संस्मरणः सिमबन्दीको मास्टर

एसएलसी पास गरेपछि घरगाउँ वरपरका विद्यालयमा पढाउन थालें । प्राथमिक विद्यालय जगरेटार, आफैंले अध्ययन समेत गरेको पञ्चावती माध्यमिक विद्यालय, उदयपुर गढी र निम्न माध्यमिक विद्यालय, बर्रेमा केही समय पढाएँ । पढाउँदै जाँदा परिस्थिति प्रतिकूल बनेको हुनाले एकपछि अर्को ठाउँ खोजेर जागिर खाइरहेको थिएँ । बर्रेपछि भने गाउँ वरपर त के आफ्नो जिल्लामा टाढा नै भए पनि ठाउँ पाइएन । अलि टाढाबाट पहिला त बोलाएका नै थिए, मेरो पढाइ राम्रो छ भनेर तर त्यो वेला म नै गइन । घरछेउमा काम पाइरहनुन्जेल के टाढा जानु भन्ने सोचें । घरछेउमा काम पाइन छोडेपछि टाढाको अवसरले पनि मलाई पर्खेर बसेन ।2039 मा एस.एल.सी. दिएर 2040 मा रिजल्ट आएपछि कहिले काम पाउने, कहिले नपाउने गरी समय कटाउँदै थिएँ । 2042 सालको मंसिरमा बर्रेको जागिर टुंगिएपछि भने म पूर्ण बेरोजगार भएँ । गाई चराउन गयो, आयो । प्राइभेट आइ.ए. पढ्दै थिएँ, किताब भए त्यही पढ्यो, बस्यो । दिन त यसरी नै बितिरहेको थियो तर जिन्दगी यसरी कट्नेवाला थिएन । दिन काट्नु र जिन्दगी कटाउनुमा धेरै फरक थियो ।अब कता जाने र के गर्ने भन्ने कुराले मनमा उकुसमुकुस उब्जाइरहेको थियो ।

आफ्नो जागिर नभएको त्यही समयमा बुवालाई बिरामीले च्याप्दै ल्यायो । उहाँ केही वर्षअघिबाट नै बिरामी हुन थाल्नु भएको थियो । उदयपुर गढी स्वास्थ्य चौकीका ‘डाक्टर’ रामप्रसादको सल्लाहमा लाहानबाट औषधि किनेर खाँदै हुनुहुन्थो । तर अब ती औषधिबाट पनि फाइदा हुन छोडेको थियो । त्यसैले एकपटक काठमाडौं नै जाऊ भन्ने टुंगोमा पुगियो । म त्यही सालको भदौमा काठमाडौं पुगेर आएको थिएँ । मावली दाइ कृष्ण दाहाल र पूर्णराज कार्की दाइको डेरा काठमाडौंमा यथावत थियो, जहाँ म केही महिना अघि बसेको थिएँ । मैले बुवालाई त्यहीं लगेर उपचार गरी नेपालटार फर्काउने र आफू भने रसुवामा जिल्ला सरकारी वकिल रहनुभएका प्रेमराज कार्की दाइको मद्दतले त्यहीं शिक्षकको जागिर खाने विचार गरें। भदौमा दिएको लोकसेवा आयोगको परीक्षामा म असफल भएकाले फेरि परीक्षा दिनु पनि थियो ।फुलथुँगी गाईको बाच्छाले बाटो खर्च मिलायो । हामी बाउछोरा काठमाडौं लाग्यौं ।

विष्णु ढुंगाना दाइ समेतको अतुलनीय सहयोगमा बुवालाई शिक्षण अस्पताल महाराजगञ्ज र बागबजारको श्रीकृष्ण औषधालय (आयुर्वेदिक चिकित्सालय)मा उपचार गराइयो र उहाँ नेपालटार फर्किनु भयो । म भने लोक सेवा आयोगको परीक्षा दिएर प्रेम दाइसँग रसुवा जाने सुरमा थिएँ । यसै बीच प्रेम दाइ काठमाडौं आउनुभयो र म उहाँसँगै रसुवा गएँ ।

काठमाडौंबाट निकै नजिक भएर पनि रसुवामा सुविधा, शिक्षा र आधुनिकताको विकास भएको थिएन । तामाङ जातिको बस्ती भएको त्यो इलाकामा निकै पुरानो किसिमको जीवनशैली अपनाइन्थ्यो । गाउँगाउँमा विद्यालय त थिए तर त्यसमा स्थानीय शिक्षक आपूर्ति हुने अवस्था थिएन । त्यसैले अन्य जिल्लाबाट रसुवामा शिक्षक हुन आउनेको संख्या ठुलो थियो । न्याय नपाउन गोरखा जानु, शिक्षक खान रसुवा आउनु भन्ने हँस्यौली चलेको थियो । उदयपुर घर हुने भण्डारी सर एक समयमा रसुवामा जिल्ला शिक्षा अधिकारी हुनुभएको हुनाले उदयपुरका पनि थुप्रै शिक्षक भएका थिए । म पनि त्यही बाटोमा थिएँ । तर मेरो सहारा भने प्रेम दाइ हुनुहुन्थो ।

म प्रेम दाइको आवासमा बस्थें ।उहाँले मिलाइदिने जागिर पर्खेर रसुवाको धुन्चेमा बसिरहेको थिएँ । । एक दिन दाइले शिक्षा कार्यालयमा बोलाएर यो मानिससँग जानू भनी पत्रसहित निर्देश गर्नुभयो । आफूलाई चाहिएको त्यही थियो । झोला ठिकठाक पारेर त्यही मानिसको पछि लागें । रसुवाको सिमबन्दीको प्राथमिक विद्यालयमा म शिक्षक हुन गइरहेको थिएँ ।

धुन्चेबाट बस चढेर हामी कालिकास्थान आयौं । अनि हामी लगातार हिंड्न थाल्यौं । नेपाली बोल्न अप्ठेरो मान्ने ती मानिससँग संवाद पनि कम नै भयो। जिबजिबे हुँदै हामी हिंडिरह्यौं । जबजब हामी अघि बढ्दै गयौं, गाउँघर, मानिस र जनजीवनमा ठुला भिन्नता देखिंदै गए । मैले देखेको खुँज (भित्री मधेश) र तराइ जस्तो यो ठाउँ थिएन । भू-बनोट फरक थियो, घर फरक थिए, मानिस फरक थिए, अन्नबालीको समयसारिणी फरक थियो ।तर मलाई अचम्म मान्ने फुर्सद थिएन । मलाई सिमबन्दी चाँडै पुग्नु थियो । शिक्षा कार्यालयको पत्र देखाउनु थियो र जागिर खानु थियो ।

तर त्यो दिन सिमबन्दी पुग्न सकिएन । सँगै आएका पथप्रदर्शकले अब तिमी  ऊ त्यो स्कूलमा जाऊ, त्यहीँका मास्टरसँग बास बस । भोली बिहानै हिंड्यौ भने खाना खाने बेलामा सिमबन्दी पुग्छौ भनी बिदा दिए । म टिनको छाना लगाएको विद्यालय भवनतिर लागें ।

त्यो लाङ्बु थियो । म लाङ्बुको स्कूलमा गएँ । शिक्षकहरु विद्यालयमै बस्ने चलन रहेछ । गाउँघरमा त रहनसहन नै नमिल्ने । त्यसैले विद्यालयमा बस्नु अनिवार्य जस्तै थियो । मैले कसैलाई चिनेको थिइन । सिमबन्दीमा शिक्षक हुन जान लागेको हुनाले सहकर्मीको नातो मात्र थियो । त्यहाँ रहेका शिक्षकले राम्रो व्यवहार गरे । भात खान पाएँ । घर गएका अर्का शिक्षकको खाली रहेको खाटमा सुतें ।

मसँग चार सय रुपैयाँ जति साथमा थियो । घर फर्कने बाटो खर्च त सधैं गोजीमा हुनुपर्छ भन्ने मान्यतामा त्यो पैंसा पाइन्टको भित्री खल्तीमा राखेको थिएँ । त्यो पैसा तलमाथि भए मलाई घर पुग्न गाह्रो हुन्थ्यो ।त्यसैले मैले त्यो रात पाइन्ट लगाएर नै सुतें । मलाई आतिथ्य प्रदान गर्ने साथीहरुले सजिलो लुगा लगाएर सुत्नु न भनेका पनि थिए । पाइन्ट फुकाले पैसा आफूसँग राख्ने ठाउँ नै हुँदैनथ्यो । पैसा तलमाथि भए म अप्ठेरोमा पर्थें ।मेरो जीवनको आधार त्यही चारसय रुपैयाँ थियो । मैले आफूलाई आतिथ्य प्रदान गर्ने सहकर्मीको पनि विश्वास गर्न सकिन । यो मेरो मानसिक कमजोरी थियो कि सतर्कता अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।

भोलिपल्ट बिहानै सिमबन्दीको बाटो लागें । बीचबीचमा आउने खोला र ती खोला तर्न र उक्लन पार गर्नुपर्ने घुम्ती र पच्याङ पार गर्नु साह्रै असजिलो थियो । नजिकै देखेको अर्को डाँडो पुग्न तलको खोल्छामा झर्नु पर्थ्यो र उक्लदाँ घण्टौ बितिसकेको हुन्थ्यो । तर मसँग त्यो बाटो पार गर्न चाहिने महत्वपूर्ण खजाना थियो । त्यसैको भरमा म कत्ति पनि नआत्तिई त्यो बाटो पार गरिरहेको थिएँ ।त्यो खजाना थियो, जोश ।

कालिकास्थानबाट जिबजिबे, सर्स्यों, घोर्मु, आरुखर्क हुँदै लाङ्बुमा बास बसेर हिंडेको म थाङदुर, साङ्गिल हुँदै सिमबन्दी आइपुगें । शायद त्यति वेला बिहानको दश बजेको थियो होला । खोल्सा पार गरी अलिकति दम्स्याइलो उक्लेपछि सानो भन्ज्याङ जस्तो ठाउँमा पुगें । त्यहाँबाट सिमबन्दी गाउँ देखियो । मलाई गाउँभन्दा पहिला स्कूल चाहिएको थियो । गाउँको तल स्कूल पनि रहेछ । म त्यतै लागें ।

सिमबन्दीको विद्यालयमा त उदयपुरकै पञ्चावती माध्यमिक विद्यालयबाट मभन्दा दुई ब्याजअघि एसएलसी पास हुनुभएका महानन्द तिम्सिना र लक्ष्मी गुरुङ तिम्सिना पो शिक्षक हुनुहुँदो रहेछ । लक्ष्मी दिदी त झन् आफ्नै गाउँ नेपालटार कै । म सुखद आश्चर्यले चकित भएँ । नेपालटार छोडेर कतै टाढा नगएको म परिस्थितिको पेलानले रसुवा आइपुगेको थिएँ । मलाई यहाँ सहजाउन निकै गाह्रो थियो । तर परिस्थितिले नै मेरा चिरपरिचित दाइ दिदीलाई त्यहाँ मभन्दा निकै पहिला ल्याइदिएको रहेछ । मेरा सबै चिन्ता हटे । अर्का शिक्षक लीलासँग बस्ने व्यवस्था भयो । ती पनि सहयोगी नै थिए ।

रसुवाको मेरो बसाइकै अवधिमा मैले बुवा गुमाउन पुगें । म त्यहाँको समाजले नबुझेको सेतो लुगामा हुनपुगें । त्यहाँको महत्वपूर्ण खाना मानिने मासु म खान्नथें । त्यो अनकन्टार ठाउँमा पनि बरखीका विधि र निषेध सम्बन्धी नियम मेरो अवचेतनमा बसेर पछ्याइरहन्थे । आफ्नै घर र गाउँमा पालना गर्न कठिन हुने आसौचका नियम त्यो ठाउँमा पालना गर्नु त असम्भव जस्तै थियो ।पालनाका प्रयास नै निकै कष्टकारक थिए ।

रसुवामा मैले बिताएको समय मेरो जीवनको अहिलेसम्मको कठिन समय हो । त्यहाँको भौगोलिक अवस्थिति नै त्यस्तो । चामलको भात खानु छ भने त्रिशुलीबाट चामल ल्याउनु पर्ने । दाउरा आफैं खोज्नु पर्ने । तरकारी त खै के, खै के । पानी चिसो । सधैं जाडो । मौसमको ठेगान नहुने । घाम लाग्दै पानी पर्ने । बादलले हेर्दाहेर्दै घेर्ने । यहाँको यो कुरा मेरा लागि ठिक छ भन्ने केही थिएन ।पढाउने काम मलाई चाख लाग्ने काम थियो तर विद्यार्थीको भर्ना नै कम, उपस्थिति झन् कम ।छोराछोरीलाई स्कूल पठाऊ भन्दा तिमीहरुले जागिर खानु पर् हामीले छोराछोरी पढाउन पठाउनु पर्ने भन्थे । यो उनीहरुको दोष थिएन, चेतनाको अभावको परिणति थियो ।

महानन्द दाइ र लक्ष्मी दिदीका कारण सबै प्रतिकूलताहरु अनुकूलतामा बदलिए । कुनै समस्यामा सहयोग गर्नुभयो, कतै हौसला प्रदान गर्नुभयो ।केही आपत परे दाइ दिदी हुनुहुन्छ भन्ने ढुक्क थियो । १८ वर्षको उमेरमा बुवा गुमाउनु पर्दा मेरो मन भाँच्चिन लागेको थियो ।यसमा पनि उहाँहरुले नै मलहमपट्टी गर्नुभयो । उहाँहरुको उपस्थिति मेरा लागि जीवन बीमा बराबर थियो । बाँकी समय उहाँहरुकी सानी छोरीलाई खेलायो, उहाँहरुसँगै गफ गर्‌यो, दैनिकी धान्ने समस्याको समाधान खोज्यो। धरतीको त्यो वास्तविक पल्लो कुनामा उहाँहरु नै मेरो सहारा हुनुहुन्थो ।

मैले जीवनको वास्तविक यात्रा कृष्ण दाइ र पूर्ण दाइको काठमाडौंको डेराबाट सुरु गरें ।यात्राको बाटो प्रेम दाइले देखाइदिनु भयो । त्यो प्रारम्भिक यात्रामा महानन्द दाइ र लक्ष्मी दिदीबाट सहयोग र हौसला पाएँ । दुःख पनि बानी नपर्दासम्म मात्र गाह्रो रैछ, पछि त म पनि अप्ठ्याराहरुमा अभ्यस्त भएँ । यसैगरी फागुनदेखि असारसम्म सिमबन्दीमा बिताएर बर्खे विदामा घर आएँ । बर्खे बिदापछि रसुवा जान काठमाडौं पुग्दा मलाई अर्कै संसार स्वागत गर्ने तयारीमा रहेछ । मैले पनि सिमबन्दीलाई काठमाडौंबाटै मनमने सलाम गरें र नयाँ गन्तव्य तिर लागें ।

10 Shares

1 thought on “संस्मरणः सिमबन्दीको मास्टर

  1. …दिन काट्नु र जिन्दगी कटाउनुमा धेरै फरक थियो ….दुःख पनि बानी नपर्दासम्म मात्र गाह्रो रैछ, पछि त म पनि अप्ठ्याराहरुमा अभ्यस्त भएँ …
    “मैले पनि सिमबन्दीलाई काठमाडौंबाटै मनमने सलाम गरें र नयाँ गन्तव्य तिर लागें…” बहुत सरल भाषा, सहज प्रस्तुति ….सबै कााेणबाट राम्रो ???
    त्यसपछिका संस्मरण फेरि अर्काेेमा पढ्न पाउने अाशाका साथ ।

Leave a Reply to shyam Cancel reply

Your email address will not be published. Required fields are marked *