देवकोटाको सम्झनामा

(देवकोटाको जन्मजयन्ती सन्दर्भ)

दिन र रात, जाडो र गर्मी, हिउँद र वर्षा गरी समयको पाँग्रा घुम्दै जान्छ । यसरी घुमेको समयको पाँग्रा दसैंमा आइपुग्छ, तिहारमा आइपुग्छ र  आइपुग्छ अरु चाडपर्व र सन्र्भहरुमा । यस्तै समयक्रमले सालिन्दा महाकवि लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६—२०१६) को जन्मजयन्ती पनि आउँछ । हरेक वर्ष लक्ष्मीपूजाको दिन मनाइने देवकोटाको जन्मजयन्तीको सेरोफेरोमा देवकोटालाई पढेकाले फेरि पढ्छन्, देवकोटालाई सुनेकाले फेरि सुन्छन्, देवकोटाबारे लेखेकाले फेरि लेख्छन्, बोलेकाले फेरि   बोल्छन् । भर्खर चेतना खुलेका किशोरहरुले पनि देवकोटाको व्यक्तित्व र कृतित्वको विराटस्वरुपको आभास पाउँछन् । देवकोटा नेपाली जनमनमा फेरि एकपटक आँधी, बिजुली र बाढी बनेर पस्छन् अनि नेपाली जनमानसलाई देवकोटामय बनाएर जान्छन् ।

घरमा अहोरात्र ट्युसन पढाउने देवकोटा परिवारका लागि सुनको फुल पार्ने कुखुरी थिए । उनले अहिले पनि पुस्तकको रोयल्टी कमाइरहेका छन । तर उनको घर मृत्योपरान्त उनको नामको देवकोटा संग्राहलयमा रुपान्तरित हुन सकेन । जहानियाँ शासनका विरुद्ध जन्मन लागेको नेपाली क्रान्तिको सुडेनी बन्न उनी वनारस गए । वनारसमा चारआनामा चारवटाका दरले कविता बेचे, चना खाएर गुजारा गरे । साहित्य अनुरागीका लागि उनी कविता लेख्ने मेसिन थिए । चुरोट कोसेलीमा कविता लेखेर उनले आफ्ना कैयौ आशामुखीहरुलाई सन्तुष्ट पारे । राजा महेन्द्रले उनलाई मन्त्री बनाए, करिब तीन महिना । घरमा बसेर पनि व्यवहारिक हुन नसक्नु, क्रान्तिका लागि घरबार त्यागे पनि क्रान्तिकारी नमानिनु, सत्तामा पुगे पनि शासकको कोपभाजन हुनु, प्रतिभासम्पन्न भए पनि पागल ठानिनु उनका जीवनका विसंगति थिए । शायद त्यही विसंगतिका महासागरमा पौडिए, विपत्तिको त्यो महासमरमा अडिए अनि त उनी महामना बने, महाकवि बने ।

जब देवकोटको प्रसंग आउँछ, कवि र कविताको सम्बन्धका बारे मलाई द्विविधा हुन्छ । मानिस भन्छन्, कविता लेख्ने कवि हुन्छ । तर मलाई  लाग्छ, कविबाट कविता निसृत हुन्छ । कविहृदयमा जन्मेको, हुर्केको र फैलेको अजस्र भावहरु उनीहरुको व्यक्तिगत जीवनमा पनि निरन्तर पोखिइरहेका हुन्छन् । बस् त्यो जब काजगमा पोखिन्छ तव हामी कविता ठान्छौ, काव्य ठान्छौं, साहित्य ठान्छौं । सरल, मृदुल, दानी, स्वच्छन्द, मानवताबादी, समतावादी, परोपकारी र निष्कपट देवकोटाको जीवन नै एक काव्यधारा थियो । त्यही काव्यधाराको एउटा अंश लेख्य रुपमा नेपाली साहित्यले पाएको छ र धन्य भएको छ, हामी धन्य भएका छौं । देवकोटको संगत गर्ने, उनीसँग वार्ता गर्ने र ट्युसन पढ्ने व्यक्तिहरुले पनि देवकोटाको सान्निध्यमा त्यही आनन्दबोध गरेका छन्, जुन हामी पागल, भिखारी, यात्री वा मुनामदन पढेर गर्नसक्छौं । उनले जीवनमा बाँचेका रहस्य,  रोमाञ्च, कल्पना र दर्शनको एउटा हिस्सामात्र लेखेका होलान् ।

नेपाली भाषा र साहित्यको अनुशीलन देवकोटाको ‘सुनको विहान उदाउँछ रे’ वा ‘नटिप्नु हेर कोपिला’ बाट सुरु हुन्छ र ‘पागल’ ‘प्रश्नोत्तर’ वा ‘शाकुन्तल’बाट विश्राम लिन्छ । बालक, युवा र बृद्ध मस्तिष्क देवकोटाका भावधाराबाट झंकृत हुन्छन् । आज पनि नेपाली जनजीवन ‘मुनामदन’ को वियोगान्त भोगिरहेको छ । नेपाली आध्यात्मिक चेतनाका प्रणेता भानुभक्त थिए, लेखनाथले आधुनिक शैलीशिल्पमा त्यसलाई निरन्तरता दिए । आधुनिक नेपाली समाज र जनजीवनको साहित्यिक र दार्शनिक पृष्ठपोषण देवकोटाले गरिरहेका छन्, नजाने कुन कालसम्म गरिरहनेछन् । युगीन चेतनाका नेपाली प्रकाशस्तम्भ देवकोटा हुन् ।  उनको त्यो महत्तालाई कृतिको संख्या, विषय र शैलीको बन्धक बनाउनु उनीप्रतिको अन्याय हो । भाषा र कलमले उनको जीवनकालमा जे जति अभिव्यक्ति दिनसक्यो, उनले दिए । बांकी रहेको चिन्तन र भावनाको महासागर त उनले आफूसँग लिएरै गए । त्यो विराट महामना व्यक्तित्व नै महाकवि देवकोटा हो, कृतिहरु त उनको देन मात्र हो । त्यसैले सबै कवि महाकवि हुँदैनन्, महाकाव्य लेखेर पनि ।

देवकोटाले सिर्जनालाई सुन्दरतम् बनाउने संयम र परिष्कारको शिल्पलाई आफ्नो सिर्जनालको उर्वर कालमा उपयोग गरेनन् । ‘जो जो आयो घनघटा कालो नीलोबाट यो’ तरिकाले उनले मस्तिष्कबाट बहेको ज्ञान, मनबाट बहेको विवेक अनि हृदयबाट बगेका भावनाको त्रिवेणी साहित्यका रुपमा निर्वाध बग्न दिए । यो देवकोटाको कमजोरी र शक्ति दुबै हो । तीरजस्तो वेगिलो जीवन र उर्लदों कवित्वको भेलमा सिंहावलोकन र परिमार्जन शायद सम्भव थिएन । जीवनको उत्तरार्धमा जब उनले फर्केर आफ्नो साहित्यिक जीवनलाई हेरे, उनलाई परिमार्जनको आवश्यकता खट्क्यो । उनले केही प्रयास गरे तर ढीलो भइसकेको थियो । उनले ‘मुनामदनबाहेक मेरा अरु कृति जलाइदिए हुन्छ’ भनेर यसै निराशामा भने होलान् । हाम्रालागि उनका बचन र लेखन अमूल्य छन् तर तिनमा परिष्कारको कसी लगाइदिएको भए सुनमा सुगन्ध हुने थियो । यसै प्रसंगमा एउटा भनाइ पनि छ— सम पशुपतिमा फूल बेच्नेले बनाएको बजारु माला हुन्, लेखनाथ घरमा मिहिनेत गरेर उनिएको सुन्दर माला हुन्, देवकोटा गुलाफको सिङ्गो बोट हुन् । रंगीन र सुगन्धित गुलाफ फूलको बोट पातसहित, काँडासहित ।

नेपाली साहित्यमा धेरै कृति देवकोटाले नै लेखे, सबै विधामा पनि लेखे, सबै विचार, भावना र दर्शन पनि लेखे । उनका कृति धेरै पढिए पनि । मुनामदनको बिक्रीको रेकर्ड अरु कृतिले  भत्काउन सकेका छैनन् । उनका बारे धेरै समीक्षक र लेखकले पनि लेखे । आज पनि जब देवकोटाको नाम र कविता सुनिन्छ, मन त्यसै तरंगित हुनथाल्छ । नेपाली समाज र साहित्यलाई अजस्र गुण लगाउने ती मनिषीले जीवनमा पाएको हण्डर र ठक्कर सम्झेर रौं ठाडा हुनपुग्छन् । त्यस प्रतिकूलतमा उनको आत्माले अनुभूत गरेको गौरव र आत्मसम्मानको भावना सम्झेर छाती चौडा हुन्छ । उनको जाग्रत र विराट आत्माले हाम्रो सुषुष्त आत्मालाई सम्मोहित गर्छ ।

देवकोटा एक सय चार वर्ष अघि जन्मे र पचास वर्ष र्बाचेर चौवन्न वर्ष अघि परलोक भए । यी चौवन्न वर्षमा देशमा शासन फेरियो, शासक फेरिए, देश पनि केही विकासको बाटोमा घिस्रियो, जनजीवन आधुनिक भयो । तर देवकोटाको ओज र तेज आज पनि उस्तै छ । देवकोटका कृतिले मात्र होइन, उनको फोटो र सालिकले पनि नेपाली समाजलाई केही न केही प्रेरणा र जागृति दिइरहे झै लाग्छ । ती महामना देवकोटालाई हार्दिक श्रद्धाञ्जली ।

(यो लेख २०६९।७।२८ मा नागरिको पूर्वेली स‌स्करणमा छापिएको थियो ।)

17 Shares

1 thought on “देवकोटाको सम्झनामा

  1. अति राम्रो। साहित्यिक मिठाइ, देवकोटसम्बन्धी सुन्दर जानकारी, सशक्त प्रस्तुती, सम-सामयिकता र ऊर्जाशील लेख।

Leave a Reply to ramesh dahal Cancel reply

Your email address will not be published. Required fields are marked *