श्याम काकासँग विराटनगरमा भेट भएको थियो । उहाँ नरराज आचार्यको नजिकको नातेदार हुनुभएकाले विराटनगर आउँदा त्यहाँ निस्कनुहुन्थ्यो । हाम्रो घर पनि नजिकै भएकाले हाम्रो घरमा पनि आउनु भएको थियो । आफू सानै छँदा उदयपुरगढीका आचार्यहरू सबैजसो सिरहा र सुनसरीतिर बसाइँ सरिसकेका र आउजाउ कम भएकाले म बन्धुबान्धव कमै चिन्थे । श्याम काका र काकीसँग चिनचान भयो । उहाँहरूको माइलो छोरा विमल (लाभ) सँग पनि सायद विराटनगरमा भेट भएको थियो । अरू छोराहरूको बारेमा जानकारी लिएको थिएँ जस्तो लाग्छ, जेठा पेशल, माइला विमल र कान्छा ईश्वर । केही समयपछि उहाँहरू काठमाडौं आउनुभयो, भेटघाटको शृंखलामा विराम लाग्यो ।

समयले मलाई पनि काठमाडौं लिएर आयो । बन्धुबान्धवको भेट हुने धार्मिक सामाजिक काममा श्यामकाकासँग फेरि भेट हुन थाल्यो । पेशल आचार्य पनि समाजिक सञ्जालमा साथी हुनुभयो । प्रत्यक्ष भेट भने पेशल आचार्यकै छोरीको बिहेमा भयो जस्तो लाग्छ । प्रत्यक्ष भेटपछि सामाजिक सञ्जालमा खोज्ने र पढ्ने काम बढी गर्न थालें ।
उहाँ रामेछापको विद्यालयमा पढाउनु हुँदो रहेछ । साहित्यमा अभिरूचि र पकड रहेछ । ब्याक बेन्जर भन्ने निबन्ध संग्रह नै निकाल्नुभएको थियो । फेसबुकमा र अन्य पत्रपत्रिकामा लेख रचना आइरहन्थे । उहाँहरू मिलेर रामेछापबाट पनि कुनै स्थानीय पत्रिका निकाल्नु हुन्थ्यो कि जस्तो पनि लाग्छ । रामेछापमा बसेर सक्रियरूपमा शिक्षा र साहित्यमा सेवा गरिरहनुहुँदो रहेछ । उहाँले कवि, सम्पादक, बालसाहित्यकार एवं अध्यापकको रूपमा आफ्नो परिचय बनाइसक्नुभएको रहेछ । काठमाडौं नै कम आउने गर्नुहुँदो रहेछ । मसँग पनि त्यति भेट भएन । तर सामाजिक सञ्जालमा उहाँलाई देख्न पाइरहने भएकाले लामो समय भेट नभएजस्तो नै लागेन ।
महिनादिन जति अघि बानेश्वरमा यसो बरालिँदै थिएँ । नरराज आचार्यसँग भेट भयो । हाल खबर सोधें । यात्राको प्रयोजन सोधें । पेशल आचार्य बिरामी पर्नुभएको, मस्तिष्कमा ट्युमर देखिएको र स्थिति अलि जटिल भएकाले अहिले जाँच भइरहेको सिभिल अस्पतालबाट न्यूरो अस्पताल, माइतीघर लैजाने सल्लाह भएको जानकारी दिनुभयो । यो खबरले साह्रै दुःख लाग्यो । मस्तिष्कमा लागेको रोग, के हो, के हो !
उहाँलाई भेट्न मन थियो तर भोलि भोलिको चक्करमा केही दिन त्यसै बिते । यो प्रवृत्तिको दोष काठमाडौंलाई दिएर चोखिन खोज्छु म, सायद हामी धेरै । तर यहाँ हामी हाम्रो प्राथमिकता नै गाँजेमाजे पारेर बसेका छौं । बिरामी भेट्ने काम भोलिलाई सारेर आज चाहिँ नगरे पनि हुने काम गरेर बसेका हुन्छौं । त्यसैगरी बसें म पनि । तर बिचबिचमा नरराज दाइसँग (घरतिरको साइनोबाट काका भन्नुपर्ने भए पनि र ससुरालीको साइनोबाट दाइ भन्दा हुने भएकाले म दाइ भन्छु) फोनमा कुरा भने भइरहन्थ्यो । एक दिन बिहान कुरा गरें । उहाँले अस्पताल जाँदैछु, पुगेर खबर गर्छु भन्नुभयो । तर अलि लामो समयसम्म फोन नआएपछि मैले फोन गरें । त्यही दिन १ बजे अपरेसन रहेछ ।
म अस्पताल पुगें । खै किन हो, अपरेसनभन्दा अगाडि नै उहाँसँग भेट्नुपर्छ भन्ने हुटहुटीले भोलिवादलाई परास्त गर्नसक्यो, त्यो पटक । अस्पताल पुग्दा उहाँ ठिकै अवस्थामा देखिनुहुन्थ्यो । मलाई सजिलै चिन्नुभयो । एकदम राम्रो कुरा भयो । मेरो ब्लगहरू पढ्नुहुँदो रहेछ । लेखाइको प्रशंसा गर्नुभयो । कुनैकुनै ब्लगलाई शैक्षिक वा प्रकाशन सामग्रीको रूपमा उपयोग गरेको जानकारी दिनुभयो र त्यसको अनुमोदन पनि खोज्नुभयो । त्यो खुला स्रोत भएकाले राम्रो काममा उपयोग गर्न सकिने बताएँ । कुरैकुरामा मलाई किताब निकाल्न सुर्याउनु भयो । मेरो किताब निकाल्ने क्षमता र सुर त थिएन तर उहाँलाई निराश पार्न भने चाहिनँ । तपाईं खेस्रा दिनुहोस्, सम्पादनको काम म गरूला भनेर उहाँले मलाई ढुक्क पार्नुभयो । म उहाँलाई भेट्न गएको थिएँ तर भेटघाटको विषयवस्तु उहाँले मलाई बनाउन भयो । उहाँको यो भावनाप्रति म नतमस्तक छु । भाउजु (गीता आचार्य) त्यहीँ हुनुहुन्थ्यो, मैले परिचय दिएँ । सायद आधा घण्टा जति हामीले कुरा गर्यौं । त्यसपछि उहाँलाई अपरेसन थिएटरमा लाने कुरा भयो । नर्सहरू आए । मैले उहाँको स्वास्थ्य लाभको कामना गरें । र, आउँदो शनिवार फेरि भेट्ने बाचा गरेर बिदा भएँ । भाउजुले भन्न भयो, “कहिले रोगको कारण र कहिले औषधिको कारण यसरी सरर कुरा गर्न सक्नुहुन्न थियो । अहिले त कस्तो राम्रो कुरा गर्नुभयो ।“
तर शनिवार उहाँ भेट्न सकिने अवस्थामा हुनुहुन्थेन । उहाँ आइसियुमा नै हुनुहुन्थ्यो । मैले भाउजु र आगन्तुकलाई कुरुवा कोठमा नै भेटें । छोरा आरम्भसँग पनि चिनजान भयो । मेधावी विद्यार्थी रहेछन् र ११ कक्षा को परीक्षा दिँदै रहेछन् । रामेछापबाट एक जना शुभचिन्तक आउनुभएको थियो । प्रेस र पत्रिका चलाउनुहुँदो रहेछ । पेशल आचार्यको ठुलो भूमिका रहेछ उहाँको व्यवसायमा । मैले त्यही बुझें । मेरो नामबाट परिचित हुनुहुँदो रहेछ, सायद उहाँकै पत्रिकामा मेरो ब्लग छापिन्थ्यो कि ? पेशल आचार्यको व्यवहारमा केही समयअघिबाट केही परिवर्तन त आएको रहेछ । कुनै काम वा कुरा अनावश्यकरूपमा दोहोर्याउनु हुँदोरहेछ । रामेछापका ती सहकर्मीले महसुस गरेका रहेछन् तर प्रेम र आदरवश त्यो कुरा कसैलाई भनेका रहेनछन् ।
फेरि मैले उहाँलाई भेटे, सायद बेड नं. १०५ मा । सुरूमा चिन्नुभएन । तर केही समयपछि मेरो नाम भन्नुभयो । स्मरणशक्ति राम्रै छ पनि भन्नुभयो । तर बोल्न अप्ठेरो भएको प्रस्टै बुझिन्थ्यो । अलि कर गरेपछि मात्र बोल्नुहुन्छ भनेर भाउजुले भन्नु भयो । तर कर गर्नु राम्रो हो वा हैन भन्ने मलाई थाहा भएन । कर गरिन । तर जाने वेलामा भने म जान्छु मलाई बिदा दिनुस् भनें । उहाँले “ल जानुस्” भन्नु भयो । म हिँडे ।
अर्को पटक जाँदा सायद दोस्रो पटक अपरेसन भएको थियो र मैले भाउजुलाई कुरुवा घरमा नै भेटेको थिएँ । उहाँ त फेरि आइसियुमा नै हुनुहुन्थ्यो । छोरीज्वाइँ विदेश (अमेरिका?) बाट आउनु भएको रहेछ । चिनजान गरें । “डाक्टरले जे गर्नु उहाँको लागि राम्रो हो भनेका छन्, त्यही गर्दै जाने हो, बाँकी भगवानको हातमा ।“ मुख लकपकाए पनि सबैको मनले यही भनिरहेको थियो ।
त्यसपछि म भाइरल ज्वरोको सिकार भएँ । उहाँलाई मेडिसिटी लगिएको जानकारी सामाजिक सञ्जालबाट पाएँ । उहाँका विद्यार्थीहरूको उहाँप्रतिको आदर र प्रेम अनि उहाँको स्वास्थ्यप्रतिको चासो र चिन्ताको सघनता पनि सामाजिक सञ्जालबाट नै आकलन गरें । उहाँको बग्रँदो स्वास्थ्य अवस्थाबाट सबै आकुलव्याकुल बनेका थिए ।
साउन १ गतेका खबरहरू अत्यन्त चिन्ताजनक थिए । उहाँको स्वास्थ्यमा सुधार ल्याउन नसकिने निष्कर्षमा डाक्टरहरू पुगिसकेका रहेछन् । उहाँ भेन्टिलेटरलगायतका उपकरणको बलमा मात्र बाँचिरहनुभएको रहेछ । मस्तिष्कको अवस्था धेरै खराब भइसकेको रहेछ । सायद त्यो ट्युमर सामन्य ट्युमर थिएन होला । विस्तारै ती उपकरण हटाउने र उहाँलाई महाप्रस्थानको लागि स्वभाविक बाटो दिने निष्कर्षमा डाक्टरहरू पुगेछन् । म उहाँको अन्तिम दर्शनका लागि पशुपतितिर लागें ।
मैले अरू बन्धुबान्धवहरूलाई पनि पशुपति परिसरमा नै भेटें । पेशल आचार्यकै बारेमा कुरा भयो । मभन्दा केही महिनाले जेठो हुनुहुँदो रहेछ । म त आफूभन्दा केही वर्ष कान्छो ठान्थें । गोरो र उज्यालो अनुहार, गठिलो र फुर्तिलो शरीर । निकै कम उमेरको प्रतीत हुने तर रोगको आगमन र बास कसरी हुन्छ भन्नै नसकिने । जीवनलीला कहाँ सकिन्छ सोच्नै नसकिने । साउने संक्रान्ति, साउनको पहिलो सोमवार, सोमवारे औंसी र मलमास सुरुहुनुभन्दा ठिक अघिल्लो दिन । पशुपतिपरिसरमा खुट्टो राख्ने ठाउँ थिएन । दर्किदों झरीमा मानवसागर सलबलाइरहेको थियो । त्यही भिडका बिचबाट हामी सबैले उहाँलाई अन्तिम बिदाइ गर्यौं ।
पत्नी, छोराछोरी, दाजुभाइ, बन्धुबान्धव, इष्टमित्र, विद्यार्थी र परिचित सबैलाई छोडेर उहाँ गइसक्नुभयो । सबैलाई पिर छ, सबैमा वेदना छ । यस दुखद घटनाबाट कसलाई बढी क्षति पुग्यो अथवा को बढी दुखी र चिन्तित भयो भन्ने कुराको आकलन व्यर्थको प्रयास हो । परिवारको प्रेम, स्नेह र भरोसाको केन्द्र अनि शिक्षा र साहित्यको क्षेत्रमा उदाइरहेको ज्योतिको यो अप्रत्यासित विलयले सबैको मुटु दुखाइरहेको छ । अझ, उहाँको आफ्नो सपना र योजनाको कुरा सम्झने हो भने त मनै भरङ्ग हुन्छ ।
म चाहिँ आफ्नो भावना छोरा आरम्भसँग नजिक भएको अडकल काट्छु । मैले पनि यही उमेरमा बालाई गुमाएको थिएँ, किशोर वयमा । पढाइ, व्यक्तित्व विकास र सामाजिकीकरणको प्रक्रियामा बाउको साथ र सहयोग चाहिने मुख्य समय नै यही हो जस्तो लाग्छ, मलाई । भरखर उमेर पुग्दै गएको अवस्थामा उडन्ते हुन लागेको मनलाई टुङ्गामा ल्याउन, भावी योजनालाई अनुभवको कसीमा घोट्न, असफलतामा सान्त्वना पाउन अनि हर्ष र सफलताको खुशी साट्न छोरोलाई बाउ चाहिन्छ । सानो उमेरमा बाउको महत्त्व झन् बढी हुन्छ नै तर अबोध सन्तानलाई त्यो थाहा हुँदैन । आफू परिपक्व भइसकेपछि बाउको महत्त्व कमै त हुँदैन तर प्रकृतिको यो चक्र आत्मसात गर्न परिपक्वताले मद्दत गर्दो हो । किशोर वयमा भने बाउको आवश्यकता र महत्त्व धेरै बढी हुन्छ र समझदार मस्तिष्क अनि कमलो मनमा पितृवियोगको पीडा महसुस तीव्रताका साथ हुन्छ । यो मेरो निजी अनुभव हो ।
मेरो बिहान उठ्ने निश्चित समय छैन तर आज अवेलासम्म सुत्न मन लागेन । आज त पेशल आचार्यको बाह्रौं पुण्यतिथि हो । त्यता जानु छ । उठौं र उहाँलाई सम्झौं जस्तो लाग्यो । उज्यालो मुख र गठिलो शरीर । असीम ऊर्जा र सिर्जनाको हुटहुटी । सायद यहीरूपमा उहाँलाई सम्झिरहन्छु होला पछिसम्म पनि ।
जे नहुनुपर्थ्यो त्यो भइसकेको छ । प्रकृतिको नियमको रूपमा यसलाई आत्मसात गर्नुको विकल्प छैन । यस धरामा रहेकाहरूले उहाँविना बाँच्ने प्रयास गर्नुको विकल्प छैन । हरेक कठिनाइलाई पार गरेर अघि बढ्नुको विकल्प छैन । हामी सबैलाई यस कार्यमा परमशक्तिको साथ रहोस् !
आदरणीय पेशल आचार्यमा पुनः श्रद्धाञ्जली !
सबै शोकाकुल परिवारजनमा हार्दिक समवेदना !!!
