रात परेको छ,
अब सुत्नु छ ।
थाकेका कोषहरुलाई आराम दिनु छ,
मनका पीडाहरुलाई मलहम दिनु छ,
आत्मका कुण्ठाहरुलाई निकास दिनु छ,
फेरि अर्को भोलिको सामना गर्नु छ,
अब सुत्नु छ ।
शिशिरका सिरेटोले हिउँ बनेको छ, ओछ्यान,
जाडोले थर्थर कामेर बसिरहेको छ, सिरक
तातो खोजेर मैले जानु छ, फेरि त्यतै,
यस्तै बिडम्बनाबाट जीवनको निकास खोज्नु छ,
अब सुत्नु छ ।
ब्यापारमा चल्छ रे संसार,
लेनदेनमा चल्छ रे जीवन,
म पहिला ओछ्यान तलाउँला,
अनि मलाई ओछ्यानले तताउला,
कहिले कोल्टे फेर्दाफेर्दै निदाउँछु,
कहिले घुँडा खुम्च्याएर तातो जोगाउँछु,
कहिले तातो सापटी लिन्छु आगोसँग,
यस्तै जोगाड गरेर निद्राको स्वागत गर्छु ।
––––––––
अब ‘हिउँ’ पनि मुलायम भुवा बनेको छ,
थकान हटेर कोषमा, केही जोश चढेको छ,
पीडा खात लागेको छ, खाटा बनेर कतै,
र, मन निकै फूर्तिलो भएको छ ।
घाँटीमा तातो सासले सेकिरहेछ,
आफ्नै मुटुछेउ अर्को मुटु चलिरहेछ,
अँगालोभित्र को कहाँ छ के थाहा ?
एउटाभित्र अर्को कतै बिलाइरहेछ ।
सम्झदैं न्यानो लाग्ने प्रेम,
कल्पदैं पारिलो लाग्ने सम्बन्ध
सोच्दै रसिलो लाग्ने माया
भन्दै गर्विलो लाग्ने अपनत्व ।
–––––––
यस्तैमा टिर्र… घण्टी बज्छ कहीँ,
र सपना विपना बनेर फुट्छ,
चिम्सा आँखाले हेर्छु बाहिर
समयले मलाई बोलाइरहेछ ।
र, भनिरहेछ आवाजविहीन भाषामा
‘ऊ, हेर ! उज्यालो भयो,
अब तिम्रो सुत्ने समय गयो ।’
अहिले सोचिरहेछु म,
हर रात, हर जन्म, मेरो हाल उही हो,
के जिन्दगी यही हो ?
