खाली आकाश

केही जान्ने, केही सिक्ने र केही बुझ्ने जिज्ञासाभन्दा पनि समय कटाउने बाहानाको रूपमा एउटा किताब पढ्दै थिएँ । किताब थियो भिक्टर फ्र्याङ्कलले लेखेको ‘द सर्च फर मिनिङ’ । अंग्रेजी किताब, नेपालीको विद्यार्थी । घोर जङ्गलमा पसेको अनुभूति भइरहेको थियो । कति शब्द अपरिचित थिए, कति वाक्य संरचना । कतिपय विषयलाई आफ्नै तालले बुझ्दै, कति बुझेजस्तो गर्दै र कतिपय कुरा नबुझ्दै पाना पल्टाइरहेको थिएँ । एउटा मनोवैज्ञानिक सिद्धान्तका प्रणेता अनि नाजी शासनको ज्यादती भोगेका डाक्टरको लेखाइले एउटा मोहनी त लगाइरहेकै थियो । मन पर्न कुरो बुझ्नु पर्दैन पनि त ! एउटा हिन्दी गीत छ- न मैले तिमीले भनेको बुझे, न जानें, तैपनि तिमीले भनेको कुरो सुनेर मलाई खुशी लागिरहेको छ (न मैं समझा, न मै जाना, जो भी तुमने मुझ से कहा है सेनोरिटा, मगर फिर भी मुझे सुनके अच्छा लगा है सेनोरिटा) ।

किताबको पानाहरूको माध्यमबाट म एउटा अज्ञाततर्फको यात्रामा थिएँ । तन्द्राजस्तो मनस्थिति थियो मेरो । अलिअलि थाहा पनि छ, धेरै थाहा छैन पनि । तैपनि तानिएको छु, तानिइरहेको छु । नेपाली किताब त एक पटक पढेर बुझिन्न, गहन अर्थ र अन्तर्य जान्न सकिन्न भने अंग्रेजी किताब किन एकै पढाइमा बुझिनु पर्‍यो त ! यही सोचका साथ म अंग्रेजी किताब पढ्न थालेको छु । दोस्रो विश्वयुद्धताकाको जर्मनी, यहुदीहरूलाई कैद बनाइएको श्रम शिविरहरू, जातीय हत्या र ज्यादतीका शृंखला, अनेक विकट परिस्थितिको वर्णन र सोको आधारमा मानव मनका प्रवृत्तिका विश्लेषण र निष्कर्षण हुँदै किताब अगाडि बढिरहेको थियो ।एक ठाउँमा प्रसङ्ग आयो भविष्य र उद्देश्य नभएका मान्छेहरूको (without a future and without a goal)।

भविष्य र उद्देश्य नभएका मान्छेहरू भन्ने पदावलीले मलाई छोयो । लेखकले प्रस्तुत गरेका विषय र प्रसङ्गलाई बिर्सेर म यी पदावलीमा घोत्लिन थालें । मलाई त्यो पदावली मलाई नै लक्ष्य गरेर लेखिएको जस्तो लाग्यो । शक्तिशाली लेखकका गहन पुस्तकहरूको साझा विशेषता नै यही हो,  त्यहाँ ठुलो जनमानसले आफ्न मनको कुरो भेट्टाउँछ ।तीस बर्ष लामो जागिरे यात्रा र अन्य क्षेत्रमा केही समयको संलग्नतापछि म पनि न त भविष्य, न त उद्देश्यको अवस्थामा नै छु । लामो समयसम्म मेरो लागि जीवन भन्नु नै जागिर खानु र जीविका चलाउनु थियो । सोर वर्षको उमेरमा एस. एल. सी. पास गरेपछि म यो वा ऊ जागिरमा नै थिएँ । जागिर मेरो आवश्यकता मात्र होइन अब त जीवन शैली भइसकेको थियो । अवकाशले मेरो चलिरहेको जीवनशैली खोसेर लगेको थियो थियो । यसबाट मेरो जीवनले अर्थ र उद्देश्य गुमाएको थियो । भोलि बिहान उठ्नका लागि मसँग कुनै उत्प्रेरणा थिएन ।म निष्क्रिय जीवन बाँचिरहेको थिएँ । भिक्टर फ्र्याङ्कलले सायद यस्तै अवस्थाको आकलन गरेर न भविष्य न उद्देश्यवाला मानिसहरूको कुरा उठाएका थिए ।

अहिले के गर्दै हुनुहुन्छ भन्ने प्रश्न नै सबभन्दा जटिल प्रश्न बनेर तेर्सिएको छ अहिले जीवनमा । साँच्चै म केही त गर्दिन । ओछ्यानबाट उठ्नु, हातमुख धुनु, खाना खानु, निरुद्देश्य खुट्टा तन्काउन बरालिनु र फेरि सुत्नु । यस्तो नियमित प्रक्रियालाई त के उल्लेख गर्नु ? कतै नपुग्नका लागि हिँड्नु, कुनै जिज्ञासा बिना पढ्नु, अर्थहीन संवादमा अलमलिनुलाई के काम भन्नु ? यो भित्तेपात्रोबाट दिन र घडीबाट समय हराएको अवस्था हो यो । अगाडि कुनै माइलस्टोन छैन । समय एकनास र अनन्तझैं बनेर अगाडि लमतन्न परेको छ । समयको त्यो विस्तारमा कुनै चिनो छैन, कुनै सङ्केत छैन, कुनै मोड छैन। सधैं एकनास र एकोहोरो विस्तार छ यो । जीवन यात्रामा म लर्बराउन सक्छु तर समय भने एकनास देखिदैछ ।

‘दिन कसरी बित्दैछ त ?’ कसैले सोधेको थियो । ‘म केही पनि गर्दिन’ भन्ने उत्तर सक्रिय र व्यस्त मानिसका लागि कति अस्वाभाविक लाग्यो होला । अनि उनल पूरक प्रश्न गरेका थिए- अनि दिन कसरी बित्छ भनेर । मैले भने – त्यो घामको समस्या हो । उसलाई उदाउनु छ उसलाई अस्ताउनु छ । उसको यही बाध्यताका बिच मेरो दिन पनि बित्छ । कति निर्दयी उत्तर थियो मेरो । तर त्यो वास्तविकता नै हो । म चुपचाप बसिरहन्छु, मेरो दिन बिताइदिन घाम घुमिरहन्छ दिनभरि, जुन घुमिरहन्छ रातभरि ।

अवकाशपछि म आफूलाई कहिलेकाहीं त्यो यात्रीसँग तुलना गर्छु जो पहिले कहिले पनि नपुगेको बिरानो ठाउँमा हठात् पुगेको छ ।बसमा यात्रा गर्दा उसले धेरै यात्रुहरूसँग समय बिताएको थियो ।ती सहयात्री थिए । भाग्य र भविष्य, यात्रा र गन्तव्य एउटै होला भन्ने भ्रम थियो । यात्रा गरुन्जेल गतिशीलताको रमाइलोमा अलमलिएको थियो ।अब बसको गन्तव्य आइपुगेपछि अरू यात्रुहरू आफ्ना झोला समेटेर निस्कन्छन् र आफ्नो गन्तव्यतिर लाग्छन् । कहिले लाग्छ, अरूको व्यक्तिगत गन्तव्य निश्चित थियो र सामूहिक यात्रापछि उनीहरू आफ्नो व्यक्तिगत गन्तव्यतर्फ लागेका छन् ।सामूहिक गन्तव्यपछि आफूले गर्नुपर्ने यात्राको टुङ्गो नभएको हुनाले म चैं छक्क परेर बसिरहेको छु । जीवनमा सामूहिक यात्रा मात्र हैन व्यक्तिगत यात्रा पनि गर्नुपर्ने रहेछ, व्यक्तिगत गन्तव्य खोज्नुपर्ने रहेछ । यो दूरदृष्टिको अभावमा मानिसले जीवनको कुनै कालखण्डमा खालीपन महसुस गर्नुपर्दो रहेछ।

जिन्दगीको केही समय मानिस हुलमुलमा बाँच्दोरहेछ । पढ्दा साथीहरूसँग । जागिरमा सहकर्मीहरूसँग । व्यवसायमा प्रतिस्पर्धीहरूसँग । भीडमा बाँचुन्जेल आफ्नो अस्तित्वले सामूहिक पहिचान बनाउँदो रहेछ । अनि भीडमा घुस्रदा सुरक्षित पनि महसुस गर्दोरहेछ मानिस । भीडबाट अलग्गिएपछि आफ्नो अर्थ र अस्तित्वको खोज हुँदो रहेछ । एक्लो यात्रामा अलि असुरक्षित पनि महसुस गर्दो रहेछ । सामूहिक कामहरू सकिएपछि मेरोचाहिँ काम अब के भन्ने प्रश्न पनि आउँदो रहेछ । रिक्तता महसुस हुँदो रहेछ । एक समयमा स्थापित उद्देश्य र कर्तव्य अर्थहीन भएपछि उद्देश्य र कर्तव्यको खोजीले बेचैनी ल्याउँदो रहेछ ।

एउटा यात्राको अन्त्यपछि अर्को यात्रा यात्राको सम्भावना पनि हुन्छ नै ।मुल गोरेटाहरूले मुलबाटोसम्म पुर्‍याउँछन् । मुलबाटो सकिने बित्तिकै अनेक गोरेटाहरू भेटिन्छन् ।यही नियम जीवन यात्रामा पनि लागु हुन्छ । कुन पहाडले खोला थुनेको छ र ?  जागिरे जीवनको अन्त्यपछि कतिपय मानिसहरूले नयाँ पेशा वा व्यवसायको सुरुवात गरेको देख्छु ।कतिपय मानिसहरू समाजसेवा र राजनीतिमा प्रवेश गरेको देख्छु । कसैले कला साहित्य र सिर्जनामा तनमन दिएका छन् । कोही घरव्यवहारसँग रमाइरहेका छन् । कोही अध्यात्म साधानमा लागेका छन् । तर मलाई लाग्छ ती पनि सामूहिक यात्राका परिवर्तित रूपहरू हुन् । मान्छेले फर्केर आफूमा आउनै पर्छ र जीवनको नितान्त एकाकीपनालाई महसुस गर्नैपर्छ ।

मानिस एक्लै जन्मन्छ र एक्लै मर्छ । तर यसबिचमा ऊ एक्लै हुँदैन, एक्लै हुन चाहदैन । आमाबाबु, संरक्षक र टोलसमाज; स्कुल, क्याम्पस र विश्वविद्यालय; रोजगारी, पेशा, व्यवसाय र व्यक्तित्व विकासका विभिन्न आयामहरू । मान्छे आफ्नो क्षमता र वातावरण अनुसार लहराजस्तो फैलिँदै जान्छ, रूखजस्तै झ्याङ्गिदै जान्छ । यो फैलावट कम नहोस् भन्ने उसको चाहाना हुन्छ नै । जीवनमा यति धेरै संसार सजाएपछि यसलाई उजाड बनाउन के मन लाग्छ र ? तर एक्लै मर्नुपर्ने नियतिको अगाडि कसैको केही जोड चल्दैन ।समयक्रममा उसका संसारहरू सीमित हुँदै जान्छन् । उसका संसारहरू क्रमशः घट्दै जानु भनेको बाँकी संसारमा ऊ मर्नु बराबर हो । बुढो हुँदै गएको मानिसको संसार घटिरहन्छ र यसले उसको जिन्दगीमा रिक्तता सिर्जना गर्छ । आम मान्छेका हकमा यो रिक्तता स्वाभाविक प्रक्रिया हो । उमेर बढ्दै जाँदा बढ्दै गएको संसार उमेर ढल्कदै जाँदा खुम्चदै जानु स्वाभाविक हो ।

तिनै भिक्टर फ्र्याङ्कलले कतै लेखेका छन् जीवनका तीन नियति छन् । ती नियति हुन् गर्नु, हेर्नु र सहनु ।मलाई अहिले लाग्छ मेरो गर्ने नियतिको समय गयो ।अब सके हेर्ने र त्यो पनि नसके सहने नियतिको पालो आइरहेको छ । अब जिन्दगीले एउटा किनारा खोज्दैछ साक्षी बस्न । मनले नसके पनि कामले कृष्णजीको ठोटरी बन्ने समयको संघारमा पुगेको भान भइरहेको छ । साथीहरू भन्छन् यति चाँडो बुढो नहोऊ । तर मेरो अस्वीकृतिले सत्य बदलिदैन । समयले ल्याएका कोसेलीहरूलाई मैले स्वीकार गर्नैपर्छ । कुनै काम गर्ने क्रममा साथी र सहकर्मी भेटिन्छ, संसारलाई भोग गर्ने क्रममा सहभोक्ता पनि रहन सक्छन् तर जीवनका कष्ट र वेदनालाई सहनमा अर्को कसैले साथ दिन सक्दैन ।उसै पनि जीवन एक्लै लड्नुपर्ने लडाइँ हो ।

आकाश गुलजार रहन्छ । हरेक दिन सूर्य यहीं यात्रा गर्छ । हरेक रात चन्द्रमा अनेक आकारमा लुकामारी गर्छ ।ताराहरू चम्किरहन्छन् । मौसमअनुसार विभिन्न रूपाकृतिका बादलहरूले आकाशमा चित्र कोरिरहन्छन् । कहिलेकाहीं इन्द्रेनी टुपुल्किन्छ र आश्चर्यचकित बनाउँछ । चराहरू त्यतै उडिरहन्छन् । समय बित्दै जाँदा आकाशबाट ती सुन्दर मोहनी बिम्बहरू क्रमशः बिलीन हुँदै जाँदा रहेछन् । आकाश बिस्तारै खाली हुँदै जाँदो रहेछ । हरेक वर्ष एउटा तारा खसेजस्तो । हरेक वर्ष जूनको किरण घटेजस्तो । अवकाशपछिको जीवन यस्तै खाली आकाश हो । कति निरस हुन्छ जून तारा बादल र इन्द्रेनी बिनाको आकाश । तर बिस्तारै बानी पर्नुपर्छ । यो जीवनको एउटा अनिवार्य हिस्सा हो । यो बेला आकाशमा केवल हावा मात्र अनुभव हुन्छ । जीवनका लागि त्यो त अनिवार्य नै छ पनि ।

मैले खाली महसुस गरे पनि यो दिमागमा त अनेक कल्पना परिकल्पना भावना विचार सङ्कल्पहरू घुमिरहेका होलान् । मेरो मनको कुरो मलाई नै पनि थाहा नहुन सक्छ । आफ्ना अवचेतनका गुफाहरूमा पस्न आम मानिसलाई कठिन नै छ । यो गुफामा फगत फोहोरको थुप्रो मात्र पनि हुनसक्छ यहाँ केही बहुमूल्य कुरा हुन पनि सक्छ । समयले साथ दिएमा र गुफामा केही काम लाग्ने कुरा भेटिएमा जिन्दगी केही सार्थक रहने आशा पनि त मनमा होला ।खाली डुङ्गा लिएर हिंडिरहेको नाविकको पहिलो कर्तव्य हो त्यसमा पानी छिर्न नदिनु । खाली डुङ्गामा पानी छिर्‍यो भने त्यो डुब्छ । डुङ्गा डुबेन भने नयाँ यात्रु भेटिएलान् नयाँ गन्तव्यमा पुगिएला ।

यो आकाशमा इन्द्रेनी नरहे पनि इन्द्रेनी रहेको बेलाको सम्झना ताजा छ । पूरा हुन नसकेका मात्र हैन सोचेभन्दा बढी हासिल भएका उपलब्धिहरू सम्झनाका ढुकुटीहरूमा छन् । जिन्दगी सकिदै गए पनि स्मरणको माध्यमबाट पुनः सिर्जना गर्ने कल्पनाशक्ति मानिसमा छँदैछ । त्यही पृष्ठभूमिमा नखेलिएका तासका पत्तीहरू मनमनै खसाल्दै जान्छु, आफ्ना भूलहरूमा सान्त्वना दिँदै जान्छु । आफ्ना सफलताहरूमा बधाई दिंदै जान्छु र समयले रित्याएको आकाशलाई कल्पनाले पूरा गर्दै जान्छु ।

(मिर्मिरेको ३६० अङ्कमा प्रकाशित)

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *