मेरा तीन स्वर्ण पदकः प्रसंग ३

त्यो समयमा म नेपाल राष्ट्र बैंक विराटनगरको बिल्स फाँटमा थिएँ । बिल्स फाँटको काममध्ये एउटा काम अवकाशप्राप्त निजामती कर्मचारी, शिक्षक, सेना र प्रहरीलाई पेन्सन भुक्तानी गर्नु थियो । हरेक महिनाको सोह्र गते कार्यालयमा भीड लाग्थ्यो । सबैलाई नियमानुसारको रकम भुक्तानी दिन्थ्यौं । तलब बढेको वेलामा पेन्सन रकम पनि बढ्थ्यो । यस्तो वेलामा थप रकम भुक्तानी दिन अलि मेहनत गर्नुपथ्र्यो । शिक्षा सहायता, असाधारण पारिवारिक वृत्ति, पारिवारिक पेन्सन जस्ता विभिन्न पेन्सन योजना थिए जसका बारेमा म त्यति जानकार थिइन । कुनै तालिम पनि लिने मौका मिलेको थिएन । निजामती सेवा ऐन पढेर केही अवधारणा बनाउन त खोजेको थिएँ तर सबै विषयमा म स्पष्ट भएको थिइन । फाँटमा काम गरिरहेका अनुभवी साथीहरु, पेन्सन लिन मानिसको भनाइ र दाबी, शोधभर्ना पाउने क्रममा प्राप्त भएका कैफियत र सुझावका भरमा काम परिमार्जन गर्दै गएका थियौं । स्पष्ट जानकारीको अभाव र सोह्र गतेपछिका दुईचार दिन हुने भीडका कारण ग्राहकलाई राम्रो सुझाव र सल्लाह दिन सकिने अवस्था पनि थिएन । हुन त सबैलाई विशेष सुझाव र सल्लाह चाहिने पनि होइन ।
एक पटक महिनावारी पेन्सन लिनेको भीड नहुने समयमा एक जना महिला पेन्सन लिन आइन् । साथीहरुले चिनेकी महिला हुनाले साथीहरुले किन ढिला आउनु भयो त भनेर सोधे । उनी आफन्त बिरामी भएर हो कि के कारणले हो विराटनगरबाहिर गएकी रहिछन् । एकछिनपछि उनको पेन्सनपट्टा मेरो हातमा आयो । असाधारण पारिवारिक वृत्तिको पट्टा रहेछ । यस्तो पट्टा हुनेसँग अर्को पट्टा पनि हुनुपर्ने जस्तो लाग्यो । कार्यालयको काममा मृत्यु हुने कर्मचारीका परिवारलाई राहतवापत असाधारण पारिवारिक वृत्ति दिइन्थ्यो जस्तो लाग्यो । यस्तो कर्मचारीले पेन्सन पाउने भएमा सामान्य पेन्सन पट्टा पनि हुनुपर्ने थियो । मलाई केही गडबड भएको छ जस्तो लाग्यो । भीड नभएको हुनाले मैले उनीसँग कुरा गरेँ ।
उनका पति प्रहरी सेवामा रहेछन् । कार्यालयको काममा रहँदा सहकर्मीले उनलाई गोली हानेको रहेछ । उनको नोकरी अवधि करिब बाइस वर्ष पुगेको रहेछ । पतिको मृत्युपछि सात वर्ष पूरा पेन्सन पाउने गरी सामान्य पेन्सन पट्टा र उनले जीवनभर पाउने गरी असाधारण पारिवारिक वृत्तिको पट्टा बनेको रहेछ । सात वर्ष पूरा पाउने पेन्सन पट्टमा सात वर्षपछि नपाउने भनी छाप लगाइएको रहेछ । सात वर्ष पेन्सन लिएपछि उनले त्यो पट्टा थन्क्याइछन् र असाधारण पारिवारिक वृत्ति मात्र लिने गरेकी रहिछन् । सात वर्षपछि फेरि किताबखाना गएर पेन्सन निक्र्योल गरी पट्टा नवीकरण गराउनुपर्ने र सात वर्षपछि पेन्सन रकम फरक पर्ने आशयले पट्टामा ‘नपाउने’ छाप लगाइएकोमा उनी अब पाउदिँन भनेर चुपचाप बसेकी रहिछन् ।

“तपाईंसँग अर्को पेन्सन पट्टा त छ ? कि पैसा नअाउने भनेर फालदिनु भो ?” मैंले सोधें ।

” किन फाल्थें । अाफ्नो बुढाको चिनो हो । उहाँको फोटो टाँसिएको कागज, उहाँको नाम लेखिएको कागज । सुरक्षित छ नि !” उनी भावुक बनिन् ।


मैले उनलाई अनुकूल समयमा काठमाडौं जान सुझाएँ । असाधारण पारिवारिक वृत्ति नियमित हुने नहुने विषयमा मलाई त्यति धेरै जानकारी थिएन तर पतिको पेन्सन सात वर्षपछि आधा रकम पाउनेमा त म ढुक्क थिएँ । विराटनगरमा घडेरी बैना गरेर काठमाडौं जानुस्, पेन्सनको पैसा आएपछि पास गर्नुहोला भनेर ठट्टा पनि गरेँ ।
एक महिनापछि उनी आइन् । उनको मुख मात्र होइन, मुहारै हाँसिरहेको थियो । बुढ्यौलीले चाउरी परेको कन्सिरी छोप्ने गरी उनका आँखा चम्किरहेका थिए । यसबीचमा काठमाडौं गएर हिसाब गराइछन् । उनले करिब दुई लाख पाउने भइछन् । उनी निकै खुशी थिइन् । मलाई धन्यवाद दिइन् ।
उनले आफैंले पाउने पैसा पाएकी थिइन् । मैले त केवल उनलाई उनको हकको बारेमा जानकारी दिएको थिएँ । गंगाको जलले सूर्यलाई अघ्र्य । फेरि पनि उनको मन अनुगृहित थियो र मलाई साधुवाद् दिइरहेको थियो । एक जना ग्राहकलाई सहयोग गर्न पाएर म पनि मख्ख नै परेको थिएँ । यो मेरो तेस्रो स्वर्ण पदक थियो ।
के ती स्वर्ण पदक थिए ? के ती पदक मेरा कमाइ थिए ?
मेरो जागिरे जीवन खासै उतारचढाव युक्त छैन । सर्वसाधारणको काम केन्द्रीय बैंकमा त्यति पदैन पनि । म पनि ठुलो जिम्मेवारीमा रहेको कर्मचारी थिइन । तलब लिएर कार्यालयको काम गरेरको हो र त्यसवापत मैले धन्यवाद पाएको मात्र हो । मैले भने आफ्नो काम गर्दा अरुलाई केही सहयोग पुग्न सक्छ कि भनेर निस्वार्थ भावनाले सोचेको चाहिँ हो । लोभ, लालच, अल्छी र अहम्का कारण हाम्रो कर्मचारीतन्त्रले जनताको नजरमा उच्चस्थान पाउन सकेको छैन । आफ्नै काम पनि निस्वार्थ र सहयोगी भावनाले गर्ने कर्मचारीको शायद खाँचो नै रहेछ । यसै कारण यी सामान्य काम गर्दा पनि मैले बढी नै धन्यवाद पाएँ । त्यसैले मैले ती धन्यवादहरुलाई मेरा निजी कमाइ भएको ठानेको छु ।
यी कामहरु न ठुला छन् न महत्वपूर्ण हुन् । तर मेरा ग्राहकले मलाई दिएको धन्यवाद भने गहकिला छन् र ती निकै महत्वपूण छन् । मैले तीस वर्ष पुरानो जागिरे जीवनमा सहयोग त धेरैलाई गरेँ होला तर ती सम्झन सकेको छैन र सम्झनु जरुरी पनि छैन । मैले आफूले गरेको सहयोग सम्झन मैले यो लेख लेखेको पनि होइन । यो त मलाई मानिसले दिएका हार्दिक धन्यवादहरुको खोजी हो । मेरा यी ग्राहकले दर्शाएको माया र आदरको आज म पनि ऋणी छु र सम्झिरहेको छु । यसलाई मैले ग्राहकले मप्रति व्यक्त गरेका ती भावनालाई स्वर्णपदकको रुपमा लिएको छु ।
यस बाहेक नेपाल राष्ट्र बैंकबाट दीर्घ सेवा पदक पनि पाएको छु । सुनको भएकाले यो पदक  मूल्यवान् त छ तर बीस वर्ष सेवा गरेका सबै कर्मचारीले पाउने भएकाले कति महत्वपूर्ण छ त्यो भने विचार नै गर्नुपर्छ ।

54 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *