आकाशमा बरालिने बादलहरू जस्तै
बादलमा लुकामारी गर्ने खुर्पे जून जस्तै
एउटा वर्ष गइरहेछ, अर्को वर्ष आइरहेछ
र मलाई छोडिरहेछ
उस्तै निराश, उस्तै हतास
न बादलले सिँचे जस्तो, न जूनले भेटे जस्तो
अलमल्ल र अवाक् ।
पुतलीपछाडि कुदिरहँदा
अनि ऐना हेरेर मस्किरहँदा
आफूलाई जून ठान्थेँ होला नयाँ वर्षमा
म पनि फूल बन्थें होला नयाँ वर्षमा
शायद सोच्थेँ, पुतलीसँग खेल्छु नयाँ वर्षमा ।
म त अब फूल होइन, रूख बनेको छु
झरेर पातहरू झनै उजाड बनेको छु
चोट छ, टिपिएका फूलहरूको
चिन्ता छ, सुकेका हाँगाहरूको
ठोक्किएका जराहरूको पिर छ
रोकिएको उचाइको डर छ
म निश्चल उभिरहेको छु
एउटा वर्ष आइरहेछ, अर्को वर्ष गइरहेछ ।
हरेक गएको वर्षले
कानको ध्वनि लिएर गएको छ, अलिकति
आँखाको ज्योति लिएर गएको छ, अलिकति
रगतको तातो लिएर गएको छ, अलिकति
नसाको तागत लिएर गएको छ,अलिकति
नयाँ वर्ष पनि उही त हो,
अलिकता धड्कन लिएर जान्छ, मुटुको
अलिकति सास लिएर जान्छ, फोक्सोको
मिर्गौलाको जाली च्यातेर जान्छ, अलिकति
अनि कलेजो डढाएर जान्छ, अलिकति
म चोइटिएर बसिरहन्छु विवश
एउटा वर्ष आइरहन्छ, अर्को वर्ष गइरहन्छ ।
हजार चोटहरूले मूर्छित छ मेरो चेतना
अनन्त रेखामा समयको सुरू कता, सीमा कता
यस निस्पट्ट ओढारमा, कुन हो कोसेढुङ्गा ?
कुन आज, कुन हिजो, कुन भोलि ?
यही बेहोसीमा म टोलाइरहेको छु
एउटा वर्ष आइरहन्छ, अर्को वर्ष गइरहन्छ ।
समयले छोडेको छ मलाई विगतमा
नोस्टाल्जिक भएको छु, इतिहास च्यापेर
अतीतले चिमोटेका चोटहरू छन्
समयले घँचेटेका घाउहरू छन्
जीवन पट्यार भएको छ, एक-रसताले
परिवर्तनको नियम परिवर्तन भएको छ मेरो लागि
वर्तमान बगिरहेको छ, यतैतिर कतैबाट
र भविष्य उड्नेछ, सायद आकाशभन्दा माथि
एक म छोडिइरहेको छु, ढुङ्गा झैं नदीकिनारको
एउटा वर्ष आइरहेछ, अर्को वर्ष गइरहेछ ।
(मिर्मिरेको ३४३ अङ्कमा प्रकाशित)
