भियतनाम यात्राः दानाङमा दुई दिन

सिङ्गापुरको लामो ट्रान्जिट

माघ ५ गते राति ११ बजेतिर उडेको सिङ्गापुर एयरलाइन्सको प्लेन भोलिपल्ट बिहान ४ बजे (स्थानीय समय) मा सिङ्गापुरमा ओर्लियो । हामीले भियतनामको दानाङ शहरका लागि दिउँसो ३ बजेतिर प्लेन चढ्नुपर्ने थियो । यो करिब ११ घण्टाको समय हाम्रालागि चुनौती थियो ।न सिङ्गापुर एयरपोर्टबाट बाहिर निस्केर घुम्ने पर्याप्त समय र सुराक हामीसँग थियो न यो एघार घण्टा बिताउने सजिलो तरिका । एयरपोर्टको झिलिमिली र त्यहाँ उपलब्ध फ्री वाइफाइ मात्र हाम्रो समय बिताउने साधन थियो । हामी टर्मिनल २ मा उत्रिएका थियौं ।मोबाइलले दानाङ जाने प्लेन टर्मिनल १ मा आउने जानकारी दियो । हामी बिस्तारै अलमलिँदै हिँडिरहेका थियौं ।फूल सजाइएका ठाउँहरूमा फोटो पनि खिचिरहेका थियौं । टर्मिनलहरू बिच ओहोरदोहोर गर्न ट्रेनको व्यवस्था रहेछ।हामी ट्रेन चढेर १ नम्बर टर्मिनल तिर लाग्यौं ।

एक नम्बर टर्मिनलमा पुगेर हामी बस्ने ठाउँ खोज्यौं र बस्यौं । कोही ब्याग सिरानी लगाएर भुइँमै मस्त सुतिरहेका थिए । हामीलाई ट्राभल एजेन्सीवालाले भनेकी थिइन्, ‘एयरपोर्टको महँगो खानेकुरामा पैसा खर्च नगर्नुस् । खानेकुरा घरबाटै लिएर जानुस् । चिया/कफीको धूलो र थर्मस बोकेर जानुस् । एयरपोर्टमा तातो पानी पाइन्छ, आफैं चियाकफी बनाएर खानुस् ।’ हामीले थर्मस बोकेका थियौं । तातो पानी खोजेर चिया बनायौं र बिस्कुट पनि खायौं ।

समय धेरै भएकाले हाम्रो उडानसम्बन्धी सूचना प्रकाशित भएको थिएन । हामी टर्मिनल १ मा नै ओहोरदोहोर गरिरहेका थियौं । यस्तैमा सूचना बोर्डमा आँखा प¥यो । त्यहाँ हाम्रो प्लेन टर्मिनल ३ मा आउने सूचना थियो ।अब हामी फेरि टर्मिनल ३ मा जाने रेल चढ्न लाग्यौं । टर्मिनल १ बाट २ हुँदै  टर्मिनल ३ मा जाँदा पानीको सुन्दर फोहोरा पनि देख्न पाइने रहेछ । यसोउसो गरी समय बिताएर हामी दानाङ जाने प्लेनमा चढ्यौं ।

दानाङ जाने प्लेन स्कुटको रहेछ। यसमा खाना किनेर खानुपर्ने रहेछ। हाम्रो खाना भने बुक भइसकेको रहेछ। बिहानदेखि बिस्कुट र चोकोपाइको भरमा रहेको ज्यानमा यसले निकै त्राण दियो ।

बेलुका दानाङको होटलमा पुग्यौं । एयरपोर्ट लिन र पुयाउन जाने व्यवस्था भएकै हुन्थ्यो । होटलमा नै पैसा साट्यौं । होटलवालाले अलि कम दर लगाएको हुनाले २० डलर मात्र सटही गरें । त्यसले साँझमा खान पुगिहाल्थ्यो । साँझमा भारतीय खाना खुवाउने रेस्टुराँमा रोटी र तरकारी खायौं । समुद्र छेउमा रहेछ । किनारासम्म पुग्यौं ।

बाना हिल्सको भ्रमण

दानाङमा हाम्रो पहिलो दिनको भ्रमण कार्यक्रम नै बाना हिल्सको थियो । गहनाको सोरूममा अलमल (प्याकेज टुरमा यस्तो अलमल चैं अक्सर हुनेगर्छ) सहितको केही समयको मोटर यात्रापछि हामी केबलकार स्टेसन पुग्यौं । ठुलो क्षेत्रफलमा फैलिएको केबुलकार स्टेसनमा पर्यटकको भिड लागिसकेको थियो ।व्यवस्थित गरिएको लाइनमा कहिले हिँड्दै र कहिले स्केलेटरमा चढ्दै हामी केबुलकार चढ्ने ठाउँमा पुग्यौं।हाम्रा सहयात्री अधिकांश भारतीय पर्यटकहरू थिए ।

लामो केबुलकार यात्रापछि हामी डाँडाको टुप्पोमा पुग्यौं । यो केबुलकार संसारको सबभन्दा लामो ननस्टप केबुलकार रहेछ । हामी केबुलकारबाट ओर्लेर छोटो एकडिब्बको रेलमा चढ्यौं । त्यहाँबाट ओर्लेर हामी फूलबारीतिर घुम्न निस्कियौं । मैले टुर बुक गरेपछि मौसम पूर्वानुमान हेर्दा पानी पर्ने सम्भावना देखाएको थियो तर यहाँ घाम लागिरहेको थियो ।फूलबारीको छेउमा बुद्धको विशाल मूर्ति रहेछ । पुरानो वाइन कारखाना पनि त्यही हातामा रहेछ । एकछिन घुमघाम गरेर हामी त्यहाँको मुख्य आकर्षण गोल्डेन ब्रिजतिर लाग्यौं ।

गोल्डेन ब्रिज खोलामा होइन, पहाडको काखमा बनाइएको पुल रहेछ । हातले उठाएको जस्तो देखिने यसको संरचनाले नै मानिसलाई लोभ्याइरहेको थियो । खचाखच भिड पुलमा रमाइरहेको थियो । हामी पनि त्यही भिडमा मिसियौं ।यो पुलको संरचनावरिपरी घुमेर हामी पुलको एक छेउमा भएको लबीमा भेला भयौं ।

हाम्रा गाइडले हामीलाई खानाका लागि लिएर गए । हामी फेरि अर्को केबुलकारमा चढ्यौं ।हाम्रा साथमा हुने भारतीय पर्यटकहरूले भियतनामी खाना रोजे पनि हामी शाकाहारी खाना मन पराउने भएकाले भारतीय रेस्टुराँमा गयौं । हामीलाई पु¥याइएको होटल आफैंमा मेरो लागि पर्यटकीयस्थल थियो। मानिसहरू बाहिर खानाको लागि लाइनमा बसिरहेका थिए। भित्र सयौं स्टलहरूमा सजाइएको खानामा मानिस झुम्मिरहेका थिए । यति धेरै परिकारमा सबभन्दा मन पर्ने परिकार रोज्न नै हम्मेहम्मे थियो। एउटा छान्दा अर्को छुट्थ्यो । एउटा मानिसले कति थोक खान सक्छ र ! शाकाहारीका लागि छुट्टै स्टल पनि थियो । यति धेरै खानाको परिकार र यति धेरै ग्राहक मैले देखेको थिइन ।

खाना खाएर हामी फ्रेन्च भिलेज घुम्न गयौं । यो अर्को पर्यटकको आकर्षणको केन्द्र रहेछ । युरोपका जस्ता भवनहरूले भरिएको इलाका, फूलबारी, अग्लो प्यागोडा घुम्यौं । मनोरञ्जनात्मक खेलका अनेकन स्टलहरू पनि रहेछन् । पर्यटकलाई लोभ्याउने फूलबारी र फाउन्टेनले त्यो ठाउँलाई सजाएको थियो ।

हामी गोल्डेन गेट घुमिसक्दा नै मौसम बदलिएको थियो । कुहिरो लागेको थियो र सिमसिम पानी पर्न थालेको थियो । खाना खाइसक्दा फेरि घाम लागेको रहेछ । तर घुमिसक्दा फेरि कुहिरोले छोप्यो ।

फर्कने वेला भेट्नका लागि निर्धारित ठाउँ मैले पहिचान गर्न सकिन ।चर्चमा भेट्ने कुरा भएको थियो तर कुन घर चर्च हो मैले ठम्याउन सकिन । सबै घरका संरचना प्रायः उस्तै थिए । क्रसको चिनो भएका घर अरू पनि थिए जस्तो लाग्छ । एकछिनपछि त झन् भुइँ कुहिरोले आफ्नै हत्केला देख्न नसकिने बनाइदियो । सम्पर्कका लागि मसँग भियतनामको सिम थिएन । गुगलमा हेर्दा ६ डलरमा सिम आउँछ भनी जनाइएको थियो तर एयरपोर्टमा १० डलरभन्दा कममा सिम पाइएको थिएन । त्यसैले मैले बाहिर निस्केर सिम लिनु उचित ठानेको थिएँ । बाहिर आएपछि ड्राइभरलाई सिम लिनु छ भन्दा उनले सबैजसो ठाउँमा फ्री वाइफाइ भैहाल्छ, तपाईंलाई समस्या पर्दैन भनेर आश्वस्त पारेका थिए ।

मैले एउटा पसलमा वाइफाइको लागि अनुरोध गरें । पसलेले सहर्ष वाइफाइ फ्री नै रहेको बताइन् र कनेक्ट पनि गरिदिइन् । मैले गाइडलाई चर्चको फोटो पठाउन भने र उनले तत्काल पठाइदिए । हामी कयौं पटक ओहोरदोहोर गरेको घर नै चर्च रहेछ ।

बिहान केबुलकार चढेको बाटो साँझमा भने हामी धेरैवटा बिजुली भ¥याङ ओर्लेर झ¥यौं । अनि सानो डिब्बाको रेल चढेर केबुलकार स्टेशनमा आयौं । अनि बिहान आएको बाटो होटलमा फर्क्यौं ।

समुद्र र ड्रागन ब्रिज

दोस्रो दिन हाम्रो भ्रमण दिउँसो तीन बजेबाट मात्र सुरू हुनेवाला थियो । त्यो समयसम्मको फुर्सदलाई हामीले आफ्नै तरिकाले सदुपयोग गर्नुपर्ने थियो । बिहान हामी नजिकैको समुद्र किनारमा गयौं । त्यहाँ पौडी नखेल्न सचेत गराइएको थियो । अलि बिहानै र जाडो पनि भएर होला, समुद्र किनारमा भिडभाड थिएन । केही मानिस किनारमा हिँडिरहेका थिए, केही छालसँग खेलिरहेका थिए । हामी पनि एकछिन बरालिएर होटल फर्क्यौं ।

खाजा खाएर हामी फेरि बजार घुम्न निस्कियौं । गुगल म्यापमा नजिकै मोबाइलको सिम बेच्ने पसल देखाएको थियो, हामी नक्साअनुसार त्यहाँ गयौं । हिजो मलाई सिम नभएर अलि अप्ठेरो पनि भएको थियो ।पसलमा मानिस थिएनन्, कल बेलको व्यवस्था थियो तर बेल थिच्दा पनि कोही आएनन् । हामी त्यसै हिँड्यौं ।

ड्रागन ब्रिज दानाङमा नै थियो तर हाम्रो भ्रमणको सूचीमा त्यो थिएन । हामीले बिस्तारै हिँडेरै त्यहाँ पुग्ने बिचार ग¥यौं।मोबाइलमा अरू हेर्न नसके पनि गुगल म्याप हेर्न सकिहालिन्थ्यो।बजार र बाटोका रमित हेर्दै हामी त्यता लाग्यौं। बाटोमा भेटिएको एउटा बैंकमा पैसा पनि साट्यौं।

ड्रागन ब्रिजको एकछेउमा पुगेर फोटो खिचिसकेपछि हामी फर्क्यौं । हामी निकै हिँडिसकेका थियौं र फर्कन पनि निकै समय लाग्न सक्थ्यो । बसको रूट थाहा थिएन र ट्याक्सी खोज्ने एप पनि थिएन । त्यसैले हामी पुलको अर्को किनारा नपुगी फर्केका थियौं । तर एकै छिन हिँडेपछि बाटो छेउमा रोकेर राखेको ट्याक्सी फेला पा¥यौं र सोचेभन्दा धेरै कम पैसामा फर्क्यौ । होटल फर्केपछि बचेको समय सदुपयोग गर्न बिहान छोडेको समुद्र किनारको गतिविधि हेर्न फेरि एकछिन गयौं ।

कोकोनट फरेस्ट र होइ आन

दिउँसो तीन बजे हाम्रो पूर्वनिर्धारित यात्रा सुरू भयो । यो यात्रा होइ आन तर्फको थियो । पहिला स्टोन गार्डेन गयौं । यो ढुङ्गाको मूर्ति र गहना बेच्ने व्यापारिक केन्द्र थियो । हामीलाई केही किन्नु थिएन । त्यसपछि कोकोनट फरेस्ट गयौं । त्यहाँ बोहोता आकारको डुङ्गामा चढेर घुम्यौं । बिचमा अर्को डुङ्गामा चढेर फिरिरी घुमाउने व्यवस्था पनि रहेछ । रिङटाले सताउला भनेर हामी त्यसरी घुमेनौं । कैयौं रङ्गीन डुङ्गाहरू पानीमा तैरिएको दृष्य उसै मनमोहक थियो ।

त्यसपछि ‘लालटिन बोट‘ मा घुम्ने पालो आयो । हातमा बत्ती रहेको टोकरी लिएर डुङ्गामा चढ्ने र केही समयपछि पानीमा त्यो टोकरी पानीमा छोड्ने चलन रहेछ । पानीमाथि तैरिइरहेका बत्तीहरूले हाम्रो मष्तिष्कलाई छठ पर्व सम्झाइरहेका थिए । डुङ्गापछि हामी पुराना बजारहरू घुम्नतिर लाग्यौं । बजारमा पर्यटक जताततै र खचाखच थिए । यो एक दिनको मात्र कुरा थिएन, होइ आनको साँझ सधैं यसैगरी अनन्त यौवनको आनन्द लिइरहन्छ होला ।

हामी लखतरान भएर खानाका लागि निर्धारित रेस्टुराँमा पुग्यौं । र, स्थानीय खानाको स्वाद लियौं । थप पैदल बजारको चक्कर लगाउने टुर गाइडको प्रस्तावलाई स्वीकार गर्न सकेनौं र होटल फर्क्यौं ।

हाम्रो दुई दिने दानाङ भ्रमण यत्तिकैमा सकियो । भोलिपल्ट हामी हानोई जानका लागि प्रस्थान ग¥यौं ।

0 Shares

1 thought on “भियतनाम यात्राः दानाङमा दुई दिन

  1. रमाइलो यात्रा संस्मरण ।
    चर्च नभेटेर केही क्षण अलमल भएछ ।
    त्यो केबुलकारको लम्बाई पाए अझ मज्जा हुने थियो ।
    भियतनामको खाना बजार ।
    शाकाहार पनि थाहा थिएन ।
    कति सुन्दर तस्वीरहरू । क्याप्सन भए अझ जानकारी हुन्थ्यो ।
    तेस्रो भाग चाडै आओस् ।
    प्रतीक्षा रहने छ ।

Leave a Reply to Ishwor Pokharel Cancel reply

Your email address will not be published. Required fields are marked *