“अब त्यो पनि त्यस्तो निस्क्यो । हरे शिव ! मेरो भाग्य खोटो ।” कोइराल्नी बज्यै भुतभुताई रहेकी थिइन
“के भएर भाग्य खोटो भयो ? म मरेँ ?” कोइराला बाजे पनि रन्किए ।
“त्यसो नभन्नुस आमा, त्यस्तो नराम्रो नमान्नुस् । केही त भएको छैन । सबैलाई राम्रै त छ ।” छोरी रमिलाले सम्झाइन् । उनी पनि भरखरै माइत आइपुगेकी थिइन् ।
“तँलाई पहिला नै यो कुरा थाहा रहेछ त । मलाई अलि पहिला भन्नु पर्दैन ?” उनी छोरीसँग पनि झर्किन् ।
“पहिला भनेको थिएँ नि । तपाईंले छेउ पर्न दिनु भएन । त्यसपछिका कुरा त मलाई पनि के थाहा र ?” उनले सफाइ दिइन् ।
कोइराल्नी बज्यैको कानमा रमिलाले यस कुराको भनक पहिला पनि पारेकी थिइन् । ‘आमा, हाम्रो रमेशको त सँगै पढ्ने नेवार केटीसँग पो हिमचिम छ रे त !’ भनेर । कोइराल्नी बज्यैले सुरुमा ‘हाम्रो रमेश त्यस्तो छैन, उडन्ते कुरा होला, छोरी’ भनिन् । एकछिन पछि ‘अल्लारे उमेर छ, सँगै पढ्ने केटीसँग यसो बोल्यो होला, जोरीपारीले त्यही कुरा काटेका होलान नि !’ भनिन् । अनि लामो सास तानेर ‘अजातकी केटीसँग बिहे ग¥यो भने त त्यसको खुट्टा भाँच्छु’ पनि थपिन् । ‘त्यसो नभन्नुस है आमा ! जुग जमाना खराब छ । तपाईंका पालाको समय छैन ।’ भनेर रमिलाले त्यतिबेला आमालाई अलिकता हच्काएकी थिइन् पनि ।
तर कोइराल्नी बज्यै हच्किनन् । ‘जमाना केही फेरिएको छैन । पानी उकालो अहिले पनि बग्दैन, आगो चिसो अहिले पनि भएको छैन । मान्छे मात्तिएका छन्, कलि लागेको छ । त्यत्ति हो ।’ बज्यैले कुरा सकिन् । रमिला चुप लागिन् । आमाको यो धारणा थाहा पाएपछि रमेशले पनि कुरा उप्काएन ।
त्यो कुरा घरमा प्रकट नभए पनि भित्रभित्रै फैलिइरहेको थियो । उनीहरु बिहे गर्ने निर्णयमा पुगिसकेका थिए । दर्ता विवाहका लागि रमेश कोइराला र सरिता तुलाधरले पहिले नै निवेदन गरेका रहेछन् । अनि विवाहकोे प्रमाणपत्र लिएछन् र गुह्येश्वरीमा गएर सिंदूरटीका गरेछन् । बिहेमा मामालाई बोलाएको रहेछ । घरको स्वीकृति नभएको थाहा पाएपछि मामा पनि गएका रहेनछन् । साथीभाइका माझमा उसले बिहा गरेछ । त्यसपछि उनीहरु सोझै जेठीसासुले लोकन्थलीमा मिलाएको डेरामा गएर बसेछन् । यो सबै आजै भएको रहेछ । गुपचुप रुपमा अघि बढेको प्रेम सम्बन्ध प्रकाशित हुँदा धेरैका आँखा तिरमिराएका रहेछन् ।
“अब भयो आमा । अहिलेको जमानामा यो चलेकै छ । अहिले उतै बसून् । अलि बारपछि यो सब साम्य हुन्छ अनि बोलाउनुपर्छ ।” रमिलाले आमालाई नरम पार्न खोजिन् ।
“हामी बाहुन हौं, त्यो पनि उपाध्याय । यहाँ, रामेछाप र जनकपुरमा हाम्रो कत्रो इज्जत छ । कस्ता कस्ता मानिसले छोरी दिन आएका थिए । ऊ भने जातभात केही नहेरी बिहे गर्ने । बिहे गर्ने केटी हेर्न नमान्ने, विदेश जान्छु अनि बिहे गर्छु भन्ने कारण त यस्तो पो रहेछ । म छउन्जेल भित्र्याउँला भन्ने नसोचे हुन्छ, भन्द्या छु ।” बज्यैको राम शान्त हुने छाँट देखिएन ।
कोइराल्नी बज्यैलाई लागेको थियो छोराले वचन काट्दैन । आमाको बचन आजसम्म काटेको थाहा पनि छैन । सानैदेखि सोझो र इमानदार थियो रमेश । स्कुल र कलेजमा पनि उसले केही उपद्रो गरेको थिएन । कुनै कुलत पनि थिएन । कलेजपछि बैंकमा काम गर्न थालेको थियो । आफ्नो पाकेट खर्च छुट्याएर पैसा पनि घरमा दिन्थ्यो । जेठो छोरो सुरेश छुट्टिएपछि उसले व्यवहार पनि त हेर्नु प¥यो । कोइराला बाजे रिटायर भएर बसेका थिए । अब उनी आर्थिक जीवन होइन, धार्मिक जीवन बिताउन थालेका थिए । दिनैपिच्छे पशुपति जान्थे, भजनकीर्तनमा उनको समय बितिरहेको थियो । आमा छोरा सरसल्लाह गरेर घर व्यवहार चलाउँथे । बाहालमा कसलाई राख्ने, कसलाई निकाल्ने, चाडपर्वको खर्च कसरी मिलाउने, रामेछापको जग्गा कसलाई कुन शर्तमा कमाउन दिने, जनकपुरको घरको व्यस्थापन कसरी गर्ने आदि विषयमा आमाछोराको सल्लाह हुन्थ्यो । रमेश व्यवहारिक पनि थियो । तर उसले यस्तो काम आज एक्कासि कसरी ग¥यो ? बज्यै अचम्मित र आक्रोशित थिइन् ।
“अनि हामी घर कहिले जाने ? तिमी आमासँग कुरा गर न । बुवासँग कुरा गर । भागेर बस्नु पर्ने गरी हामीले अपराध त गरेका छैनौं नि हैन र ?” सरिताले कुरा उठाइन् ।
“यो बसाइमा के नराम्रो छ र ? शुभचिन्तकहरुबाट घरको खबर पाइएकै छ । उता सबै राम्रै छ । केही अप्ठेरो भए बिचार गरौंला । आफ्नो घर हो जाऔंला बिस्तारै ।” रमेशले कुनै गम्भीरता देखाएन । उसका कानमा शायद आमाका पुराना वचन घन्किरहेका थिए र नयाँ खबर पनि उत्साहजनक थिएनन् ।
“परिवार हो, आफन्त पनि चाहिन्छ । अपनत्व पनि चाहिन्छ । जति समय बित्दै जान्छ उति मानिस आफ्नो विचारमा अडिग हुँदै जान्छ । कसैको अनुपस्थितिमा पनि व्यवहार चल्न थालेपछि उसको चाहना पनि घट्दै जान्छ, दुःख पनि बानी परेपछि सामान्य हुँदै जान्छ । दाजु पनि छुट्टभिन्न भइसक्नु भएको छ । तपाईंको खाँचो छ घरमा ।”
“खाँचो भए बोलाउनु होला । मैले त नबोलाई जान्न भनेर भनिसकेको छु, रमिला दिदीलाई । हिजो भान्जा आएका थिए अफिसमा भेट्न । उनलाई पनि त्यही भनेर पठाएँ । ती त पक्कै मुख सुघ्न आएका हुनुपर्छ आमा वा रमिला दिदीले पठाएर ।”
“उहाँहरु भनेको आमाबाबु हो । हामीले क्षमा माग्नु पनि पर्छ । जातपात हाम्रो नजरमा गलत होला, उहाँको नजरमा त त्यही साँचो हो । मलाई त घर चाहिन्छ परिवार चाहिन्छ । यो त आपतकालीन व्यवस्था मात्र हो । हामीले परिस्थितिसँग सम्झौता गर्दै राम्रो हुन्छ ।”
“अहिले तिमी सम्झौताको कुरा गछ्र्यौ । तिमीलाई नै सम्झौता गर्न गाह्रो हुन्छ, त्यहाँ । एउटा पोजिसन बनाएर बस्नुपर्छ र उहाँहरुले पनि मन बदलेपछि मात्र जानुपर्छ । तिमी आफूलाई बाहुनकी छोरी बनाउन सक्दिनौ तर आमा त आफ्नो सोचाइमा परिवर्तन ल्याउन सक्नुहुन्छ नि । तिमी यो कुरा उठाउदै नउठाऊ । मलाई आफ्नो कर्तव्य थाहा छ, जे गर्नुपर्छ म गरौंला ।”
“यहाँ यत्रो घर खाली मरिरहेको छ । लोकन्थलीमा दुइटा कोठा भाडामा लिएर बसेको छ रे । छोराको बिहे गरौंला र यो तलामा राखौंला भनेर रंगरोगन गरेर भाडामा पनि नलगाई खाली नै राखेको । आफू ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो भनेको यही रहेछ ।” कोइराल्नी बजै गनगनाइन् ।
“जसको भाग्यमा जे छ त्यही छ, त्यही पाउने हो । हाम्रो भाग्यमा यस्तो लेखेको रहेछ यस्तै भयो, उसको भाग्यमा त्यस्तो लेखेको रहेछ, त्यस्तै भयो ।” कोइराला बाजे शान्त देखिए ।
“त्यसो भनेर हुन्छ ? आफ्नो छोरो होइन ? छोराले बिहे गरेर ल्याएपछि अब आफ्नी बुहारी भइन ? त्यसले पनि अब घरमा आऊँ भनेर सोध्नु पर्ने होइन ? टेक पनि कति लिन सकेको ? कोसँग भन्दा आमाबाबुसँग ?” बज्यैको गनगन सकिएको थिएन ।
“हजुरले पनि कहिले खुट्टा भाँच्छु भन्ने कहिले म छउन्जेल नभित्र्याओस भन्ने । अनि के गरोस् त ?” रमिलाले भनिन् ।
“त्यो बेला त मनमा भुइँचालो गएको थियो, भने हुँला । मान्छेको मन सधैं एकनास हुन्छ ? मनमा हरि भए पो अर्काको मनको कुरो बुझिन्छ । आफ्नो घर हो त आफ्नो मानेर आए हुँदैन । मैले त भने रे । तैले मिलाउनु पर्दैन ? भाइ होइन तेरो ?” बज्यै रमिलामाथि खनिइन् ।
“ए रमिला ! भन्दे रमेशलाई घर जा भनेर । आमाको कुरो सुनिहालिस् । समयले जित्यो । उनीहरुले जिते । युरोप अमेरिकामा जानेले उतैका केटी पनि बिहे गरेका छन् । त्यहाँ त जात मात्र होइन धर्म पनि मिलेको हुँदैन । दुनियाँले हाइहाइ गरिरहेकै छ । हाम्रै आफ्नो समाजमा भने के को उँचनिच ? कि सबैलाई अलग गर्न सक्नुप¥यो । खै त गरेको देखिएन ?” कोइराला बाजेले निष्कर्ष दिए ।
“हुन्छ बुवा म भोलि रमेशलाई घरमा बोलाउँछु । उनीहरुको विचार के रहेछ, बुझ्छु ।”
“भोलि त बानेश्वर जाने । तिमीलाई कस्तो लागि रहेको छ ?” साँझको खाना खाएपछि रमेशले सरितालाई सोध्यो ।
“कस्तो लाग्नु र ? म त यो दिनको पर्खाइमा नै थिएँ । तिमीलाई घर जानुपर्छ भनेर मैले पहिले पनि भनेकै थिएँ ।”
“जान त जानै पर्छ, आफ्नो घर हो तर तिमीलाई अप्ठेरो हुन्छ बुझ्यौ । यु ह्याभ टु टोलरेट अल दोज थिंगस् (तिमीले धेरै कुरा सहनुपर्छ) ।
“मतलब….?”
“आमाबुवाले तिमीले पकाएको खानुहुन्न । तिमी पूजा कोठामा पनि जान पाउन्नौ, सायद । यसले तिमीलाई नराम्रो पनि महसुस गराउँछ । र सायद यसमा म केही मद्दत गर्न सक्दिन । उहाँहरुले जीवनमा एउटा चिजमा विश्वास गर्नुभयो, म उहाँहरुलाई आफ्नो आस्था तिलाञ्जली दिन म कसरी भनौं ?”
“यी सबमा भिज्न म मानसिक तयारी गरिरहेकी छु । आफूले गर्न मिल्ने कामको लेखाजोखा पनि गरिरहेकी छु । तिमीलाई भनौं, मैले माछामासु नखाने निर्णय गरिसकेकी छु । अब म शाकाहारी हुन्छु । म पनि रामेछापका कोइरालाकी बुहारी पो हुँ त !”
“तिमी त कोइरालाकी बुहारी भइहाल्यो नि ! म पो अष्टरत्नको ज्वाइँ परेँ त ! अनि अब मैले बफ मम खान छुट्टै साथी खोज्नुपर्ने भयो त ?”
“तिम्रो खुशी …..। अँ, तिमीलाई पनि म बानेश्वरको घरमा ‘हजुर’ भन्छु र तिमीलाई प्रयोग गर्ने भर्बमा (क्रियापदमा) ‘स्योस्’ पनि लगाउँछु । सुन्न तयार होऊ है । बाइ द वे (साँच्चि) यसरी बानेश्वर पुगेपछि तिम्रो हैसियतमा पनि अच्छाखासा बढोत्तरी हुनेवाला छ ।”
“अरु केही छ ?”
“बाँकी यथावत् ।”
“म त आज भात पकाउन सक्दिन जस्तो छ । रातिदेखि टाउको दुखेको थियो । अहिले त ज्वरो पनि छ । कस्तो जिउ कामेको ?”
“रमिला दिज्यूलाई बोलाउँ त माँ ।”
“फोन गरन त फुर्सद छ कि त्यसलाई ।”
……. . … .. …. . …………… . .. .. .
“रमिला दिज्यू त भिनाजुुसँग पलाञ्चोक भगवती जानु भएको रहेछ । साँगा भन्ज्याङ कटिसक्नु भएको रहेछ ।”
“बाउ चाहिँलाई पनि घरका मान्छेको सन्चो बिसन्चोको केही वास्ता छैन । पशुपति जाने भन्यो, हिँड्यो । नजानु भनेको होइन यसो घर व्यवहार पनि त हेर्नुप¥यो ।”
“अरु कसैलाई बोलाउँ त आमा ? उहाँको पनि यसै बेला वीरगंज जाने काम प¥यो ।”
“घरमै हुनेको त यो ताल छ । बाहिर जानेको के कुरा गर्नु ?”
“के गरुँ त माँ ?”
“अब तिमी नै भात पकाऊ । भात बसाल्नुभन्दा अघि अलिकति घिउ हाल्नु है ।”
“पकाउँ त माँ ।”
“पकाऊ ।”
“बुवाले पो के भन्नु हुने हो ।”
“पकाएर त हेर । पहिले मलाई एउटा ज्वरोको गोटी खान देऊ ।”
“म त रमिला नानीले पठाएर आएकी । यहाँ आएर खाना बनाइदिनु भनेर फोन गर्नुभा’थ्यो ।”
“खाना बनाउन यति बेला आउने हो त, माइली ?”
“हैन, म त बत्तीस पुतली गएकी थिएँ । बस्नेत काजीले बोलाउनु भएको थियो र । फर्कंदा फोन आएको खबर पाएर आएकी । बज्यैलाई सञ्चो भएन रे । अनि बाबु पनि बाहिर हुनुहुँदो रहेछ ।”
“हो त, मलाई टाउको उठाउन पनि भएन । औषधि खाएपछि अहिले यसो बोल्न सक्ने भएकी छु । बुहारीले नै बनाइन् खाना ।”
“हजुर के खानु हुन्छ त ? अनि बाजेले के खानु भयो ?”
“बाजेले त बुहारीले बनाएको खाना नै खानु भयो । ‘बुहारीले पकाएको नखाए कसले पकाएको खानु त’ भन्नु भयो । म बिरामी भएको हुनाले आज बुहारी पनि अफिस गएकी छैनन् । मलाई अहिले खान मन छैन । दिउँसो रोटी बनाउन लगाउँला । जिउ रहे पो धर्म । फेरि मर्ने बेलामा खानै पर्ला । आज पाखुरामा शक्ति हुन्जेल यसो र त्यसो भनेर के गर्नु ? मैले त मन बुझाउँदै ल्याएँ, जुग जमाना पनि यस्तो आयो ।”
“हो पनि बज्यै । फेरि बज्यैकी बुहारी कति जाती छन् । पढेकी र जागिरे भए पनि घर व्यवहारमा कति मन लगाउँछिन् । उनको रुपरंग, शील स्वभाव, काम व्यवहार हेर्दा कसैले पनि उनलाई बाहुनकी छोरी होइनन् भन्दैनन् । माछामासु खान्नन् रे । कस्तो राम्रो । जहाँ जन्मे पनि बाहुनकै बुहारी हुने गरी जन्मेकी रहिछन् । नत्र अहिले माछामासु नखाने मान्छे कहाँ पाइन्छन् ? कस्तो कस्तो अभक्ष्य खान थालेका छन्, आइमाई जातले पनि ।”
“हो त नि ।”
“एउटा कुरा भनौ बज्यै । रिसाउनु त हुन्न ?”
“भनन ।”
“दुलही नानीको नाकमा फुली नदेख्दा भने मन झस्कँदो रहेछ । यी नानीको पनि कस्तो राम्रो मुहार छ । नाकमा फुली लाए त झन् कस्तो राम्रो देखिन्थ्यो होला । त्यति भए त कसलाई के थाहा र ? फुली लगाउन भन्नुस् न बज्यै । मान्छिन् होला नि हजुरले भन्नुभएपछि त ।”
“म त केही भन्दिन माइली । जे मन लाग्छ गरुन् । आफ्नो चित्त बुझाउन अरुको चित्त दुखाउन पनि भएन । बुढेसकालमा त मान्छे धेरै कमजोर पो हुँदो रहेछ, बाबै ।”
“केही कमजोर हुनुहुन्न हजुर ! साथमा छोरा बुहारी छन् । छोरी ज्वाइँ छन् । नातिनातिना छन् । आपत परेपछि जेठा छोराबुहारीले पनि नाकको चालले हेर्नुपर्छ । दूधको भारा लाग्दैन तिनीहरुलाई ? मान्छेको जुनी होइन यो ?”
“खोइ के भनौ र ? जेठा छोरा बुहारी पनि भोगियो । कान्छाकान्छीको व्यवहार पनि देखिँदै छ । जेठी बुहारी त आफैंले हेरेर सरसल्लाहले बिहा गरेर ल्याएकी । जातपात मिल्ने कुलघरान मिल्ने । सबै मिल्यो मन मिलेन । छुट्टिएर गए । अहिले यी आइन्, जात मिल्दैन । अरु नराम्रो केही लागेको छैन । फेरि दुवै बुहारी सहिँन भने म नै खराब भन्ने त देखिन्छ नि ! अब ईश्वरले जे जुराउँछन्, जे दिन्छन्, त्यही हात थाप्यो, बस्यो ।”
“हा,े त्यो पनि । हस् त बज्यै । म गएँ । फेरि केही काम भए बोलाउनु होला क्यारे ।”
“माइली दिदी, आफ्नै बारीको रायोको साग छ, लानु हुन्छ ? एक छाक पुग्ने त छ होला ।” सरिता पल्लो कोठाबाट बाहिर आइन् ।
“देऊ न त नानी । आफ्नो बारी छैन । बजारभाउ छोइसक्नु छैन ।”
“तिमी अफिसबाट कति बजे निस्कन पाउँछौ ?”
“मलाई ‘हजुर’ भन्छु भनेको होइन ?”
“त्यो त माँको अघि, बुवाको अघि, अरु मान्छेको अघि पो हजुर त । अरु बेला त आशा नगर । मलाई यहाँ ‘हजुर’ कस्तो गाह्रो भइरहेको छ । उसलाई भने घरिघरि ‘हजुर’ लगाउनु पर्ने रे ! भनन, कति बेला छुट्टी पाउँछौ भरे ?
“चार बजेसम्म त अफिस टाइम नै भयो । वीरगंज गएकाले केही बाँकी रहेका काम पनि गर्नु छ । किन र ? जरुरी छ भने आइ विल म्यानेज (म मिलाउँला) ।”
“जरुरी छ, भरे सबा चार बजे विशाल बजार आउन । म आइपुग्छु त्यति बेला ।”
“तिमीले जरुरी भनेको भरमा चाहिँ म काम छोड्न सक्दिन । अहिले त झन् व्यस्त छु । काम बताऊ ।”
“काम बताउन चाहिँ गाह्रो छ । यदि यो काम जरुरी रहेनछ भने चाहिँ म फेरिफेरि तिमीलाई जरुरी छ भनेर बोलाउन्न, यो चाहिँ वचन भयो ।”
“म तिमीलाई साँढे तीन बजे फोन गर्छु । बैंकको जागिर हो, बचन दिन सक्दिन । केही लफडा भयो भने चाहिँ आउन पाउँदिन है ।”
“ठिकै छ ।”
“सारी ?”
“होइन ।”
“के मलाई सुट हो त ?”
“त्यो त झन् होइन ।”
“अब साँचो भनौ ?”
“भन त ।”
“गहना हो ?”
“कसरी थाहा पायौ ?”
“यो त पहिलो पटक नै भन्ने विचार गरेको थिएँ । गहना त चाहिहाल्यो नि ! तर तिमीले भरखरै पनि बनाएकी थियौ, त्यसैले नभनेको मात्र हो । तर गहना किन्न पनि सरप्राइज दिएर हुन्छ त, पैसा चाहिन्न ?”
“खासै चाहिन्न ।”
“गहना हो तर पैसा भने नचाहिने ? के नक्कली ।”
“नक्कली होइन ।”
“अनि सुनको गहनालाई पैसा पर्दैन त ?”
“सुनको गहनालाई त कति पैसा पर्ला र ? म त हीराको लगाउने विचारमा छु ।”
“ओ, हीरा ? यस्तो महँगो ठट्टा चाहिँ नगर है मसँग । भरखर त जागिरे जीवन सुरु गरिएको छ । तिमी पनि कमाउँदैछौ । हीरा पनि लाउली तर अलि पछि ।”
“चिन्ता नगर । आइ वान्ट ए नोज पिन ओन्ली (म फुली मात्र लगाउने हो) ।”
“नोज पिन ? मतलब तिमी फुली लगाउने ?”
“हो , तिमी साँचो सुनिरहेका छौ ।”
“मैले नेवारी संस्कृति सम्बन्धी केही लेख पढेको छु । नेवारी संस्कृतिमा फुलीलाई राम्रो मानिन्न । यसलाई त दासताको द्योतकको रुपमा पो लिइन्छ । तिमीलाई यो सब थाहा छ । मलाई भन, के तिमीलाई आमाले फुली लगाउन भन्नु भयो ?”
“यो मेरो आफ्नो विचार हो । आमाले केही भन्नु भएको छैन । म फुली लगाउँछु । मलाई विश्वास छ, मलाई फुली सुहाउँछ ।”
“तिम्रो नाक त छेडेको छैन ।”
“त्यो नोज पिन लेखेको पसलमा जाउँ न । फुली पनि पाइन्छ, मेसिनले नाक पनि छेडिन्छ ।”
“तिमी सोच विचार गर । छेडेको नाक फेरि जस्ताको तस्तै हुँदैन । म तिमीलाई तिम्रो आस्थाको विरुद्धमा कुनै काम गर्न बाध्य पार्दिन र अरुले बाध्य पारुन् भन्ने पनि चाहन्न । तिमी अहिले घर फर्क । एक हप्ता सोच अनि अर्को हप्ता नाक छेड ।”
“हामी अरु बदलिउन् भन्ने चाहन्छौं तर आफू बदलिन कति गाह्रो मान्छौंैं । आमाबुुवाले हामीलाई भित्र्याउनु भयो । समाजमा प्रतिष्ठित गराउनु भयो । हामीले उहाँहरुको स्वीकृति बिना बिहे गरको, घरमा भित्र्याएपछि पार्टीको आयोजना गर्नु भयो । तिमी वीरगंज गएको बेलामा मैले पकाएको खाना पनि खानुभयो । उहाँहरु पुरानो जमानाको मानिस त यति बदलिनु भयो भने मलाई बदलिन किन कष्ट ? जातपात उहाँहरुको आस्था थियो भने फुली नलगाउनु मेरो आस्था । उहाँहरुले आफ्नो विचारमा कति परिवर्तन ल्याइसक्नु भयो । यस अवस्थामा म मात्र कसरी रिजिड (कठोर) रहन सक्छु ?
“तिमी माछामासुको कति सोखिन थियौ ? कति थरी परिकार बनाउँथ्यौ, कति मिठो मानेर खान्थ्यौ, खुवाउँथ्यौ । तिमीले पनि त माछामासु खान छोड्यौं । तिमी पनि त कति बदलिएकी छौ नि !”
“त्यो त कसले देख्छ र ? फुली त सारा समाजले देख्छ । आऊ नोज पिनले हामीलाई पर्खिरहेको छ ।”
“नाक छेड्दा दुख्छ नि, थाहा छ तिमीलाई ?”
“कमिलाले टोकेको जस्तो हुन्छ रे । मैले सोधिसकेँ ।”
