पारसमणि

धनगढी एयरपोर्टमा बोर्डिङ पास लिने लाइनमा उनी मभन्दा ठिक अघि उभिएका थिए ।

उनको हातमा एउटा छरितो र चमकिलो सुटकेस थियो । अरू झोलाझ्याम्टा केही थिएन ।

म भने पछाडि एउटा झोला भिरेर अर्को घिसारिरहेको थिएँ । मलाई पनि यस्तै छरितो यात्रा गर्न मन लाग्छ । तर सोच्छु, छोटो यात्रा हो भने त सकिएला तर लामो यात्रामा त कसरी सकिएला ? फेर्ने लुगा, मञ्जन, ब्रस, दारी काट्ने मेसिन , औषधि, मोबाइल चार्जर त बोक्नै पर्‍यो । अफिसको कामले हिँड्दा त ल्यापटप पनि बोक्छु । कुन वेला के काम पर्छ थाहा हुँदैन । यसपटक पनि म एक हप्ताको लागि अफिसको कामले धनगढी आएको थिएँ । अनि कसरी एउटा सुटकेसको भरमा हिँड्न सक्छु र ? फेरि मलाई सुटकेस अलि व्यापारिक सामान हो र जागिरेलाई (अझ म जस्तो मध्यमस्तरको जागिरेलाई) सुहाउँदैन जस्तो लाग्छ ।

उनले बोर्डिङ पास लिइसकेका थिए । पालो मेरो थियो । बोर्डिङ पास र लगेज ट्याग लिएर म पनि काउन्टरबाट फर्के ।

उनीसँगको सिट खाली थियो । म नजिकै बसें । वार्तालाप पनि सुरु भयो ।

उनको नाम राजकुमार शर्मा रहेछ । उनी दिल्लीबाट आएका थिए । “सानो इम्पोर्ट/ एक्सपोर्टको कारोबार छ सर ।“ उनले यसै भनेका थिए । कोरोनाका कारण काठमाडौं- दिल्ली हवाइजहाज सेवा स्थगित भएको हुनाले उनी काठमाडौं-धनगढी-महेन्द्रनगर भएर दिल्ली जाँदा रहेछन् । कोरोनाले निकै गाह्रो पारेको कुरा उनले गरे ।

“बाहिरबाट ल्याउन पनि गाह्रो छ, बाहिर पठाउन पनि गाह्रो छ ।“ उनले भनेका थिए ।

मलाई सुटकेसको रहस्य पनि सुल्झेको जस्तो लाग्यो । आयात/निर्यातको कारोबार गर्दा रहेछन् । दिल्लीमा घर होला,  अपार्टमेन्ट होला, फ्ल्याट होला, जग्गा होला, फ्याक्ट्री होला, लगानी होला । यता कमाएको सबैले विदेश लगिसके भन्छन् । यिनले के बाँकी राखेका होलान् र ?  घरबाट परदेश जान पो झोलाझ्याम्टा चाहियो । एउटा घरबाट अर्को घर जान के छ र ?

उनले परिचय मागेका थिए । मजस्ता कर्मचारीको जीविका भने पनि, परिचय भने पनि, प्रतिष्ठा भने पनि त्यही अफिसको नाम त हो नि ! आफ्नो नाम र अफिसको नाम बताइदिएँ । उनले पद पनि सोधे । आयात निर्यात गर्ने मान्छेले गुणस्तर र नापतौलमा ध्यान नदिने कुरै थिएन । औपचारिक रूपमा कर्मचारीको गुणस्तर तथा नापतौल भनेको उसको पद मानिन्छ । अनौपचारिकरूपमा भने कति कमायो भनेर हेर्ने हो । हामी कमाउन नसक्नेहरू चैं यो अनौपचारिक मापदण्ड खारेज हुनुपर्छ भन्ने पक्षमा छौं । समाजले भने त्यतै ढक थपिरहेको छ ।

“तपाईं त हाम्रो काम परिरहने अफिसमा हुनुहुँदो रहेछ । तपाईंहरूको सहयोग त हामीलाई चाहिरहन्छ । व्यापार व्यावसायको काम नै त्यस्तै हो । संयोगले तपाईंसँग भेट भयो । राम्रो भयो ।“ उनले म महत्त्वपूर्ण मानिस रहेको भान पारे ।

“हामी जस्तो कर्मचारीले के सहयोग गर्न सकौंला र ? “  म अलि तर्किन खोजें ।

“नेपालमा कसैको महत्त्व कम छैन सर । मन्त्रीले गर्ने काम सचिवले गर्न सक्दैन, सचिवले गर्ने काम मन्त्रीले गर्न सक्दैन । अरू त कुरै छोडौं न, खरिदारले गर्ने काम सचिवले गर्न सक्दैन । भोलि कुनै कागजको नक्कल चाहियो भने सचिवकहाँ त माग्न जाने कुरा आउँदैन, खरिदारलाई नै भन्नुपर्छ । सर त झन् सिनियर अफिसर ! फेरि सरुवा भएर को कहिले कहाँ पुग्छ के थाहा ? सरजस्तो इन्टेलिजेन्ट मान्छेको सहयोग त पाइलापाइलामा चाहिन्छ ।“ आफ्नो सामान र अर्को मान्छेको प्रशंसा गर्न कसैले व्यापारीसँग सिकोस् ।

हवाइजहाजको समयतालिका पर सर्दैजाँदा हाम्रो गफ पनि लम्बिदै गयो ।

“नेपालमा समयको कुनै भ्यालु नै छैन सर ।“ उनले ठिकै भनेका थिए । तर मलाई समय यति महँगो कुरो जस्तो लाग्दैन । आज नभ्याए भोलि, भोलि मन नलागे पर्सि, अहिले काम गर्न झन्झट लागे जहिले मन लाग्यो त्यहिले । मलाई पनि किताबमा लेखेजस्तो वा अरूले भनेजस्तो समय त्यति महँगो लाग्दैन । आज मेरो मनस्थिति नै हेरौं न । यो बिहान नौ बजेको प्लेनमा चढेर दश बजे काठमाडौं पुगे पनि र राति काठमाडौं पुगे पनि कुरो उही हो । दिनभरी यही एयरपोर्ट रूँगेर बसे पनि मलाई केही फरक पर्दैन । व्यवहारमा जे देखाए पनि मुखले भने समय महँगो होइन भन्नु हुँदैन । मैले पनि सही थापें ।

सही थाप्नु पनि पर्‍यो । उनको अनुहारमा देखिएको छटपटीको मैले सम्मान गर्नै पनि पर्थ्यो ।

“कर्मचारी र व्यापारी मिलेर काम गर्ने हो सर । झगडा गरेर त देश विकास हुँदैन । कतै व्यापारीले कर्मचारी बिगारे भनेको छ, कतै व्यापारीले नेता बिगारे लेखेको छ । यो सब गलत भइरहेको छ । हामीले त सबैलाई प्रमोट गर्ने हो, माथि लाने हो । हामीले नियमअनुसार नै गर्न खोज्ने हो । हामीलाई पनि त यो देशको माया छ ।“

मैले सहयोग गर्न नसक्ने भनेर तर्केको कुरा उनलाई ठिक लागेनछ ।

“सकेको सहयोग त भइहाल्छ नि । हाम्रो काम नै यही सहजीकरणको त हो ।“ म पनि अलिकति कमलो हुनै पर्ने देखियो ।

यस्तै गफगाफ चल्दै गयो । उनले आफ्नो कुरा राख्दै गए । मैले मुन्टो हल्लाउँदै गएँ । उनी अलि मुखर किसिमका व्यापारी रहेछन् । नेपालको राजनीति र कर्मचारीतन्त्रको आँतभेउ पाइसकेको घोषणा गरे । उनी आफ्ना मान्यतामा पूरै विश्वस्त थिए ।

“बाहिरबाट झलक्क हेर्दा हेरून्जेल ठिकै लाग्ला । भित्र त सबै कुहिसकेको छ सर । अब भन्दा सरलाई दुःख लाग्ला । सरजस्ता कर्मचारी अब हजार जना पनि छैनन् । काठमाडौंबाहिरको कुरो जान्दिन, काठमाडौंमा त छँदैछैनन् भन्दा हुन्छ । तलबले खानै पुग्दैन । अनि के गरून् । सर बाहिरबाट भरखर आउनुभएको रहेछ । बिस्तारै कुरो बुझ्नुहुन्छ ।“

म कस्तो कर्मचारी हुँ भन्ने उनलाई के थाहा ? सायद मलाई नै पनि थाहा छैन । अहिलेसम्म मैले घुस नखाएको कारण मलाई नै थाहा छैन । घुस खान नपाएर हो कि, खाने आँट नपुगेर हो कि, खाने मन नभएर हो म चोखो रहेको हुँ भन्नेमा ममा नै अलमल छ । तैपनि कुनै समूहलाई दोषी देखाउन मन छ भने त्यही समूहको आफू अगाडिको व्यक्तिलाई अपवादको रूपमा राख्नु सामान्य शिष्टाचारको कुरा पनि हो ।

जहाज चढ्ने समय भइसकेछ । हामी फेरि लाइनमा लाग्यौं ।

उनको सिट झ्याल छेउमा परेछ । त्यतै बसे । म बोर्डिङ पास लिने लाइनमा उनको पछि थिएँ ।म अर्कोतिरको सिटमा बसें ।

चकलेट र रुवा लिएर एयसहोस्टेस आइन् । मैले रुवा कानमा राखें र एक मुठी चकलेट गमर्क्याएँ । उनले रूवा कानमा लगाए र दुइटा चकलेट लिए । मेरो हातमा भएको एक मुठी चकलेट देखेर उनी मुस्कुराइरहेका थिए । सोचे होलान्, अन्त केही गमर्क्याउन नसक्नेले एयरहोस्टेसको ट्रेबाट चकलेट गमर्क्याउँछ ।

“हेर्नुस् न, यति हिमालका चुचुरा छन्, पर्यटक छैनन् । यी हिमालका चुचुरा नै लिलाममा लगाए पर्यटन व्यावसायीले लिन्थे, पर्यटक ल्याउँथे । सगरमाथाको त ग्लोबल टेन्डर गराए हुन्छ । सरकारले कल्पना नै गर्न नसक्ने स्तरमा मार्केटिङ गर्छ निजी क्षेत्रले । निजी क्षेत्र भनेर सरकार कराइरहन्छ, निजी क्षेत्रलाई केही दिएको छैन । हामीलाई देश जिम्मा लगाउने हो भने पाँचै वर्षमा हामी कहाँबाट कहाँ पुर्‍याइदिन्छौं ।“

सगरमाथाको टेन्डर लगाउने ? हैन यी व्यापारीहरू टाउकोमा के के लिएर हिंडेका हुन्छन् हँ ? म तीनछक परें । निजी क्षेत्रको सहभागिता, निजीकरण,  सार्वजनिक- निजी साझेदारीको उच्च रूप यस्तै पो हुने हो कि ? सगरमाथा कसैको लागि भावनाको कुरा होला, कसैको लागि व्यापारिक महत्त्वको कुरा पनि त होला ! मन्दिर पनि त हामी भक्त बनेर जान्छौं, हामीमाथि ग्राहकको रूपमा व्यवहार हुन्छ ।

“यी डाँडाहरू नै हेर्नुस् न ! सबै काटेर बङ्गलादेश पठाइदिए हुन्छ । के काम छ यसको ? समस्या भएर बसेको छ । उता पठाउन सके पैसा आउँछ ।“

प्रकृतिमाथि गरिने कुन व्यवहार उपयोग हो, कुन दोहन हो र कुन शोषण हो मलाई अझै अलमल छ ।

“प्राकृतिक स्रोत नेपालमा मनग्गे छन् समुचित उपयोग गर्न सकिएको छैन ।“ म यहाँभन्दा अगाडि बढ्न सकिन । सगरमाथाको ठेक्का र महाभारतको बिक्री मलाई हजम भइरहेको थिएन । तर झुसिलो डकारको लागि समय र सन्दर्भ पनि मिलिरहेको थिएन ।

“नीतिगत एकरूपता छैन । सरकार परिवर्तन भएर पनि कठिनाइ भएको छ । राम्रो हो तर जोखिम धेरै छ ।“ म यस्तै कुरा गरेर उनको गफलाई साथ दिइरहेको थिएँ । सँगसँगै उनको नयाँ र उर्वर विचारबाट आश्चर्यचकित पनि भइरहेको थिएँ ।

हामी काठमाडौं आइपुग्यौं । “सरको बसाइ कता हो ?” उनले सोधे ।

“रातो पुलमा बस्छु ।“ मैले जवाफ दिएँ ।

“कस्तो राम्रो ! सँगै जाउँ । म सरलाई रातो पुलमा छोडेर न्यूरोड जान्छु ।“

मलाई कार्यालयले मोटरको सुविधा दिँदैन । काठमाडौंको एयरपोर्टमा बस आउँदैन । अफिसले दिने ट्याक्सी खर्चको बलले ट्याक्सीको ढोका तान्न सकिन्न । बरू यिनको मोटरमा रातो पुल गएँ भने त जोखिएको ट्याक्सी खर्चले सागको ठाउँमा सिमी खान पुग्छ ।

“भैहाल्छ नि ।“ मैले सेतो झण्डा ठड्याएँ ।

“सर भाइबर चलाउनु हुन्छ नि !” मोटरमा बसिसकेपछि उनले जिज्ञासा राखे । चलाउँथे, स्वीकारोक्ति दिएँ । फोन नम्बर आदान प्रदान भयो ।

“सुन त, श्याम ! सरले भनेको ठाउँमा पुर्‍याऊ त पहिले ।“

यो दुनियाँ केही समय मेरो निर्देशनअनुसार चलेझैं लाग्यो ।

एक दिन उनले एउटा रेस्टुराँमा बोलाए ।

“धनगढीमा त्यति लामो गफ गरियो तर एक कप कफी पनि सँगै खाइएन । सरसँग कफी खान मन छ ।“

“भैहाल्छ नि ।“

“सरको अफिस नक्साल हैन त ? आज मुनलाइट क्याफेमा भेटौं न । सरको पाँच बजे छुट्टी हुन्छ होला । साढे पाँचमा भेटौं ।“

“हुन्छ नि । मैले धनगढीबाट आउँदा लिफ्ट लिएको थिएँ । नाइँ भन्ने हैसियतमा आफू भएजस्तो मलाई लागेन ।”

म त मोफसलबाट अझ अर्कै प्रकृतिको कार्यालयबाट सरुवा भएर आएको कर्मचारी । यस्तो भेट वार्ता र छलफलको मलाई पटक्कै आदत थिएन । तर जाँदा मात्र त बिग्रने केही थिएन ।

जाँदा मात्र त बिग्रने केही थिएन भन्नु अर्धसत्य हो । त्यो मलाई थाहा छ । यस्तै गतिविधिले चिप्लेटीको मुखमा मान्छेलाई पुर्‍याउँछ र चिप्ल्याउँछ । यस्तो चिप्लेटीमा पुगेपछि नचिप्ली बस्न सकिन्न । त्यहाँ पुग्न सकिन्छ तर टिक्न सकिन्न, चिप्लिहालिन्छ । मान्छेलाई फसाउनु भनेको यही चिप्लो भिरमा पुर्‍याउनु नै हो । त्यसपछि मानिस आफैं फस्छ, फस्दै जान्छ ।

यो चिप्लो भिरप्रति सबैको आकर्षण हुन्छ । त्यसैले संसारका महात्माहरू चिप्लो भिरबाट हामीलाई तर्काउन खोजिरहेका छन् । दुरात्माहरु चिप्लो भिरतिर बोलाइरहेका हुन्छन् । सायद मेरो अन्तरमनमा पनि सगरमाथाको ठेक्का खोल्ने इच्छा थियो कि ?

उनी आइसकेका रहेछन् । हलमा नै पर्खेर बसेका रहेछन् । म पुगेपछि हामी क्याबिनतिर लाग्यौ । मलाई त कफी बेच्ने पसल यति ठुलो र सुविधासम्पन्न हुन्छ जस्तो पनि लागेको थिएन ।

“बसौं । के लिउँ ?” उनले सोधे ।

“कफी खाऊ न । भैहाल्छ नि । अरू के खानु र !“ अरूले पैसा तिर्नेगरी खान बोलाएको ठाउँमा फर्माइस गर्नु ठिक लाग्दैन मलाई ।

“आज लगातार मिटिङ भएर मैले नै दिउँसो केही खान भ्याएको छैन । खाउँ न केही । पनिर पकौडा र मम खाउँ न हुन्न ? कफी त्यसपछि लिउँला । कि के गरूँ ?”

“भैहाल्छ नि ।“ कहाँसम्म ‘भैहाल्छ नि’ भन्न सकिन्छ भन्दै जाउँ न ।

“अब मुख्य विषयतिर नै जाऊँ । हेर्नू न ! सुनको व्यवसायमा यी बैंकहरूको दादागिरी भयो। यिनले मात्र आयात गर्न पाउने नियम छ । यी बैंकले कसरी पुर्‍याउँछन् मेचीदेखि महाकालीका सुन पसलमा सुन । सम्भवै छैन । अब सुनको आयात र वितरण व्यवस्थापना अरू कम्पनीलाई पनि दिने व्यवस्था गर्नुपर्‍यो । बैंकहरूको दादागिरी बन्द गराउनु पर्‍यो । खुला बजार भनेपछि सबैले सबै कारोबार गर्न पाउनु पर्‍यो नि । संरक्षणवाद त रहनुभएन । यहाँ त रह्यो ।“

यो विषय मेरो समझभन्दा बाहिरको थियो । तर कुराकानीको सुरूमा नै अज्ञानता दर्शाउन मलाई मन लागेन ।

“यो त राष्ट्र बैंकले पो हेर्छ क्यारे ! डलर र सुन उस्तै हो । डलर सटही सुविधा दिएको त छ तर निकै बन्धन पनि छ । सुन आयातको लाइसेन्स त व्यापारीलाई नदेला । अलि अप्ठेरै होला ।“ मैले आफ्नो धारणा राखें ।

“अप्ठेरोलाई सजिलो पार्ने उपाय खोज्न त हामी यहाँ भेला भएको नि । पहिले कम्पनी खोल्नुपर्‍यो सुन आयात र थोक मूल्यमा बिक्री वितरण गर्न भनेर । त्यसपछि राष्ट्र बैंकमा दबाब बढाउनु पर्छ । सबै काम तपाईंले मात्र गर्नुपर्दैन । हामी मिलाउँछौ नि, माथितिर, दायाँबायाँ । हामी कम्पनी दर्ताको लागि निवेदन हाल्छौं । तपाईंले अघि बढाइदिनुपर्‍यो ।“

“सोझै त कसरी होला र । प्रबन्धपत्रमा सुन देख्नेबित्तिकै राष्ट्र बैंकको सिफारिस माग्नु परिहाल्छ ।“

“धनगढीबाट आउँदा आकासबाट काठमाडौं देख्नुभयो नि । ठुलो उपत्यका, घरैघर । ठुला घर, अग्ला घर, चम्किला घर । तीमध्ये नब्बे प्रतिशत घर कानुनको दफाहरू मिचेर बनाइएको हो । यहाँ घरघडेरी जोड्ने अरू के उपाय छ र ? तपाई पनि हामीसँग जोडिनुस् । आफ्नो घर व्यवहार पनि मिलाउनुस् । छोराछोरी पढाउन भनेर भरखर काठमाडौं आउनुभएको छ । सजिलो छैन काठमाडौंको बसाइ । मिलेर काम गरौं ।“

“हुन त हो तर मलाई यो सब गर्न सकिन्छ भन्ने कुरामा विश्वास नै भइरहेको छैन ।“

“हाम्रो टिमले धेरै काम गरिरहेको छ । कसैलाई नभन्नु होला । तपाईंलाई थाहा छँदैछ, यस्ता कुरामा गोप्यता कायम रहन सकेन भने तपाईंकै सुरक्षामा खतरा हुन्छ ।  सुनको कारोबार म हेर्छु त्यसैले मैले तपाईंसँग यो प्रस्ताव राखें । धनगढीमा हाम्रो भेट पनि त्यही प्रसङ्गमा भएको थियो । सुन छ एकातिर, ग्राहक छन् अर्कोतिर । गाह्रो छ । स्वामित्त्वको ठेगान नलागेका जग्गा पनि प्रशस्तै छन् नेपालमा । तिनलाई उपयोग गर्न अर्को टिम खटिएको छ । अब चाँडै तपाईंले जग्गाको स्वामित्व कामय गर्ने सम्बन्धी कुनै निर्णय पनि सुन्नुहुनेछ । भुटानमा बस्ने नेपाली अमेरिका जान पाउने अनि नेपालमा बस्ने नेपालीचाहिँ अमेरिका जान अमेजनको जङ्गल चाहार्नुपर्ने  ? यसमा पनि बाटो खोल्ने प्रयास गर्दैछौं । सूचना र सञ्चार प्रविधिको क्षेत्रमा ठुलाठुला ठेक्का खुल्दैछन् । सबैजसो पार्टीको मौन समर्थनमा यो सब भइरहेको छ । तपाईं ढुक्क हुनु न । हो, हाम्रो समूहमा म प्रमुख मानिस होइन । तर प्रमुख नहुँदैमा कोही महत्त्वपूर्ण नहुने होइन । कुनै पनि सिक्रीको शक्ति त्यसको सबभन्दा कमजोर कडीको आधारमा आकिन्छ । त्यसैले हामी कसैलाई कमजोर छोड्दैनौं ।“

“हुन त हो तर …. …. ।“ म अलमलिएँ ।

“यसमा अलमलिने र डराउने कुरै छैन ! नेपालको राजनीति र कर्मचारीतन्त्रमा हाम्रो राम्रो पकड छ । सरुवा, बढुवा, पदस्थापनमा पनि हामीले सहयोग नै गर्ने हो । राम्रो मानिसलाई माथि पुर्‍यायो भने राम्रो हुन्छ । हुन त सरकारी सेवामा नराम्रो मानिस आउनै सक्दैन । स्कुल कलेजमा राम्रो गर्नेहरूले नै लोक सेवा पास गरेर जागिरमा आउँछन् । हामी त राम्रो मानिसलाई झन् राम्रो बनाउने हो सर ! कसैलाई किन सधैं सुविधाजनक ठाउँ, किन कमाउने अफिस, किन अवसर नै अवसर ? बुझ्नुभएको छ यो कुरा ? हामीले मिलाउँछौ सबै । तपाईं उसै तर्किनुहुन्छ । हामी त पारसमणि हौं । फलामलाई सुन बनाउँछौं । तपाईं त आफैं सुन हुनुहुन्छ । पछि के के हुनुहुन्छ के के !“

मैले जिल खाएको थिएँ त्यति वेला । त्यस्तो पनि हुन्छ र ? मोफसलमा लामो समय बसेर काठमाडौं आएको हुनाले मैले यो नबुझेको हुँ कि यिनले मलाई गफ दिइरहेका छन् ?  म घोर आश्चर्यमा परें ।

“ठिक छ त । के गर्न सकिन्छ हेर्छु ।“  अरू के भन्न सक्ने ठाउँ बाँकी थियो र ?

“के भयो सर ? काम कति अघि बढ्यो ।“ उनले फोन गरेका थिए ।

“श्रीमतीजीलाई काठमाडौंमा उकुसमुकस भयो रे ! बस्न सक्दिनन् रे ! म त फेरि सरुवा मिलाएर जिल्ला नै फर्किने भएँ सर । यस्तै भयो ।“  मैले जवाफ दिएँ ।

“ए ल ठिक छ त । सरको विचार ।“

फलाममा पारसमणि छुवायो भने त्यो फलाम सुन हुन्छ रे ! मेरो विचारमा पारसमणि एउटा काल्पनिक मणि हो । फलाम कहिले पनि सुन हुन सक्दैन । मलाई नै हेर्नू न !

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *