परिस्थितिले काजीमानलाई फेरि हर्कवीर साहुको आँगनमा पुर्यायो ।
काजीमानका पुर्खाहरू गोरखाबाट आएका हुन् । यिनका पुर्खा पृथ्वीनारायण शाहको फौजमा रहेछन् । अनि त्यो फौजले यहीँ गढी कायम गरेर बस्दा उनका पुर्खा पनि यतै बस्न थालेछन् । पहिला यिनीहरूको खेतीपाती प्रशस्तै थियो । भाइअंश लाग्दै गयो, खेतबारी बाँडिदै गयो, बिक्रीबट्टा हुँदै गयो । समयसँगै कुनै परिवार बलियो हुँदै जान्छ, कुनै परिवार कमजोर बन्दै जान्छ । काजीमानको परिवार कमजोर हुँदै गयो ।
हर्कवीरको आँगनमा पुग्नुको उद्देश्य पुरानै थियो, सापटी । साउँब्याज समयमा नै तिर्ने आश्वासन । गर्जो टार्नुपर्ने बाध्यता । समयले ठगेको बाहाना ।
बाइस वर्षको उमेरमा बिहे गरेर बाउसँग छुट्टिएपछि उसले गाउँमा होटल खोल्यो । अंशमा परेको एक कित्ता खेत बेचेर उसले होटल खोलेको थियो । गाउँमा बाटो खुलेको र मानिसको चहलपहल बढेकाले होटल चल्ने उसको आश थियो । बाहिरबाट आउने मानिसले यसो खाना खाजा खान्थे, जान्थे । बासै बस्नेगरी मानिस उति आउँदैनथे । बरू गाउँकै मानिसले उधारो खान्थे । बिस्तारै काजीमान आफू नै होटलको सबभन्दा ठुलो ग्राहक भयो । होटल सुक्दै गयो र बन्द भयो ।
“होटल चलेन, अब कुखुरा पालन गर्छु ।” काजीमानले नयाँ योजना ल्यायो । कुखुराको खोर बन्यो । गाउँपालिकाले कुखुराको खोरमा चाहिने चारो खुवाउने भाँडा लगायतका सामान अनुदान दियो । ज्वाइँले उद्यम गर्छन् भने सहयोग गरौं न त भनेर ससुरालीले पनि कुखुरा पालनमा सहयोग गरे । उनीहरूले नै चल्ला किनेर हालिदिएका थिए । चारादानाको लागि हर्कवीरसँग सापटी लियो । कुखुरापालनबाट कमाइ पनि भयो । पैसासँगै कमाएका साथीभाइलाई सम्झने र उनीहरूको स्वागत सत्कार गर्ने क्रम बढ्यो। यो क्रम बढेसँग खोर सुक्दै गयो । बुढाको चालमाला देखेर देवी (काजीमानकी पत्नी)ले कुखुराको खोरमा धावा बोलिन्, “यी मेरो माइतीले दिएको कुखुरा हुन् । अब कुखुरा मै पाल्छु, मै बेच्छु ।” उनले फेरि हर्कवीरसँग रिनसापट लिएर दानाचारा किनिन् र कुखुरापालनलाई निरन्तरता दिइन् । खोरमा अहिले पनि अलिकति कुखुरा त छन् तर ती देवीका पेवा हुन् ।
कुखुराको खोर पत्नीलाई जिम्मा लगाएर ऊ फेरि हर्कवीरको आँगनमा उभियो । गाउँमा अलि पैसा लेनदेनको कारोबार गर्ने हर्कवीर नै त थिए । ”अब किराना पसल गर्छु, होलसेलबाट उधारो ल्याउँछु, बिउपुँजी हालिदिनुपर्यो । कुखुरा पाल्दा लिएको रिन पनि पसल गरेरै तिर्छु।” हर्कवीर र काजीमानको परिवारका बिच बाउबाजेको पालादेखिको राम्रो सम्बन्ध थियो । हर्कवीरले नाइनास्ति गरेन ।
गाउँमा पसलको खाँचो थियो । मानिसलाई सुविधा पनि भयो । ग्राहक पनि आए । काजीमान फरासिलो मानिस भएको कारण ग्राहक पनि खुशी नै थिए । उधारोले बिस्तारै पसललाई गाँज्दै लग्यो । बढ्दो परिवारको लागि चाहिने सरसामानको बोझ पनि त्यही किराना पसलमाथि थियो । हर्कवीरसँग पटकपटक पुँजी थप्न पनि गएको हो र केही पाएको पनि हो । तर किराना पसल तङ्ग्रिन सकेन ।
काजीमानले साहु र व्यवसाय परिवर्तन गर्दै गयो । किराना पसलपछि रेडिमेड पसल, त्यसपछि कुटानीपिसानी मिल, अनि ट्याक्टर खरिद, के गरेन उसले ? तर कुनै व्यवसाय दिगो भएनन् । उसले दिगो तरिकाले गरेन । यी व्यवसायले काजीमानको जीवनस्तर चाहिँ बढाइरहेको थियो । उसले मोटरसाइकल किन्यो, ब्रान्डेड लुगा लगाउन थाल्यो, घरमा ४० इन्चको टेलिभिजन आयो, छोराछोरी बोर्डिङ स्कुलमा पढ्न थाले । तर यिनै व्यवसायले नै काजीमानको आर्थिक अवस्था भने झन्झन् खराब बनाइरहेको थियो । पुर्ख्यौली जमिन बिक्यो, हर्कवीर मात्र होइन, श्यामप्रसाद, हरिमानको रिन पनि टाउकामा आयो । काजीमान पुरानो रिन तिर्नको लागि नयाँ रिन लिन्थ्यो । काजीमानलाई पैसा नदिए पुरानो रिन नउठ्ने डर, दिए यो पनि डुब्ने खतरा । यस्तै चेपोमा परेर साहुहरू पनि धेरथोर सापटी दिइरहेका थिए । अलिअलि तिरेेर काजीमानले विश्वसनीयता कायम राखेको थियो तर जति तिर्यो त्योभन्दा बढी रिन थप्थ्यो । काजीमानको यस्तो व्यवहारबाट सबै सहयोगी र साहुहरू आजित भइसकेका थिए । अरू त अरू, आमाको वृद्धभत्ताको पैसामा पनि उसले गिद्दे नजर लगाउँथ्यो ।
“ओहो भाइ, कताबाट बाटो बिरायौ त !” हर्कवीरले स्वागत गरे ।
यो ब्यङ्ग्य हो कि साँचो स्वागत हो काजीमानले बुझ्न सकेन । जे भए पनि यसलाई स्वागत मान्नुको विकल्प ऊसँग थिएन ।
“के बाटो बिराउनु हौ, काका । आइरहन्छु त यहाँ ।” काजीमानले कुरा बाङ्गिन दिएन ।
“आऊ, बस ।” हर्कवीरले आफू बसेकै खाटतर्फ इसारा गरे । काजीमानको पुर्खाको गाथाको कारण गाउँमा सबैले काजीमानलाई सम्मान र स्नेह गर्थे ।
“हैन काका, म यहाँ बस्छु ।” काजीमान दलानको छेउमा भएको प्लास्टिकको कुर्सीमा बस्यो ।
“काका खै के भन्नु ! पुरानो हिसाब पनि बाँकी नै छ । बुढीले पनि यहीँबाट सापटी लगेकी छ भन्ने पनि मलाई थाहा छ । छोरोले पनि कोरिया उड्ने वेला यहीँबाट खर्च जोरजाम गरेको थियो । तिर्दै होला के रे ! मलाई भने अप्ठेरोमाथि अप्ठेरो आइलागिराछ । अब चैं दिगो भएर काम गर्छु । गाई पाल्छु अब । गाउँमा डेरी पनि आयो । दूध बिक्छ । घाँस आफ्नै बारीमा छँदैछ । दाना खुवाउँछु । सजिलो काम गर्न खोजेर अप्ठेरोमा परेँ । अब दुःख गर्छु । एक बाजीलाई हेरिदिनुपर्यो । काकालाई नभनेर कसलाई भन्नु मैले ?”
सञ्चोबिसञ्चोको खबर आदानप्रदान भएपछि वार्ता मुख्य बुँदामा प्रवेश गर्यो ।
“म त तपाईंको त अहिले राम्रो बन्दोबस्त पो देख्छु त, भाइ । एउटा छोरो कोरिया गएको छ । कमाइ राम्रै होला । कुखुरा पालेका छौं, खर्चबर्चको दुःख हुने पनि देख्तिन । हिङ नभए पनि हिङ बाँधेको टालो भन्ने उखानै छ । अलिअलि बेचे पनि खान पुग्ने जमिन छँदैछ । गाई पाल्न मन लागे अहिलेकै आयस्ताबाट गाईमा लगानी गरे भैहाल्छ नि !” हर्कवीर तर्किए ।
“भन्नु हुन्छ नि काका ! छोरो कोरिया त गयो नि, उसको कमाइको नाक मुख देख्न पाइएको छैन । बुहारी बजारमा बस्छे, छोराको कमाइ बुहारी चलाउँछे । कुखुरा त अब बुढीको पेवा भयो । कुखुरा फारममा बालेको बत्तीको पैसा मैले खल्तीबाट तिर्नुपर्छ, कुखुरा बेचेको पैसा उसको थैलीमा जान्छ । घरमुलीको खल्ती खालीको खाली । जेठो त कोरिया गइहाल्यो । बाँकी दुइटाको पढाइ र बिहादान गर्न पाए म पनि पार हुने थिएँ । ती पढ्दैछन्, पढाउनै पर्यो । आमालाई ओखतीमुलो पनि गर्नैपर्यो । के गर्नु काका, यस्तै छ ।”
अहिले ऊ गाई पाल्न भनेर आएको छ । उसले हर्कवीरसँग पैसा उम्काउन सक्यो भने गाई पनि ल्याएर बाँध्ला तर त्योभन्दा पहिला टायर फेर्न नसकेर थन्क्याएको मोटरसाइकल बनाउँछ, बजार जान्छ र नयाँ मोबाइल किन्छ । ऊ फर्कनुभन्दा अघि उसका मोजमस्तीका केही किस्सा गाउँ आइपुगिसकेका हुन्छन् । आमाको ओखतीमूलो र साना छोराछोरीको पढाइ त उसको बाहाना मात्र हो । आमा बुढी जसलाई भेटे पनि पिलपिल गर्छिन्, केही बोल्दिनन् ।
“मलाई पनि अप्ठेरो छ भाइ। तिमीलाई पनि थाहा छँदैछ ।” हर्कवीरले पनि बहाना बनाए ।
हर्कवीरलाई मिटर ब्याजमा सापटी दिएर पैसा असुल गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो । केटीको निहुँमा एकादशी बजारमा झगडा हुँदा नातिले अर्को केटाको हात भाँचिदिएको थियो । भाँचिएको हातको ओखतीमुलो चलिरहेको थियो । हर्कवीरकै पत्नी पनि बिरामी थिइन् र उनको उपचार चलिरहेको थियो । अहिलेसम्म संयुक्त रहेको परिवारमा अंशबण्डाको कुरो उठेको थियो तर मिल्न सकेको थिएन । यस्ता कुराले हर्कवीरको धन र ध्यान खर्च भइरहेको थियो तर पनि हर्कवीरलाई दुईचार लाख लेनदेन गर्न बाधा नै पर्ने त थिएन । तर उनले यसैलाई बाहाना बनाए । काजीमानलाई पैसा दिनु बालुवामा पानी हाल्नु बराबर हो भन्ने प्रमाणित भइसकेको थियो ।
“अब तिमीलाई पनि गाउँमा मात्र होइन शहरबजारतिर पनि सबैले कुखुरा फार्मवाला काजीमान भनेर चिन्न थालिसके । समय पनि बदलियो, गणतन्त्र आइसक्यो । अब को साहु, को आसामी ? पहिलाको खान्दानी मान्छे हौ, बिचमा अप्ठेरो पर्दा सबैले सहयोग गरेकै हुन् । तिमी पनि के कम छौ र अब ! यसरी गाउँघरमा रिनसापट मागेर सानो नहोऊ । गाउँमा बैंक खुलेको छ, चाहिएको वेला बरू त्यतैबाट रिन लेऊ । कागज पेश गर, रिन पाउने त अब तिम्रो हक भैसक्यो । अब यो सापटीको चक्करमा नलाग । अब यसरी सापटी माग्नु राम्रो हुँदैन भाइ !”
हर्कवीरको कुरो नराम्रो थिएन । आफ्नो कायापलट भएको घोषणा हर्कवीरले गरिदिएका थिए । ऊ त्यसबाट खुशी पनि भयो । सायद उसको अभिमान सन्तुष्ट भएको थियो । हर्कवीरले उसको अभिमानलाई सन्तुष्ट बनाए अनि सहयोगको हात झिके । सन्तुष्ट भएको अभिमानले उसको गर्जो टार्नसक्ने भने थिएन । यो सोचेर फेरि ऊ टोलायो ।
“यी काका चिया !” हर्कवीरकी बुहारी चियाको कप लिएर उभिएकी थिइन् । काजीमानले याचनापूर्ण नजर चियाको कपमा फ्याल्यो र कप उठायो ।
यत्तिकैमा बिजुली आयो र हर्कवीरको रेडियो घन्कन थाल्यो ।
“अब नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकको रूपमा स्तरोन्नति हुने … यसरी स्तरोन्नति भएपछि निर्यात र अनुदान प्रभावित हुने …. नेपालीको प्रतिव्यक्ति आय बढेको हुनाले अब नेपालले लिने ऋणको ब्याजदर बढ्ने…. विश्व बैंकले नेपालले लिएको रिनको ब्याजदर दोब्बर बनायो…. ।”
आजै काजीमानको पनि स्तरोन्नति भएको थियो ।
