धर्म अफिमको नशा हो ?

गएको पुस ३ गते (२०७६) नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘मार्क्स फर्किए….’ भन्ने नाटक हेर्ने मौका मिल्यो । यो नाटक हवार्ड जिनको नाटक ‘मार्क्स इन सोहो’ मा आधारित रहेछ । नाटकको विषयवस्तु र प्रस्तुति निकै प्रभावकारी लागेको हुनाले मैले किताब नै इन्टरनेटमा खोजें । भेटियो पनि । सन् १९९० को दशकमा रुसमा कम्युनिष्ट सरकारको पतन र सोभियत संघको विभाजनपछि मार्क्सवादको औचित्य सकियो भन्ने विचारले विश्वमा प्रभुत्व जनाएको कुरामा विमति जनाउन उनले यो नाटक लेखेका रहेछन् । मार्क्स पुनः पृथ्वीमा फर्केर आफ्नो जीवनशैली, दर्शन र मान्यताका बारेमा स्पष्टीकरण दिएको र आफ्नो दर्शनको औचित्य पुष्टि गरेको शैलीमा यो नाटक लेखिएको छ । नाटक हेरेपछि र पढेपछि मार्क्स, मार्क्सवाद र मार्क्सवादको व्यवहारिक कार्यान्वयनसँग सम्बन्धित धेरै कुरा मनमा आए । एउटा ब्लग लेख्‍न मन त्यति वेलै लागेको हो तर यति ठुलो विषयमा लेख्‍ने आँट नै आएन । अहिले कोरोनाको कारण भएको लकडाउनमा यस विषयमा कलम चलाउँदै छु । ‘सत्य शायद ईश्वरलाई मात्र थाहा छ, बाँकी अरूले त आफूले जानेको कुरो इमानदारिताका साथ लेख्‍ने मात्र हो’ भन्ने आफ्नो लेखन सम्बन्धी मान्यतालाई पुनः स्मरण र आत्मसात गरेपछि मात्र लेख्‍ने आँट पलाएको हो ।

मैले त्यस नाटकमा उठाइएका विषयमध्ये मलाई मन छाएको विषयमा कलम चलाउने विचार गरेको छु । आजको विषय मार्क्सवाद र धर्मको विषयमा छ । आगामी श्रृंखलामा अरू विषयमाथि हुने आशा गरौं ।

मार्क्सवादीहरू द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्छन्। सामाजिक शक्तिहरूको अन्तरसंघर्षको परिणामस्वरूप नै राजनैतिक र ऐतिहासिक घटनाहरू घट्छन् र ती घटनाहरूलाई संघर्ष र संघर्षबाट उत्पन्न परिणामको रूपमा व्याख्या गर्न सकिन्छ भन्ने मान्यता द्वन्द्वात्मक भौतिकवाद हो । मानव सभ्यताको इतिहास र विज्ञानबाट प्रमाणित भएको समाजको उत्पत्ति, विकास, परिवर्तन र विनाशको नियम नै द्वन्द्वात्मक भौतिकवाद हो । त्यो भनेको भौतिक जगतबाट नै चेतनाको उत्पत्ति हुन्छ र भौतिक परिस्थितिमा भएको परिवर्तनले चेतनामा परिवर्तन हुन्छ भन्ने दर्शन हो । धर्मशास्त्रमा बताइए जस्तो चेतनाबाट जगतको उत्पत्ति हुने मान्यतालाई यसले स्वीकार गर्दैन । यो विज्ञानमा आधारित हुन्छ र विज्ञानले प्रमाणति नगरेको ईश्वरको सत्तालाई यसले स्वीकार गर्दैन । यसले धार्मिक निरपेक्षतामा जोड दिन्छ । तर धार्मिक भावनालाई प्रधानता नदिन केही मार्क्सवादीहरू भने धर्म अफिमको नशा हो भनेर मार्क्सले भनेका छन् भन्थे । यस भनाइका आधारमा अफिमलाई नशाको रूपमा र धर्मलाई अफिमको नशाको रुपमा नकारात्मक अर्थमा लिइएको थियो ।

‘मार्क्स इन सोहो’ मा मार्क्सको यस भनाइ र मानिसको बुझाइका बारेमा पनि स्पष्टीकरण छ । दुःख र पीडमा रहेका तमाम जनताले आफ्नो दुःखको सुस्केरा सुसेल्ने माध्यमको रुपमा धर्मलाई लिने गर्दछन् । असीम दुःखको श्रृंखलामा धर्म नै एउटा चित्त बुझाउने ठाउँ देखिन्छ । ईश्वरको अदालतमा एक दिन न्याय पाइएला भन्न सोचले त अनेक दुःखीको जीवनमा आशा पलाउँछ । त्यति वेला युरोपमा अफिमलाई रोगको पीडा कम गराउने औषधिको रुपमा प्रयोग गरिंदो रहेछ । यो समस्याको समाधान नभए पनि दुःख भुलाउने उपाय त हो नै । पिलोबाट ग्रसित मार्क्सले पनि पीडा सहन अफिमको पनि प्रयोग गर्थे कि ? यसै अर्थमा उनले धर्म दबिएका जीवहरूको दुःखको उच्छ्वास हो, हृदयहीन संसारको हृदय हो, आत्माहीन परिस्थितिको आत्मा हो, यो जनताको लागि अफिम हो भनेका रहेछन् । धर्म र चेतनाको स्वतन्त्र सत्ता स्वीकार नगर्ने मार्क्सले मानव मनका अध्येता सिग्मण्ड फ्रायड जन्मनुभन्दा ८ वर्षअघि नै मानव हृदय र आत्माको बारेमा चर्चा गर्नु निकै विचारणीय लागेको छ मलाई । मार्क्सले त धर्मलाई नशाको रूपमा होइन, दुःख भुलाउने उपायका रूपमा पो लिएका रहेछन् । मार्क्सको भावना र सोच अर्कै रहेछ । यसबाट मार्क्सलाई धर्मको शक्ति र सीमाको यथेष्ठ बोध भएको अनुभूति हुन्छ । धर्मले भलै दुःखद परिस्थिति बदल्न सिकाउँदैन, त्यसमा अभ्यस्त हुन र सहन सिकाउँछ, सघाउँछ ।

फेरि धर्म निरपेक्षता भनेको धर्म नमान्नु मात्र होइन, आफुले चाहेको जीवनशैली (धार्मिक/सांस्कृतिक) अपनाउनु हो, सबै धर्मका मन लागेका कुरो वरण गर्नु पनि हो । कुनै विशेषमा आबद्ध (सापेक्ष) भएर नबस्नु नै धर्म निरपेक्षता हो । मार्क्सका बाबु यहुदी रहेछन्, पछि क्रिश्चियन धर्म अपनाएका रहेछन् र उनैले मार्क्सलाई पनि क्रिश्चियन बनाएका रहेछन् । छोरी इलिनोरलाई भने आफ्नो यहुदी वंशीय पहिचानमा गर्व रहेछ र यहुदी जनाउने तारा लगाउँदिरहिछन् । यहुदी पहिचान छोडेर क्रिश्चियन भएकोमा उनी बाउको आलोचना पनि गर्दिरहिछिन् । क्रिश्चियन बनेकोकोमा बाउको आलोचना गर्ने इलिनोर गलामा भने क्रस पनि झुण्ड्याउँदिरहिछन्, आइरिस स्वतन्त्रताको पक्षपाती भएकीले । धर्म निरपेक्षताको अभ्यास इलिनोरमा देख्‍न सकिने रहेछ ।

ईश्वरको भौतिक सत्ता विज्ञानबाट प्रमाणित छैन । त्यसैले द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्नेले ईश्वरको सत्तामा विश्वास नगर्नु स्वभाविक हो । तर ईश्वरको मानसिक सत्ता त अस्तित्वमा छ । आस्तिक बाबुआमाबाट जन्मेका सबै जसो क्रान्तिकारीहरूमा धर्मप्रति सम्मोहन छ । बालककालबाट नै धार्मिक क्रियाकलाप र आस्था देखेका, भोगेका र महसुस गरी ती भावनाले अवचेतन मनको गहिराइमा ठाउँ बनाइसकेका मानिसहरू थप केही जानकारी पाएका भरमा पछि पूर्णत नास्तिक बन्न सक्छन् भन्ने देखिएन । नेपालका केही मूर्धन्य द्वन्द्वात्मक भौतिकवादीहरूको गतिविधि हेर्दा पनि यो स्पष्ट हुन्छ । अवचेतनमा रहेको भावनालाई चेतनमनले दबाउन खोज्दा व्यक्तित्व विकास र व्यवस्थापन सम्बन्धी विभिन्न जोखिम आउँदा रहेछन् । व्यक्तित्व दोहोरो मान्यताबाट ग्रसित समेत बन्न पुग्दो रहेछ । त्यसैले होला हामी सामान्य धार्मिक भावना भएका मानिसले पनि ‘धर्मको नाममा भए पनि के गर्नु हौ, यस्तो वाइयात त’ भनेर अस्वीकार गर्ने धार्मिक गतिविधि द्वन्द्वात्मक भौतिकवादीहरूले गरिरहेका छन्, लाजै लाग्ने गरी । मृत्यु संस्कारमा केही परिवर्तनको संकेत गरे पनि सबै जसोले विजयमा रातो टीका धस्काइरहेका छन्, स्वागतमा माला ढल्काइरहेका छन्, शिलान्यासको शैली धार्मिक नै छ । हो, नास्तिकताको अभ्यास गरेको पुस्तौं भएपछि भने मानिस पूर्ण रूपमा भौतिकवादी हुन सक्ला ।

जीवन र जगतका बारेमा जे अज्ञात र अज्ञेय छ, त्यो ईश्वरीय सत्ताको मातहत पर्दोरहेछ । ज्ञान र विज्ञानको विकाससँगै ईश्वरको अधिकारक्षेत्र क्रमशः खुम्चिरहेको छ । बालकमा ईश्वरको बास हुन्छ भनेर युद्धमा बालकलाई पठाउनेहरू र ईश्वरको आदेश भएमा मर्नमार्न तयार हुनेहरू आज कोरोना भाइरसको डरले मन्दिर, मस्जिद र चर्च बन्द गर्न तयार भइसकेका छन् । यो सकारात्मक कुरा हो । जीवन जगतका धेरै पक्षमा मानिसले आफ्नो सत्ता हासिल गरेको छ र ईश्वर त्यहाँबाट हटेका छन् । विफर, दादुरा र ठेउला पहिले ईश्वरको अधिकार क्षेत्रमा थियो । अहिले मानिसको अधिकार क्षेत्रमा आएको छ । फेरि पनि यो व्यापक दुनियाँमा अझै मानिसले चालपाउन नसकेका अनेक रहस्य छन् र ती अहिलेसम्म ईश्वरको अधिकार क्षेत्रमै रहेका छन् । विज्ञानले प्रमाणित गरेको कुरा धार्मिक मान्यताभन्दा फरक छ भने त्यसकलाई पत्याइरहनु सर्वथा गलत हो । तर विज्ञानले पत्ता नलगाएको विषयमा धर्म र ईश्वरले शंकाको सुविधा पाउनु ठिक बेठिक जे भए पनि स्वभाविक देखिन्छ ।

म त धर्मको व्यवहारिक महत्व र उपयोगिता पनि देख्छु । सबै समुदायका संस्कारमा धर्म देखिने/नदेखिने गरी जोडएकै छ । संस्कारले जीवनलाई बाटो दिन्छ । बच्चाको नाम राख्‍ने, बिहे गर्ने, मर्दा सद्‍गत गर्ने र आशिर्वाद दिने प्रक्रिया धर्म र संस्कारसँग जोडिएको छ । मानिसलाई परिश्रम र दुःखपूर्ण जीवनबाट त्राण दिने एक शक्तिको रूपमा ईश्वरको विश्वास गर्ने मानिसले मानसिक शान्ति र सन्तुष्टि पाउन सक्छ । एकाकी महसुस गर्ने हरेक आध्यात्मिक व्यक्तिले ईश्वर साथी भेट्छ, भौतिकवादी एक्लै रहन्छ । जिन्दगीको भावनात्मक र आध्यात्मिक मूल्य भएको अनुभूतिले जीवन नै बढी गरिमामय र महत्वपूर्ण लाग्छ । साहित्य त ईश्वरको कल्पना विना शायद अधुरो हुन्छ । युद्धबाट पलायन हुन लागेका अर्जुनलाई कृष्णले ईश्वरको अस्तित्व बोध गराई महाभारतको युद्धमा प्रवृत्त गराएका थिए ।

धेरै पहिला नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले खुलामञ्चको भाषणमा ‘हामी द्वन्द्वात्मक भौतिकवाद मान्छौ, अन्धविश्वास र रूढीवाद मान्दैनौ । तर कुनै हाम्रा बुवा/काका घरमा एक घण्टा पूजापाठ गरेर अनि मात्र नेपाली समाजको रूपान्तरणको क्रान्तिमा सामेल हुन्छौं भन्नुहुन्छ भने हामी स्वागत गर्छौं’ भन्नु भएको मलाई सम्झना छ (शब्द फरक भए पनि भाव यही होला भन्ने सोचेको छु । मदन भण्डारीका भाषणहरू भन्ने किताब पनि छ क्यार । त्यो किताब किनौ र त्यो भाषण भेटें भने पेज र लाइन नै कोट गरौं भन्दा भन्दै कोरोनाको सन्त्रास फैलियो)। उनले कम्युनिष्टले धर्म मान्नु हुँदैन र धर्म मान्ने कम्युनिष्ट होइन भन्ने मान्यतालाई खुकुलो बनाए । एमाले अब संशोधनवादी भयो संसदवादी भयो, सुधारवादी भयो, सक्कली कम्युनिष्ट रहेन भनेर तीव्र आरोप लागिरहेको वेला यो अभिव्यक्ति दिनु आगोमा घिउ थप्नु जस्तो थियो, शत्रुलाई निहुँ दिनु थियो । तर उनले धर्मको उपयोगिताको महसुस गरे, आफ्नो धारणा निःसंकोच राखे । उनी कति स्पष्ट, कति व्यवहारिक र नेपाली समाजको मनोज्ञानसँग कति राम्ररी परिचित रहेछन् ! मार्क्सले पनि त धर्मलाई पीडा भुलाउने उपायको रुपमा त लिएका रहेछन्, नशाको रूपमा लिएका रहेनछन् । धर्मको व्यवहारिक उपयोग मार्क्सले झन् के बुझ्दैनथे ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *