मन्त्रीको पद बहालीपछि मन्त्रालयमा नयाँ वातावरण थियो। नयाँ सत्ता गठबन्धनपछि पुराना मन्त्री हटेका थिए। अहिले नियुक्त भएका मन्त्री आफ्नो विचार, निष्ठा, सिद्धान्त र जनताप्रति प्रतिबद्ध मानिएका थिए। उनले सामाजमा भ्रष्टाचारविरोधी छवि बनाएका थिए। यी युवा मन्त्री अरू युवा नेताको लागि त एक मानक नै मानिएका थिए। पुराना नेताले यीजस्ता नेतालाई सत्ता हस्तान्तरण गरे देशले काँचुली फेर्छ भन्ने विश्वास जनमानसमा थियो।यसले गर्दा सारा जनमानस र इमानदार कर्मचारीमा उत्साह र सन्तोषको वातावरण बनेको थियो।बिचौलियाहरू भने असमञ्जसमा परेका थिए, अब के हुने हो भनेर।
नयाँ मन्त्री आएपछि निजी सचिवालयमा परिवर्तन हुने भइहाल्यो। मन्त्रीले रोजेर सचिव ल्याए, सचिवले सहसचिव र सहसचिवले अरू कर्मचारीहरू। विभागहरूमा पनि सरूवा भयो।केही रहे, केही गए।
एक महिनाजतिमा फेरि विवादग्रस्त कर्मचारी सरूवा मिलाएर आउन लागे। बिचौलियाहरू फेरि निजी सचिवालयतिर धाउन थालेको देखियो। मन्त्रीको कार्यकक्षमा पुरानै विवादित कर्मचारी र बिचौलियाको पहुँच बाक्लियो।यो देखेर नयाँ मन्त्रीबाट सकारात्मक परिवर्तनको आश गरेका कर्मचारीहरू छक्क परे।अलि निकै आशावादी त निराश नै बने।
बिचौलियालाई त चाहिएकै यही थियो।केही बिचौलियाहरू मन्त्रीको शपथदेखि नै ‘भुँडी नभएको मान्छे हुँदैन, सबैले केही बेर तामझाम देखाउने हुन्, त्यसपछि उही ताल हो‘ भनेर रेस्टुराँमा गफ हानिरहेका नै थिए। उनीहरू नै ठिक देखिए।एक खाले कर्मचारी पनि खुशी हुने भइहाले।मन्त्रीको निष्ठाको समाचार र मन्त्रालयमा भ्रष्टाचार समान गतिमा फैलिइरहेको थियो।
यी भष्ट्राचार विरोधी मन्त्री आएपछि बिचौलियाहरूलाई झन् मार्का पो पर्यो । उनी स्वच्छ छविका नेता भएकाले आफैं बिचौलियासँग सोझै कुरा गर्दैनथे । निजी सचिवालयले त्यो काम गर्थ्यो। निजी सचिवालयले मन्त्रीले मागेको रकममा आफ्नो भाग पनि मनोमानी ढङ्गले थपेर घुसको माग गर्दा उनीहरूले पहिलाभन्दा बढी बुझाउनु पर्थ्यो।यसबाट आजित भएका मानिसले मन्त्रीलाई नभेटेका पनि होइनन्। उनी खुलापनका लागि पनि प्रख्यात नै थिए। भेट्न आउने सबैजसोलाई भेट पनि दिन्थे। तर उनलाई भेटेर के गर्नु र? उनी म त कुनै फाइल पनि पेन्डिङ राख्दिन। ‘मेरोमा आएको भए गरिसकें होला । एक पटक निजी सचिवालयमा बुझ्नुस् न‘ भनेर पन्छिन्थे । फेरि मानिस निजी सचिवालयको चक्करमा परिहाल्थ्यो।निजी सचिवालयलाई बुझाउनु पर्ने अवैध महसुल छल्ने कुनै उपाय थिएन।
आगो लागोस् तर धुवाँ नदेखियोस्! यो कसरी हुनसक्छ र? कुरो कतैबाट चुहियो। यो त कुनै बिचौलियाले खुस्कायो कि जस्तो पनि थियो। मार्का उसैलाई परेको थियो।कुन भट्टीमा कुनै बिचौलिया वा कर्मचारीले खुस्कायो अनि पत्रकारले थाहा पायो।पत्रिकामा अब अनेक शीर्षकमा एउटै समाचार छापिने थाले । मानिसलाई पत्याउन गाह्रो थियो। अरूलाई पत्याउन गाह्रो भएर के गर्नु र? विपक्षीले पत्याइहाले।
पत्रिकाको खबरले संसद ततायो। शून्य समय, विशेष समय, जे जे समय भए पनि कुरो त्यही उठ्यो। सबैलाई ती मन्त्रीको राजीनामा चाहिएको थियो। तर राजीनामा दिएर मन्त्रीको समस्या समाधान हुनेवाला थिएन। मन्त्रीलाई पार्टीका नेताले खुसुक्क उत्तराधिकारी घोषणा गरेका थिए। आगामी महाधिवेशन र संसदको निर्वाचनको लागि पैसा जोहो गर्न उनी पार्टीका नेताको निर्देशन अनुसार नै त्यो मन्त्रालयमा गएका थिए। त्याग, तपस्या, योगदान, सिद्धान्त, विचार र निष्ठाको प्लेटमा राज्यदोहनको गहन अभिष्ट अभिभारा उनको काँधमा थियो। गठबन्धनलाई बहुमत थियो, गठबन्धनको अर्को दल चुप थियो। यी विपक्षीको आवाज त झुलबाहिरका मच्छरको टीँ… टीँ… सिवाय केही थिएन।
‘आरोप लगाएर मात्र भएन। आरोप खेपिरहेका मन्त्रीलाई पनि सफाइको मौका दिनुपर्छ। विधिशास्त्रको सिद्धान्त नै यही हो।‘ सत्तापक्षको कुनै सांसदले कुरो उठायो। र, मन्त्री रोस्टममा उभिए ।
उभिए मात्र होइन, उनी जङ्गिए नै । ‘विना प्रमाण बोलेर आफ्नो मानमर्यादा र इज्जतमा आँच पुर्याएको, २०४६ सालको जनआन्दोलन र २०६२/६३ को जनआन्दोलनमा सक्रिय रूपमा लागेको, पुलिसको हिरासतमा बस्दा मच्छरले टोकेको‘ आदि आदि । उनले थपे- लोकतन्त्रमा सबै नागरिक समान हुन्छन्। सबै नागरिकलाई म आफ्नै दाजुभाइ दिदी बहिनी मान्छु । अनि म आफ्नै दाजुभाइ दिदीबहिनीबाट पैसा लिउँला। यो देशलाई घात हुने काम गरौला? कसैले मलाई कुनै रकमकलम दिने मानिस अगाडि ल्याए कुनै पनि कारवाही भोग्न तयार छु। भ्रष्टाचार गरेको कुनै प्रमाण भेटिए एक दिन पदमा बस्दिन।‘ यस्तै भाषण गरेर उनले करिब एक घण्टा बिताए। अन्तिममा निकै भावुक भएर ‘म भ्रष्टाचारमा संलग्न भएको प्रमाणित भए हाम्रो शास्त्रले पवित्र मानेको नदी सुनकोशीमा हामफाल्छु‘ पनि पो भन्दिए।
यिनले नयाँ कुरो त केही गरेका थिएनन्। यिनले जस्तै सबैजसो नेताले त्याग त गरेका थिए । तर त्यो त्यागलाई लगानी मानेर उठ्तीपुठ्तीमा लागेका थिए। कमिसन र घुसको कुरा हुँदा यिनीहरू ‘घोडा घाँस से प्यार करेगा तो खाएका क्या‘ को शैलीमा प्रस्तुत हुन्थे। अपराधी प्रमाणित भए पदमा नबस्ने, कारवाही भोग्ने कुरा त यिनले भन्नै पर्दैनथ्यो, देशमा नियम कानुन भन्ने केही चिज अझै सास फेर्दै थियो।
देश धर्मनिरपेक्ष मानिए पनि चुनावमा भोट माग्न, मतदाताबिच विश्वास आर्जन गर्न, झुटा बाचा गर्न धर्म र देउतालाई काम लगाइँदै थियो।अब पवित्र नदी सुनकोशीमा नै हामफाल्ने भनेपछि जनसाधारणले त पत्याउनै पर्यो। पूरा नपत्याए पनि ‘खै अब के हो‘ को शैलीमा मानिस बसका थिए। बहुमत नपुगेर नै पार्टी प्रतिपक्षमा पुग्ने हो, बहुमत नपुगेको स्वरलाई संसदले वास्ता गर्नु पर्ने पनि होइन।
शायद उनको पापको घैला भरियो। हुनसक्छ अरूको पापको घैलामा पाप कम भयो। सत्ता गठबन्धन भत्कियो र उनको मन्त्री पद फुत्कियो। उनी मन्त्री क्वाटरबाट घरमा आए। कार्यकर्ताको भीड थिएन, बिचौलियाको लाइन थिएन। उनको खोसिएको फुर्ती हेर्न छिमेकी बारदलीमा ओहोरदोहोर गर्दैथिए । मन्त्राणीबाट भूपू मन्त्राणी भएको पत्नी घरमा यताउता गरिरहेकी थिइन् । उनको अनुहारमा छटपटी देख्न कुनै मनोविज्ञको जरूरत थिएन। कुनैकुनै दिन यति खल्लो पनि हुन्छ भन्ने उनले आजै थाहा पाए ।
भूतपूर्व मन्त्री र मन्त्राणीको लागि टेबुलमा कफी राखेर बैठक कोठाबाट सहयोगी केटो गइसकेको थियो । यत्तिकैमा भूतपूर्व मन्त्राणीले भनिन् – ‘हजुरले जे भन्नुभए पनि भ्रष्टाचारमा संलग्न भएको भए सुनकोशीमा हामफाल्छु भनेर चैं भन्नु नहुने। सुनकोशी त देवता मानेको नदी हुन् । दोष लाग्छ कि भनेर चिन्ता लागिरहन्छ मलाई।‘
‘मलाई पनि तनाव भइराख्या छ। दुईतीन दिनको लागि सुकुटे बीच जाने विचार गर्दैछु। सुनकोशीको सानो भँगालो खोजेर त्यहीँ हामफाल्नु पर्ला। नहुने वेलामा केले रोक्छ थाहा हुँदैन।‘
