ त्यो काठमाडौले सुन्दैन । ‘ए त्यसो भए हुँदैन’ कसैलाई कुनै बेला यसो भन्न काठमाडौलाई कुनै हिचकिचाहट हुँदैन । त्यसैले अस्वीकृतिका अनगिन्ती चोट र खाटाहरुमा म थप अस्वीकृति सहन सक्ने अवस्थामा छैन ।
तर शायद यो बाध्यताको बोध मलाई मात्र छ । छोरो सोध्दै थियो खेल्ने चौर छ, छैन, स्पोर्टस् क्लब छ, छैन, फुटसल छ, छैन आदि । छोरो त ल भनौ कुरो बुझ्दैन । गीताले पनि पो दस थरी कुरा सोधेकी थिइन्, डेरा हेरेर आएको दिन । पैसाको चिन्ता त मलाई मात्र छ, अरुको फिक्री अरु नै छ ।
“तरकारी किन्न कति टाढा जानुपर्छ ?” म डेरा खोजेर फर्केको रात उनले सोधेकी थिइन ।
“मैले याद गरिन ।”
“त्यता गणेश मन्दिर छ, छैन ?”
“होला नि, गणेशजीलाई पूजा नगरी अरु कुनै देवताको पूजा नगर्नु भन्ने त बरदान नै छ ।”
“लुगा सुकाउने ठाउँ कस्तो छ ?”
“पहिला बस्नेले पनि त लुगा सुकाउँथे होलान् नि ।”
“भान्सा कस्तो छ त ?”
म मौन बसेँ ।
“दूध किन्न कति टाढा जानुपर्छ । नजिकै गाईको दूध किन्ने ठाउँ छ कि छैन ?”
“म डेरा हेर्न पो गएको त, गोठ हेर्न गएको हुँ र ?”
त्यस रात जुन कोल्टो सुतियो, त्यही कोल्टोमै उठियोे ।
…… …. . . .. . .. . . . . . . . .. . . . .. .. .. …………… . . . . . . . ..
“तिमी बाहिर जाऊ त यसो सामानको रेखदेख हुन्छ ।” मैले उनलाई भनेँ ।
“म जान्न । बाहिर रमिता हुन्छ ।” उनले भनिन् ।
हो पनि, डेरा सर्ने दिन त्यो ठाउँमा जात्रा जस्तै हुन्छ । डेलिभरी भ्यान ल्याएर डेराअघिको बाटोमा रोकेपछि बाटो छेकिन्छ अनि के भयो, के हो भनी मानिस त्यहीँ जम्मा हुन्छन् । कोठाका सामान घरअगाडिको खाली ठाउँमा ल्याएर राखेपछि त झन् त्यहाँ जात्राको झलक नै देखिन्छ । कसको के सामान रहेछ, कति सामान रहेछ अनि कस्तो सामान रहेछ, सबै सार्वजनिक हुन्छन् । हामी घरभित्रबाट सामान निकालेर घरबाहिर जम्मा पारिरहेका छौ, गाडीका स्टाफ सामान डेलिभरी भ्यानमा मिलाएर राखिरहेका छन् । अनि बारदलीबाट, झ्यालबाट, बाटोबाट, पेटीबाट टीका टीप्पणी चालू भइरहेको छ । आफ्नो सजिलोका लागि शनिवार डेरा सर्यो, छुट्टीका कारण झन् रमिते पो बढिरहेका हुन्छन् ।
“डेरा सर्न साह्रै गाह्रो । मलाई त डेरा सर्ने भन्ने बित्तिकै आङ सिरिङ्ग हुन्छ ।” यो रामप्रसाद तिवारी थियो, जो भरखरै यो टोलमा डेरा सरेर आएको थियो । उसको २१ इन्चीको रंगीन टेलिभिजन डेरा सर्ने क्रममा झिरिप्प भएको थियो । डेरा सार्ने जिम्मेवारी लिएको ठेकेदारसँग ऊ खूब चर्केको थियो तर फुटेको टिभीबाहेक केही हात लागेन ।
“आफ्नो घर बनाएपछि मात्र सर्छु है भन्देकी छु मैले त घरपट्टीलाई । बसेको पनि चार वर्ष भएछ ।” सुब्बिनीले मुख खोलिन् ।
सुब्बा वीरगंज भन्सारमा छन् र मनमौजी खर्चका लागि पैसा पठाइरहेका छन् । घरपट्टीलाई पनि भन्सारको कोसेलीले कृतज्ञ बनाएकी छन् । बेलाबेलामा जाउँ दिदी बजार भनेर घरपट्टीलाई फेसियलसेसियल गराएर ल्याउँछिन् । अख्तियार लाग्छ भनेर घर बनाएका छैनन्, ससुरालीतिरका मानिसका नाममा लोकन्थली, धापासी र ग्वार्कोमा घडेरी किनेका छन् । पैसा छ र यो भएपछि सोमत पनि चाहिँदैन भन्ने नवधनाढ्य वर्गकी उनी प्रतिनिधि पात्र हुन् । उनको लिपिस्टिकबाट आएको इँटको जवाफ त मेरो मुखमा थियो तर हिँड्ने बेलामा के दोहोरी खेल्नु, फेरि त्यस्तासँग ।
“म बसेको त झन् सात वर्ष भयो । अन्त पनि पैसा नतिरी बस्न पाइने होइन ।” यो सीताको महावाणी थियो । घर हुनेको फुर्ती त आफ्नो ठाउँमा छँदैछ, डेरामा पनि लामो समयसम्म टिक्नसक्नेको पनि पो रवाफ हुँदो रहेछ । लामो समयसम्म डेरामा टिक्ने अर्थात घरपटिले बढाए बमोजिम भाडा तिर्न सक्ने, पानी र बत्तीका लागि घरपटिले लगाएको दर अनुसार पैसा तिर्न सक्ने क्षमता भएका मानिसहरु । बिजुलीको रेट पनि घरपटिले तय गर्छन्, मानौ उनीहरु विद्युत प्राधिकरणका ग्राहक होइनन्, एजेन्ट हुन् । काठमाडौ यस्तो ठाउँ हो जहाँ बढी पैसा तिर्नु गौरव मानिन्छ । लामो समय एकै डेरामा बसेको भनेर यिनीहरु आफ्नै गौरव गाथा गाइरहेका छन् । वाहियात् । वरिपरि हेरेँ महिलाको गोलो थियो । शायद श्रीमान्हरु म्यारिज खेल्न कतै जम्मा भएको होलान् । यो रामप्रसाद चाहिँ खेल्दैन कि यसले ग्रुपमा ठाउँ पाएको छैन । तास खेल्ने मानिसले त चाँडै नै समूहमा ठाउँ बनाउनु पर्ने हो ।
”जति वर्ष बसे पनि डेरा भनेको डेरा नै हो । चित्त बुझुन्जेल बसिन्छ, नत्र हिँडिन्छ । पैसा तिरेपछि अन्त पनि बस्न पाइन्छ, यहाँ पनि सित्तै बसिएको छैन ।” शर्मिला अलि कठोर देखिई । उसलाई काठमाडौ बसाइ नै कठोर भइरहेको छ भने ऊ कोमल हुन पनि कसरी सक्थी ? उनका पति निजी कम्पनीमा काम गर्थे, आय निश्चित र न्यून थियो । ऊ कठोर धरातलमा थिई । कठोर धरातलमा आधारित कठोर सम्बन्धमा ऊ अभ्यस्त थिई ।
म आफैँ भने अवाक् छु, कसलाई के भन्नु र ! म त एउटा पात्र वा घटना भएको छु जसको चर्चापरिचर्चा भइरहेको छ । आज एउटा डेरा, भोलि अर्को डेरा अनि अर्को डेरा । यसरी नै समय बितिरहेको छ । आज यहाँभन्दा त्यहाँ ठीक भनेर त्यहाँ जाँदैछु, कुनै दिन त्यहाँ पनि यसैगरी सामान फिँजाउने छु अर्को डेरामा सर्न । एक हाँगाबाट अर्को, अर्कोबाट अर्कोमा सर्दै जाने चरा जस्तै त भएको छ, जीवन । यही डेरा सराइले बसाइँ शब्दको संवेदनशीलतालाई फितलो बनाइरहेको छ ।
हुन त अरुका मुख पनि चिलाइरहेका थिए होलान्, तर मोटरको हर्नले सबैको ध्यान भंग गर्यो । यही गफगाफको क्रममा सबै सामान मोटरमा राखिसकिएको रहेछ र छोरो त्यसमा चढिसकको रहेछ । म पनि अब भट्भटेमा गीतालाई लिएर अर्को डेरामा जानु थियो । वरिपरी नचिनेका मानिस पनि थिएनन् र बिदा मागिरहनु पर्ने मानिस पनि थिएनन् । चिने पनि नचिनेको जस्तो सम्बन्ध, घरपट्टी र भाडावालको सम्बन्ध, भाडावाल भाडावालको सम्बन्ध । आकाशमा ग्रह, तारा र नक्षत्र भेट भए जस्तो, छुटे जस्तो । तैपनि हात हल्लाएँ, हात उनीहरुले पनि हल्लाए । आत्मीयता भने कालेको पुच्छरमा हल्लिरहको थियो, शायद यस्तै खैरे अर्को डेरा भएको टोलमा मेरो स्वागतमा पुच्छर हल्लाइरहेको होला ।
(मिर्मिरे ३३२ अङ्कमा प्रकाशित)
