आँसु खसाल्ने ठाउँ

कामका लागि विदेश जानु, उता कमाउनु, नेपाल पठाउनु र परिवार चलाउनु अहिलेको नेपालको मुख्य आर्थिक प्रवृत्ति भइसकेको छ। यसरी काममा जाँदा नेपालीहरूले पैसा कमाएका मात्र छैनन्, अनेकन दुःख, झन्झट, पीडा र अपमानको सामना गरेका छन्। ज्यान सलामत नेपाल आइपुगे भाग्य मान्नु परेको छ। केही विदेशको मोह, केही आफ्नै बाध्यताले वैध मात्र हैन अवैध यात्रा, बसोबास र कामकाजमा नेपालीहरू संलग्न भइरहेका छन्। यसै क्रममा लुकीछिपी अमेरिका पुगेका केही नेपाली पुगेकै दिनबाट कैदमा बसी निष्कासनमा परी भरखरै नेपाल आइपुगे।सुनौला सपनाको फुको खरानी टेक्दै उनीहरू नेपाल आइपुगेका थिए।

ती प्रकारान्तरले मानव बेचबिखनका पीडित थिए।ती मानव बेचबिखनको कसूरबाट पीडित नेपाली नागरिकको पीडाको कारक तत्त्व पत्ता लगाउन नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले विमानस्थमा नै एउटा टिम पठाएको रहेछ। तर कुनै पीडितले पनि आफूलाई विदेश पठउने एजेन्टको नाम भन्न चाहेनछन्, कुनै दुःखको कुरा पनि गरेनछन्।उजरी दर्ता गर्न पछि आउँछौं भनेर विदा भई उनीहरू आफ्नो सामान बोकेर बाहिरिएछन्। बाहिर ‘तपाईंहरूको फोटो खिच्न मानिस बसेका छन्, यो बोरामा जरूरी र महत्त्वपूर्ण सामान छैन भने यो बोरा नलैजानुस्’ भनेर सुझाव दिँदा पनि पुरानो लुगा र टिस्युपेपर भएको बोरा बोकेरै बाहिर निस्केछन्। तर पछि पनि उनीहरू कुनै निकायमा उजुरीका लागि गएनछन्।

सरकारवादी फौजदारी अभियोगमा पीडितलाई सरकारबाट धेरै सहयोग र सुरक्षा हुन्छ। पीडितले जाहेरी र अदालतमा बयान गरे पुग्छ। कसूरको अनुसन्धान सरकारले नै गर्छ, मुद्दा सरकारले नै दर्ता गर्छ, बहस पैरवीको लागि सरकारी वकिल हुन्छन् ।पीडितको सुरक्षा आवश्यक भए त्यो पनि उपलब्ध हुन्छ । तर यस मामिलामा पीडितहरूले यति सजिलो बाटो पनि रोजेनन् ।’साठी लाख, असी लाख डुब्यो, अब के बोल्नु’ भने, चुप लागे । भन्नै पर्दैन, यो उनीहरूले महँगो ब्याजमा ऋण लिएको रकम हो। ‘विदेश पठाउनेहरूले जिम्मेवारी निभाएका हुन्, आफ्नै भाग्य नभएको हो’ भनेर चित्त बुझाए। जीवनको सुरूवातमै जुनीभरीमा पनि कमाउन नसकिने पैसा ऋणमा परेका उनीहरू निकै सड्कटमा थिए। नेपालीहरू अभावमा छन् तर यति धेरै ऋण पनि आम नेपालीको टाउकोमा नहोला।यति पीडामा हुँदा पनि उनीहरू जाहेरी दिन गएनन्। गैरकानुनी सपना देखाउने र सङ्गठित ढङ्गले गलत काम गर्ने दलालहरूलाई कानुनको कठघरामा उभ्याउनु पर्ने हो तर पीडितहरू नै जागरूक बनेनन्।

यी पीडितहरूलाई केही घटनाहरूले झस्काएको हो कि जस्तो लाग्छ। केही वर्षको अन्तरातमा नै घुस लेनदेनको डार्क फायल फर्जी ठहरियो।कुनै नेताको विदेशमा लगानी रहेको भनिएको प्रमाण भुइँमा खस्न नपाउँदै विना कुनै छानबिन नक्कली सावित भयो।ज्यानमुद्दाका अभियुक्तका विरूद्धमा बाँचेका घाइतेले दिएको बयानले प्रमाणको मान्यता पाएन। ‍पैसा फिर्ता देऊ भनी सहकारीमा दिएको उजुरी कुनै व्यक्ति विशेषमाथि केन्द्रित बनाइयो।शक्तिका निकट रहेका व्यक्तिको सम्पत्ति शुद्धीकरणको आरोपको अनुसन्धान गर्न सम्बन्धित विभागले नै अस्वीकार गरेर निरीहता देखाइयो।पतञ्जली जग्गा प्रकरणमा डिजाइन अनुसार काम गर्न नचाहने अधिकारीलाई स्पष्टीकरण सोधिएको र सरूवा गरिएको विषय बाहिर आयो।त्रिभुवन विश्वविद्यालयको जग्गा मिचिएको प्रतिवेदन हराएको हल्ला पनि चलेको थियो।यी र यस्ता समाचारमा अनेक प्रकरणको बारेमा जानकारी पाएर नै होला उनीहरूमा उजुरीमा कुनै उत्साह देखिएन।

कुरा यतिमा नै सकिदैन । उनीहरू जेठको २५ गते नेपाल आइपुगेका थिए । जेठ ३० गते नै सम्बन्धित बहालवाला मन्त्रीले भिजिट भिसाको नाममा भएको मानव तस्करीमा परेका पीडितहरूको नाम सङ्कलन गरिरहेको एउटा राजनीतिक पार्टीलाई फर्जी उजुरी तयार गरेको आरोप लगाए। यति भएपछि उजुरी गर्नु भनेको पीडकसँग हैन, सरकारसँग शत्रुता कमाउनु हो भन्ने स्पष्ट भयो। पीडकप्रति जति रोष भए पनि सरकारले नै उजुरीलाई फर्जी भन्नसक्ने भएपछि टाउको दुखाउनुको अर्थ रहेन पनि। अरू देशबाट ठगिएर फर्केका केही नेपालीहरूले उजुरी हालेका रहेछन्, यो सरकारी सन्देशपछि उनीहरू पनि कारवाही नपर्खी घरतिरको बाटो लागेछन् ।

नेपालमा कुन पदको मुखुन्डो लगाएर को बसेको छ भन्ने कसैलाई थाहा हुँदैन। प्रधानमन्त्रीको बेडरूमा बिचौलियाको पहुँच भएको आरोप सत्तारूढ दलकै सांसदले लगाएका छन् भने अरू सरकारी संयन्त्रमा कसको कता र कति पहुँच छ भनेर जनतालाई अड्कल काट्न गाह्रो छ।जसको विरूद्धमा उजुरी दर्ता गराउन गयो, उसकै शुभचिन्तक दर्ता किताब लिएर बसेको पनि हुनसक्छ अनि आफ्नो उजुरी आफ्नै लागि गलपासो हुन पनि सक्छ।

फेरि विदेश जानेलाई, अझ विकसित देशतर्फ जानेलाई खराब दृष्टिकोणले हेर्ने दृष्टिकोणको विकास भएको छ। नेपालमा भएका सम्भावना देख्न नसक्ने दृष्टिदोष भएको आरोप उनीहरूमाथि छ।नेताहरूले गरेको समृद्धि र सुशासनको भाषण नपत्याउने जमातको रूपमा उनीहरूलाई परिभाषित गरिएको छ। यी यसो रमित हेर्न गएका हुन् भन्ने शैलीमा मानिसको प्रवासनलाई हेरिएको छ।त्यसैले विदेशबाट फर्कनेहरूप्रति खिसीटियुरीको आँखाले हेर्ने समूह पनि नेपालमा तयारी हालतमा रहेको छ। यस्तोमा आफ्नो दुःख के देखाउनु, कसलाई देखाउनु ?

नेपालमा आर्थिक सुस्ती छ, लगानी छैन, रोजगारी छैन । नेपालमा सम्भावनाहरू छन् तर ती आजका मितिमा सबै नेपालीका लागि पर्याप्त छैनन्। बढ्दो सुविधाको विस्तारले शिक्षा, स्वास्थ्य, लुगाकपडा, आवासमा अचाक्ली खर्च बढेको छ, त्यसलाई धान्नसक्ने आम्दानीको स्रोत उपलब्ध छैन। अनि मानिसले तिनै मुनामदनकालीन चाहाना पूरा गर्न नेपालीले विदेश गइरहनु परेको छ-

ती आमालाई दूधको घुड्कोले गला रसाऊँ

उनको यौटा पाटी र धाराको इच्छा पुर्‍याऊँ

यो हातलाई सुनको बाला खँदिलो सुहाऊँ

रिनले थोत्रो घरको जग बलियो बनाऊँ ।

र, कतिपय सन्दर्भमा वियोगान्त पनि मुनामदनको भन्दा कम पीडादायक छैन। यी अमेरिकाबाट फर्केका नेपाली मात्र होइन, काम लगाइदिन्छु भनेर विभिन्न मुलुक पुर्‍याइएका अनेकौं नेपालीले पाएका दुःख वर्णनातीत छन्।उनीहरूले जिउधन केही भन्न पाएका छैनन्। तर उजुरीप्रतिको उदासीनताले बताउँछ, उनीहरूले भरोसा गर्नसक्ने नेपालमा कुनै संस्था छैन।दुःख पाउनुभन्दा ठुलो दुःख त्यो दुःख देखाउने ठाउँ नहुनु हो। नेपालीको आँखामा आँसु छ तर आँसु खसाल्ने ठाउँ छैन। आँखामा सुकेको आँसुको मूल्य ककसले कति चुकाउनु पर्ने हो, त्यो चाहिँ भविष्यले नै देखाउला।

अहिलेलाई यही हिन्दी गीत सम्झौं-

कौन सुनेगा, किसको सुनाएँ, इसिलिए चुप रहते हैँ।

आँख से आँसु, बह न जाएँ, इसिलिए चुप रहते हैं।।

https://www.onlinekhabar.com/2025/06/1703784/nepalis-deported-from-america-they-said-they-would-come-to-file-a-complaint-but-they-didnt-return

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *