विराटनगरमा जागिर थियो । विराटनगरकै जामुनगाछी आसपास सानो घर थियो । छोराहरू सानै थिए । त्यही घर नै हामीलाई पर्याप्त थियो । सुदूर भविष्यतिर उति मन नडुलाउने स्वभावको हुनाले म आफूलाई विराटनगरमा स्थापित (Settle) भएको ठान्थें । सम्पत्ति थोरै भएर के भो त ? आकांक्षा पनि त धेरै थिएन । प्राप्ति र आकांक्षाबिचको अन्तर नै अभाव हो भने म त्यतिवेला उति अभावग्रस्त थिइन । सबै ठिकठाक चलिरहेको थियो ।
तराईमा मधेश आन्दोलनको लहर चल्यो । विराटनगर पनि मधेश आन्दोलनको राप र तापबाट पिल्सिन्छ कि भन्ने आकलन गरिएकाले होला विराटनगरभन्दा बिसबाइस किलोमिटर उत्तरमा रहेको इटहरीमा घडेरीको कारोबारले उचाइ लिइरहेको थियो । राजमार्गमा ओहोरदोहोर गर्दा इटहरी आसपासका सबैजसो धान खेतहरूमा प्लटिङ भएको देख्थें । जति साथीहरू भेट्थें सबैजसोले ‘इटहरीमा एक टुक्रो किनेको छु’ भन्थे । विराटनगरको घरजग्गा बेचेको पैसाले अन्यत्र कुनै सहरमा घरजग्गा किन्न सक्ने अवस्था थिएन । यसै कारणले पनि मलाई विराटनगरबाट पनि राजविराज वा जनकपुरबाट जस्तो मानिसको पलायन हुन्छ भन्ने लागेको थिएन । तर विराटनगरमा घरबास हुनेले पनि इटहरीमा एउटा टुक्रो किनिरहेका थिए ।
एक दिन इटहरी घुम्दै गएको वेला प्लटिङको विज्ञापनमा आँखा पर्यो । प्लटिङ व्यवस्थित थियो र कुनै कम्पनीले नै गरेको प्लटिङ थियो । मुना पनि सँगै थिइन् । कम्पनीका कर्मचारीसँग गफ पनि गरियो । स्कुल, क्याम्पस, क्लिनिक, बजार सबै त्यही प्लटिङमा रहने कुरा सुनियो । त्यहाँ एउटा टुक्रो किन्न पाए सबै समस्याको हल हुने देखियो । एउटा टुक्रो त किन्नु पर्छ भन्ने निष्कर्षमा हामी पुग्यौं । इटहरीमा घडेरी नकिनेर पछि परिसकिएको मनोविज्ञानले मेरो मनमा डेरा जमाइसकेको रहेछ । प्लटिङको नक्साको एउटा टुक्रामा बिक्री भइसकेको सङ्केत दिने गरी चेकमार्क लगाउन लगाएर चाँडै बैना गर्ने वचन दिई हामी विराटनगर फर्क्यौं ।
किन्ने नै भइसकेपछि किन ल्याङल्याङ गर्ने, बैना दिएर ढुक्क बनौं भन्ने सल्लाह भयो । भोलिपल्टै हामी फेरि इटहरी गयौं र एक लाख दिएर आयौं । पास गर्ने पैसाचाहिँ मसँग पर्याप्त थिएन । सञ्चय कोष सापटी लिनुपर्ने थियो र अझ नपुगका लागि बैंकमा कर्जाको लागि पनि प्रक्रिया अघि बढाउनु पर्ने थियो । पास गर्नका लागि केही समय हामीले पाएका पनि थियौं ।
मैले इटहरी बस्ने विचारले त्यो घडेरी किन्न खोजेको थिइन । ‘इटहरीमा यतिमा किनेको, अहिले यति भयो’ भन्ने हल्लाको पछि लागेर बढ्दो भाउबाट फाइदा लिने मेरो सोच थियो । छोरालाई प्लस टु पढाउने वेला आउन लागेको थियो । त्यतिवेलासम्ममा अलिकति नाफा खाएर त्यो घडेरी बेच्नैपर्थ्यो । घरजग्गा व्यापारको ‘बहती गङ्गा’ मा हात चोपल्ने विचार मात्र थियो मेरो ।
बैना गरेपछि भने परिस्थिति र मनस्थिति फेरियो । कसैसँग सल्लाह नगरी बैना गरे पनि कुराकानीको सिलसिलामा त्यो कुरा त बाहिर आयो नै । साथीहरूले चाहिँ त्यो निर्णयलाई सही मानेनन् । उनीहरूले त्यो ठाउँ इटहरीको मुख्य बजारबाट प्लटिङको ब्रोसरमा लेखेको दूरीभन्दा टाढा रहेको जानकारी दिए । प्लटिङको सबै जग्गा बिक्न लामो समय लाग्ने र ती सबै जग्गा नबिकुन्जेल आफूले नाफा लिएर जग्गा बेच्न नसकिने व्यापारशास्त्र पनि मलाई पढ्न पाएँ । जग्गा व्यावसायीहरूले सबैजसो राम्रा प्लटहरू बिकिसकेको भनेर चेकमार्क लगाउँदा रहेछन् । यथार्थमा भने ती प्लटहरू बिक्न बाँकी नै हुँदा रहेछन् । पछाडिका अपेक्षाकृत नराम्रा प्लट पहिला नै बिकाउनका लागि त्यो तिकडम गरिँदो रहेछ । समान्यतया यस्ता सबै प्लटहरू बिक्न तीन वर्ष जति लाग्ने अनुमान पनि ती साथीहरूले गरे ।
यसैंबिच नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा नियन्त्रण गर्ने नीति लिएको हुनाले घरजग्गाको भाउमा गिरावट आउन थाल्यो । घरजग्गा बिक्न नसकेको र भाउ घटेका समाचार बाहिर आउन थाले । मैले अपेक्षा गरेको समयमा मुनाफाका साथ त्यो जग्गा बेच्न नसक्ने देखियो । म त्यो जग्गा किन्न हच्कें । बैनाको लागि एक लाख त हातबाट फुत्किसकेको थियो । तर एक लाख गयो भनेर अरू पनि पठाउन मलाई मन लागेन । बरू त्यो एक लाख फिर्ता लिन मैले कोसिस गर्न थालें ।
त्यो जग्गा लिन नसक्ने भएँ भनेर फोन गरें । उताबाट बैना फिर्ता गर्दा कमिसन काटिने जानकारी आयो । बैनाको सर्तनामामा नै बैना फिर्ता गर्नुपरे दुई प्रतिशत कट्टा हुने कुरा लेखिएको थियो । त्यसको जानकारी त मलाई थियो । तर कुन रकमको दुई प्रतिशत ? मैले दिएको बैना रकम एक लाखको दुई प्रतिशत कि जग्गाको पूरा मोलको दुई प्रतिशत ? कुरो स्पष्ट थिएन । मैले फोनमा स्पष्ट पार्न पनि भनिन । पहिला फिर्ता पाउने सुनिश्चित होस् अनि कम कमिसनका लागि कुरा गरौंला भनेर पर्खें ।
बैना फिर्ता सजिलो थिएन । ‘यो जग्गा बिकेपछि न पैसा दिने हो । जग्गा नबिकी हामीले कहाँबाट ल्याएर दिनु ?‘ कर्मचारीहरूले यही जवाफ दिन्थे’ । त्यो जग्गाको बिक्री पर्खेर बस्नुको विकल्प मसँग थिएन । अर्काको नाममा रहेको जग्गा बिक्री भएको म आफैं त कसरी थाहा पाउन सक्थें र ? त्यो जग्गा बिक्री भएको उनीहरूको स्वीकारोक्ति पर्खेर बस्नुको विकाल्प थिएन ।
म कहिलेकाहीं फोन गर्थे बैना फिर्ता कहिलेसम्म होला भनेर । जवाफ त्यही आउँथ्यो जुन स्वाभाविक थियो । ‘जग्गा बिक्री भएको छैन, बिक्री भएपछि हामी नै खबर गर्छौं ।‘ यही उत्तर सुन्न भए पनि म समय समयमा फोन गर्थें । लाख रुपियाँको सवाल थियो । एक मनले फोन गरौं भन्थ्यो अर्को मनले दिक्क मान्थ्यो । गोजीबाट झिकेको मोबाइल पनि कयौं पटक उसै गोजीमा राखेको थिएँ । कुनै वेला फोन पनि गर्थें । बैना दिँदाको उत्साह सेलाउनु स्वभाविकै थियो ।
एक दिन नयाँ नम्बरबाट फोन आयो । फोन उठाएँ । खुशीको सीमा रहेन । बैना फिर्ता दिन बोलाइएको थियो । सायद शुक्रवारको दिन थियो । म अफिसबाट फर्किसकेको थिएँ । हामी ढिलो नगरी इटहरी गयौं ।
“बैना फिर्ताको लागि फोन गर्नु भएको थयो नि !”
“ए, तपाईंहरू हो ?”
“हो ।“
“ए ठिक छ । दुई प्रतिशत कट्टा हुन्छ भन्ने त थाहा होला नि !”
“थाहा छ । अब हामीले कति पाउने भयौं त ?” प्रतिशतको यो हिसाब आफूले हल नगरी मैले उतै जिम्मा लगाइदिएँ । मैले दिएको एक लाखको दुई प्रतिशत कि जग्गाको जम्मा मोलको दुई प्रतिशत हो भन्ने अन्योल उनीहरूबाट नै स्पष्ट होस् भन्ने म चाहन्थें । पूरा मोलको दुई प्रतिशत कट्टा गर्न लागे भनेचाहिँ प्रतिवाद गरौंला भन्ने मनमा थियो ।
“साठी हजारको चेक छ । अठतिस हजार यो भाईले पेट्रोल पम्पमा दिन्छ । यो चेक लिनुस् । यहाँ सही गर्नुस् र भाइसँग जानुस् ।“ बोली त्यति मिजासिलो त थिएन तर मलाई यो आवाज कुनै सङ्गीतको मधुर धुन जस्तो लागेको थियो । पूरा मोलको दुई प्रतिशत काट्ने हैन रैछन् । कति मज्जा !!
ती भाइको मोटरसाइकल पछ्याउँदै हामी पेट्रोल पम्प गयौं र अठतिस हजार बुझ्यौं । अनि चेक लिएर बैंकको काउन्टरमा गयौं ।
‘सही मिलेन ।‘ ‘खातामा पैसा छैन ।‘ यस्तै केही सुन्नुपर्ला भनेर कान भयाक्रान्त थिए ।
तर क्यास काउन्टिङ मेसिनमा पैसा गनेको आवाज आयो – सरररर ।
अनि अर्को आवाज आयो, “यहाँ सही गर्नुस् त !”
साठी हजार मेरो मुठीमा थियो ।
एक लाख दिएको डेढ/दुई वर्षपछि अन्ठानब्बे हजार हातमा पर्दा हामी अति खुशी थियौं । आफूसँग भएको एक लाखले दिन नसक्ने खुशी एक पटक गुमेर फेरि फर्केर आएको अन्ठानब्बे हजारले दिएको थियो । मानिसको मनोविज्ञान पनि अजीवको छ ।
“अब के गर्ने ?”
“फर्किने होला नि ! के गर्नु र !”
“जाउँ, बजार घुमौं ।“
हामी गोर्खा बजार गयौं । मेन्युमा लेखिएको मूल्यलाई उति वास्ता नगरी खाजा खायौं । एक/एक जोर रोज्जा लुगा किन्यौं र फर्क्यौं ।
जग्गा किन्न हिँडेको मान्छे लुगा किनेर फर्क्यौं ।
कान्छो छोराले साइकलको पुरानो टायरबाट भरखरै हुला हु (Hula Hoop) सिकेको थियो । त्यसको रिङ किन्दिऊँ कि भनेर मोल सोधें । छ सय पचास भन्यो क्यार । महँगो लाग्यो किनिएन । अघि गुमेको पैसा फिर्ता आएको खुशी चिसिइसकेको रहेछ । कस्तो हुन्छ नि, मान्छेको मन !
“सत्यको धन थियो । फिर्ता आयो ।“ उनले भनिन् ।
त्यत्रो लामो समयपछि दुई हजार कटेर आउँदा पनि त्यो पैंसा सत्यको धन प्रमाणित भएको खुशियाली मनाउन हामी तयारै थियौं ।
त्यहाँ जग्गा किन्नु अनुपयुक्त थिएन होला । कुनै पनि लगानी वा निर्णय निरपेक्षरूपमा ठिक वा बेठिक हुँदैन । एउटाले अनुपयुक्त मानेर लगानीबाट हात झिक्छ, अर्कोले त्यहीं लगानी गर्छ । बजारको उत्प्रेरक तत्त्व यही त हो । अहिले त त्यो जग्गाको भाउ कति पुगिसक्यो होला ! आँट गरेर किनेको भए त फाइदा नै पनि हुन्थ्यो कि ? तर मेरो लागि भने त्यो लगानी उपयुक्त देखिएन । अनि मैले हात झिकें ।
पहिला नै धेरैतिर सोधखोज गरेर सरसल्लाह गरेर मात्र मैले बैना दिनुपर्थ्यो । बैना पछि लिइएको र पाइएको जानकारीको कुनै अर्थ थिएन । लगानीको सामान्य सिद्धान्तले भन्छ – जानकारी लिनुस्, विचारविमर्श गर्नुस् र लगानी गर्नुस् (Information, Interaction and Investment) । मैले यो गरिन । जोइपोइको सल्लाहलाई नै हामीले अन्तिम रूप दिन खोज्यौं । अझ कतिपय अवस्थामा त मैले एकोहोरो ढिपी गरेर लगानी गरेको किस्सा पनि छ । भनिरहनु पर्दैन, यस्ता लगानीका परिणाम अक्सर सकारात्मक रहँदैन । यस्ता हावादारी लगानी मैले पटकपटक गरेको छु । त्यसैको परिणाम होला, सन्ताउन्न वर्षको उमेरमा पनि म घरबासका लागि संघर्षरत छु । म किन यस्तो लगानी गर्छु भनेर अहिले फुर्सदमा आफ्नो मनोविज्ञानको खोजतलास गर्न खोज्दैछु ।
