साहित्यलाई समाजको ऐना मानिन्छ । नेपाली साहित्य पनि नेपाली मनको हर्ष र आ“सुको साक्षी बन्नबाट चुकेको छैन । यो जतिजति आधुनिक बन्दै छ उतिउति नै मानव मनको नजिक पुग्दैछ । साहित्यको विषय स्वर्गबाट संसारमा झरेको छ र तिलस्मबाट जीवनमा आइपुगेको छ । कल्पना र स्वैरकल्पनाका शील्पयुक्त वाणहरु आकाशतिर ताकिएका देखिएलान् तर तिनको निशाना समाज र मानिसतिरै छ । आजको नेपाली साहित्य नेपाली मुटुमा लगाएको स्टेथेस्कोपको कलात्मक धडकन हो, यसले नेपाली हृदयको नाप, चाप, चाल र ताल बताउ“छ । कवि ज्योति जङ्गलको नवीनतम कविता संग्रह ‘मुक्त आकाश’ मा पनि आफ्नो देश, परिवेश, समाज र जीवनको अनुभूतिलाई अभिव्यक्त भएको छ ।
‘मुक्त समय’ ज्योति जङ्गलको तेश्रो कवितात्मक कृति हो । यसअघि उनको कविता संग्रह ‘पहाडको मन’ (२०६२) र गजल संग्रह ‘अक्षरमा तिमी’ (२०६५) प्रकाशित भइसकेको छ । साझा प्रकाशनबाट २०६९ सालमा प्रकाशित यस कविता संग्रहमा सतचालीसवटा कविता रहेका छन् । यी कवितामा समसामयिक नेपाली जनजीवनका सामाजिक, आर्थिक, पारिवारिक र मानवीय पक्षको उद्घाटन गरिएको छ । नेपालीहरुको बिदेसिने प्रवृत्ति र प्रवासजनित पीडा, युद्धका त्रासदी र मानव मनमा प्रभाव, सामाजिक विसंगति, प्रकृति, प्रेम र समर्पण, स्वाभिमान र अस्मिता, मानवतावाद र जीवनवादी चेतनाजस्ता विषयहरु यस संग्रहका कवितामा बगिरहेका छन् । हाम्रो आ“खा अगाडिको र हामीले भोगिरहेको समाज कविमनबाट कवितामा रुपान्तरण हु“दै हामीबीच आइपुगेको छ, मुक्त समयको रुपमा । यस लेखमा म अरु विषयलाई थाती राख्दै यस संग्रहका विभिन्न कविताहरुमा व्यक्त भएको प्रवासजनित पीडाबारे चर्चा गर्छु ।
‘नजाउ भन्न सक्दिन’मा परदेसिन चाहने आफन्तप्रतिको भावना अभिव्यक्त भएको छ । घर छोडी जाने सहासीले उघारेको नया“ क्षितिज र उनीहरुले खोजेको जीवनले थप अरुलाई विदेसिन प्रेरित गरेको यथार्थ यस कवितामा छ । कर्मशील पाखुरीहरु आफ्ना सपनालाई विपना बनाउने वातावरणको अभावमा विदेसिनुपर्ने बाध्यता यसमा छ । सपना हराएको जीवन र सपनाको खोजीमा विदेशमा विलाएको जीवन दुवै अर्थहीन होलान् तर जीवनले प्रयास खोज्छ, अस्तित्व खोज्छ । दुःख भोग्नुको दुुःख र दुःख लुकाउनुको दुःखका दुष्चक्रमा घुमिरहेका युवाहरु यो कविताभरि छरिएका छन् । देशबाट पलायन हुन चाहने युवालाई रोक्न कुनै तर्क र बहाना बा“की नरहनुको विवशता यसमा प्रकट भएको छ । यी कठोर यथार्थका सामु प्रेम र स्नेह निरीह बनेको छन् । नियतिको क्रुर परिबन्धमा मायाको कोमलता निस्तेज बन्छ । आफ्नो मुटु चोइटिन लाग्दा पनि जिन्दगी मौन हुन विवश हुन्छ ।
‘हो, मैले उसलाई
नजाऊ भन्न सकिन ।
…… …… … .. .
नत्र ऊ यो देशको एउटा बेरोजगार बैंश
उधारो रक्सीको आहालमा
जिउ“दै मुन्टो बटारेर मथ्र्यो होला ।’
‘पत्र लेख्न सक्दिन तिमीलाई’ छोरा विदेशमा हुने आमाको आत्माको अभिव्यक्तिको रुपमा रहेको छ । आफूबाट जन्मिएको, आफ्नो काखमा हुर्किएको अनि आफ्नो आ“खाअगाडि खेलेको छोरा विदेसिदा आउने झझल्कोले दिनरात बिथोलिएकी आमाको बिलौना यस कविताको विषयवस्तु हो । आफ्नो मुटुमा जरा भएको फूलको सुवासबाट बाञ्चित हुनुकोे विसंगतिपूर्ण बिम्बले यो कवितालाई सशक्त बनाएको छ । बात्सल्य वियोगको यो छट्पटीमा उनी आफ्नो अभिव्यक्ति क्षमता पनि निस्तेज भएको पाउ“छिन् ।
‘बार्दलीमा उभिएर जिस्काउ“छ,
झुक्याउ“छ तिम्रो आकारले
र झुलुक्क हराउ“छ ।’
‘प्रतीक्षा’ले परदेशी प्रेमीलाई पर्खिरहेकी र उसको घिटघिटोमा बा“चिरहेकी प्रियाको मनोदशाको चित्रण गरेको छ । प्रेमीको वियोगले जीवन्ता गुमाएकी ऊ निर्जीव झै बनेकी छ तर मिलनबाट जीवन्ता पाउने आशामा छ । मिलनको पल पर्खेर मृत्युलाई पन्छाइरहेकी ऊ बाटामा आखा पछ्याएर बसेकी छ । ‘जिन्दगी पर्खिरहेकी लाहुुरेनी’मा प्रतीक्षामा खसेका आ“सुका अतिरिक्त पति वियोगमा एक्लै परेकी नारीको यौवन गिजोल्न दयाको मुखौटोमा आउने यौनका भोकाहरुले दिएको उत्पीडन पनि छ । प्रतीक्षाको नाममा बुढिएकी उसले प्रतीक्षालाई त्याग र समर्पण होइन केवल छक्याउने खेलको रुपमा लिन पुग्छे । प्रेम र समर्पणको अज्ञाता डोरीले जीवनलाई त्यसरी डोर्याएकोमा विस्मय पनि यसमा छ ।
कुन चाहनाले डोर्याउन सक्छ यसरी
कुन बन्धनले उभ्याउन सक्छ यसरी
ऊ अचम्ममा छे,
‘लैजानू’मा वियोग र प्रतीक्ष्ँँप्रति विद्रोह बोलेको छ । भावना र चाहनाका आवेगहरुलाई प्रतीक्षाको बन्धन र भविष्यका भाकाहरुले थाम्न गाह्रो हुने यथार्थ यहा“ चित्रण गरिएको छ । जीवनले बा“च्नुको प्रतीक्षा कतिन्जेल गर्नु ? तीव्र एकाकीमा आफ्ना भावना पनि एक्लै परेको महसुस हुन्छ र मन अरु चिसिन्छ । आफ्नाले नबुझ्ने दुःख जति अर्थहीन के होला र ? अर्थहीन दुःखस“गै जीवन अर्थहीन हुन्छ र आफूप्रतिको ममत्व पनि हराउ“छ । निराशाको पल्लो किनारमा पुगेपछि भावना जमेर चट्टान हुंदो रहेछ अनि यो अति क्रुर हुदो रहेछ, आफै प्रति पनि अरु प्रति पनि ।
‘अझै कुरिरहन सक्दिन म
लैजाने भए लैजानू
जलाउने भए जलाइदिनू
दुःखै दुःखको माला उनेर
कसैलाई पहिराउनु छैन ।’
‘मरुभूमिको घामस“ग’ मा काम र मामको खोजीमा अरबतिर आइपुगेको प्रवासीको दुःख लेखिएको छ । घामको चर्को ताप, वियोगको चर्को पीडा र एकाकीपनको चर्को आवेगको मिश्रणले थिल्थिलो बनाएको जीवन यस कवितामा पाइन्छ । मरुभूमिको ऊ“टको साथ र आफ्ना लालाबाला अनि प्यारी पत्नीको सम्झनाले ब्याकुल ह्दय कविताका पंक्तिहरुमा छन् । पात्रको कल्पना र उसको यथार्थको विपर्ययले कवितालाई मार्मिक बनाएको छ । आफ्नो कोमल ह्दयभन्दा प्रतिकूल यथार्थ बलियो देखेर मानव मन आफूलाई अशक्त वा अपराधी मान्न बाध्य बन्छ । आफ्नो तापले पीडित ऊ घामस“ग सोध्छ—
‘ए घाम, के त“ मेरो मुटुभन्दा पनि तातो छस्
कि त“ पनि म जस्तै
आगो बोकेर जिउन
अभिशप्त छस् ?’
परदेसिएका नेपालीको विदेशमा मृत्यु वा अङ्गभङ्ग भएको घटनाहरु ‘हात काटिएपछि’ कविताका बीज हुन् । आफ्नो देशमा जीविकाको लागि कुनै उपाय नभएपछि विदेसिएको छोराले विदेशमा दुर्घटनावश हात काटिएपछि गरेको आर्तनादले यो कविता भिजेको छ । आफ्ना नागरिकलाई जीवनयापनको उचित अवसर दिन अक्षम राज्य र त्यसबाट युवामा उत्पन्न निराशाको जीवन्त तस्वीर यसमा छ । निराशा, पलायन र दुर्घटनाको त्रिवेणीले जीवनलाई त्रासद बनाएको छ । जीवन निस्सारत्ँँ र अर्थहीनताको खाडलमा अझ डुब्छ ।
‘त्यहा“ आएर पनि के गरौं ?
यहा“ बा“चेर पनि के गरौं ?
मेरी आमा,
म नआउने भए“ भने
मेरो लाश पनि चिन्दिन भन्दिनू ।’
नेपाली आ“खामा परदेसिएका आफन्तको वियोगका आ“सु मात्र छैनन्, अन्यत्रबाट लखेटिएर शरणार्थी बन्न आएका बन्धुबान्धवका दुःखका दृष्य पनि छन् । भुटानका नेपाली भाषी नागरिकहरु त्यहा“बाट लखेटिएर झापा र मोरंग का शरणार्थी शिविरमा बसिरहेका छन् । यिनका कथा र व्यथा ‘देशबिना’मा समेटिएको छ । बा“च्नु नामको मरण र बस्नुको नामको शरणले मनलाई अति बिझाउ“छ । प्रारब्धलाई सरँपेर पनि चित्त बुझाउन नसकिने यो पीडा अस्वत्थामाको घाउ झै जहा“ पुगे पनि चह¥याइरहन्छ ।
‘सिमानाबाहिरको बिरानो माटोले
मलाई चिन्दैन
यो आकाशको नीलोसमेत
तीतो लाग्छ ।
यो शिविरको पानीमा मेरो तिर्खा
स“धै प्यासी छ ।’
कविता संग्रहमा रहेका अन्य विषयवस्तु भएका कविताहरु पनि उस्तै चोटिला छन् । ज्योति जङ्गलका कविताहरु छोटा र पठनीय छन् । कविता स्वतन्त्र लयविधानमा आधारित छन् तर पनि तिनमा आन्तरिक लय व्यवस्था छ । कविताका बीचमा आएका छन्दोबद्ध पंक्तिहरुले कविताको सौन्दर्य बढाएका छन् । क्लिष्ट कविता परम्परालाई आदर्श मान्ने यी कविको यो कृतिमा भने अपेक्षाकृत सरल कविताहरु छन् । नवीन बिम्ब विधानले कवितालाई छोइने बनाएको छ । समसामयिक जीवन भोगाइका अनुभूति भएका उनका कविता विषयवस्तु र रचना शील्पका दृष्टिले साच्चै आधुनिक छन् ।
कविका संवेग र आवेगहरु कवितामा प्रस्तुत हुन हतारिएको प्रतीत हुन्छ तर यसले कवितालाई गति प्रदान गरेको छ । हुन पनि कविताको सम्बन्ध संयमभन्दा आवेगसंग बढी हुन्छ । आवेग र संयमको सन्तुलनले कवितालाई उत्कर्षमा लैजान्छ । भाषामा अनन्त सम्भावना हुन्छ र ती सम्भावनामध्ये सबैभन्दा सुन्दर प्रस्तुतिको खोजीमा संयमी कवि लागि रहन्छ । फेरि, सुन्दरतम सम्भावना त स“धै समयको गर्भमा रहन्छ । त्यसैले कविलाई परिष्कार र प्रवाहको सन्तुलन मिलाउन हम्मेहम्मे पर्दछ । यस कविता संग्रहमा कवि जंगल पुराना कृतिको तुलनामा परिष्कारमुखी देखिएकी छन् तर प्रवाहको प्रधानता कायम छ ।
(मिर्मिरे ३२५ अङ्कमा प्रकाशित)
