आफ्नो दियालो, आफ्नै उज्यालो

किन लेख्नु पर्यो यो ?

म उदयपुर जिल्लाको नेपालटारमा जन्में, त्यहीं हुर्कें। उदयपुरगढीस्थित पञ्चावती माध्यमिक विद्यालयमा कक्षा १० सम्म पढें। एस. एल. सी. पास गरेपछि केही समय प्राथमिक विद्यालय, जगरेटार; पञ्चावती माध्यमिक विद्यालय, उदयपुरगढी र निम्न माध्यमिक विद्यालय, बर्रेमा पढाउने काम गरें । शिक्षकको जागिर खोज्न रसुवा जिल्लाको सिमबन्दी पनि पुगें । त्यहाँको कठिन भौगोलिक र फरक सांस्कृतिक परिवेशमा करिब ५ महिना काम गरें।

रसुवामा रहँदै लोक सेवा आयोगको परीक्षा पास गरेर सहलेखापालको नियुक्ति लिन सिन्धुपाल्चोकको चौतारा पुगें र जिल्ला प्रशासन कार्यालयको सहलेखापालको रूपमा करिब १८ महिना काम गरें। नेपाल राष्ट्र बैंकको प्रधान सहायक पदको लागि दिएको परीक्षा पास गरेपछि म तत्कालीन श्री ५ को सरकारको सेवाबाट राजीनामा दिएर काठमाडौंमा रहेको नेपाल राष्ट्र बैंकमा आएँ। सुरूका आठ र अन्तिमका चार वर्ष काठमाडौंमा र बाँकी १८ वर्ष विराटनगरमा बसी बैंकको सेवा गरेपछि २०७४ सालमा अवकाश पाएँ। अवकाशपछि पनि एउटा निकायमा केही समय काम गर्ने मौका पाएको थिएँ।

आई. ए. मैले प्राइभेट विद्यार्थीको रूपमा उत्तीर्ण गरें। बी. ए. र एम. ए. तहको अध्ययन भने नेपाल राष्ट्र बैंकमा सेवारत हुँदा नै नियमित विद्यार्थीको रूपमा पूरा गरें। अवकाश हुने समयमा एल. एल. बी. पनि पढ्न जाँगर चल्यो र पूरा पनि गरें।

मैले निकै साँघुरो परिवेशमा रहेर आफ्नो उन्नतिका लागि प्रयास गरें। मेरो कुनै विशिष्ट उद्देश्य थिएन।अलि सजिलो जीवनका लागि अलिकता अगाडि बढ्नु नै मेरो जिन्दगीको उद्देश्य थियो।आफैंले खोजेको दियालोले दिएको उज्यालोको भर पर्नुको मसँग विकल्प थिएन। मैले पढ्दा र वृत्ति विकासको लागि प्रयासरत रहँदाको समय र अहिलेको समय धेरै फरक परेको छ। मेरो कतिपय कथा र व्यथाले अहिले सन्दर्भ गुमाइसकेका होलान् । तैपनि, मेरो कथाबाट अहिलेका किशोर र युवा वयका विद्यार्थीहरूले केही फाइदा लिन सक्लान् कि भनेर मैले यो लेख तयार पारेको छु।

शिक्षा प्रेरणा, सिकाइ र प्रयत्नको साझा परिणाम

म पञ्चावती माध्यमिक विद्यालयमा तीन वा चार कक्षामा पढ्दै थिएँ। मेरो पढाइ राम्रो थिएन। पढाएको कुरा त्यति बुझ्दिन थिएँ। रोल नम्बर कति आउँथ्यो भन्ने पनि सम्झना छैन। गणित विषय भरत सर (भरतप्रसाद घिमिरे) ले पढाउनुहुन्थ्यो । गणित कठिन हुने त भइहाल्यो।

एक दिन भरत सरले पढाउनु भयो र भोलिपल्ट गृहकार्य गरेर ल्याउन अह्राउनु भयो। उहाँको विद्यार्थीलाई पढ्नका लागि प्रेरणा दिने तरिका निकै प्रभावशाली थियो, विद्यार्थीहरू जान्ने हुन्, बुझ्ने हुन् भन्ने हुटहुटी उहाँमा धेरै थियो। हो पनि, शिक्षकले ‘मेरो काम पढाउने हो पढाइदिन्छु, अब उनीहरू पढ्दैनन्, बुझ्न चाहन्नन्, बुझ्न सक्दैनन् त म के गरूँ ?’ भनेर हुन्न। विद्यार्थीबाट उनीहरूको उन्नति र प्रगतिको आश गर्नुपर्छ। विद्यार्थीले शिक्षकको आशा पूरा गर्न चाहन्छ। त्यसबाट विद्यार्थीमा पढ्ने जाँगर चल्छ। भरत सरको हुटहुटीले सबैलाई उत्प्रेरित पार्थ्यो। यसैले मैले पनि उहाँको गृहकार्य गर्ने आदेशको बेवास्ता गर्न सकिनँ तर पढाएको तरिका राम्ररी बुझेको पनि थिइनँ।गृहकार्य नगरी भोलिपल्ट कसरी स्कुल आउनु र के भन्नु भन्ने अन्योल मेरो कलिलो दिमागमा घुमेको अहिले पनि अनुमान गर्नसक्छु।

भोलिपल्ट सायद स्कुल छुट्टी भयो। त्यो लामो बर्खे बिदा थियो। म उदयपुरगढीमा फुपूसँग बसेर पढ्थें । स्कुल छुट्टी भएपछि नेपालटार झरें। स्कुल छुट्टी भएर म घर आए पनि मेरो गृहकार्यसम्बन्धी समस्याको समाधान भएको थिएन। गणितको गृहकार्य त गर्नु थियो नै। छुट्टीको फुर्सदमा मैले गणितको किताब पल्टाएँ ।

गृहकार्य अङ्कगणितको गुणन खण्ड निकाल्ने र त्यसको माध्यमबाट ल.स. र म.स. निकाल्ने थियो। किताबमा उदाहरण दिइएको हुँदो रहेछ र त्यहाँ हिसाब गर्ने तरिका सिकाउनुका साथै समाधान पनि गरिदिएर कुरो बुझाइएको हुँदो रहेछ। मैले बिस्तारै कुरो बुझें। अनि क्रमशः कापीमा हिसाब गर्ने प्रयास गरें र सफल पनि भएँ ।

यो प्रयासपछि नबुझेको कुरा किताब पढेर बुझ्ने सीपको विकास भयो। यसपछि मेरो पढाइमा देखिने गरी सुधार भयो। म चार कक्षामा दोस्रो भएँ। छ कक्षामा पहिलो भएँ। र, यो क्रम दश कक्षासम्म निरन्तर रह्यो। यसरी भएको प्रगतिका कारण नै नारायण बहादुर कार्की सरले लिनुभएको गणित र विज्ञानको कक्षा रमाइलो लागेको थियो । म इच्छाधीन गणित लिन पनि सक्षम भएको थिएँ । मलाई कमजोर विद्यार्थीबाट चलाख विद्यार्थीमा रूपान्तरित गर्ने यो नै मैले महसुस गरेको महत्त्वपूर्ण र पहिलो घटना थियो।

पढ्नु, जान्नु र बुझ्नुमा शिक्षक र सिकाइ वातावरणको ठुलो भूमिका हुन्छ। त्यसमा पनि एउटा शिक्षकले कक्षा कोठामा जुन जादू देखाउन सक्छ त्यो अरू कसैले सक्दैन भनिन्छ। त्यसैले हाम्रो संस्कृतिमा गुरुको ठुलो महिमा छ। शिक्षकको प्रयास कुनै विद्यार्थीको लागि पर्याप्त हुन्छ भने कसैको लागि अपुग पनि हुनसक्छ। अपुग भएको अवस्था विद्यार्थीले थप मिहिनेत गर्नुपर्छ । शिक्षकको प्रयास त विद्यार्थीको हातमा हुन्न तर मिहिनेत त विद्यार्थीको आफ्नो हातमा हुन्छ। आफ्नो मिहिनेतले सिक्नुको सीमा छ तर आनन्द पनि छ।

प्रेरणा नभए किन पढ्ने भन्ने थाहा हुन्न र पढ्ने जाँगर पनि चल्दैन। पढेको कुरो नबुझ्दा अरू सफलताबाट वञ्चित हुने सम्भावना त छँदैछ, पढाइबाट प्राप्त हुने आनन्दबाट पनि वञ्चित हुनुपर्छ । गुरुबाट नसिकी जान्न निकै गाह्रो पर्छ। फेरि, विद्यार्थी आफैंले प्रयत्न नगरी केही सिक्न सकिन्न।

विद्यार्थीहरूले आफैंले पाठ्यपुस्तक पढ्नुपर्छ। किताब ठुलो छ भनेर आत्तिनु हुन्न। ठुलो किताबमा सबै कुरा सिलसिला मिलाएर लेखेको हुन्छ। सिलसिला मिलेको कुरो सम्झन सजिलो हुन्छ। एउटा कुराले अर्को कुरा सम्झाउँछ। गेसपेपरजस्ता सामग्रीको उपयोगिता होला तर तिनमा भर पर्नु हुन्न। आज पढाइ हुने पाठ स्कुल/कलेज जानुअघि नै सर्सर्ती हेरेर गयो भने पढाएको कुरा बुझ्न धेरै सजिलो हुन्छ।

प्रतिस्पर्धा हो ऊर्जाको स्रोत

पञ्चावती मा. वि. मा सात कक्षामा पहिलो हुनेले आठ कक्षा पुगेपछि आफ्नो स्थान जोगाउन धौधौ हुन्थ्यो। खाटडाँडा, बर्रे, रिस्कु, बाहुनीटार जस्ता ठाउँबाट सात कक्षा पास गरेका विद्यार्थी आठ कक्षा पढ्न त्यहाँ आउँथे। हामी सात कक्षामा ६ जना थियौं भने आठ कक्षामा त सत्तरी जना जति भएका थियौं। धेरैवटा स्कुलका प्रथम विद्यार्थीको उदयपुरगढीमा आठ कक्षामा जमघट हुन्थ्यो।

कक्षामा प्रथम स्थानमै आउनु आवश्यक छैन। सबैलाई प्रथम हुने अवसर हुँदैन पनि। तर प्रथम हुनेले टिकिरहन र अरूले त्यो स्थानमा पुग्न प्रयास गर्दा राम्रै हुन्छ। त्यसले थप ऊर्जा र प्रेरणा दिन्छ। पास मात्र हुने उद्देश्य त अलि सामान्य उद्देश्य भयो। माथि वा पर पुग्नका लागि अलिकति लम्किनु पर्नेगरी उद्देश्य राख्नु पर्छ। ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भनेर देवकोटाले लेखेकै छन्।

प्रतिस्पर्धा सधैं अरूसँग मात्र हुन्छ र गर्नुपर्छ भन्ने छैन आफैंसँग पनि प्रतिस्पर्धा गर्न सकिन्छ। आत्ममूल्याङ्कन गर्नु, आफ्ना कमी कमजोरीको पहिचान गर्नु र निरन्तर प्रगतिको बाटोमा हिँड्नु आफैंसँगको प्रतिस्पर्धा हो।  पहिलाभन्दा बढी समय पढ्नमा लगाएर, बढी अङ्क ल्याएर र निरन्तर प्रगति गरेर आफैंसँग प्रतिस्पर्धा गर्न सकिन्छ। अरूसँग तुलना गर्न नसकिने परिस्थितिमा अरूसँग दाजिन खोज्दा कहिलेकाहीँ निराशा पनि हात लाग्न सक्छ। आफैंसँग प्रतिस्पर्धा गर्दा कहिले पनि निराश हुनु पर्दैन। यसले सकारात्मक भावना मात्र सिर्जना गर्छ।

आठ कक्षामा आइपरेको पहिलो स्थान कायम राख्ने चुनौतीले मलाई अप्ठेरो परिस्थितिमा पनि पढ्ने क्षमता बढायो।

शिक्षाको जग बलियो हुँदा थप शिक्षा लिन सजिलो

मेरो माध्यमिक विद्यालयसम्मको शिक्षा सन्तोषजनक नै थियो। एस. एल. सी. दोस्रो श्रेणीमा पास गरेको थिएँ। पहिलो श्रेणीको त आशै थिएन। पास हुनु नै ठुलो कुरो थियो त्यो समयमा। हामी ६५ जनामध्ये १८ जना एस. एल. सी. परीक्षाको लागि छानिएका थियौ, टेस्ट परीक्षा पास गरेर। १८ जनामा पनि २ जना मात्र एस. एल. सी. पास गर्न सफल भएका थियौं।

म आई. ए. पढ्न क्याम्पस जान सकिन। स्थानीय विद्यालयहरूमा शिक्षकको जागिर भेटिएको बेला पढाउँदै अनि जागिर खुस्केको बेला टुनिबोटेमा गाई चराउँदै र हलोकोदालो गर्दै पढेको थिएँ। क्याम्पसको मुख नदेखेको मान्छे पहिलो पटक जाँच दिन राजविराज क्याम्पस पुगेको थिएँ। नियमित क्याम्पस जाने विद्यार्थीहरूकै मुखबाट ‘जाँच सकियो, अब ब्याक बाँकी छ’ भन्ने सुनिन्थ्यो। म डराउँदै र लजाउँदै परीक्षामा बसें। पहिलो वर्षको सबै विषय पास भएछु। क्याम्पसको नियमित विद्यार्थी भएको भए त छात्रवृत्ति नै पाउने रहेछु।

दोस्रो वर्ष अंग्रेजीको परीक्षामा बस्ने आँट आएन। लोक सेवाको परीक्षामा ध्यान दिनु परेको थियो। अर्को पल्टमा पास गरें।

मैले आई. ए. क्याम्पस नगई पास गरें। मेरो एस. एल. सी. सम्मको राम्रो जगको कारण मलाई आई. ए. पास गर्न सजिलो भयो। बी. ए. र एम्. ए. सम्म अध्ययन गरे पनि आफूमा तात्त्विक परिवर्तन ल्याउने शक्ति विद्यालय शिक्षाले नै दिएको महसुस हुन्छ ।

कमजोर जगमा बलियो संरचना बन्दैन

मैले आई. ए. नियमित विद्यार्थीको रूपमा पढ्न सकिन। प्राइभेट परीक्षा दिनु पर्ने भएकाले मैले सजिला विषय रोज्न पुगें, अलि गतिला विषय पढ्ने आँट आएन। कमर्स पढ्ने मेरो इच्छा थियो र राजन दाइ (लक्ष्मीप्रसाद प्याकुरेल) ले पुस्तकहरू पनि उपलब्ध गराउनु भएको थियो। हिसाब सिक्न ‘दुईचार दिन आइज’ पनि भन्नु भएको थियो। तर केही समय तयारी गरे पनि मैले कमर्स पढ्ने आँट गरिन। आई. ए. का विषय नै बी. ए. र बी. ए. को विषय नै एम. ए. मा लिनुपर्ने भएकाले नेपालीमा एम. ए. गर्न पुगें।

नेपालीमा प्रथम श्रेणीमा एम. ए. गर्नु गर्वको विषय नै थियो तर मेरो जागिरको लागि अर्थशास्त्र वा कमर्स निकै महत्त्वपूर्ण थियो।त्यसैले मैले पछि अर्थशास्त्रमा एम. ए. पढ्न नाम लेखाएँ र कक्षा पनि लिएँ । मैले एस. एल. सी. मा इच्छाधीन गणित लिए पनि आई. ए. र बी. ए. तहमा गणति पढिनँ । अर्थशास्त्रको त आधारै गणित रहेछ । मेरो गणितको आधार कमजोर भयो अनि पढाइले गति लिन सकेन। मैले अर्थशास्त्रको पढाइ बिचमै छोडें।

जागिरका आन्तरिक प्रतिस्पर्धामा पनि मेरो कमजोर शिक्षा बाधक बन्यो। आफ्नो सीप र पेशालाई उपयोगी शिक्षा अति आवश्यक छ। अहिले शिक्षाका अनेक हाँगाबिगा प्रचलित छन् । विद्यार्थीले आफ्नो उद्देश्य अनुसार छानेर पढ्न सक्छन् । १२ कक्षासम्मको आधारभूत पढाइ त सबैको लागि अनिवार्य भइहाल्यो । त्यसपछि लिइने शिक्षा लिँदा भने आफ्नो रोजाइको पेशाअनुसारको विपय सुरूमै रोजेर पढ्नु राम्रो हो ।

कतिपय विद्यार्थीले आधार कमजोर भए पनि माथि गएर प्रगति गरेका छन् तर यो सजिलो छैन। जगदेखि नै पढाइलाई मजबुत बनाउनु पर्छ।

सफलताको कथा नै प्रेरणाको स्रोत

एस. एल. सी. पास गरेपछि क्याम्पस गएर पढाइलाई निरन्तरता दिन नसकेको अवस्थामा जागिर खानु मेरो लागि आवश्यक थियो। म नजिकका विद्यालयमा पढाउन थालें। शिक्षकबाहेक अरू जागिर मैले देखेको र सोचेको पनि थिइन।

मेरो मावली दाइ (कृष्ण दाहाल) ले लोक सेवा आयोगबाट लिइने खरिदार पदको परीक्षा पास गर्नु भयो, पहिलो नम्बरमा नाम निकालेर। उहाँ मभन्दा उमेरले अलि जेठो भए पनि पढाइमा दुई ब्याच मात्र सिनियर हुनुहुन्थ्यो। उहाँले ८ देखि १० कक्षा सम्म र मैले ६ देखि ८ कक्षासम्म त सँगै बसेर पढेका थियौं। उहाँले खरिदारको परीक्षा पास गर्नु भएको देखेर मलाई पनि त्यो परीक्षा पास हुन सक्छु भन्ने आँट आयो।

मैले सोह्र वर्ष नपुग्दै एस. एल. सी. पास गरेको थिएँ। खरिदारको पदमा दरखास्त दिन एस. एल. सी. पास भएर मात्र पुग्दैन थियो, उमेर अठार वर्ष पुगेको पनि हुनुपर्थ्यो। मैले दुई वर्ष पर्खेर खरिदारको दरखास्त फाराम भरें। खरिदारको गाइड भन्ने पुस्तकको भरमा मैले काठमाडौं केन्द्र राखेर खरिदारको जाँच दिएँ।  पहिलो परीक्षामा म असफल भएँ।

दोस्रो परीक्षामा भने म सफल भएँ। मैले तयारी थपेको थिएँ । ८ देखि १० कक्षासम्म ऐच्छिक गणित लिएको थिएँ। त्यसकारण गणितका दश वटै प्रश्नको सही जवाफ दिएको थिएँ। ऐनकानुनको स्रोत चैं गाइड नै थियो। मैले अन्तर्वार्तामा ‘निजामती ऐन र नियमावलीको किताब देख्नुभएको छ’ भनेर सोधिएको प्रश्नमा ‘गाइड पढेको हुँ, किताब देखेको छैन’ भनेको थिएँ। यो सफलताले मलाई जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकको सहलेखापाल बनायो र म करिब १८ महिना चौतारा बसें।

आफ्ना आवश्यकताभन्दा ठुलो प्रेरणा संसारमा केही छैन। तर त्यो आवश्यकता पूरा गर्न सक्छु भन्ने आँट र हौसलाका लागि कहिलेकाँही बाहिरी प्रेरणा पनि आवश्यक पर्छ। अहिलेका विद्यार्थीहरूले विभिन्न पेशा र व्यवसायका मानिसहरूसँग छलफल र अन्तरक्रिया गर्न पाएका छन्। सानै उमेरमा विभिन्न मानिसले गरेका उन्नति र प्रगतिको कथा मोबाइलमा हेर्न पाएका छन्। उनीहरूलाई निकै प्रेरणा र हौसला मिलेको होला भन्ने अनुमान गरेको छु।

जिन्दगी एकै लयमा चल्दैन

एस. एल. सी. पास गरेपछि दिएको लोक सेवा आयोगको दोस्रो परीक्षा पास गरेर सहलेखापाल भएको थिएँ। चौतारामा लेखापाल रहँदै आई. ए. दोस्रो वर्षको अंग्रेजीको बाँकी परीक्षा दिएको थिएँ त्यो पनि पास गरें।शिक्षा सेवा आयोगको लिखित परीक्षा र अन्तर्वाता दिएको थिएँ । चुरुम्फामा सिफारिस भएछु।त्यो जागिरमा भने गइन। ट्रान्सक्रिप्ट बनाउँन काठमाडौं आएको समयमा नेपाल राष्ट्र बैंकको प्रधान सहायक पदको दरखास्त फाराम भर्ने मौका पनि मिल्यो। परीक्षा दिएँ र पास पनि भएँ । आई. ए. पास गरेपछिको पहिलो परीक्षा त्यो पनि केन्द्रीय बैंकको नै पास गरेपछि मेरो आत्मविश्वास र हौसलाले सगरमाथा छोएको थियो।

काठमाडौं आएपछि मेरो उत्साह सेलाउन लाग्यो। आत्मविश्वासको ठाउँ निराशा र हीनताबोधले लिन थाल्यो। यो मेरो सफलता थियो तर मलाई आफ्नो कम पढाइमा हीनता भयो। नेपाल राष्ट्र बैंकका मेरा अधिकांश सहकर्मीले मास्टर्स डिग्री लिइसकेका थिए। एक जना कार्यालय सहयोगी बी. ए. पढ्दै थिए। म आफूलाई सल्लाका अग्ला रूखहरूबिचको तितेपातीको बोटको रूपमा लिन थालें। जागिरका आन्तरिक परीक्षा पनि पास गर्न सकिन्न जस्तो लाग्न थाल्यो साच्चैं सफल हुन सकिन पनि। पराजित मनस्थिति लिएर लडिएको युद्धमा के जीत हासिल हुन्थ्यो? म एम. ए. पढ्छु र यो जागिर छोडेर पढाउन थाल्छु भन्ने पलायनको बाटो पो रोज्न थालें। त्यही जागिरमा उन्नति र प्रगतिको सपना देख्न छोडें। एम. ए. प्रथम श्रेणीमा पास गरे पनि विभिन्न कारणले जागिर छोड्न सकिन। पढाइ र कार्यलयको प्रकृति नमिलेको कारण जागिरमा मेरो अपेक्षित प्रगति हुन सकेन। अहिले त जागिरे अविधि पूरा गरेर अवकाशको जीवन बिताइरहेको छु।

कहिलेकाँही परिस्थिति प्रतिकूल भएर र कहिले मनस्थिति खस्केर जीवनले लय बिराउन सक्छ। अरूसँग आफूलाई दाँजेर हीनताबोध लिनु हुँदैन । हामीसँग भन्दा बढी धनसम्पत्ति, प्रतिभा, क्षमता भएका मानिस यो दुनियाँमा अनगिन्ती छन् । तैपनि यो विशाल संसारमा हाम्रा लागि पनि ठाउँ छ । हो, निरन्तरको प्रयास आवश्यक छ । प्रकृतिले हामीलाई नरिवल दिएको छ तर जटाभित्र लुकाएर। नरिवल खान मन छ भने जटा फोड्ने सहास र प्रयत्न चाहिन्छ नै।खराब मनस्थितिलाई समयमानै नियन्त्रण गर्नु र सम्हालिनु पर्छ। अनि मात्र सम्भावित नोक्सानीबाट आफूलाई बचाउन सकिन्छ। उपयुक्त सोचको विकास गरेर प्रतिकूल परिस्थितिसँग लड्नु पर्छ। आफूले नै आफ्नो प्रगति र उन्नतिको कल्पना गर्न सकिएन भने कसले गर्ला त ! 

समय महत्त्वपूर्ण छ

समय अमूल्य छ। पलपल महत्त्वपूर्ण छ। विद्यार्थीका लागि त झन् महत्त्वपूर्ण छ। विद्या, सीप र सोचको विकासमा लगाएको समय नै सबभन्दा महत्त्वपूर्ण लगानी हो र यसैको प्रतिफलले जीवनको गुणस्तर निर्धारित गर्छ। आजको हेलचेक्र्याइँले जीवनभर दुःख दिन सक्छ। अनुशासनमा बस्नु पर्दाको दुःख नै तपस्या हो र सबै मानिसले धेरथोर यो तपस्या गर्नुपर्छ ।

समय यति महत्त्वपूर्ण छ त्यसैले यसको सदुपयोग गर्नुपर्छ। त्यति मात्र होइन, आवश्यक परिणाममा समयको लगानी पनि गर्नु पर्छ। समयभन्दा चाँडै कुनै परिणामको आशा गर्नु हुन्न। शैक्षिकस्तर खराब छ र एक वर्ष उही कक्षा दोहोर्‍याएर पढ्दा पढाइको स्तरमा सुधार हुन्छ भने कक्षा दोहोर्‍याउनु राम्रो हो। कम गुणस्तरको शिक्षा कम समयमा हासिल गर्नुभन्दा गुणस्तरीय शिक्षाको लागि समय दिनु राम्रो हो। एक वर्ष एस. ई. ई. को नजिता नराम्रो आयो भनेर चिन्ता लिने, चिन्ता लिने मात्र होइन ज्यानै फाल्ने किशोर किशोरीहरू पनि छन्। त्यसो गर्नुहुन्न। राम्रो शिक्षाको लागि थप एक वर्ष दिन सकिन्छ, दिनु पर्छ। बरू राम्ररी पढेर जानेर बुझेर जाँच दिनु राम्रो हो।

पञ्चावती माध्यमिक विद्यालयकै हामीभन्दा सिनियर एक जना कक्षामा सधैं प्रथम हुने विद्यार्थी एस. एल. सी. मा असफल हुनुभयो। यो उहाँको लागि मात्र होइन हामी सबैका लागि आश्चर्यजनक र निराशाजनक विषय थियो। तर उहाँले अर्को साल परीक्षा दिनुभयो, सजिलै पास हुनुभयो। पछि उहाँले राम्रो शैक्षिक र पेशागत उपलब्धि हासिल गर्नुभयो। हाम्रै कक्षाका एक जना साथी टेस्ट परीक्षामा रोकिनुभयो। उहाँले त्यो एक वर्षमा पढाइमा चमत्कारिक प्रगति हासिल गर्नुभयो। गुणस्तरले मागेको समय हामीले दिनुपर्छ। कहिलेकाँही गलत परिस्थितिले पनि हाम्रो समय लिन्छ। त्यसलाई स्वीकार गर्नुपर्छ। हामीले चाहेको उपलब्धि हासिल गर्न समय पनि खर्च गर्नुपर्छ। सदुपयोग गर्न सक्यौं भने आफ्नो उन्नतिका लागि पुग्ने समय मानिससँग हुन्छ नै।

एकै समयमा धेरै मानिसले धेरै काम गरिरहेका हुन्छन्। हामी छुट्टीमा घुम्न निस्केको बेला हामीलाई घुमाउने/खुवाउने मानिसले काम गरिरहेका हुन्छन्। समयले हरेक मानिसलाई अलगअलग काम अह्राइरहेको हुन्छ। समयले आफूलाई अह्राएको काम खुरूखुरू गर्नुपर्छ। अरूले त्यो वेलामा के गर्दैछ भनेर उति वास्ता गर्नुहुन्न। अरूको मनोरञ्नको समय हाम्रो लागि मिहिनेतको समय हुनसक्छ ।

हार्नु हुन्छ तर हार मान्नु हुन्न

मैले माथि नै लेखिसकें प्रमाणपत्र तहमा मैले कमर्स पढ्ने आँट गरिन।आर्टस् पढ्दा पनि अलि राम्रा विषय राखेर पढ्ने आँट गरिन। त्यो समयमा मैले लडाइँ सुरू हुनुभन्दा अगाडि नै हार मानें। छोराहरू जन्मेपछि अर्थशास्त्रमा एम. ए. पढ्न खोजेको थिएँ। पहिलो वर्षको परीक्षा दिएँ। दुईतीन विषय त पास पनि गरेको थिएँ जस्तो लाग्छ। माइक्रो इकोनोमिक्स र इकोनोम्याट्रिक्स गाह्रो लागेर परीक्षा नै दिइन। त्यसपछि मैले दोस्रो वर्ष पढिन, परीक्षा दिन नै छोडे। यो पटकचाहिँ मैले लडाइँ उत्कर्षमा नपुगी हार माने। जागिर थियो, समय थियो। जाँच चै दिँदै गरेको भए के बिग्रिन्थ्यो र! तर मलाई पटकपटक फेल हुन मन लागेन। फेल हुन मन नलागेको हुनाले पास हुन पनि सकिन। असफलता सहने मानसिकता नभई सफलताको लागि प्रयास गर्न सकिन्न।

मैले पटकपटक परीक्षा दिएर पनि ती पढाइ पूरा गर्न नसकेको भए म चित्त बुझाउँथे होला। तर आज मलाई ती पढाइ र परीक्षा बिचमा नै छोडेको चित्त बुझेको छैन। त्यो पढाइ पूरा गर्न सकेको भए मेरो ताकत अर्कै हुने थियो।जिन्दगीमा जीतहार भइरहन्छ। त्यसैले हार्न मञ्जुर गर्नुपर्छ। दशवटा प्रतिस्पर्धामा एउटामा मात्र जीत हुन्छ भने दशवटा जीत हासिल गर्न सयवटा प्रतिस्पर्धामा भाग लिनुपर्छ र नब्बे पटक हार्नुपर्छ। तर लडाइँ सुरू हुनुअघि वा आफ्नो सम्पूर्ण तागत लगाउनुअघि हार स्वीकार गर्नुहुन्न। सफलताहरूले हाम्रो इमानदारिता र प्रतिबद्धताको परीक्षा लिइरहेका हुन्छन्। हामीले त्यो परीक्षा उत्तीर्ण गर्नै पर्छ।

पश्चात्ताप गर्ने हैन, शिक्षा लिने हो

जीवनका गुमेका मौका र आफ्ना गल्तीहरूले कहिलेकाँही चिमोट्छन्। यसो नगरेको भए हुन्थ्यो र उसो गरेको भए हुन्थ्यो भन्ने त लाग्छ नै। कति मित्रता धोकामा बदलिन्छन्, कतिसँग सानो कुरामा चित्त दुखाइयो कि जस्तो पनि लाग्छ। म आफैंले गरेका कतिपय गल्ती यहाँ पनि लेखेकै छु।

तर बितेको समय फर्केर आउन्न। पोखिएको दूधको पिरमा पिरोलिएर केही फाइदा छैन। जितेका जीतहरूमा रमाउने हो। हारका पीडालाई बिर्सने हो। हारेका लडाइँहरूबाट शिक्षा लिनुपर्छ। त्यो शिक्षा आफ्नो जीवनमा उपयोग गर्नुपर्छ, अरूलाई बाँड्नुपर्छ। सकारात्मक सोचलाई अङ्गीकार गर्नुपर्छ। नकारात्मक कुराहरूलाई छोडिदिनुपर्छ। कहिलेकाहीं गलत कुराको प्रतिकार गर्नु पनि प्रत्युत्पादक हुनसक्छ। ती कुरा हामीलाई अल्मल्याउन र हाम्रो समय खर्च गर्न आएका हुनसक्छन्। तिनलाई बेवास्ता गरेर अगाडि बढ्नुपर्छ। अर्जुनले चराको आँखा मात्र देखेजस्तै हामी पनि आफ्नो उद्देश्यमा केन्द्रित हुनुपर्छ।

उपसंहार

यी सोच र धारणाहरू कुनै नयाँ होइनन् नै। तैपनि अहिले मैले यो ज्ञानलाई आफ्नो जीवन खर्च गरेर पुनः आर्जन गरेको छु। हाम्रो पालामा यसरी अघिल्लो पुस्ताको अनुभव लिने र दिने सोच त्यति विकास भएको पनि थिएन कि! आजको युवाले साठी वर्षको मानिसको अनुभव सुन्न र सिक्न पाउँछ भने उसमा युवा जोस र परिपक्व होसको विकास हुन्छ।जोस र होस भएको युवाले जीवन पनि बदल्छ, समाज र संसार पनि बदल्छ । ज्ञान र विवेकको प्रखर आलोकमा जीवनको विकास र विस्तार गर्नका लागि सबै युवामा नयाँ वर्ष २०८३ को सुखद् अवसरमा हार्दिक मंगलमय शुभकामना!!!

kedarji330@gmail.com

0 Shares

1 thought on “आफ्नो दियालो, आफ्नै उज्यालो

Leave a Reply

Your email address will not be published. Required fields are marked *