तडकभडक किन चाहिन्छ हामीलाई ?

नेपालको सार्वजनिक, सामाजिक र व्यक्तिगत जीवनलाई तडकभडकले गाँजेको छ । सरकारी बजेट महँगा विलासी मोटर, अनुत्पादक भ्रमण, देखावटी असारे विकास जस्ता काममा खर्च भइरहेको छ ।समाजमा पनि हुनेखानेले बिहेव्रतबन्धमा पैसाको खोलो बगाइरहेका छन् । पास्नी र न्वारानले पनि विस्तारै आफ्नो रौनक बढाउँदैछ । जन्मदिन मनाउने संस्कृतिले रुप फेरेर उधुम भएको छ । खासै यात्रा गर्नु नपर्ने भए पनि मोटर प्रतिष्ठाका लागि चाहिएको छ । घर अरुको भन्दा ठुलो नभई भएको छैन । सबैभन्दा ठुलो, सबैभन्दा राम्रो, सबैभन्दा महँगो । यही हाम्रो मूलमन्त्र भएको छ । हुनेखानेहरुको देखासिखीमा मध्यम वर्ग कुद्‍न खोजिरहेको छ । यी गतिविधिहरुका कारण निम्न वर्गमा अघोर निराशा उत्पन्न भएको छ । हुनेले खर्च गर्नु ठिकै पनि होला तर आर्थिक र सामाजिक व्यवस्थामा विचलन आउनु त राम्रो होइन । हाम्रो समाजमा भने यस्तै छुचुन्द्रे दौडका ‘कारण जगत के हो र जीवन के हो’ भन्ने प्रश्न निरुत्तर बनेका छन् ।
नेपालको अर्थतन्त्र, आम नेपाली जनताको जीवनस्तर, नेपालमा उपलब्ध आर्थिक तथा सामाजिक पूर्वाधार (सडक, यातायात, बिजुली, टेलिफोन, शिक्षा, स्वास्थ्य, बैंक, बीमा आदि) को उपलब्धताको हिसाबले हेर्ने हो भने अहिले नेपालमा देखिने तडकभडक हाम्रो क्षमताभन्दा माथिको हो । यसमा खर्च हुने साधनस्रोतलाई थप औचित्यपूर्ण प्रयोजनमा उपयोग गर्नु आवश्यक छ । यो देशको आवश्यकता हो । तर खर्चको यो क्रम रोकिएको छैन ।यसका विभिन्न पक्षहरु पो विकसित हुँदै यो प्रचलन झन् झ्याँगिएर गएको छ । किन बढिरहेको छ यो ? मेरो विचारमा केही कारणहरु यस प्रकार छन्:
पहिलो हो, सामन्तवादी मनोविज्ञान । सामन्तवादी संस्कृतिले यस्तै तडकभडकको माग गर्छ । सुविधाको खोजी पुँजीवादी संस्कृति हो, सामन्तवादले चाहिँ ढर्रा खोज्छ । त्यसैले पुँजीवादले बस्न सुविधा होस् भनेर कुर्सीमा गद्दा टाँस्यो, सामन्तवाद भने धन प्रदर्शन गर्न सुन र हीरामोती । आफूलाई फाइदा नहुने कामको लागि पुँजीवाद अग्रसर हुन्न तर सामन्तवाद प्रदर्शनको ढोंगमा विश्वास राख्छ । त्यसैले पुँजीवाद साइकलमै रमायो तर टाँगामा एउटा घोडाले छ जना मानिस तान्छ भन्ने जान्दाजान्दै काठमाडौंको सामान्तवादले चारघोडे र छघोडे बग्गी बनायो । सामन्तवादले अरुभन्दा फरक देखिन खोज्छ, पुँजीवादले आफूलाई अरुभन्दा फरक प्रमाणित गर्न कोसिस गर्छ । अरुभन्दा फरक देखिन सामन्तवादले कतिपय पोशाक र गहना लगाउन राजघराना र सामन्त बाहेक अरुलाई निषेध गर्‍यो तर पुँजीवादले दैनिक नयाँ फेसन आविष्कार गरेर आफूलाई अलग प्रमाणित गरिरहेको छ । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र जे भने पनि हाम्रो सोच सामन्तवादी नै छ । त्यसैले एकाउन्न किलोको माला सिउन हाम्रो हात चिलाइरहन्छ, अनि त्यो माला झुन्ड्याउन अतिथिको गर्धन । पुँजीवादी, अझ प्रगतिशील संस्कृतिको विकास भएको भए त एक जना मुख्य व्यक्तिले दिएको एउटा फूलको गुच्छाले काम चल्थ्यो होला नि !
अमेरिकी राष्ट्रपतिले अमेरिकी झण्डा टाँगिएको मञ्चमा एउटा रिडिङ स्टेन्ड राखेर वक्तव्य दिएको टेलिभिजनमा हेरेको छु । फूल त त्यता पनि फुल्थे होलान् ! ५० किलोको माला उन्न नजाने पनि 15 किलोको बुके बनाउन त उनीहरु पनि जान्दथे होलान् नि ! अहँ केही गरेको देखिँदैन !
अर्को कुरा छ, हाम्रो अवचेतनमा रहेको भोगको अनन्त भोक ! सुखी र आनन्दको जीवन बिताउने हाम्रा चाहाना कति पुस्तादेखि अतृप्त रहेका छन् । दुःख र हण्डर खाँदै हाम्रो आत्मा कति पुस्तादेखि घुमिरहेको छ । आज राज्यसंयन्त्रमा पहुँच वा आधुनिक आर्थिक गतिविधिमा संलग्नताको कारण केही सुविधा प्राप्त छन् भने तिनलाई छोड्न हाम्रो मनले कसरी मान्ला ? अरु पाउँ, अरु खाउँ जस्तो लागिहाल्ला नि ! आफूले नपाएका कुरा सबै राम्रै होलान् जस्तो लाग्छ, खान नपाएको कुरा सबै मिठै होला जस्तो लाग्छ । यसरी युगयुगदेखिको अतृप्त आत्मालाई कसरी फेरि सदाचारको पाठ पढाउनु ? कसरी पढ्नु ? आज नभोगे कहिले भोग्नु ? अनिश्चय, अविश्वास र अस्थिरताको भुँवरीमा फसेको मुलुकमा जन्मेको मानिसले दुई दिनको चोलालाई किन भोगबाट बञ्चित गर्नु ?
तेस्रो कारण हो, गरिबीको सामूहिक पहिचान । हाम्रो देश गरिब छ । हामीमध्ये कोही धनी भए पनि हाम्रो अन्तर्राष्ट्रिय परिचय गरिबी नै हो । यही पहिचानले हामीलाई हिनताबोध पनि दिएको छ । गरिबलाई त आफ्नो जीवनशैलीमा चित्त बुझाउन ठाउँ नै छैन । धनीलाई पनि के गर्दा राम्रो होला र धनी देखिउँला भन्ने चिन्ता भइरहन्छ होला । धनले नपाइने शान्ति, सभ्यता र सुसंस्कार पनि हामीलाई धनकै उपज जस्तो लाग्छ । गरिबलाई दु:ख लुकाउनुको सुर्ता । धनीलाई रवाफ देखाउनुको रन्को । दुःख लुकाउनु र रवाफ देखाउनु अलग कुरा भए पनि यो एउटै मनोविज्ञानको फरक प्रस्तुति मात्र हो । सारमा भन्दा हामीलाई यो जीवन भोग्नभन्दा पनि देखाउनको चिन्ता छ । यही चिन्ताले हामीलाई अनेक किसिमका तडकभडक गर्न प्रेरित गरिरहेको छ । धनीलाई धनी भइदिए भइगो, हामीलाई धनी जस्तो देखिने भूत सवार भएर उत्पात भएको छ । यो भूतले हामीलाई गर्नु पर्ने पनि गराइरहेको छ, गर्नु नपर्ने पनि गराइरहेको छ ।
धनी देशहरुमा भएको कतिपय कार्यक्रममा सहभागी भइयो, कतिका बारेमा टेलिभिजनमा हेरियो, कतिका बारेमा पढियो । उद्‍घाटन र समापनका नाममा हुने विभिन्न ढर्रा त्यहाँ हुँदा रहेनछन् । कार्यक्रमको शोभा बढाउन भनेर अनावश्यक मानिसलाई निम्ता गरेको पनि देखिएन । कतिपय सन्दर्भमा त हामीभन्दा उनीहरु पो किफायती देखिए । उनीहरुमा किफायती आयोजनाप्रति कुनै सुर्ता थिएन । किन सुर्ता गरुन् त, हामीले जति लोभी भने पनि उनीहरुको सम्पत्ति कत्ति घट्दैन क्यारे ! त्यति मात्र होइन, उनीहरु कतिपय अवस्थामा त आफ्नो देशले भोगिरहेको आर्थिक समस्याको बारेमा खुलेर कुरा गर्न पनि तम्सेको देखियो । साँच्चैका धनीलाई अर्कै ढुक्क हुँदो रहेछ ।
हामीमा शिक्षाको अभाव छ । अध्यात्मवादी र भौतिकवादी दुवै किसिमको शिक्षाको अभाव । धर्ममा भनिए झैं धनको तीन गति (दान, उपयोग र नाश) को हामीलाई सम्यक ज्ञान छैन । अनि भौतिकवाद र बजार अर्थतन्त्रले बताए झैं धनको उत्पादनशील क्षेत्रमा उपयोग तथा विवेकपूर्ण उपभोगको शिक्षा पनि हामीलाई छैन । अर्थशास्त्रमा पढाइने खुला बजार अर्थव्यवस्थाको आधारभूत मान्यताको रुपमा रहेको विवेकशील उपभोक्ता वा आर्थिक विषयको निर्णायक विवेकशील मानिसको अवधारणा बुझ्न सकिएको छैन । वित्तीय साक्षरताको हामीमा अभाव छ । धन कसरी कमाउने, कसरी सञ्चित गर्ने, कसरी लगानी गर्ने र कुन प्राथमिकताको आधारमा उपयोग र उपभोग गर्ने भन्ने विषय अझै चर्चाको विषय बन्न सकेको छैन । अरुले गरेको जस्तो गर्ने भन्ने भावनाको बाढीले हाम्रो विवेकलाई बगाएको छ । अनि नजानिदो पाराले हाम्रो गोजीमा अर्कैले हात हालिरहेको छ । संसारलाई हेर्नु त पर्छ तर राष्ट्रका रुपमा हाम्रा, परिवारको रूपमा हाम्रो र व्यक्तिको रुपमा मेरो प्राथमिकता के को भन्ने निर्क्योल त आफैंले निकाल्नुपर्छ । देखासिकीले हाम्रो विवेकमा तगारो हालेको छ ।
हाम्रो अर्थतन्त्रमा ‌औपचारिक वा कानूनी मात्र होइन अनौपचारिक किसिमका कारोबार पनि हुन्छन् । कमजोर कानून तथा कार्यान्वयन संयन्त्रका कारण गैरकानूनी काम पूर्ण रुपमा रोकिन सकेको छैन। गैरकानूनी स्रोतबाट आर्जित सम्पत्ति बजारमा छ तर त्यस्तो सम्पत्तिको कानूनी वा औपचारिक क्षेत्रमा प्रयोग भने बन्देज लगाइएको छ । यस्तो बन्देज आवश्यक पनि छ । अनि यस्ता प्रतिबन्धित सम्पत्तिको उपयोग तडकभडक नै त लगाउने हो ! कतिले त यस्तो सम्पत्ति दानधर्ममा पनि लगाउँछन् रे । तर त्यस्तो सम्पत्ति दानधर्ममा लगाएर सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको मुद्दामा देउतालाई नै ‘नैतिक अदालत’ को कठघरामा उभ्याउनुभन्दा त तडकभडकमा खर्च गर्नु नै ठिक हो ।
हाम्रो समाजमा प्रचलित तडकभडकका अरु पनि कारण हुन सक्छन् । जे जस्ता कारण भए पनि यो हाम्रो समाजमा प्रचलित छ र प्रदर्शन प्रभावका कारणले यसको जालोमा सबैजसो नेपाली फसिरहेका छन् । अब सबै कुराको मूल्याङ्कन तडकभडकबाट हुन थालेको छ । कतिपय सन्दर्भमा त गोष्ठी, सेमिनार, अन्तर्क्रिया, छलफल जस्ता बौद्धिक कार्यक्रमको मूल्याङ्कन पनि कुन होटलमा कार्यक्रम आयोजना भएको थियो, खाना कस्तो थियो, पारिश्रमिकको व्यवस्था कस्तो थियो जस्ता विषयबाट हुन थालेको पाएको छु । विषयवस्तुमाथि ध्यान हराउँदै गएको छ । कलमभन्दा लेखाइ महत्वपूर्ण हो, मञ्चभन्दा बोली महत्वपूर्ण हो, प्रचारभन्दा कार्य महत्वपूर्ण हो । तर अहँ, यस्तो देखिएको छैन ।
सुरक्षा र समय व्यवस्थापन जस्ता कतिपय दृष्टिकोणले राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तिहरुको लागि विशेष किसिमको व्यवस्था गर्नैपर्छ । उनीहरुका लागि सुविधा र पारिश्रमिकको व्यवस्था पनि हुनैपर्छ । सेवाबाट हटेपछि निवृत्तिभरण वा अन्य सामाजिक सुरक्षा र सुविधा पनि आवश्यक हुनसक्छ ।यसै सिद्धान्तको दुरुपयोग गरी कतिपय भूतपूर्वहरुले पनि राज्यबाट अनावश्यक र अनुचित सुविधा लिइरहेको पढ्न पाइन्छ । राज्यबाट विशेष सुविधा लिन सकेकै भरमा विशिष्ट भएको ठानिने हानिकारक संस्कार प्रचलित भएको छ । नेपालको परिवेशमा त कार्य कारण सम्बन्ध नै उल्टो छ । यस्तो राज्यका स्रोतको दोहन संस्कृतिको एउटा कारक तत्त्व पनि तडकभडकवाला मनोवृत्ति पनि हो ।
यस्ता तडकभडकको संचारमाध्यममा आलोचना पनि भएको छ । पत्रिकाहरुले विभिन्न मुलुकका (क्यानडा, अमेरिका, पाकिस्तान, न्युजिल्यान्ड, मेक्सिकोः नयाँ पत्रिका, 2075/9/21) राष्ट्रपति/प्रधानमन्त्रीहरुको सामान्य जीवनशैलीलाई सन्दर्भमा लिएर सुधारको लागि प्रयास गरेका छन् ।उनीहरु साइकलमा चढ्दा रहेछन् । सार्वजनिक यातायातको प्रयोग गर्दारहेछन् । कम पारिश्रमिकमा र सुविधा लिँदारहेछन् । नेपालकै पनि मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, मदन भण्डारीको सामान्य जीवनशैलीको प्रशंसा पनि गरिएको छ । माओ फाटेको लुगा टालेर लगाउँथे रे । गान्धीले जीवनको उत्तरार्ध खद्दरलेधाने । तर अहिले यी उदाहरणमा कसैको आँखा लागेको छैन । अहिलेका कतिपय नेता र प्रशासकको जीवनशैली सामान्य होला तर त्यो छायाँमा परेको छ । हाम्रो आँखामा त चमकदमक बाहेक केही छैन । यही चमक, शक्तिले सामाजिक व्यवहार ऐन जस्ता कानून नै जिउँदै मरेका उदाहरण समेत छन् । राष्ट्रको इज्जत, संस्थाको गरिमा, पदको मर्यादा आदिका आवरणमा तडकभडक चम्किरहेको छ । यी स्वतन्त्र देशका सार्वभौम नागरिकको चाहिं केही इज्जत र गौरव रहेनछ क्यार ! यी भने विदेशमा पाले, ढोके, कुल्ली, ज्यामी, सिपाही, यौनकर्मी आदि बनेका छन्, अझै बन्न खोजिरहेका छन् ।
यस्तै विभिन्न मनोवैज्ञानिक र व्यवहारिक कारण चेतनाको अभावको कारण हाम्रोमा तडकभडक मौलाइरहेको छ । हाम्रो सामाजिक संस्कार र चेतनामा परिष्कार नगरी यसमा सुधार पनि आउँदैन । संस्कार माथिबाट तल झर्ने भएकाले माथिबाट नै यसमा पहल गर्नुपर्छ । सामाजिक, राजनैतिक र आर्थिक संस्था र शक्तिले यसमा भूमिका खेल्नुपर्छ । सकारात्मक परिवर्तनका प्रयास पनि देखिएको छ र त्यसलाई सशक्त बनाउनुपर्छ । धर्मले परिकल्पना गरेको सदाचार छुट्यो तर बजार अर्थव्यवस्थाको शर्त मानिएको विवेकमा पनि पुगिएन । चेतनाको यो संक्रमणकाल जति छोटो हुन सक्यो उति राम्रो ।

0 Shares

2 thoughts on “तडकभडक किन चाहिन्छ हामीलाई ?

  1. सामन्तवाद र पुँजीवादको विश्लेषण सटिक लाग्यो । कुनै राष्ट्रिय नेपाली दैनिक पत्रिकामा प्रकाशित भए धेरै पाठक लाभान्वित हुने थिए ।

  2. अति राम्रो लेख। लेखमा उठान गरिएको बिषय र सन्दर्भ समसामयिक छ। बिषयवस्तुलाइ अगाडि बढाउन गरिएको विश्लेषण र दृष्टान्तहरु जीवन्त छन। नेपाली समाजको विविध पक्षमा रहेको उपभोक्तावादी सन्स्कृती र तडकभडक शैलीको मिहिन समीक्षा लेखले गरेको छ। यस्ता विकृतिहरु बढ्दै जाने कारण, त्यसको प्रभाव र रोकथामका उपायहरु (सांकेतिकरुपमा भएपनि) उल्लेख हुनु लेखको अर्को सबल पक्ष हो। सशक्त सृजनाका लागि हार्दिक बधाई छ।

Leave a Reply to रमेश दाहाल Cancel reply

Your email address will not be published. Required fields are marked *