“सबै यात्रुहरू विमानमा आइसक्नु भएको छ । हामीले उहाँका सामानहरू पनि राखिसकेका छौं । अब यात्रुहरूले सिटको पेटी बाँध्नुहोला। हामी चाँडै आकासमा उड्दैछौं र लामो समयदेखि सोचिरहेको आफ्नो गन्तव्यमा पुग्दैछौं । यो नयाँ यात्राको लागि हामी सबैलाई बधाई छ।”
सुमधुर सङ्गीतका बिच एयसहोस्टेसको यो उद्घोषले सबैलाई रोमाञ्चित बनायो। सबैले सिटको पेटी बाँधे।भुइँ छोड्ने वेला दुर्घटनाको सम्भावना धेरै हुने भएकाले सबै मौन प्रायः थिए।हुन पनि दक्षिणबाट कालो बादल उठेर केही अनिष्ट पो गरिहाल्छ कि जस्तो भइरहेको थियो। यो रोमाञ्चलाई मनमा समेट्न नसक्नेहरू मसिनो आवाजमा नजिकका यात्रु साथीहरूसँग गफ गरिरहेका थिए।
“कहिले पुगिन्छ ? त्यहाँको मौसम कस्तो छ ? त्यहाँका घर कस्ता हुन्छन् ? खानेकुरा के हुन्छ ? यहाँ जस्तो दुःख त हुन्न होला नि ? त्यहाँ त छोराछोरी पढाउन र बिरामीको उपचार गर्न पनि पैसा लाग्दैन रे, हो ?” उत्तर पनि आइरहेको छ, मन गढन्ते, स्वर्गको बयान जस्तो । के पो पुगेको छ र, स्वर्गमा ?
झट्ट हेर्दा नयाँ जस्तो देखिए पनि यो यात्रा पूरै नयाँ चाहिँ थिएन। जहाज कुन टिमले उडाउने भन्ने विवादको कारण यो जहाज केही समय रनवेमा रोकिएको थियो । रन वेमा कुद्ने र रोकिने क्रम पटकपटक चलेको थियो । केही पटक त उडेको जहाज पनि रनवेमा फर्काइएको थियो । यसपटक पाइलटहरूको नयाँ टिमले जहाज चलाउने भएका थिए।
जहाजको व्यवस्थापन विदेशी कम्पनी र स्वदेशी लगानीकर्ताको हातमा थियो । विदेशी लगानी र प्राविधिक सहायतामा भरपर्नु परेका कारण विदेशी कम्पनीको बोलबाला बढेको थियो । अक्सर विदेशीकै हस्तक्षेपबाट पाइलटहरूको छनोट हुन्थ्यो ।यसपटक पनि विदेशी कम्पनीले नै पाइलटको छनोट गरेको थियो । यो पाइलटहरूको टिममा विदेशबाटै युद्धकला समेत सिकेका पाइलटहरू पनि समावेश भएका थिए । फेरि जहाज उडाउन खोज्लान् भनेर पुराना पाइलटको त जहाज उडाउने लाइसेन्स नै रद्द गरिएको थियो।
पटकपटक उडान रद्द हुने र पाइलटहरू बदलिने क्रममा यात्रुहरू पनि थपिँदै गएका थिए, तिनीहरूको सामान पनि थपिँदै गएको थियो । उसो त जहाजको यात्रामा केही यात्रु छुट्ने, केही सामान छुट्ने त भइरहन्छ । तर जहाज उड्न निकै ढिला भएकाले छुट्ने सम्भावना कम थियो । त्यसमाथि पाइलटले नै यो मैले चिनेको यात्रु हो, यो मैले पुर्याइदिनुपर्ने सामान हो भनेपछि ती सामान जहाजमा हाल्नै पर्यो । पाइलटहरूको यो टिम कसैलाई चित्त दुखाउन चाहँदैनथ्यो पनि । उसलाई यात्रुको विश्वास जित्नु पनि त थियो । विदेशी लगानीकर्तालाई पनि लोकप्रिय टिम पठाएको छु भनेर देखाउनु थियो ।
पहिले जहाज उड्न लागेको समयमा धेरै यात्रुका धेरै सामान छोडिएकाले अब यात्रुका सामानहरू हिफाजतका साथ राख्नमा विशेष ध्यान दिइयो । आफ्ना छुटेका सामान मानिसहरू सामान राख्न पाएर खुशी भए । पुराना सामानका कारण नयाँ सामान नअँट्ने देखिएपछि केही पुराना सामान प्लेनबाट झारियो । मुख्य पाइलटका अधिकारपत्र र उडानसम्बन्धी म्यानुअल प्लेनबाट झारियो । पुराना पाइलटले मानिआएको कोड अफ कन्डक्ट (रीतिथिती) को ठाउँमा नयाँ रीतिथिती बसालियो ।
जहाजमा उल्लास थियो । विमान परिचारक र परिचारिकाहरू चकलेट बाँडिरहेका थिए । उडेको केही समयपछि स्वादिष्ट र गरिष्ठ खानाको व्यवस्था हुने उद्घोषण भइरहेको थियो । चालकदलका सदस्यहरूले विगत तीस वर्षअघिदेखि नै सहायकको हैसियतमा जहाज चलाएको हुनाले यात्रा पूर्णतः सुरक्षित हुने विश्वास थियो । त्यही कारणले होला सुरक्षाका उपायहरूको बारेमा खासै जानकारी नै दिइएको थिएन । जहाज सजिलै उड्ने, यात्रामा मस्तले खान पाइने र निर्बाध गन्तव्यमा पुगिने बाहेक कसैले केही कुरा गरेका थिएनन् । लाइसेन्स गुमाएका पूर्वपाइलटको मुहार पनि शान्त नै थियो । उनी नोस्टाल्जियामा थिए कि !
जहाज अब रनवेमा घस्रन लाग्यो । सबै यात्रु हर्षले जयजयकारको ध्वनि जुञ्जाइरहेका थिए । त्यही बिचमा ककपिटमा फेरि हल्लाखल्ला हुन थाल्यो । त्यहाँ झगडा सुरू भएको थियो । यसले यात्रुमा आश्चर्य र बेचैनी ल्यायो । सबै मिलेर जहाज चलाउने, राम्ररी चलाउने, पुराना गल्तीहरू नदोहोर्याउने, अब चैं गन्तव्यमा नै पुर्याउने भनेर पाइलटहरूले गरेको वाचा यात्रुले सम्झिए र पाइलटलाई सम्झाउन खोजे । तर बाहिरको आवाज ककपिटमा पुगेन वा पाइलटहरूले गल्ती स्विकार्न चाहेनन्, थाहा भएन । हल्ला चलिरह्यो । त्यही बिच विमानपरिचारिका आइन् र भनिन् – खासमा केही भएको होइन । दक्षिणी वायुको चाप बढेकोले विमान हल्लिएको हो । अब चालकदलका सदस्यहरूमध्येकै अर्को पाइलटले विमान चलाइरहनुभएको छ । अब छिट्टै विमान उड्छ ।
तर विमान उडेन । जहाज पटकपटक थर्थराइरह्यो ।कहिले दक्षिणी वायु, कहिले उत्तरी वायु त कहिले पश्चिमी वायुका कारण यस्तो भएको भनेर हल्ला भइरह्यो ।हरेक पटक अब नयाँ पाइलट क्याप्टेनको सिटमा बस्नुभएको छ भनेर आश्वस्त पारियो । ककपिटबाट हल्ला आइरहँदा पुराना क्याप्टेन “देख्यौ त यिनको पारा” भन्ने शैलीमा मुसुमुसु हाँसेर टाउको हल्लाइरहेका थिए । तर ती बिर्सिइएका पात्रप्रति कसैको ध्यान गएन । अब सबै नयाँ र सुनौलो यात्रामा निस्किएका थिए ।
जहाज थर्थराउँदा झोला राख्ने क्याबिनबाट केही सामान झरें । क्याबिनबाट यसरी सामान त नझर्नु पर्ने ! धेरैको मनमा यो प्रश्न उठेको थियो । तर जहाजमा यसरी सामान कोचिएको थियो कि जहाँबाट जे पनि झर्न सक्थ्यो ।
“के रहेछ यो ?” कसैले झरेको समान उठायो । एकदम राम्रो सहरको फोटो रहेछ । “कहाँको फोटो हो यो ?” उसले सोध्यो । “सिङ्गापुरको फोटो हो” कसैले भन्यो । “हैन, स्विजरल्यान्डको फोटो हो” अर्कोले सच्यायो । “यो हाम्रो गन्तव्यको फोटो हो । स्विजरल्यान्ड जस्तै संघीय, समावेशी र समानुपातिक वातावरण हामीलाई मनपर्छ । यही जहाजमा पनि हामीले सात रङका सिटको व्यवस्था गरेका छौं ।यात्रामा यस्तो चित्र राखेपछि पो त्यहाँ पुग्ने प्रेरणा मिल्छ ।” एक जना अलि नेता टाइपका यात्रुले भने ।”अब जहाजले भुइँ छोडेको छैन सिंगापुर र स्विजरल्यान्डको सपना के देख्नु हौ ? धान फल्ने खेत बाँझै बस्न थाल्यो, तोरी फल्ने बारीमा तितेपातीको राज छ । अब सपना चैं के के हो के के “! केही यात्रुहरू फतफताए ।
“अनि यो चैं ?” त्यो त नेपालकै काल्पनिक चित्र रहेछ । देशका चारवटा विमानस्थलमा जहाजहरू पालो कुरेर उडिरहेका ओर्लिरहेका । चुच्चे रेलहरूको ओहोरदोहोर । कोसी नारायणी र कर्णालीमा जहाज आउँदा माथितिर जाने र रेल अनि मोटर आउँदा जस्ताको तस्तै बनेर सेवा दिने स्वचालित पुलहरू । तीन वर्षदेखि भिसा पर्खेर बल्ल आउन पाएका पर्यटकको ताँती । औद्योगिक क्षेत्रको धपेडी । खेतबारीमा पोखिएको पौरख । कति राम्रो चित्र !
“सिंगापुर र स्विजरल्यान्डको चित्र बोकेको भनेर आलोचना नगर्नुस् न हामीलाई । हामीसँग देशकै पनि कति राम्रो चित्र छ । यो जहाज उड्छ र गन्तव्यमा पुग्छ । सुरूमा उडान भर्न सबै जहाजलाई गाह्रै हुन्छ । अहिलेसम्म उडेन भनेर अब पनि उड्दैन भन्ने त होइन नि । भविष्य भनेकै अहिलेसम्म नभएका काम कुराको हुने समय हो ।” कसैले यसो भन्यो ।
जहाजमा सबैले आफ्नो सपनाको सहरको फोटो राखेको देखेर एउटा यात्रुले र्याकबाट झिकेर आफ्नो झोला हेर्यो । उसले त्यहाँ एक हल गोरू, एउटा दुहुनु गाई, सानो परिवार, खानपुग्ने खेती भएको पुरानो फोटो भएको जस्तो लागेको थियो । तर अहिले हेर्दा त्यो त रहेनछ ।तिनै सिंगापुर र स्विजरल्यान्डका पोस्टकार्ड मात्र झोलामा रहेछ । कहाँ गयो हँ, त्यो फोटो ? उसलाई अहिले एकछिन त्यो फोटोको माया लागेर आयो ।
यसरी जहाजमा भएका सामान अनायासै खस्न लागेको देखेपछि एक जनाले सर्टको माथिल्लो गोजीमा रहेको ग्रिन कार्ड सहितको पासपोर्ट, पेन्सन पट्टा र सामाजिक सुरक्षाभत्ताको कार्ड ज्याकेटको भित्री गोजीमा सारे।
“अँट्ने मात्र राखेको भए पो झर्दैन त ? अब यो र्याकको पनि क्षमता छ । जहाज त हाम्रो रहरले होइन उसको क्षमताले उड्छ । सबै सामान थोपर्दा यस्तै हुन्छ ।यति सानो जहाजमा यति धेरै सामान किन राख्नु ? अति जरूरी सामान मात्र राख्दा भैहाल्छ नि ! यो जहाज त्यति बलियो पनि छैन।पछि जहाजको क्षमता बढाउन सकियो भने थप सामान हाल्न पनि पाइएला ! पाइलटहरूबिचको किचोलाले इन्जिनको चेकजाँच नगरेकै कत्ति भइसकेको छ !” कसैले यो यात्राको बारेमा पहिलो पल्ट संशय उत्पन्न हुनेखालको प्रतिक्रिया दिएको थियो।
तीन जना पाइलटले नै पालैपालो ककपिटको नेत्तृत्व लिए पनि जहाज उड्न सकेन । एकपटक त दुई जना पाइलट नै क्याप्टेनको भूमिकामा रहेका छौं भन्ने स्वघोषणा पनि भयो । रन वेमा यो दुई फन्का घुमिसक्यो । र, अझै घस्रदैंछ । उड्नका लागि अनुमति लिइएको र घोषणा पनि भइसकेको अवस्थामा जहाज सहजै रोक्न सकिने पनि देखिँदैन ।यात्रुगणमा रहेका केही मानिसहरू पनि ‘यो जहाजमा भारी धेरै भयो, मानिसलाई ओराल्न मिल्दैन, सामान ओरालौ’ भन्न थाले। सामान उतार्ने कुरा गरेपछि सबै मानिस चनाखा भए । कोही आफ्नो सामान झार्न तयार थिएन । अब जहाजको व्यवस्थापन र राखिएका सामानको बारेमा आलोचना र खिसिटिउरी सुरू भयो ।
“म पनि यही जहाजमा नै छु । तर सोच्नुस् त, यति लोड लिएर यो जहाज उड्न सक्ला त ? यति धेरै सामान अरू कुन जहाजमा राखिन्छ ? धेरै उचाइमा कावा खाइरहेका जहाजहरूको म्यानुअल हेर्नु त, कति छोटो छ ! कथंकदाचित् यो उड्यो भने पनि यसले खर्च धान्न सक्छ होला त ? अहिले जमिनमै गुड्न चाहिने इन्धनकै पैसा तिर्न सकेको छैन, उड्न चाहिने इन्धन कहाँबाट पाउला ? मलाई त यो जहाज उड्छ जस्तो लाग्न छोड्यो । फेरि पनि, म यहीँ छु । सबै यही छौं । अविश्वास गरेर ओर्लिई जाने ठाउँ छैन । विश्वास गर्न सकिराखेको छैन ।” यी मानिसको भनाइमा देखिएको गम्भीरताले धेरैको ध्यान तान्यो । तर यिनलाई ध्यान दिएर यात्रा पूरा हुने थिएन ।
ती मानिसको भनाइले थप चर्चाको लागि मार्ग प्रशस्त गर्यो । कोही यो प्लेन नै महँगो खालको भयो भनिरहेका थिए । “नयाँ विशेषता भएको प्लेन भनेर हामीलाई यो भिडाएका हुन् । प्लेन बनाउनेहरूले नै यो प्लेनमा भएको विशेषता आफूले उडाउने प्लेनमा हालेका छैनन् । युरोपमा त लगेजबिनै उडाउने र समयमा नै गन्तव्यमा पुर्याउने जहाज छ रे ।” कसैले थप्यो ।
“यो उडाउन हैन, गुडाउन बनाएको प्लेन हो ।” अर्कोले आफू बसिरहेको जहाजको क्षमतालाई पो उडायो । “उडे पनि, गुडे पनि के भो र ? पाइलटहरूले ककपिटमा बस्न पाएकै छन्। पाइलटको भत्ता खाएकै छन् । मार्का त हामी सर्वसाधारण यात्रुलाई न हो । मुख्य कुरा त उड्छ भनेर कतिन्जेल पर्खनु ? यो हाम्रो जीवनकालमा त उड्छ ? गन्तव्यमा पुग्न पाइन्छ ? कहिलेबाट केही सुखको सास फेर्न पाइन्छ ? यो सुरूङको अँध्यारो यात्राले कहिले प्रकाश भेट्छ ? सधैं यस्तै प्रश्नमा पिरोलिएर जीवन सकिने भो ।” उसले आफूलाई मात्र उडाएन, जहाजको उडान भर्ने क्षमताप्रतिको विश्वासलाई पनि उडायो ।
“जहाज उडाउने त कुरा मात्र हो । अहिले त पाइलटहरूको म्यानुअल मात्र तयार छ । यात्रुका लागि सचेतना (शिक्षा) म्यानुअल खै, जहाजका कर्मचारीहरूको म्यानुअल खै, सुरक्षा म्यानुअल खै ? यात्रुको लागि छुट्याइएको रसद कम भो भनेर गुनासो सुरू भइसकेको छ, मध्यस्थता खै ? पाइलटहरूले लगाइदिएको झगडाका कारण यात्रुहरूमा वैमनुष्यता छ, निराकरणको प्रयास खै ? यस्ता समस्या खै कति छन् कति ! के उड्छ यो जहाज ? यस्तै खै धेरै भएर त हो नि हेर्नु न, अर्को ढोकाबाट युवाहरू निस्केर विदेशी जहाज चढिरहेका छन् । उनीहरूलाई यो जहाज उड्छ भन्ने विश्वास भए किन ओर्लिन्थे होलान् !” शंकको अर्को कुनो देखापर्यो ।
यस्तैमा एक जना मानिस बिजिनेस क्लासबाट इकोनोमी क्लासमा आयो।सबै यात्रुलाई सिट बेल्ट बाँधेर बस्न भनिएको समयमा यो मानिस किन हिँड्यो भनेर यात्रु आश्चर्यचकित भए। उसले टिस्युपेपरले मुख छोपेको थियो। अचम्म, उसको मुखबाट महँगो ह्विस्कीको गन्ध आइरहेको थियो । उड्न लागेको जहाजमा सिटबेल्ट बाँधेर बस्नुपर्नेमा ऊ त हिँडिरहेको थियो । हवाइ नियम उल्लंघन गरेकोमा उसलाई कस्तो कारवाही होला भनेर पनि केही मानिसले सोचेका थिए। तर जहाजमा तैनाथ कमान्डो र एयरहोस्टेस मिलेर उसलाई पहिलाकै ठाउँमा फर्काए।उसलाई कुनै कारवाही भएन । ऊ रक्सीको नशामा इकोनोमी क्लासमा भाषण दिन आएको रहेछ ।इकोनोमी क्लासमा जहाजका बारेमा भएका टिप्पणी सहन उसलाई गाह्रो भएको रहेछ ।
नशाको सुरमा उसले जहाज उड्ने, पाइलटको यो टिमले जहाज उडाउन सक्ने, यो जहाज छोडेर जाने अर्को जहाजको मतियार रहेको, आफ्नो जहाज र आफ्ना पाइलटमा विश्वास गर्नु सबैको कर्तव्य रहेको अर्ती उसले दियो । यो जहाजप्रति अविश्वास व्यक्त गर्ने मानिसको रेकर्ड सिसी क्यामेराले राखेको र तिनलाई जहाज आकासमा पुगेपछि त्यहीँबाट भुइँमा झारिदिने धम्की पनि उसले दियो ।
ऊ फर्किए पनि ह्विस्कीको गन्ध हराइसकेको थिएन। खाना र पेय जहाज उडेपछि बाँडिनेछ भनेर उद्घोषण भएको थियो। त्यसैलाई पत्याएर इकोनोमी क्लासमा यात्रुहरू भोक खपेर पर्खेर बसिरहेका थिए। उता बिजिनेस क्लासमा त उहिलेदेखि भोज चलिरहेको रहेछ । केही भिआइपी यात्रुहरू पहिला नै अघाइसकेका रहेछन्। फेरि मातेको सुरमा भाषण दिने सनक, के हो यो ? यात्रु रिसाउन थालिसकेका थिए। तर आकासबाट खस्न कसैलाई मन थिएन ।सबै चुप बसे।
“कसरी झार्न मिल्छ आकासबाट हामीलाई ? म्यानुअलमा छ यो ? सबै यात्रुलाई जहाजमा यात्रा गर्ने हक हुनेछ भनेर त म्यानुअलमा नै लेखेको छ । बरू यो बिजिनेस क्लास र बिजिनेस क्लासमा रक्सीको भेल कहाँबाट आयो ? यो समानतातर्फको यात्रा हो भने किन चाहियो बिजिनेस क्लास ? यी बिजिनेस क्लासमा बस्नेको वास्तवमा केही बिजिनेस नै छैन । पाइलटको आफन्त हुनेबित्तिकै बिजिनेस क्लास ? पहिलेका पाइलटलाई त साधारण सिटमा बसाइएको छ । अनि यो जात्रा के को लागि हो ?” एक जना यात्रुले विरोध जनायो।
“सबै नागरिक समान छन् । कोही अलि बढी समान हुन्छन् नि। जर्ज अरवेलको “एनिमल फार्म” पढ्नुभएको छैन ?” अर्कोले ठट्टा गर्यो। आकाशबाट खसाउन मिल्दैन भन्ने भनाइ सुनेपछि यात्रुका सुकेका ओठमुख फेरि रसिला हुन थालेका थिए, वाक्य फुट्न फेरि सुरू भएको थियो ।
“पुराना पाइलटलाई जहाज चलाउन दे ! पुरानो म्यानुअल फिर्ता ले !” जहाजको एक कुनाबाट आवाज आयो । केही मानिसहरू पुराना पाइलटलाई फेरि ककपिटमा फर्काउनुपर्छ भन्दैथे ।
“ककपिटमा फर्काउने होइन, अब भुइँमा झारिदिने हो । पहिले ककपिटमा बस्दा देखाएको चर्तिकला हामीले देखेको छैन र !” ककपिटबाट आवाज आयो ।
यति लामो समय रन वेमा धीमा गतिमा घस्रिनु परेपछि पुराना पाइलटको चर्तिकला धेर हो कि नयाँको धेर हो भन्ने पनि धेरैलाई पर्न थालिसकेको थियो । आशा धेरै देखाइएको थियो तर पूरा एक छेउ पनि भएको थिएन । भरखर चढेका नयाँ यात्रुलाई त पुराना पाइलटको चर्तिकला नै थाहा थिएन ।
केही यात्रु बिजिनेस क्लास र केही यात्रु इकोनोमी क्लासबाट उठेर पुराना पाइलटको पक्षमा आवाज उठाउनेलाई घेर्न पुगे । एकछिन कल्याङमल्याङ भयो, यसपछि स्वर साम्य भयो ।
अहिले जहाज शान्त छ । जहाजको बिजिनेस क्लासबाट मात्र कहिलेकाहीँ भाँडाकुँडा झरेको आवाज आइरहेको छ । ठुलो स्वरले बोलेको आवाज पनि सुनिन्छ । कहिले हाँसीखुशी र कहिले मनोमालिन्यका सङ्केत आवाजले दिइरहेको छ । त्यहाँ खानेकुरा बाँडिदैछ र वितरणमा केही असमझदारी छ भन्ने अनुमान मात्र गर्न सकिन्छ । प्लेन पुनः धीमा गतिमा रन वेमा घस्रिरहेको छ । आकासमा उडेका जहाज देखाएर “अब हाम्रो जहाजले त्यसलाई पनि जित्छ” भनेर कोही रमाइरहेका छन् । कसैलाई यो यात्रा पनि असफल हुने चिन्ता छ । यो जहाजलाई अविश्वास गरेर पलायन हुने क्रम पनि रोकिएको छैन । मानिसको मुहारमा आशा, अनिश्चय र चिन्ताका भावहरू पालैपालो आउँदैजाँदै गरिरहेका छन् । म पनि त्यही जहाजको कुनाको सिटमा बसिरहेको छु ।
के यो जहाज उड्छ ? कहिले उड्छ ?
