जिल्ला (प्रशासन) कार्यालय, चौतारामा सहलेखापाल भएपछि म निकै खुशी थिएँ । संसारमा मैले खुट्टा टेक्ने ठाउँ भेटेको थिएँ । अब जीवनले एउटा बाटो लियो जस्तो लागेको थियो । त्यस बेला पढाइ प्राइभेटमै सीमित थियो, जागिर थिएन र बुवाको छ महिनाअघि देहान्त भएको थियो । यसरी अँध्यारो सुरूङमा पसेको जिन्दगीले प्रकाश भेटेको थियो । अब सरुवा गराएर काठमाडौं जाऊँला र पढौला भन्ने सोचेको थिएँ । मेरा लागि अब सबै दुःख माटोमा मिलिसकेका थिए । 2043 सालको भदौमा जागिरे भएपछि ममा अर्कै आँट आएको थियो ।
मेरो सहलेखापालको जागिर थियो र जिल्ला कार्यालयमा लेखापालको दरबन्दी थियो ।यसो हुँदा मैले लेखापालले लाए अह्राएको काम गर्दा पुग्नुपर्ने हो । तर लेखापालले राजीनामा दिने सुर कसिसकेका रहेछन् र उनको कार्यालयमा उपस्थिति पनि नियमित रहेनछ । भक्तपुरका बूढा मान्छेलाई किन हो सिन्धुपाल्चोक पठाइदिएको रहेछ । त्यसैले उनी जागिर छोड्ने विचारमा रहेछन् । केही समयको सहकार्यबाट उनी रसिला बूढा हुन् भन्ने त थाहा भयो । तर राजीनामा स्वीकृत भएकाले उनी घर गइहाले ।
लेखापालको टुंगो नभएको हुनाले त्यहाँको लेखा फाँट भने एक जना खरिदारले चलाइराखेका थिए । सहलेखापाल पनि कोही थिएनन् । अब सहलेखापालको रुपमा म हाजिर भएपछि लेखा म एक्लैले चलाउनुपर्ने भयो । मैले उनै खरिदार साहेबबाट चार्ज बुझे, उनीबाटै काम सिकें ।
म नागरिकता बनाउन र जागिर खाने फाराम भर्न बाहेक सरकारी कार्यालय नछिरेको मानिसलाई यो जागिर अलि अप्ठेरो देखियो । मैले कमर्स पढेको थिइन तर कमर्स पढ्नेहरुले उनीहरुको पाठ्यक्रममा हुने सरकारी लेखा विषय झन्झटिलो र अप्ठेरो छ भन्ने सुनेको थिएँ । म अब त्यही झन्झटिलो सरकारी लेखालाई कार्यान्वयन गर्ने पुर्जाको रुपमा काम गर्न गइरहेको थिएँ । “अँ, यो भनेको यो त हो नि” भनेर बाठो पल्टिने विषय केही थिएन । लोक सेवा आयोगको परीक्षाको तयारी गर्दा डेबिट, क्रेडिट, नगदी रसिद, बजेट सिट जस्ता केही शब्दावली बाहेक अरु कुनै कुरा चिनेका थिएनन् । तिनलाई व्यवहारमा कार्यान्वयन गर्ने व्यवहारिक शैलीको त कुरै छोडौं । बैंकमा खाता भनेको के हो भन्ने थाहा नभएको म र प्रमुख जिल्ला अधिकारीको नामबाट जिल्ला कार्यालयको सरकारी खाता चल्ने व्यवस्था समेत भयो । त्यति वेलासम्म वास्तवमा मेरो सही नै जन्मिसकेको थिएन । बल्ल बल्ल एउटा सही जन्माएँ, खाताको लागि । मलाई राति निद्रा त लाग्दथ्यो तर सपनामा उही कार्यालयको कोठा आउन थालेको थियो । जागिरको नाममा म निकै अप्ठेरो काममा जाकिएको थिएँ ।
मलाई काम सिकाउन ती खरिदार कार्यालयमा मसँगै बस्ने व्यवस्था थियो । तर सरकारी संयन्त्रका मानिसले नसिकोस् भनेर सिकाउँछन् कि सिकाउन जान्दैनन् म कहिलेकाहीं अलमलमा पर्छु । उनी पनि मलाई यसो गर्नुस्, उसो गर्नुस् त भन्थे तर किन त्यसो गर्नुपरेको हो भनेर पूरा कुरा कहिले गर्दैनथे । सोध्यो भने “त्यो किन चाहियो अहिले, पछि बस्दै गएपछि थाहा भैहाल्छ नि” भन्थे, सकियो । शायद उनी त्यहाँ लामो बस्न चाहन्थे । तर उनले जे भने पनि मान्नु बाहेक मसँग केही विकल्प थिएन ।
एक दिन धान कुट्ने मिल नवीकरण गर्न आउनेसँग उनले एक सय रूपैयाँ घुस मागे । मेरो टाउको दुख्यो तर मैले गर्न सक्ने केही थिएन । दुई जना कर्मचारीमा मतभेद देखाउनु पनि भएन, फेरि उनी मभन्दा वरिष्ठ । त्यो मान्छेले सजिलै दिन मानेन, एक छिन शब्दको ओहोरदोहोर भयो । तर यस्तोमा सरकारी कर्मचारीको कमै हार हुन्छ । उनको पनि हार भएन । ऊ बुझाउनु पर्ने रकममा एक सय थप्न सहमत भएपछि मैले रसिद काटें । महिला संघको चन्दा बाकसमा पनि इच्छाले केही रकम राख्न भनियो । त्यति वेलाको वर्गीय संगठनमध्ये एक महिला संघले चन्दा असुलीका लागि जिल्ला प्रशासन कार्यालयमा खुत्रुके जस्तो बाकस राखेको थियो । उसले त्यहाँ पनि पैसा राख्यो ।
रसिद मैले काटे पनि पैसा खरिदार साहेबकै हातमा थियो । उनले पैंसा मलाई दिए । रसिदको पैसा बाहेकको सय रुपैंयाँ मैले उनैलाई फर्काएँ तर उनले राख्न मानेनन् । “अब तपाईं नै राख्नुस्, एकाउन्टेन्ट साहेब” उनले भने ।
मैले कामिरहेको हातले त्यो पैसा गोजीमा हालें । बरखीमा लगाएको सेतो लुगाको जोगीमा शायद बाहिरैबाट गैंडा देखिन्थ्यो होला । एउटा सिंगो गैंडा जत्तिकै भारी भएर त्यो मेरो गोजीमा थियो । मेरो गोजीमा घुस थियो । एउटा रमाइलो स्वाद पनि मनले कतै पाइरहेको थियो होला । नत्र त्यो गह्रुँगो गैंडा किन बोकिरहनु ?
म घर व्यवहार भएको जिउँदो मान्छे हुँ । मलाई पैसा चाहिन्छ । तर त्यो जागिरमा मलाई पुग्ने पैसा थियो । एक सयमा कोठा पाइन्थ्यो, होटलवालाले दुई सय पच्चीसमा महिनावारी खाना खुवाउँथे । लेखा भत्ता र दुर्गम भत्ता सहित मेरो महिनाभरको तलब नौसय बैंसठ्ठी रुपियाँ पचास पैसा थियो । उमेर बीस पुगेको थिएन । बिहे भएको थिएन । अनि किन चाहियो मलाई थप पैसा ? फेरि त्यस्तो पैसा ? अझ दिने मान्छेले पनि सजिलै र खुशीले दिएको थिएन । मेरो मनमा ज्वारभाटा चलिरहेको थियो । मेरो घुस दीक्षाको पहिलो पाठ नै तनावयुक्त रह्यो । मेरो कागती निचोरेको जस्तो मुख देखेर होला खरिदार साहेबले फेरि थपे, “केही हुन्न एकाउन्टेन्ट साहेब” ।
“एकाउन्टेन्ट साहेबलाई सिडिओ साहेबले बोलाउनु भा’छ ।” पियन बद्री बाजे हस्याङफस्याङ गर्दै आइपुगे । एकाउन्टेन्ट साहेब मतलब म ! मेरो दिमाग फनन घुम्यो । ‘त्यो घुस दिन बाध्य पारिएको मानिसले सिडीओलाई उजुर गर्यो र सिडिओले मलाई बोलाए ।’ अघि गोजीमा बसेको गैंडाले दिमागमा पुगेर यो बाहेक मलाई अरू केही सोच्नै दिएन । मैले गोजीबाट सयको नोट झिकेर तिनै खरिदार साहेबलाई दिएँ र दसीरहित अभियुक्तको रुपमा सिडिओ सामु उभिएँ ।
“ए, तिमी आयौ ! सुन त, गृहबाट (गृह मन्त्रालय) यो विवरण मागेर पत्र आएको छ । चाँडो पठाऊ । नियमित रूपमा पठाउनु पर्ने कागजात समयमै पठाउनू । आफूले नजाने छ नि त्यो, खरिदारलाई सोध । यो चिठी लेऊ ।” उनले बोलाउनुको कारण अर्कै रहेछ । छातीबाट जाँतो झिके जस्तो भो । पछि यी सिडिओले मलाई औधि माया पनि गरे । ‘मेरा हाकिम: बलराम कापर’ विषयको लेख यी ब्लगहरुमा कतै छ । http://kedaracharya.com.np/archives/84
म अफिस कोठामा फर्कें । ती विवरण बारे खरिदार साहेबसँग कुरा गरें, बनाउने तरिका सिकें । त्यो सय रुपियाँको बारेमा त्यसपछि कुनै कुरा भएन । मैले त्यसपछि पैसा खाने बारे सोच्न पनि सकिन । तातो दूधले मुख पोलेको बिरालो मोही पनि फुकेर पिउँछ रे । मैले फुकेर मोही पिउने सोच पनि राखिन । जतिन्जेल बसें, हुस्सु लेखापालको परिचय बनाएर बसें । त्यसको डेढ वर्षपछि त म निजामती सेवा छोडेर नेपाल राष्ट्र बैंक आएँ । यता त घुससँग जम्काभेट समेत हुन पाएन ।
आज म ‘यताउति’ नगरी जागिरे जीवनबाट निवृत्त भएको छु । आफैंलाई कहिलेकाँही प्रश्न गर्छु, “के म असल भएकोले त्यसो गरेको हो र ?” “हो” भन्दा म आफैंलाई विश्वास लाग्दैन । हो, पहिलो गाँसमा ढुंगा परेको थियो । तर मौका मिलेको भए म अर्को गुरूबाट दीक्षा लिन्थें होला । आँट पुगेको भए आफू बचेको त्यही घटनाबाट हौसला लिन्थें होला । बुद्धि पुगेको भए अरु सुरक्षित उपायको खोजी गर्थें होला । प्रशासनयन्त्रको ठुलै हिस्सा जुन रङमा रङिएको छ त्यसबाट म यसरी बेखबर कसरी बस्थें होला र ! तर म बेखबर नै बसें । ठिक्कको कमाइ, त्यसैले धान्ने खर्च ! आजको लागि आजै, भोलिका लागि भोलि नै ! बिलौना गर्ने दुःख पनि छैन, प्रदर्शन गर्ने सुख पनि छैन । मेरो “भाग्य”मा शायद यही थियो । र, आज मलाई आफ्नो यो भाग्यमाथि गर्व छ ।

समयले सिकाएकाे ज्ञान जाे अरुकाे लागि पनि शिक्षा बन्न सक्छ ।